पशुपतिनाथजस्तै पशुपति
चिरञ्जीवी मास्के
२०७८ वैशाख २८ को रात । समय १० बाट उकालो लाग्दै थियो । इन्द्रबहादुर राईको सर्वाधिक चर्चित उपन्यास ‘आज रमिता छ’ पढ्दै थिएँ र त्यसका मुख्य पात्र ‘जनक’को राजनीतिक सादगीपनका बारेमा मनमनै बहस पनि गर्दै थिएँ ।
त्यति नै बेला नेकपा एमालेका नेता पशुपति चौलागार्इंको कोरोना सङ्क्रमणका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भयो । उफ् ! कस्तो अप्रिय संयोग । जनकको राजनीतिक सादगीपनबारे तर्कना गरिरहँदा एमालेका त्यस्तै सादगी नेता पशुपति चौलागाईंको निधनको अप्रत्यासित र अकल्पनीय खबर सुन्नुप¥यो । मलाई ‘आज रमिता छ’ उपन्यासको विषयवस्तु र जनकको राजनीतिक उतारचढाव तथा अवसानको कथाले जसरी रन्थनाइरहेको थियो, पशुपति दाइको निधनको खबरले त्यसलाई उत्कर्षमा पु¥याइदियो ।
‘आज रमिता छ’ का पात्र जनकले राजनीतिमा देखाएको त्याग, समर्पण र सादगीपनले उनलाई व्यक्तिगत रूपमा कहिल्यै सुविधा दिएन । जनकको अवसान दुःखद बन्यो । तर, जनकले राष्ट्रिय एकता, भाषा, संस्कृति र संस्कारको संरक्षणजस्ता कुरामा कहिल्यै गलत सम्झौता गरेनन् । हो, त्यस्तै पशुपति दाइले पनि ४० वर्षभन्दा बढी समय राजनीतिमा सक्रिय बनेर त्याग, समर्पण र सादगीपनमात्र देखाउनुभयो । तर, उहाँले राजनीतिलाई व्यक्तिगत लाभका लागि कहिल्यै सम्झौता गर्नुभएन । उहाँको अवसान पनि दुःखद र पीडादायी नै बन्न पुग्यो । २०७८ वैशाख २८ गतेको रात दुःखद भयो ।
कानुन व्यवसायी मित्र सुब्बा श्रेष्ठले २०७८ वैशाख २९ गते बिहानै एउटा फोटो पठाउनुभएछ पशुपति दाइ प्रमुख अतिथि भएको कार्यक्रममा मसमेत सहभागी बनेको । २०५३ जेठ १ गते अनेरास्ववियुले सदरमुकाम चरिकोटको गौरीशङ्कर बहुमुखी क्याम्पसमा आयोजना गरेको कुनै कार्यक्रमको फोटो थियो त्यो । त्यतिबेला राजेन्द्र मानन्धर (हाल सञ्चारमन्त्रीका प्रेसविज्ञ) अनेरास्ववियु दोलखाको सचिव र म प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ दोलखाको सचिव थियौँ ।
राजनीतिक रूपमा म पशुपति दाइसँग २०५० सालदेखि निकट छु । मलाई मेरो घरको नाम ‘मञ्जु’ भनेर बोलाउने थोरैमध्येको हुनुहुन्थ्यो पशुपति दाइ । २०४७ सालअघि म नेकपा माक्र्सवादीमा आबद्ध थिएँ । २०४७ मा नेकपा माक्र्सवादी र नेकपा माले एकीकरण भएर नेकपा एमाले बनेको भए पनि म एमाले भइसकेको थिइनँ । २०५० मा एमालेका नेता आनन्दप्रसाद पोखरेलले म र राजेन्द्रलाई एमालेमा सङ्गठित हुने वातावरण बनाउनुभयो । त्यतिबेला नेकपा एमाले दोलखाको सचिव पशुपति चौलागाईं हुनुहुन्थ्यो ।
२०५० मा म र राजेन्द्रले पशुपति दाइको हातबाट, उहाँले हस्ताक्षर गरेको नेकपा एमालेको सङ्गठित सदस्यता प्राप्त ग¥यौँ । र, म युवा सङ्घको सचिव भएँ, राजेन्द्र अनेरास्ववियुको सचिव । त्यसपछि झन्डै २७ वर्ष हामीले पशुपति दाइसँग राजनीतिक रूपमा निकट रहेर काम ग¥यौँ ।
पशुपति दाइ वास्तवमै राजनीतिक चरित्र भएको सादगी नेता हुनुहुन्थ्यो । २७ वर्षको राजनीतिक एवम् पारिवारिक निकटतामा उहाँले कहिल्यै आदेश र दबाब दिनुभएन । व्यक्तिगत रूपमा कसैलाई नजिक राख्ने या टाढा पठाउने काम गर्नुभएन । कार्यकर्ताको काम र चरित्रको लेखाजोखा गरेर सोहीअनुसारको व्यवहार गर्नुहुन्थ्यो उहाँ । तर,, कसैलाई पनि चिढ्याउने काम गर्नुभएन ।
