महामारीसँग जुध्दै काठमाडौँ महानगरपालिका
वसन्त आचार्य
कोभिड–१९ महामारीको प्रतिकार्यमा स्थानीय सरकारले आफ्नो स्रोत, साधन र स्थानीय परिवेशअनुसारका कार्य गरिरहेका छन् । कोभिड–१९ को दोस्रो लहर निकै त्रासदीपूर्ण छ । अक्सिजन, आईसीयू र भेन्टिलेटरको सहायताविना कडा सङ्क्रमितले ज्यान बचाउन गाह्रो छ । सद्दे मान्छेलाई एक दुई दिनमै मृत्युको मुखमा पु¥याउने कोभिड–१९ को सङ्क्रमणसँग जुध्नु सामान्य कुरो रहेन अहिले ।
यस्तो आपतकालीन अवस्थामा सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा ७७ जिल्लाका नेपाली र विदेशी नागरिक, कूटनीतिक नियोग, उच्चपदस्थ व्यक्तिहरूसमेत बसोवास गर्छन् । काठमाडौँको बस्ती निकै घना छ, त्यसकारण यहाँको व्यवस्थापन पनि जटिल मानिन्छ । यहाँ धेरै सङ्ख्यामा ठूला अस्पताल पनि रहेका छन्, तथापि यस विषम परिस्थितिमा स्वास्थ्य सेवा दुर्लभ र कठिन भएको छ ।
सङ्घीय सरकारको प्रत्यक्ष मातहतमा रहेका सङ्घीय तथा अन्तर्राष्ट्रिय स्तरका अस्पतालको क्षमताले समेत सङ्क्रमितलाई आवश्यकताअनुरूपको विशेष स्वास्थ्य सेवा दिन नसकिरहेको यस अवस्थामा क्वारेन्टिन वा आइसोलेसनजस्ता आधारभूत सेवाबाट जोखिम न्यूनीकरण हुन सक्ने देखिँदैन । यतिखेर सङ्क्रमितका लागि चिकित्सकको परामर्शसहित अक्सिजन, आईसीयू र भेन्टिलेटर सेवाबाट मात्र उपचार गराउनुपर्ने यथार्थ छ । कोभिड–१९ को यस महामारीलाई दृष्टिगत गरी काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकाभित्रका स्वास्थ्य संस्थाको क्षमता वृद्धि गर्नु नै सर्वाधिक उपयुक्त, दिगो र छिटो उपचार सेवा सञ्चालन गर्ने उपाय ठहर गरी विभिन्न कार्य गरिरहेको छ । ती कार्य निम्नानुसार
रहेका छन् :
वडास्तरमा जनचेतना
महानगरपालिकाको ३२ वटै वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी र स्थानीय अभियन्ता संलग्न भएको टोलीले समुदायस्तरका घर–घरमा गई मास्क लगाउने, साबुनपानीले हात धुने, भीडभाडमा नजाने, सामाजिक तथा भौतिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्नेलगायतका जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । स्वास्थ्य मापदण्डको प्रयोग गर्न र कुनै स्वास्थ्य समस्या देखापरेमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्न जानकारी गराउने कार्य माइकिङबाट समेत भइरहेको छ ।
हटलाइनको व्यवस्था
महानगरपालिकाले २४सै घण्टा स्वास्थ्य परामर्श दिनेगरी ११८० को हटलाइनको व्यवस्था गरेको छ । उक्त हटलाइनबाट आफूलाई परेको कुनै स्वास्थ्य समस्या, स्वास्थ्यसम्बन्धी जिज्ञासा, आधारभूत स्वास्थ्य परामर्श र तत्काल अस्पताल जानुपर्ने भएमा एम्बुलेन्स सेवाको समेत व्यवस्था मिलाउने भरपर्दो माध्यम बनेको छ ।
निःशुल्क एम्बुलेन्स
काठमाडौँ महानगरपालिकाले कोभिड सङ्क्रमित बिरामीका लागि अस्पताल आउजाउ गर्न १०२ नम्बरको १० वटा र कोभिड सङ्क्रमण पुष्टि नभएका वा अन्य स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्य १० वटा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवाका लागि कोभिड सङ्क्रमितका लागि सिधै १०२ मा र अन्य बिरामीका लागि ११८० मा फोन गरी सेवा लिन सकिनेछ । यस्तो सेवा २४ घण्टामा करिब दुई सयजनाले उपयोग गरिरहेको अभिलेखबाट देखिन्छ ।
दैनिक स्वाब सङ्कलन
