नीति अध्ययन र निर्माणका लागि मिडिया
डा. कुन्दन अर्याल
नीति निर्माण र नीतिको कार्यान्वयनमा देखिने विरोधाभाषको अन्त्यका लागि आमसञ्चार माध्यमको भूमिका के हुन सक्छ ? वृहत्तर रूपमा भन्ने हो भने सार्वजनिक नीति भनेको लोकतान्त्रिक सरकारले सर्वसाधारणका दैनन्दिनका व्यवहारलाई सम्बोधन गर्दै अध्यावधिक र प्रामाणिक सूचनाका आधारमा तर्जूमा र कार्यान्वयन गर्ने कार्ययोजना हो । यही आधारमा भन्ने हो भने सार्वजननिक नीतिको निर्माण र कार्यान्वयनमा जिम्मेवार, आत्मनिर्भर र विश्वसनीय आमसञ्चार माध्यमको महìवपूर्ण भूमिका हुन्छ ।
सार्वजनिक नीति निर्माण चक्रका विभिन्न चरणमध्ये सुरुवातको एजेण्डा सेटिङका सम्बन्धमा आमसञ्चार माध्यमको भूमिकाको आकलन गर्दै निकै अध्ययन गरिएका छन् । मिडियाको एजेण्डा सेटिङ क्षमताका बारेमा समाजमा पर्ने मिडियाको प्रभावसम्बन्धी सैद्धान्तिक अवधारणाका आधारमा निकै व्याख्या गरिएको छ । सार्वजनिक विमर्शका लागि एजेण्डा सेटिङ गर्ने भूमिकाका अतिरिक्त नीति तर्जूमा, वैधता, कार्यान्वयन र मूल्याङ्कनका चरणहरूमा समेत आमसञ्चार माध्यम सहयोगी मात्र होइन, प्रभावकारी संयन्त्रसमेत सिद्ध हुँदै आएका छन् ।
कुनै पनि समाजमा सरकार वा सरकारी निकायहरूले जनप्रतिनिधिहरूद्वारा पारित गरिएका कानुन लागू गराउँछन् र सार्वजनिक नीतिहरू तय गरी सुशासन अनुभूत गराउँदै स्रोतहरूको समेत परिचालन गर्छन् । सार्वजनिक नीतिको बृहत्तर परिभाषाभित्र कानुनको प्रणालीका साथसाथै जननिर्वाचित निकायहरूको अधीनमा नियमनका आधार, कार्ययोजना र खर्चको प्राथमिकता तय गर्ने विषयहरू पर्छन् । विगत कतिपय समयमा उत्साहका साथ अङ्गीकार गरिएको सार्वजनिक नीतिले उद्देश्य अनुरूप अपेक्षित परिणाम दिन नसकेको तीतो यथार्थ पनि देखिएको छ । त्यसैगरी राष्ट्रको बृहत लक्ष्यसँग कुनै नीति मेल नखाने प्रकृतिको समेत देखिंँदै आएका छन् । कतिपय बेला बृहत्तर नीति र सार्वजनिक क्षेत्रका विभिन्न नीतिबीच खाडल उत्पन्न भएको पनि हुन सक्छ । त्यसैले नीतिहरूको समानुकूल परिमार्जन वा नयाँ नीतिको तर्जुमा आवश्यक पर्छ । तर व्यवस्थित र वैज्ञानिक विधिबाट अध्ययन गरी खोजिएका प्रामाणिक सूचनाका अभावमा प्रभावकारी नीतिहरूको निर्माण हुन सक्दैन, विद्यमान नीतिहरूको परिमार्जन पनि हुन सक्दैन । त्यसैले नीतिसम्बन्धी अध्ययन–अनुसन्धानहरू आवश्यक हुन्छन् । यही क्रममा नीति अनुसन्धाताहरू विभिन्न सार्वजनिक वा राष्ट्रिय महìवको विषयमा सार्वजनिक जानकारी र सचेतनाको स्तरको परीक्षण गर्न जनमत सर्भेक्षणहरू गर्छृन् । तर जनमतको नियमित अनुगमन र नीतिगत सुधारको आवश्यकताको प्रारम्भिक अनुमान गर्न आमसञ्चार माध्यमहरू उपयोगी सिद्ध हुँदै आएका छन् । आधुनिक लोकतन्त्रको सन्दर्भमा समग्र राजनीतिक प्रणालीमा स्वतन्त्र आमसञ्चार यति अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ, नीति प्रक्रिया चक्रको हरेक चरणमा यसको भूमिका हुन्छ ।
