विचार/दृष्टिकोण |

अक्सिजनको प्रबन्ध (सम्पादकीय)

दोस्रो लहरको कोभिड–१९(कोराना) सङ्क्रमणको महामारीमा मुलुकभर मेडिकल अक्सिजनको अभावले बिरामीको उपचारमा गम्भीर समस्या देखिएपछि सरकारले अक्सिजनको उत्पादन, वितरण, आयातमा सक्रियता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार कम्तीमा एक सय बेड सञ्चालन गरिरहेका देशभरका अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दियो । यस दिशामा केही प्रगति भएका जानकारी पनि आएका छन् । विभिन्न व्यक्ति तथा संस्थाले भण्डारण गरी राखेका अक्सिजनका सिलिन्डर नेपाल प्रहरीले बरामद गरी अस्पतालमा पु¥याएको छ । कतिपय व्यक्ति आफैँले सिलिन्डर अस्पताल वा बिरामीलाई दिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले ठूला परियोजनामा प्रयोग भइरहेका यस्ता सिलिन्डर स्थानीय तहको समन्वयमा सरकारलाई दिने निर्णय गरेको छ । नेपालभित्रका उत्पादकले अक्सिजनको उत्पादन बढाइरहेका छन् । कतिपय स्थानीय तहको संलग्नतामा ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र उत्पादन गरिएको छ । चीनबाट चार सय थान सिलिन्डर आइसकेको छ थप तीन हजार थान ल्याइने क्रममा छ । खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छसय थान अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयारी गरिएको छ ।
यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिना व्यवधान २४ सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी र प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको छ । विदेशबाट अक्सिजन ट्याङ्कर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्नेजस्ता निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उद्योगहरूलाई उपलब्ध गराउने अक्सिजनको कोटा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने, सम्बद्ध उद्योग २४ सै घण्टा चालू गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाका अक्सिजन उद्योगहरूबाट अक्सिजन भरी उपत्यकामा ल्याउने, औषधि उपकरणलगायतका मानवीय सहायता हवाई मार्गबाट ल्याउने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । यही प्रयोजनार्थ नेपाल वायुसेवा निगमका जहाज तम्तयार अवस्थामा राखिएको छ ।
निश्चय पनि अक्सिजनको समस्या गम्भीर छ तर सरकारले कुनै कामै गरेको छैन भन्ने होइन । एकाएक आएको कोरोनाको विश्वव्यापी समस्यामा अक्सिजनको छेलोखेलो हुने गरी पूर्वतयारी गरेर बस्न सम्भव पनि थिएन । विकसित भनेका देशहरूले पनि विगतमा यस्तै समस्या भोगेका थिए, नजिक भारतकै अवस्था विकराल देखिएकै छ । नेपालले पनि वर्तमान समस्याबाट पाठ सिकेर आगामी तयारी गर्नैछ तर आकस्मिक समस्यालाई चर्काएर कसैले पनि अमानवीय फाइदा लिने प्रयास गर्नुहुँदैन । मुलुकका ७३ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी रहेकाले यातायात र ढुवानीमा आएका व्यवधान, अन्य बेलामा भन्दा असामान्य तरिकाले माग बढेकाले अक्सिजनको उत्पादन तथा वितरणमा केही समस्या आएको सत्य नकार्न सकिँदैन तर यसलाई अतिरञ्जित गर्नेे प्रयासले कसैको पनि हित गर्दैन । मुलुकमा आएको समस्या सबैले दुःख सुख गरेर व्यहोर्नै पर्नेछ । सरकारले कोरोना रोकथामका लागि देखाएको तत्परता, निर्णय, निर्देशनका अतिरिक्त आएका समस्यामाथि क्षणिक राजनीति गरेर कोरोनाका सबै बिरामीको अक्सिजन नपाएरै निधन भएको भन्ने जसरी प्रचार गर्नु न्यायोचित हुनेछैन । यसअघि पनि केही बिरामीको निधन भएको थियो । दोस्रो लहरको कोरोना पहिलाको तुलनामा कडा भएकाले निधन हुनेको सङ्ख्या बढेको हुनसक्छ ।
सरकारले विश्वस्तरकै स्वास्थ्य सामग्री तथा उपचार उपलब्ध गराउन मरिमेटेको छ, त्यसैगरी आफूहरूले पनि सहयोग गर्नु सबै नागरिकको कर्तव्य हुनेछ । महामारीलाई भयानक रूप दिन हामी कतै जिम्मेवार त छैनौँ भनेर नागरिकहरूले पनि आत्मसमीक्षा गर्नुपर्छ । धार्मिक तथा सांस्कृतिक जमघट गर्न पाउनुलाई अधिकारसँग जोडेर हेर्दा पनि यस्ता समस्यालाई मलजल पुगेको हुनसक्छ । यसर्थ स्वास्थ्य मापदण्ड पालनामा नागरिक सचेतना र प्रतिबद्धता थप आवश्यक देखिएको छ । यसको अभावमा आगामी दिन अझ दुरुह हुनसक्ने आशङ्का विज्ञहरूले गरिरहेको अवस्थामा स्वास्थ्य सामग्रीको सहज उपलब्धका साथै स्वास्थ्य मापदण्ड पालनामा पनि उत्तिकै संवेदनशील हुनुपर्छ ।