कम्युनिस्ट पार्टीको एकता र मुलुकको समृद्धि उहाँको सपना थियो । पछिल्लो राजनीतिक खिचातानीमा उहाँ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट हुनुहुन्थ्यो तर उहाँले कहिल्यै पनि नेकपा एमालेको विभाजन चाहनुभएन । रामेछापका नेता देवशङ्कर पौडेलले एउटा भिडियो सेयर गर्नुभएको छ– पशुपतिले नेकपा एमाले रामेछापको विस्तारित बैठक तथा ७३औँ नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको । सायद त्यो मन्तव्य उहाँको जीवनको अन्तिम थियो होला । उक्त कार्यक्रममा पनि उहाँले पार्टी एकताकै पक्षमा भनाइ राख्नुभएको थियो । म यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल दुवै पक्षका नेता तथा कार्यकर्तालाई आग्रह गर्न चाहन्छु– नेकपा एमाले बनाउन पशुपति चौलागाईंको ठ»लो त्याग र समर्पण छ । पार्टी एकतालाई अक्षुण्ण राख्दै उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरौँ ।
२०७७ चैत २३ गते नेपाल पत्रकार महासङ्घको निर्वाचनको सन्दर्भमा मेरो पशुपति दाइसँग कुराकानी भएको थियो । पत्रकारको निर्वाचनलाई राजनीतिक नभई व्यावसायिक सहमतिका आधारमा सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । त्यसपछि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना हुनुभएपछि मैले कुरा गर्न चाहेको थिएँ । उहाँका भाइ हेमन्तले ज्वरो अलिक बढी भएकाले कुराकानी गर्न सहज छैन तर आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो । र, मैले त्यस्तो बेला टेलिफोन गर्नु सान्दर्भिक ठानिनँ ।
पशुपति चौलागाईं असल राजनीतिज्ञ हुनुहुन्थ्यो तर उहाँको निकटता मानवअधिकार, पत्रकार, सामाजिक अभियन्ता सबैसँग थियो । उहाँले पञ्चायतीकालमा प्रकाश, छलफलजस्ता साप्ताहिक पत्रिकामा समाचार पठाउनुहुन्थ्यो । सदरमुकाम चरिकोटमा रहेको मानवअधिकारवादी संस्था मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक)को संस्थापक अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो ।
पशुपति चौलागाईंले निर्वाचन क्षेत्र विकास कोषको रकमबाट नेपाल पत्रकार महासङ्घमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । पत्रकार महासङ्घ दोलखाको भवन निर्माणका लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । मलाई सम्झना भएसम्म दोलखाका अर्का सादगी नेता भीमबहादुर तामाङको जीवनी समेटेर प्रकाशन गर्न लागिएको पुस्तकका लागि वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग मिलेर धेरै काम गर्नुभएको थियो ।
उहाँसँग जहाँ जुनसुकै बेला भेट हुँदा पनि विखण्डन, विग्रह र विवादित कुरा कहिल्यै गर्नुभएन । उहाँ सधैँ कम्युनिस्ट पार्टीबीच एकता र विपक्षीसँग सहकार्य तथा सहमतिको राजनीतिक संस्कारको मात्र कुरा गर्नुहुन्थ्यो । अनि विकास र समृद्धिका लागि सामाजिक अभियन्ता र पत्रकारको भूमिकाको कुरा गर्नुहुन्थ्यो । उहाँ लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो तर उहाँले राजनीतिबाट थकाइ मार्न चाहनुभएन । राजनीतिमा त्याग, सर्मपण र एकताको सन्देश प्रवाह गर्नुभयो ।
पशुपति चौलागार्इं, राजनीतिक निष्ठा, त्याग, सादगीपन र अठोटका कारण पशुपतिनाथजस्तै सम्मानित र सबैको आस्थाको केन्द्र बन्नुभएको थियो । मुलुकमा सहकारी अभियानलाई उचाइमा पु¥याउन उहाँले निकै मिहिनेत गर्नुभएको छ । नेकपा एमालेमा केशव बडाल र पशुपति चौलागार्इंलाई सहकारी अभियन्ताका रूपमा सबैले चिन्छन् । त्यसैगरी, राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाका लागि होस् या दोलखामा विस्तार भएको सडक, चरिकोट अस्पताल स्थापना, कोरोना परीक्षणका लागि चरिकोटमै पीसीआर प्रयोगशाला स्थापनालगायत जिल्लाको हरेक विकासे गतिविधिमा उहाँको सक्रियता, संलग्नता र सद्भाव सधै प्रशंसनीय तथा अनुकरणीय छ । न कसैप्रति वैरभाव, न कसैलाई भेदभाव सबैसँग उत्तिकै हार्दिकता र सद्भाव– सच्चा पशुपतिनाथ ! á
(लेखक पत्रकार हुनुहुन्छ ।)