राज्यका निकायहरूका लागि आमसञ्चार माध्यमहरूले जनजीवन वा सर्वसाधारणका भोगाइका बारेमा सुसूचित गरेर नयाँ नीतिको आवश्यकता वा नीतिमा परिमार्जनको अपरिहार्यताका बारेमा बताउन सक्छन् । राजनीतिक वा सार्वजनिक संवादका मूल वाहक नै आमसञ्चार माध्यम हुन् । मिडिया स्वतन्त्रताको अवस्था जति कमजोर हुन्छ, सार्वजनिक संवाद त्यति नै कमजोर हुन्छ । नीति अध्येता विज्ञहरूको नीतिसम्बन्धी अनुसन्धान लागि पनि मिडियाका सूचना उपयोगी साबित हुँदै आएका छन् । समयानुकूल र प्रामाणिक नीति अनुसन्धानका निचोडका आधारमा तय गरिएका सार्वजनिक नीतिहरूको मूल्याङ्कन वा नयाँ नीतिको तर्जूमा बढी प्रभावकारी हुने गर्छ ।
सन्तुलित योजना र विकास, विद्यमान बाटोघाटोको प्रयोग र लाभहानीको अवस्था, स्थानीय योजना, विकेन्द्रीकरण वा महिला तथा लामो समय वञ्चितीमा पारिएका समुदायका विषयमा नेपालमा पनि कैयन नीति अध्ययनहरू भएका छन् । तर अध्ययनका निष्कर्षउपर आमसञ्चार माध्यमका विविध सामग्रीका रूपमा व्यापक विमर्श हुन सकेको खण्डमा मात्र जनमत प्रभावित हुन सक्छ । त्यसैले निष्कर्ष केवल नीति निर्माताहरूलाई मात्र उपलब्ध गराएर अनुसन्धानको लाभ लिन सकिँदैन । सार्वजनिक वृत्तमा आएपछि मात्र नीति परिमार्जन वा तर्जूमाको क्रममा ती ज्ञान र सूचनाको उचित ढङ्गमा उपयोग हुन सक्छ । नीति अनुसन्धान र अध्ययनका निष्कर्षलाई सरलीकृत रूपमा जनसाधारणकै एजेण्डामा रूपान्तरण गर्दै देशको सार्वजनिक नीतिका रूपमा अङ्गीकार गराउन आमसञ्चार सबैभन्दा प्रभावकारी साबित हुँदै आएका छन् । यस सन्दर्भमा दबाब समूहको भूमिका पनि मूलतः आमसञ्चार माध्यमबाटै मुखरित हुन्छन् । शिक्षा, सार्वजनिक वकालत वा दबा्ब समूहहरूको परिचालनबाट व्यक्ति वा समूहहरूले सार्वजनिक नीतिलाई आकार प्रदान गर्न खोजेका हुन्छन् । तर सामान्यतः कुनै पनि समाजको सार्वजनिक नीति निर्धारणमा आमसञ्चार माध्यमको भूमिका कति प्रभावकारी हुन सक्छ भन्ने विषय राजनीतिक प्रणाली वा लोकतन्त्रको स्तरका साथै मिडियाको विश्वसनीयतामा निर्भर गर्छ । त्यसैले सार्वजनिक नीतिमा मिडियाको प्रभाव, अझ खासगरी राजनीतिक निर्णयसम्बन्धी प्रक्रिया र परिणाममा मिडियाको भूमिका कुनै पनि देशको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिस्थितिबमोजिम फरक देखिन भने सक्छ ।
राजनीति शास्त्र, मिडिया, आन्दोलन र राजनीतिक मामिलासम्बन्धी बेल्जियमका दुई अध्येताले सन् २००६ मा एक अनुसन्धानका क्रममा नीति निर्माणमा आमसञ्चार माध्यमको प्रभावका सम्बन्धमा तीन दशकमा गरिएका १९ वटा अध्ययनको समीक्षा गरेका थिए । उनीहरूका अनुसार तीमध्ये १२ वटा प्रतिवेदनले नीति निर्माणमा आमसञ्चार माध्यमको अत्यधिक र उल्लेखनीय प्रभाव पर्ने निष्कर्ष निकालेका थिए । कतिपय बेला नीति अध्येताहरूलाई लाग्न सक्छ, मिडियाका राजनीतिक विषयवस्तु मूलतः व्यक्ति केन्द्रित हुने गर्छन् । व्यवस्थापन वा नियमनका विशिष्ट क्षेत्रसँग सम्बन्धित नीति प्रक्रियाका सम्बन्धमा सारभूत महìवका सामग्री मिडियाको आफ्नै मान्यता वा समाचारीय मूल्यका कारण कम समेटिएका हुन सक्दछन् । किनकि, आमरूपमा व्यावसायिक मिडिया स्वास्थ्य प्रणाली, आर्थिक वृद्धिजस्ता संरचनागत सवालहरूभन्दा तत्कालका समाचारीय मूल्यका सान्दर्भिक सामग्रीलाई महìव प्रदान गर्छन् । तैपनि विश्वभरका मिडियामा यो प्रवृत्तिमा धेरै वा थोरै परिवर्तन भइरहेको देखिन्छ । आमसञ्चार माध्यममा समाचारदेखि अन्य सामग्रीहरूको उत्पादनमा विज्ञहरूको राय पहिलेभन्दा बढी समेटिंदै आएका छन् ।
