कर्णालीले सिंहदरबारलाई फर्काएको जवाफ
डा. सुरेश आचार्य
मुलुकमा राजनीतिक महामारी र कोरोना महामारी एकसाथ चलेको छ । राष्ट्रपति र प्रधानमन्त्री भर्सेस राजनीतिक दलहरू आ–आफ्ना कदमको औचित्य स्थापित गर्नेमा लागेका छन् । मानौँ मुलुक पूर्ण रूपमा आराम छ, कुनै समस्या मुलुकभित्र छैनन् । राजनीति यसरी गिजोलिएको छ कि राजनीतिक सूचना र समाचार नागरिकलाई हजम नहुने अवस्था छ । अर्कातिर हरेक दिन कोरोना सङ्क्रमितहरू थपिएका छन् । निको हुने क्रम केही बढेको छ तर सङ्क्रमितलाई जित्ने गरी बढ्न सकेको छैन । सुरु सुरुमा सहर केन्द्रित कोरोना सङ्क्रमण अब गाउँ बस्तीमा छिरेको छ । सहरका अस्पतालमा कोरोना सङ्क्रमितका लागि बेड नभएका समाचार नौला हुन छाडेका छन् । अक्सिजनको जोहो गरिंदै गर्दा अभावको परिपूर्ति हुन अझै सकेको छैन ।
कोरोना सङ्क्रमणको यो विकराल अवस्थामा सधैँ दुर्गम भनिंदै र मानिंदै आएको कर्णालीले सुगम भनिएका केन्द्र र प्रदेशका राजधानीलाई चुनौती दिन थालेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण यतिबेला कर्णाली प्रदेश नै आक्रान्त छ । प्रदेशको राजधानी वीरेन्द्रनगरमा अक्सिजनको अभाव कायमै छ । प्रदेश सरकारले सञ्चालन गरेको प्रदेश कोभिड विशेष अस्पताल कोरोनाका जटिल प्रकृतिका सङ्क्रमितले भरिएको छ । प्रदेशमा दैनिक एक हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक ८÷१० जना सङ्क्रमितको मृत्यु हुने गरेको छ । तर प्रदेशको दुर्गम क्षेत्र जुम्लामा स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुरानो कर्णाली अञ्चललाई समेट्ने गरी स्वास्थ्य सुविधाको नयाँ रणनीति अवलम्बन गरेको छ । गाउँ गाउँमा डाक्टर, नर्स र अरू पारामेडिक्सहरू पुग्न थालेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यतिबेला ‘कर्णाली मार्च’ अभियानअन्तर्गत विशेषज्ञ चिकित्सकसहितको टोली गाउँ–गाउँमा पठाएको छ । चिकित्सकहरूको टोली स्थानीय तह हुँदै दूरदराजका गाउँ–गाउँमा पुगेर त्यहाँका आइसोलेसनमा भएका बिरामीको रेखदेख र रोकथामका लागि काम गर्न थालेका छन् । उनीहरूले उपचारका साथसाथै नागरिक सचेतना अभियान पनि चलाएका छन् । महामारी नियन्त्रणमा नआएसम्म उनीहरू गाउँ गाउँमै रहने प्रतिष्ठानले जानकारी गराएको छ । प्रतिष्ठानले दुर्गम क्षेत्रमा त यो काम गरेकै छ, प्रदेशको सीमावर्ती सहर नेपालगञ्जमा रहेको भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि प्रतिष्ठानबाट चिकित्सकसहितको छुट्टै टोली सहयोगका लागि पठाएको छ । आईसीयूमा चिकित्सकको अभाव भएपछि भेरी अस्पतालले प्रतिष्ठानसँग सहयोग मागेकोे थियो । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको छ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली यतिबेला नेपालगञ्जमा कोभिड बिरामीको उपचारका लागि क्रियाशील छ । .
