विचार/दृष्टिकोण |

जननेता मदन :विचार र आवश्यकता

मनोहर कार्की

नेपालको राजनीतिक इतिहासमा पृथक पहिचान र कम्युनिस्ट आन्दोलनलाई नवीनतम व्याख्या विश्लेषण गर्ने सिद्धान्तकारका रूपमा नेता मदन भण्डारीलाई लिन सकिन्छ । मदन भण्डारी कुशल सङ्गठक, सिद्धान्तनिष्ठ र व्यावहारिक नेताका रूपमा आफ्नो लौकिक जीवनकालमा जति परिचित हुनुभयो, उहाँको असामयिक, स्तब्धकारी अनि अप्रत्यासित निधनले नेपालको राजनीतिमा अपूरणीय क्षति भयो । उहाँको निधन कसैले पनि सहज रूपमा लिन सक्ने थिएन । उहाँको असामयिक निधनमा नेपाली राजनीतिको एक नायकको इहलीला समाप्त भयो तर उहाँका विचार, कम्युनिस्ट सिद्धान्त तथा मूल्यको वैचारिक राजनीति नेपालको राजनीतिक पाटामा चिरस्थायी रहन्छ । विश्व कम्युनिस्ट आन्दोलनको क्षेत्रमा मदन भण्डारी सधैँ स्मरणीय हुनुहुनेछ । जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादकका रूपमा नेपाली जनता र विश्व कम्युनिस्ट आन्दोलनको क्षेत्रमा मदन भण्डारी सधैँ
स्मरणीय रहनुहुनेछ ।
माक्र्सवादी विचारको नवीनतम प्रयोग विचार र मूल्य, जनसङ्गठन र जनताका प्रतिनिधिमूलक संस्थाका माध्यमबाट अघि बढाउने मान्यताको प्रयोग उहाँले गर्नुभयो । त्यो माक्र्सवादको वैज्ञानिकता र गतिशीलताको अभ्यासको निरन्तरता हो । जबज बहुलवाद र बहुल विचारको राजनीतिक पृष्ठभूमिमा अन्य विचार र सिद्धान्तलाई पनि प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्वीकार्यता गर्दै जनताबीच प्रतिनिधिमूलक संस्थाको जननिर्वाचित प्रतिनिधिका माध्यमबाट व्यवहारमा रूपान्तरणको प्रयोग तात्कालिक नेकपा एमालेले ग¥यो, जसको श्रेय जननेता मदन भण्डारीमा जान्छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धिपश्चात् पुनःस्थापित बहुदलीय व्यवस्था र त्यसैको आधारशिलामा बनेको संविधानमा व्यवस्था भएको जनताको प्रतिनिधिमूलक संस्था व्यवस्थापिका संसद् तथा तल्लो तहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा जनताको बहुदलीय जनवादको वैचारिक धरातलमा खुला राजनीतिक प्रतिस्पर्धामा भाग लिएर जनताका निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास तात्कालिक नेकपा एमालेले ग¥यो । साथै जनमतको उच्च सम्मानको प्रतीकात्मकताका आधारमा तात्कालिक नेकपा एमाले संसद्को दोस्रो ठूलो दल तथा नेपाली राजनीतिको प्रमुख शक्तिका रूपमा स्थापित हुन सक्नु उहाँको विचार र सिद्धान्तको जनस्वीकृतिका रूपमा लिन सकिन्छ ।
मदन भण्डारी वैचारिक सिद्धान्तकार हुनुहुन्थ्यो नै, उहाँमा ‘मास पोलिटिकल लिडर’को गुण पनि कम थिएन । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका क्रममा नेता मदनको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन् । समकालिक राजनीतिक वृत्तमा उहाँले कुशल र प्रखर वक्ताको छवि बनाउन सक्नुभयो । कुशल सङ्गठक नभएको भए पञ्चायती निर्दलीय (एक दलीय) व्यवस्थाको स्वाभाविक प्रतिकूल र असहज परिस्थितिमा पनि पार्टीको सङ्गठन गर्न सक्नु कम चुनौती थिएन । जसको परिणामस्वरूप बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि तात्कालिक वाम मोर्चा र नेपाली काँग्रेसको संयुक्त जनआन्दोलनपश्चात् देशमा नयाँ राजनीतिक परिवेशको पदार्पण हुन सक्यो । तात्कालिक नेकपा मालेको एक प्रमुख नेताका रूपमा मदन भण्डारीको उचाइ आफैँमा उच्च थियो । जसकारण एकीकृत पार्टी