‘पब्लिक पोलिसी एण्ड मास मिडिया ः द इण्टरप्ले अफ मास कम्युनिकेसन एण्ड पोलिटिकल डिसिजन मेकिङ’ शीर्षकको पुस्तकमा सिग्रिद वमगार्टेन र काट्रिन भोल्मर नीति निर्माणको तहमा रहनेहरूका लागि मिडिया जनअभिमत थाहा पाउने ऐना हो भन्ने धारणा राख्नुहुन्छ । भइरहेका अभ्यासको प्रत्यक्ष अध्ययनका आधारमा खिचिएको उहाँहरूको निष्कर्ष छ ः जहाँ योजना निर्माण गर्नेहरू मिडियालाई जनमतको प्रतिविम्ब प्रस्तुत गर्न माध्यमका रूपमा ध्यानपूर्वक नियाल्दछन्, तिनीहरू समाचारलाई आफूले कार्य सम्पादन गर्नुपर्ने राजनीतिक परिवेशको अनुगमन गर्ने माध्यमका रूपमा समेत ग्रहण गर्छन् । यस दृष्टिले हेर्दा, नीति अध्येता, नीति निर्माण गर्नेहरू र नीतिको कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सरकारी निकायहरूका लागि मिडिया अवलोकनको एउटा महìवपूर्ण क्षेत्र हो । ती सबैका लागि मिडिया प्रारम्भिक जानकारी वा सूचना सङ्कलनको वृत्त पनि हो ।
तर स्वाभाविकै रूपमा मिडियाको उल्लेखित गुण व्यावसायिकता, पत्रकारको सीप र दक्षतामा निर्भर गर्छ । समाजका यावत पक्षलाई आमसञ्चारका माध्यमले कति विश्वासनीय र स्वच्छ ढङ्गले सीप र दक्षताका साथ सामग्रीका रूपमा कतिसम्म समेट्न सकेका छन् भन्नेमा धेरै कुरा निर्भर गर्छन् । व्यावसायिक मूल्य र मान्यतालाई अङ्गीकार गर्दै समाजका यावत सवालहरूलाई बहुआयामिक ढङ्गले अभिव्यक्त गर्न सक्ने आमसञ्चार माध्यम नै सार्वजनिक नीतिको परिमार्जन वा तर्जूमामा नागरिक सहभागिताको प्रभावकारी माध्यम बन्न सक्छन् । आमसञ्चारका यस्ता माधयमहरू नै असहमतिका स्वर वा प्रतिपक्ष र सरकारबीच सहमतिको सेतु बाँध्न सफल हुन्छन् । सुशासनका शिरा र धमनीहरूको काम यस्तै मिडियाहरूले मात्र गर्न सक्छन् । अर्कोतिर मिडियासँगको सहकार्य र मिडिया मैत्री अभ्यास र व्यवहारले नीति निर्माण गर्नेहरूलाई सार्वजनिक एजेण्डा र जनअभिमतमाथि नियन्त्रण कायम गर्न सक्षम तुल्याउँछन् ।
मिडियाको खेलको नियम केही मौलिक अवश्य छ । तर नीति अध्ययन, नीति निर्माण र कार्यान्वनमा मिडियाको भूमिका कति प्रभावकारी हुन सक्छ भन्ने दृष्टान्तहरू नेपालमै पनि देखिएका छन् । सडक असुरक्षा र दुर्घटनाविरुद्धको अभियानमा नेपाल सरकार र मातहतको निकाय नेपाल प्रहरीले ०६८ को अन्त्यतिर सुरु गरेको मापसे विरुद्धको अभियानको सफलतामा मिडियाको उल्लेखनीय सकारात्मक भूमिका रहेको देखिन्छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णत निषेध गर्ने नीतिअन्तर्गत ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानको सकारात्मक पक्षसँग सम्बन्धित अनगिन्ती सामग्रीले जनमतलाई अनुकूल बनाइरह्यो । आज नेपाल सरकारको यो नीति सर्वस्वीकार्य छ ।
(लेखक त्रिविको पत्रकारिता तथा आ सञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)