यस्तो पनि समय थियो, माथिल्लो कर्णालीका नागरिक सामान्य उपचार गराउनका लागि मात्र होइन, सामान्य दैनिक उपभोगका वस्तु लिनका लागि समेत सीधै नेपालगञ्ज ओर्लिन्थे । समयले कोल्टे फेरेको छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन भएको छ । पछिल्लो समय सुर्खेत, नेपालगञ्जलगायतका अस्पतालमा अक्सिजन र बेड नपाएपछि कोरोना सङ्क्रमितहरू प्रतिष्ठानको शिक्षण अस्पताल जुम्ला पुग्न थालेका छन् । प्रतिष्ठानमा यतिबेला ७० जना चिकित्सकसहित झण्डै २५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालको पूर्ण क्षमता अनुसार बिरामी भर्ना हुँदा पनि आवश्यक परेका बखत ५० जना चिकित्सक–स्वास्थ्यकर्मीलाई अरू क्षेत्रमा पठाउन सकिने प्रतिष्ठानको दाबी छ । हिजो जुम्लामा कसरी यो प्रतिष्ठान चल्न सक्छ भनेर प्रश्न उठाउने सिंहदरबारका नीति निर्मातालाई प्रतिष्ठानको अहिलेका क्रियाकलापले नमिठो जवाफ फर्काएको छ ।
प्रतिष्ठानको शिक्षण अस्पताल जनशक्ति र प्रविधिका हिसाबले देशकै अब्बल अस्पताल भइसकेको प्रमाणित गरेर देखाएको छ । अस्पतालमा हाल तीन सय बेड छन् । आईसीयू १०, एचडीयू २५ र भेन्टिलेटर १३ वटा छन् । प्रतिष्ठानले आफ्ना लागि आवश्यक पर्ने अक्सिजन आफैँ उत्पादन गर्दै आएको छ । अहिले ३५ बेडलाई पुग्ने गरी अस्पतालकै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको छ । अरू बेडमा पाइपलाइन जडान थालिएको छ । अस्पतालसँग दुई सय अक्सिजन सिलिन्डर छन् । दुई वटा बुस्टर जडान गरे प्रदेशका अन्य जिल्लामा अक्सिजन पठाउन सकिने अस्पतालको भनाइ छ । तर यसका लागि करिब एक करोड बजेट आवश्यक पर्छ । अस्पतालले नियमित बिरामीका लागि एक सय बेड छुट्याएको र कोरोना सङ्क्रमितका लागि दुई सय बेडको व्यवस्थापन गर्न सकिने जानकारी गराएको छ । प्रतिष्ठानको यो काम देखेपछि हिजो डा. गोविन्द केसीलाई गलत ढङ्गमा आरोपित गर्नेहरू अहिले पछुताएका होलान् ।
मुलुकभित्र सत्ता राजनीतिले सबै राजनीतिक दललाई गाँजेको छ । मुलुकमा कोरोना कहरको तीव्र गति लिइरहँदा दलहरूले नागरिकप्रतिको जिम्मेवारी भुलेको आभाष नागरिक तहमा हुन थालेको छ । सत्तामा को रहने र नरहने प्रश्नसँगै प्रतिनिधि सभा विघटन, पुनस्र्थापना र विघटनका खेल चलिरहेका छन् । नेपालको संसद्ले आजसम्म गम्भीर ढङ्गमा कोरोनासँग जुध्ने विषयमा छलफल गरेको मतदाताले राम्ररी सुन्न पाएका छैनन् । फेरि प्रतिनिधि सभा विघटन भएकाले संसद्भित्र यस विषयमा हुने छलफलको सम्भवनाको अन्त्य गरेको छ । तर पुरानो मित्र राष्ट्र बेलायतको संसद्मा नेपालको कोरोना महामारी र बेलायतले गर्न सक्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डमा गएको बिहीबार भएको यो बहसको सुरुवातमा सांसदहरूले नेपालले बेलायतसँग माग गरेको २० लाख डोज (मात्रा) कोरोना खोप कहिले पु¥याइदैछ भनेर प्रश्न उठाएका थिए । सांसदहरूले सोधेका प्रश्नमा विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले नेपाली अधिकारीहरूसँग निरन्तर संवादमा रहेको र सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
