विचार/दृष्टिकोण |

जिम्मेवार भूमिका (सम्पादकीय)

कोभिड–१९ (कोरोना) महामारी तत्काल नियन्त्रणको छाँटकाँट देखिएको छैन । डढेलोजस्तै फैलिएको छ । असारभर अवस्था यस्तै चुनौतीपूर्ण रहन सक्ने अनुमान सम्बद्ध विज्ञले गरेका छन् । विज्ञका अनुसार यसको फैलावट रोक्ने प्रभावकारी उपाय भनेकै सङ्क्रमण फैलावटको शृङ्खला खण्डित (चेन ब्रेक) हो । त्यसका लागि विभिन्न जिल्ला तथा क्षेत्रको अवस्था हेरेर स्थानीय प्रशासनमार्फत पूरै वा आंशिक भागमा निषेधाज्ञा गरिएको छ । सामाजिक अन्तक्र्रिया सीमित गरेर महामारी फैलावट रोक्न सकिने भएकाले प्राथमिक उपायका रूपमा निषेधाज्ञा गरिएको छ । वैशाख पहिलो हप्तादेखि आजसम्मको करिब एक महिने अवधिमा मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । हालसम्म ७३ जिल्लामा पूर्ण वा आंशिक जारी गरिएको निषेधाज्ञा मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा मात्र लगाउनु परेको छैन । यस्तो दृश्यबाट महामारीको सघनता मापन गर्न सकिनेछ ।
सरकारले निषेधाज्ञासहित नागरिकको स्वास्थ्य उपचारमा विभिन्न कोणबाट काम गरिरहेको देखिन्छ । केही दिन देखिएको अक्सिजन अभाव बिस्तारै नियन्त्रणमा आउँदै गरेको छ । अन्य औषधि तथा स्वास्थ्य सामग्रीको खास समस्या देखिएको छैन । विभिन्न अस्पतालको क्षमता वृद्धि गर्दै कोरोना उपचारमा केन्द्रित गरिएको छ । कतिपय स्थानीय तहले अक्सिजनसहितका अस्पताल वा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन् । समस्यासँगै महामारी नियन्त्रण तथा उपचारका कदम प्रभावकारी बनाइएको छ तर अवस्थामा अपेक्षाकृत सुधार नआएकाले नागरिक तहबाट पनि महामारी नियन्त्रणमा सहयोग गर्नुपर्ने देखिएको छ । नागरिकले अन्य पहलभन्दा पनि घरबाहिर ननिस्कने र स्वास्थ्य मापदण्ड पूर्णतः पालना गरिदिने हो भने पनि आफू सुरक्षित होइन्छ साथै सरकारलाई सहयोग पुग्छ भन्ने बिर्सनु हुँदैन । सम्बन्धित विज्ञले यस लहरको कोरोना महामारी (युके भेरिएन्ट) गतवर्षको भन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको चेन (शृङ्खला) खण्डित गर्नुपर्छ भनी दिएका सुझावमा आम सर्वसाधारण नागरिक संवेदनशील हुनैपर्छ ।
पछिल्ला केही दिनदेखि मुलुकमा सङ्क्रमितको सङ्ख्या दैनिक नौ हजारको हाराहारीमा पुगेको छ । मृतकको सङ्ख्या पनि अस्वाभाविक बढ्दैछ । अक्सिजन र सिलिन्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शøयाको अभाव भएको दर्दनाक अवस्था सुन्दासुन्दै पनि केही मानिस प्रभातीय हिँडडुल (मर्निङ वाक) लगायत विभिन्न कामका नाममा घर बाहिर निस्किएकै छन् । यस्ता काम ‘अत्यावश्यक’ हुन् कि होइनन् वा यस्ता आवश्यकता घर, कोठामा बसेर पूरा गर्न सकिन्छ, सकिँदैन भनेर नागरिक स्वयम् सचेत हुनुपर्छ । काम गरेर खानुपर्ने वर्गभन्दा घरमै बस्न सम्भव भएकाहरू नै बिहान र साँझ घुम्न निस्किएका देखिन्छन्, मानौँ यस्ता घुमाइ ‘अत्यावश्यक काम’ हुन् । यस्ता आडम्बर र प्रदर्शनीय व्यवहार व्यक्ति आफैँले रोक्नुपर्छ । सरकारले सुरक्षाकर्मी लगाएर रोक्न सम्भव छैन ।
सरकारले गर्नुपर्ने जति वा चाहेको जति काम गर्न नसकेको हुन सक्छ । आफ्नो देशमा कोरोनाको खोप बनेको छैन । अन्यत्रबाट खरिद् वा जोहो गरेर ल्याउने प्रयास भएकै छ । दोस्रो चरणको खोप अभियान पनि धमाधम चल्दैछ । उपकरणहरूको उत्पादन र जोहो विगतमा गरिएन, चाहिँदा मात्र खोज्न, माग्न जानुपर्ने अवस्था छ । सरकारले गर्नुपर्ने काम ढिलोचाँडो गरेकै देखिन्छ । आलोचना त गर्न सकिन्छ तर नागरिकहरूले घरभित्र बसेर आफू तथा समुदायलाई सुरक्षित गर्ने र सङ्कटका बेला राज्यलाई सहयोग गर्ने दायित्वबाट च्युत हुनुहुँदैन । केही व्यक्तिले समस्यालाई अतिरञ्जित गरेको पनि पाइन्छ । कतिपय सामाजिक सञ्जाल गैरजिम्मेवार देखिएका छन् । नागरिकहरू सामाजिक सञ्जालका ‘सूचना’लाई पत्रकारिताको समाचार हो कि भन्ने भ्रममा परेका छन् । पुष्टि गरिएका सूचना मात्र समाचार हुन्छन् भन्ने जानकारी दिन पत्रकारिता पछाडि परेको छ । पत्रकारितामाथि सामाजिक सञ्जाल अर्थात् समाचारमाथि सूचना वा अफवाहको अतिक्रमण बढ्दो छ । सरकारको अकर्मण्यतामा पत्रकारिताले यस कारण पनि उसलाई घच्घघच्याउनु पर्छ, कि पत्रकारितालाई यस्तो अभिभावक भनिन्छ जो कहिल्यै ननिदाई जनताको अधिकार रक्षामा जागा रहन्छ । तर घच्घच्याउनुको अर्थ अव्यावहारिक आलोचना होइन । निषाधाज्ञा गर्नु हुँदैन ? विकल्प के त ? तसर्थ सङ्कटका बेला जिम्मेवार पत्रकारिताको उपस्थिति बन्दनीय हुन्छ । बन्दनीय हैसियत पत्रकारिता आफैँले बनाउनु र बचाउनुपर्छ ।