विचार/दृष्टिकोण |

नेपालमा चलचित्र पत्रकारिता

विजयरत्न तुलाधर

नेपालको जेठो गोरखापत्रले एक सय २० वर्ष पार गरेको छ तर ३५–४० वर्षअघि पनि सञ्चारको नाममा सरकारी मिडियाहरूकै भर पर्नुपर्ने अवस्था थियो । गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, राससकै भरमा थियो सूचना तथा सञ्चार जगत् ।
देश विकासको समाचार होस् वा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको समाचार यिनै सञ्चार माध्यममार्फत आउँथ्यो । विकास, विज्ञान, साहित्य, शिक्षा, खेलकुद र मनोरञ्जन आदि हरेक विषयका सामग्री यिनै माध्यममा भर पर्नुपथ्र्यो । गोरखापत्रले पनि यी सबै विषयलाई समेट्दै आएको थियो ।
नेपालमा चलचित्रसम्बन्धी पहिलो पत्रिका ‘सिनेमा’ विसं २०११ कात्तिक ११ गते प्रकाशित भयो । त्यतिखेर के.एल. कर्माचार्यको सम्पादनमा यो पत्रिका प्रकाशित भएको थियो । तर यसले नेपालको चलचित्रसम्बन्धी कुनै पनि सामग्री प्रकाशित गरेको थिएन । विसं २००८ मा प्रदर्शित ‘सत्य हरिशचन्द्र’ बारे पनि यस पत्रिकामा समाचार, टिप्पणी वा कुनै पनि जानकारी समेटिएको थिएन । यो पत्रिकाले हिन्दी चलचित्रका विषय मात्र प्रकाशित गरेको थियो ।
नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ २००८ सालतिर बन्यो भने वि.सं. २०२२ असोज १५ मा नेपालको पहिलो चलचित्र ‘आमा’ प्रदर्शित भयो । २०२३ तिर निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ प्रदर्शित भयो । यसपछि तत्कालीन सरकारले ‘परिवर्तन’ र ‘हिजोआज भोलि’ दुई चलचित्र बनायो । २०२८ मा स्थापित शाही नेपाल चलचित्र संस्थानले २०३१ मा ‘मनको बाँध’ चलचित्र बनायो । २०२२ देखि २०३१ सम्म जम्माजम्मी यिनै पाँच वटा चलचित्र मात्र बनेर प्रदर्शित भए । यो एक दशकभित्र नेपालको चलचित्र फाँटलाई कुन कुन पत्रिकाले कति स्थान दिए भन्ने कुरा अध्ययन र अनुसन्धानको विषय हो । अहिलेसम्म भेटिएको प्रमाणको आधारमा चलचित्रबारे पहिलो लेख गोरखापत्रमा छापिएको थियो । योे लेखका लेखक ख्यातिप्राप्त चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा हुनुहुन्छ । ‘नेपालमा चलचित्र वितरण र प्रदर्शन’ शीर्षकको यो लेख २०२९ मङ्सिर १ गते छापिएको थियो ।
यही समयमा रमेशनाथ पाण्डे (पूर्वमन्त्री) ले ‘मनको बाँध’ चलचित्रको समीक्षा लेख्नुभएको थियो । शीर्षक थियो– ‘बाँध फुटेर छ लाख डुबे’ । तर यो लेख कुन पत्रिकामा प्रकाशित भएको हो भन्ने कुरा खुल्न सकेको छैन । गोरखापत्रमै पनि हुन सक्छ ।
‘मनको बाँध’ चलचित्रबारे लेखिएको यो लेख सम्भवतः उहाँकै सम्पादनमा प्रकाशित पत्रिका ‘नयाँ सन्देश’मा पनि हुनसक्छ । यो चलचित्र २०३१ सालमा मात्रै प्रदर्शनमा आएको हिसाबले गोरखापत्रमा छापिएको लक्ष्मीनाथ शर्माको लेखभन्दा पछिकै कुरा हो भनेर किटान चाहिँ गर्न सकिन्छ ।
यसरी हेर्दा चलचित्र पत्रकारिताको आरम्भ पनि गोरखापत्रबाटै भएको हो भन्ने कुरामा कुनै शङ्का छैन । नेपालमा चलचित्रबारे सबैभन्दा पहिला कसले र कहिले कलम चलाए भन्ने कुराको अहिलेसम्म औपचारिक अनुसन्धान र अध्ययन चाहिँ हुन सकेको छैन । हिन्दी चलचित्रकै बारे छापिएको भए पनि औपचारिक रूपमा पहिलो सिनेपत्रिका भनी पुष्टि भएको ‘सिनेमा’ नै हो । यही पत्रिकामा छापिएका अक्षरहरू नै नेपालमा चलचित्रबारे लेखिएका सुरवाती अक्षरहरू हुन् । यस बेला त्यो पत्रिकामा हिन्दी चलचित्र ‘औलाद’को समीक्षा छापिएको थियो । समीक्षक साहित्यकार श्यामदास वैष्णव थिए । यसै पत्रिकाको अर्को पृष्ठमा हिन्दी चलचित्र ‘चैतन्य महाप्रभु’ को समीक्षा छापिएको थियो । यसका समीक्षक भने माधवलाल कर्माचार्य हुन् । कर्माचार्य ‘सिनेमा’ पत्रिकाका सम्पादक के. एल. कर्माचार्यका सहोदर भाइ तथा प्रसिद्ध साहित्यकार हुन् । यी दुई वटा समीक्षा नै नेपालमा चलचित्रमाथि गरिएका पहिलो समीक्षा हुन् । जुन हिन्दी चलचित्रमाथि गरिएका थिए ।