बेलायतले कोभ्याक्स कार्यक्रमका लागि ५४ करोड ८० लाख पाउण्ड रकम छुट्याएको छ । यो कार्यक्रमले अहिलेसम्म तीन महादेशमा पाँच करोड ९० लाख डोजभन्दा धेरै कोरोना खोप वितरण गरिसकेको छ । यो कार्यक्रमअन्तर्गत नेपालले पनि तीन लाख ४८ हजार डोज खोप पाएको छ । कोभ्याक्सले नेपाललाई करिब २० लाख डोज कोरोना खोप छुट्याएको छ । यो खोप निःशुल्क रूपमा नेपालले प्राप्त गर्न लागेको हो । बेलायती मन्त्री अहमदले आगामी साता नेपाल आइपुग्ने गरी खोप पठाउन सेनासँग कुराकानी भइरहेको जानकारी बेलायती संसद्लाई गराउनु भएको छ ।
नेपालको कोरोना सङ्क्रमणका विषयमा बेलायती सांसदहरू कति जानकारी राख्छन् र चिन्तित छन् भन्ने कुरा कन्जरभेटिभ पार्टीका सांसद मोहम्मद शेखले संसद्मा उठाएको प्रश्नले पनि गराउँछ । बेलायत–नेपाल व्यापार तथा लगानी फोरमको संस्थापक तथा अध्यक्षसमेत रहनुभएका सांसद शेखले संसद्मा बोल्दै भन्नुभएको छ – “अहिले नेपालको अवस्था नाजुक छ । नेपाललाई तत्काल सहयोगको खाँचो छ । मैले बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गरिरहेको छु र नेपाली राजदूतसँग पनि पटक पटक वार्ता गरेको छु । नेपाललाई भेन्टिलेटर, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर्स, अक्सिजन प्लान्ट, आईसीयू बेड, परीक्षण किट्स र स्वाभाविक रूपमा खोपको खाँचो छ । म मन्त्रीलाई यो कुरा जानकारी गराउँदै यसको जवाफको प्रतीक्षामा छु ।”
बेलायती सांसदहरूले गरेको नेपालीका बारेमा गरेको जति चिन्ता नेपालका सांसदहरूलाई भयो होला ? प्रतिनिधि सभा पुनस्र्थापना भएपछि चलेको संसद् अधिवेशनमा कोरोनाका बारेमा नेपालका सांसदहरूले कति बोले ? सरकारले कति जिम्मेवारपूर्ण ढङ्गमा यो समस्याकाबारे संसदलाई जानकारी गरायो ? पहिलो चरणको कोरोना सङ्क्रमणका बेला सर्वदलीय संयन्त्र बनाएर काम गर्नु पर्छ भन्ने आवाज नउठेको थिएन । यसलाई गम्भीरतापूर्वक लिइएन । अत्यन्त भय र त्रासका बीच नेपालीले बाँच्नुपर्ने अवस्था भए पनि सौभाग्यवश नेपालले पहिलो लहरमा ठूलो मानवीय क्षति बेहोर्नु परेन । नयाँ भेरियन्ट (स्वरूप) सहित चलेको दोस्रो लहरमा अनपेक्षित रूपमा नागरिकले बेहोर्नु परेको पीडा र मृत्यु हाम्रो संसद् र सरकारले जिम्मेवारी बोध गर्न नसक्दाको परिणाम हो । राजनीतिक दल र नेताहरूमा अझै किन चेत पलाउन सकेको छैन ?
(लेखक नेपाल पत्रकार महासङ्घकापूर्व सभापति हुनुहुन्छ ।