प्रदूषणले निम्त्याएको असर
वसन्त राई
गत चैतदेखि वैशाखको पहिलो सातासम्म काठमाडौँ उपत्यकाको वायुमण्डल एकनासले धुमिल बन्यो । यसले मानिसमा नाक, आँखा पोल्ने, टाउको दुख्ने आदि समस्या देखियो । श्वासप्रश्वासका समस्या भएका र अन्य दीर्घरोगीलाई उक्त वातावरणले झनै मुस्किल बनायो । उपत्यकाको वायुको सूचकाङ्क (एक्यूआई) पटक–पटक ४७० तथा सोभन्दा माथि पुग्यो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार एक्यूआई ३०० नाघेपछि मानिसका लागि ‘घातक’ हुन्छ । उपत्यकावासी यही ‘घातक वायुमण्डल’ भित्र बस्न बाध्य बने । यो समस्या विश्वव्यापी प्रभावभन्दा पनि आफ्नै कारणले बढी छन् । नेपालले वातावरणीय मापदण्डको प्रभावकारी अनुगमन गर्न नसक्नु तथा परिणमामुखी योजना कार्यान्वयन नगर्दा बढ्दो प्रदूषणको मार खेप्नुपरेको हो ।
विश्वका अन्य देशभन्दा नेपालमा जलवायु परिवर्तनको असर बढी देखिएको छ । विश्वव्यापी रूपमा मानव स्वास्थ्य र जलवायुका लागि वायु प्रदूषण प्रमुख चुनौती हो । डब्लुएचओका अनुसार घरभित्र र बाहिरको प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख
मानिसिको ज्यान जान्छ ।
वायु प्रदूषणले विशेषतः स्ट्रोक, मुटु तथा श्वासप्रश्वासका साथै क्यान्सर रोग लाग्ने हुन्छ । स्टेट अफ ग्लोबल एयर–२०१९ को प्रतिवेदनअनुसार विश्वमा ९२ दशमलव पाँच प्रतिशत मानिस डब्लुएचओले तोकेको पीएम (हावामा पाइने मसिनो धूलोका कण) मापदण्ड दुई दशमलव पाँच प्रतिशतभन्दा बढीमा बसिरहेका छन् । त्यसमा पनि एसियाका अधिकांश मुलुकमा वायुको गुणस्तर झनै नाजुक छ ।
जलवायुको अवस्था
गत शताब्दीमा पृथ्वीको सतही तापक्रम औसत शून्य दशमलव सात डिग्री सेल्सियसले बढ्यो । स्वतन्त्र विश्वकोश नेपाली विकिपिडियाका अनुसार जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकीरणमार्फत तापशक्ति प्राप्त हुन्छ र सोही सौर्य विकीरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन हुन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकीरण प्राप्त गर्छ, त्यति नै विकीरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ । तर, कुनै कारणवश विकीरणको लेनदेनमा घटबढ हुन गई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।
नेपालमा जलवायु परिवर्तनका कारण खडेरी, बाढीपहिरो, आगलागी, हिमताल फुट्ने, मनसुनमा परिवर्तनलगायतका थुप्रै समस्या देखिएका छन् ।
सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धि यसको प्रमुख कारण हुन् । सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम शून्य दशमलव ७४ डिग्री सेल्सियसले बढेको छ । नेपालमा प्रतिवर्ष औसत शून्य दशमलव शून्य चार डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढी छ । हिमतालको निर्माण र फुट्नेक्रम जलवायु परिवर्तनको सम्भवतः सबैभन्दा टड्कारो असर हो ।
उपत्यकाको अवस्था
भक्तपुर र ललितपुर जिल्लासहित ८९९ वर्ग किलोमिटर क्षेत्रफल समेटेको काठमाडौँ उपत्यकाको भौगोलिक बनावट कचौरा आकारको छ । जसकारणले विभिन्न स्रोतबाट निस्कने प्रदूषण वायुमण्डलीय इन्भर्सनका कारण फैलावट हुन नपाई लामो समयसम्म वायुमण्डलमा रहन्छ । त्यसकारण उपत्यकामा प्रदूषण बढ्नु अन्य ठाउँको भन्दा खतरनाक हुन्छ । सन् २०१६ देखि उपत्यकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएका छन । सन् २०१७ देखि निरन्तर उपत्यकाको वायु प्रदूषणले मापदण्ड नाघेको छ । एक्यूआई पटक–पटक ४७० तथा सोभन्दा माथि पुगेको छ । डब्लुएचओका अनुसार एक्यूआई ३०० माथि भएमा त्यो मानव स्वास्थ्य तथा अन्य वातावरणीय पक्षका लागि घातक हुन्छ । सन् २०१६ मा पनि वातावरणीय प्रदर्शन सूचकाङ्कमा नेपालको वायुको गुणस्तर १८० राष्ट्रमध्ये १७७औँ स्थानमा परेको थियो । काठमाडौँ एसियाको सबैभन्दा प्रदूषित सहरका रूपमा पटक–पटक परिचित भइराखेको छ । पछिल्लो समय उपत्यकामा वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग दम, ब्रोन्काइटिस, निमोनिया, फोक्सोको क्यान्सरका साथै मुटुरोग, हाइपर्टेन्सन र मस्तिष्कघातका बिरामी बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएका छन् ।