नेपाली चलचित्रको समीक्षाको इतिहास केलाउँदा ‘मनको बाँध’ बारे रमेशनाथ पाण्डेले लेखेको समीक्षापछि पत्रकार पी.खरेलले केही चलचित्रको समीक्षा गर्नुभयो । जुन समीक्षा गोरखापत्रमा नै छापिएको थियो । निर्देशक हेम लामाले बनाउनुभएको ‘आदर्श नारी’ चलचित्रको समीक्षा गोरखापत्रमा छापिएपछि पीखरेलको समीक्षाप्रति आपत्ति जनाउँदै निर्देशक हेम लामाले लामो पत्र नै गोरखापत्रलाई लेख्नुभएको थियो । यो पत्र गोरखापत्रको सम्पादकलाई चिठी स्तम्भमा छापिएको थियो । यसैगरी, दुर्गानाथ शर्माको पनि केही चलचित्र समीक्षा गोरखापत्रमा छापिएको थियो
चलचित्र पत्रकारिताको इतिहासलाई हेर्ने हो भने यो क्षेत्रमा धेरै पत्रकारहरूलाई गोरखापत्रले उठाएको छ । प्रकाश साय्मि, लक्ष्मीनाथ शर्मा, चेतन कार्की, दुर्गानाथ शर्मा, पी खरेल आदि जस्ता सञ्चार क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूले यस विषयमा कलम चलाएका छन् । यस हिसाबले चलचित्र पत्रकारिताप्रति गोरखापत्रले लगाएको गुन अतुलनीय छ । गोरखापत्र संस्थानकै प्रकाशन ‘युवामञ्च’मा पनि नियमित रूपमा चलचित्रका विषय प्रकाशित हुँदै आएका छन् ।
चलचित्र विज्ञापनको कुरा गर्दा २०११ सालभन्दा अगाडि काठमाडौँमा एउटै मात्र चलचित्र प्रदर्शन घर ‘जनसेवा’ थियो । त्यतिबेला दर्शकको ध्यान आकर्षित गर्न सिनेमा हल अगाडि उभिएर एक जना मानिसले हलभित्र देखाइने चलचित्रबारे उद्घोष गरिरहन्थ्यो । ‘सिनेमा’ पत्रिका प्रकाशित भएपछि त्यसमा पनि विज्ञापन छापियो । २०११ सालपछि हलहरू बढ्न थाले । हलहरू बढेपछि विज्ञापन दिने माध्यमको अभाव महसुस हुन थाल्यो । यो बेला गोरखापत्र चलचित्र प्रचारको राम्रो माध्यम बन्यो । गोरखापत्रको अन्तिम पृष्ठको दाहिने कुना हलवालाहरूको प्रिय स्थान बन्न पुग्यो । यसरी गोरखापत्र नै चलचित्र प्रचारको नियमित माध्यमको रूपमा पनि अगाडि आयो ।
निजी क्षेत्रका नयाँ समाज, नयाँ सन्देश, ममता, प्रियालगायत पत्रिकाहरूमा चलचित्रका विषयले बिस्तारै स्थान पाउन थाल्यो भने चलचित्रसम्बन्धी पत्रिका पनि प्रकाशन हुन थाल्यो । सुभाष गजुरेलको ‘कलाकार आवाज’ र श्री आचार्यको ‘रूपरङ्ग’ प्रकाशित भयो । तर नियमित हुन सकेनन् । २०४१ साल मङ्सिर १५ गते सुरु भएको ‘कामना’ भने नियमित रूपमा बजारमा आउन सक्यो । यसको प्रकाशक पुष्करलाल श्रेष्ठ हुनुहुन्थ्यो भने सम्पादक विजयउदय पाल्पाली । प्रकाशन सुरु भएको केही समयपछि पाल्पाली सम्पादकबाट हट्नु भयो र पुष्करलाल श्रेष्ठ नै प्रकाशक र सम्पादकका रूपमा रहेर पत्रिकालाई निरन्तरता दिनुभयो । यो पत्रिका अहिले पनि निरन्तर प्रकाशित भइरहेको छ । यसैगरी, विजयरत्न तुलाधरको सम्पादनमा ‘कलाकार आवाज’ र प्रदीप भट्टराईको रेखदेखमा ‘रूपरङ्ग’, मोहन निरौलाको सम्पादनमा ‘चलचित्र’ पत्रिका पनि प्रकाशित भयो । तर यी पत्रिकाले पनि निरन्तरता पाउन सकेनन् ।
अहिले नयाँ खुल्दै गएका सञ्चारका अत्याधुनिक माध्यमहरू युट्युब, अनलाइनलगायत टेलिभिजन च्यानलका साथै पत्रपत्रिकाले पनि चलचित्र र मनोरञ्जनका विषयलाई प्राथमिकता दिएर प्रसारण तथा प्रकाशित गरिरहेका छन् । तर चलचित्र र मनोरञ्जनका सामग्री प्रकाशित गर्नेमा अग्रज ठहरिएको गोरखापत्रमा भने सामग्री कम भएको अनुभव हुन्छ । समीक्षा तथा लेखहरू नियमित प्रकाशित हुने गरे पनि समाचारले भने त्यति स्थान पाउन सकेको छैन । मनोरञ्जन तथा चलचित्रका विषय भनेको युवाका रुचिभित्र पर्ने विषय हुन् । युवालाई आफ्नो प्रकाशन तथा प्रसारणप्रति आकर्षित गर्न यो विषयलाई प्राथमिकताका साथ समेट्न कञ्जुस्याइँ गरिनु हुँदैन ।

(लेखक चलचित्र पत्रकार हुनुहुन्छ ।)