(तात्कालिक नेकपा माले र नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी) नेपाल कम्युनिस्ट पार्टी एमालेको महासचिवको महŒवपूर्ण जिम्मेवारी उहाँले कुशलतापूर्वक सम्हाल्नुभयो । यसै समयक्रममा महासचिव तथा जननेता मदन भण्डारी र तात्कालिक एमालेका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पार्टीको साङ्गठनिक कामको यात्राका दौरान चितवनको दासढुङ्गामा जिप दुर्घटनामा आकस्मिक निधन हुन पुग्यो ।
मदन भण्डारीका विचारहरू सामयिक थिए, समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रूपमा उहाँलाई लिन सकिन्छ । विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुला राजनीतिक प्रतिस्पर्धामा समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालिक पूर्वी युरोपलगायत सोभियत सङ्घको विघटन र अवशानपछि विश्व कम्युनिस्ट आन्दोलनकै अवशानको अवस्था र पुनर्जागरणको टड्कारो प्रतिच्छायाँमा नवजीवन दिने वैचारिक मान्यता जबज थियो र त्यसको प्रयोग र व्याख्याको व्यवहारिकतालाई पुष्टि गर्न मदन सफल हुनुभयो नै । त्यसैले समग्र कम्युनिस्ट आन्दोलन र समाजवादी विचारमा पुनर्चिन्तनको अग्रज अभियन्ताका रूपमा उहाँलाई लिन सकिन्छ । विचार स्वीकृत र अस्वीकृतका पाटा होलान्, जबजको विचार नेपालको राजनीतिक अभ्यास तथा प्रयोगमा जीवन्त छ र रहनेछ ।
जबजको शिरामा आजका कम्युनिस्ट पार्टीका वैचारिक मान्यता, कार्यगत नीति र सङ्गठन परिचालनले जुन गत्यात्मक उद्बोध गर्न सक्नुपर्ने थियो, त्यस दिशामा आत्मालोचनाका पाटा निरन्तर छन् । त्यसैले होला जनताको बहुदलीय जनवाद र जनताको नयाँ जनवादका केही फरक विचारका बीचमा साङ्गठनिक ‘फ्युजन’को अभ्यास नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा एकीकृत कम्युनिस्ट पार्टी अघि बढाए पनि लामो समय टिक्न सकेन र छिट्टै अवसान भयो । यो कम्युनिस्ट विचारका विश्लेषकका दृष्टिमा एकीकृत कम्युनिस्ट आन्दोलनमा छलाङ लिने दुस्वप्नमात्र भएको रूपमा पाइयो । त्यसका असफल अभ्यासका पछि कहाँ के कति कमजोरी भए र थिए भन्ने कुरा समीक्षाको विषयान्तरको निरन्तरता रहला । तर, निकै हदसम्म नेपालको कम्युनिस्ट आन्दोलनमा त्यो धक्का नै रहनेछ । अझ टीठलाग्दो कुरा पछिल्लो समयमा नेकपा एमाले (सर्वोच्च अदालतको निर्णयपश्चात् पुनर्जीवित पार्टी) भित्रको आन्तरिक अन्तरद्वन्द्वका कारण पार्टी पुनः फुटको डिलमा पुग्यो । मदनका मान्यता, अवधारणा र व्यवहार आत्मसात् गर्दै पार्टी एकताबद्ध राख्ने क्षमता अग्रज नेताहरूले देखाउनु अपेक्षित छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)