डब्लुएचओको सन् २०१८ को एक प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भइसकेको छ । जनसङ्ख्या वृद्धि, अव्यवस्थित सहरीकरण, पूर्वाधार विकास र वातावरणबीचमा सन्तुलन नहुनु, एकीकृत तथा योजनाबद्ध विकास हुन नसक्नु वायु प्रदूषण बढ्नुका प्रमुख कारण हुन् । त्यसैगरी अस्पताल, सहरी तथा औद्योगिक क्षेत्रबाट निष्कासन हुने फोहोरको व्यवस्थापन उचित तरिकाले हुन नसक्नु र कृषि क्षेत्रमा अन्धाधुन्ध विषादी प्रयोग हुनु पनि वातावरणीय चुनौती रहेको नेपालको “राष्ट्रिय वातावरण नीति–२०७६” मा उल्लेख छ ।
कार्यान्वयनमा कमजोरी
वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय, वन उपभोक्ता समिति तथा सरोकारवालाले डढेलो नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेका छैनन् । त्यसैगरी सवारीसाधनबाट हुने उत्सर्जनको नियन्त्रण तथा विद्युतीय सवारीसाधनको प्रवद्र्धन हुन सकेको छैन । सवारी प्रदूषणसम्बन्धी प्रभावकारी अनुगमन नहुनु, सार्वजनिक यातायात प्रणालीको प्रवद्र्धनमा जोड नदिनु, ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै जानु र पैदलयात्री तथा साइकलयात्रीमैत्री सहर नहुनु पनि प्रदूषणका कारण हुन् । त्यसैगरी वातावरणमैत्री निर्माण गतिविधि नहुनु तथा वातावरण नियन्त्रणका लागि तोकिएका मापदण्डको पालना नहुन प्रदूषण वृद्धिका लागि चुनौती हो ।
स्वच्छ प्रविधिको प्रवद्र्धन तथा उद्योग एवम् अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्न सके प्रदूषण न्यूनीकरण हुन्छ । त्यसैगरी सडक, भवनलगायत निर्माणकार्यमा वातावरणमैत्री प्रक्रिया अपनाउन आवश्यक देखिन्छ । वर्षौं लगाइने निर्माणकार्यले कैयौँ स्थानमा धूलाले आकाश कुहिरोमण्डल बनाइरहेको हुन्छ । यसको न्यूनीकरणका लागि कुनै प्रयास भएको हुँदैन । नजिकको बस्तीका मानिस त्यस्तै वातावरणमा बस्न बाध्य हुन्छन् । ठेकेदार कम्पनीहरू वातावरण र आममानिसले भोग्ने सास्तीप्रति जिम्मेवार हुँदैनन् । तालुकदार निकाय यस्ता गैरजिम्मेवार ठेकेदार कम्पनीलाई कारबाही गर्ने क्षमता राख्दैनन् । परिणामस्वरूप त्यही धूलामा मानिस आवत–जावत गर्न बाध्य हुन्छन् । सडकवरपरका घरको झ्याल–ढोका सधैँ बन्द गरेर बस्नुपर्ने हुुन्छ । वायु प्रदूषण समस्या समाधानका लागि प्रधानमन्त्री तथा मनन्त्रिपरिषद्को कार्यालयले ल्याएको “काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६”लाई प्रभावकारी कार्यान्वयन गर्ने हो भने प्रदूषण न्यूनीकरण सम्भव छ । त्यसैगरी, यातायातका साधनबाट निस्कने प्रदूषण नियन्त्रणका लागि “वातावरण तथा सामाजिक व्यवस्थापन फ्रेमवर्क–२००७” लगायत काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रणका लागि बनेका विभिन्न योजना तथा कार्यविधिको प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । यस वर्षको विकराल समस्या सिर्जना गर्ने डढेलो नियन्त्रणका लागि सम्बन्धित निकायले समयमै कदम चाल्नुपर्छ ।
(लेखक अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्रसँग आबद्ध हुनुहुन्छ ।)