महानगरपालिकाको डेडिकेटेड स्वास्थ्यकर्मीको समूहले दैनिक कोभिड–१९ सङ्क्रमितहरूको ट्रेसिङ गर्ने र शङ्कास्पद व्यक्तिको निःशुल्क स्वाब सङ्कलन गरी टेस्टिङ गर्ने कार्य गरिरहेको छ । प्रत्येक दिन यो समूहले महानगरपालिकाको फरक–फरक १३ स्थानबाट स्वाब सङ्कलन गरी परीक्षण गर्ने कार्य गरिरहेको छ । यससम्बन्धी जानकारी प्रत्येक वडा कार्यालय, ११८० को हटलाइन, मेट्रो एफएम र नेपाल टेलिभिजनबाट समेत प्रचार–प्रसार भइरहेको छ । दैनिक सा÷आठ सयजनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट निःशुल्क परीक्षण भइरहेकोमा जेठको पहिलो हप्ताबाट निःशुल्क एन्टिजेन्ट परीक्षणसमेत सुरु गरेको छ ।
अक्सिजन प्लान्ट स्थापना
काठमाडौँ महानगरपालिकाले सहिद गङ्गालाल हृदय केन्द्रसँग सहकार्य गरी करिब दुई करोड ७५ लाख लागतको अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा आइसकेको छ । नेपालकै बालबालिकासम्बन्धी सबैभन्दा जेठो कान्ति बाल अस्पतालमा समेत अक्सिजन प्लान्ट जडान गरी सेवा प्रवाह हुन गइरहेको छ ।
विशेष कोभिड अस्पताल
काठमाडौँ महानगरपालिकाले आयुर्वेद चिकित्सालय नरदेवीसँग सम्झौता गरी उक्त अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति थप, अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्रका लागि कोभिड विशेष अस्पताल सञ्चालन गर्दै छ । पाइपलाइनसहितको अक्सिजनको व्यवस्था, अस्पतालको मर्मत–सम्भार, रङ्गरोगन, थप जनशक्तिको व्यवस्था, प्रोत्साहन भत्ता र बिरामीका लागि खाना र खाजासमेतको सम्पूर्ण व्यवस्था महानरपालिकाले गर्नेछ । ५० शøयाबाट सुरु गरिने यो सेवा क्रमशः विस्तार हुनेछ । यसैगरी, महानगरपालिकाले सम्पूर्ण खर्च बेहोर्नेगरी छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन भइरहेको छ । जेठ ७ गतेबाट यो अस्पतालले अक्सिजन, आईसीयू तथा भेन्टिलेटरसहित ३५ शøयाको कोभिड विशेष सेवा प्रदान गर्दै छ ।
अस्पतालको क्षमता वृद्धि
महामारीको यो भयावहमा क्वारेन्टिन वा आइसोलेसन मात्र सञ्चालन गरेर हुँंदैन । अस्पतालमा बिरामीलाई अलि गाह्रो हुनेबित्तिकै आईसीयू तथा भेन्टिलेटरको तत्काल आवश्यकता पर्ने भएको देखिन्छ । काठमाडौँका स्थापित अस्पतालमा समेत भेन्टिलेटर तथा अन्य उपकरणको अभावमा उपचार प्रभावित भएकाले तत्–तत् अस्पतालको क्षमता बढाउने हो भने भेन्टिलेटरको थप प्रबन्ध गर्नुको अर्को विकल्प देखिएन ।
काठमाडौँ महानगरपालिकाले भर्खरै त्रिवि शिक्षण अस्पताललाई १० थान, वीर अस्पताललाई १५ थान, छत्रपाटी निःशुल्क चिकित्सालयलाई तीन थान, नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई तीनथान, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताललाई दुईथान, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई दुई थान, सहिद गङ््गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँचथान, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौँ मोडेल अस्पताललाई दुईथान गरी ४२ थान अत्याधुनिक भेन्टिलेटर उपलब्ध गराएको छ । त्यसैगरी, वीर अस्पताललाई ५० थान मोनिटर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक्स्ट्टाक्सन कीट १० हजार टेस्ट र १० शøयाका लागि स्टाफ फर अब्जर्भेसन, निजामती कर्मचारी अस्पतालका लागि सी प्याप मेसिन १० थान र वाइत्याप मेसिन १० थान उपलब्ध गराएको छ । यी अस्पतालजन्य अति संवेदनशील तथा महँगा उपकरणबाट कोभिड–१९ का सङ्क्रमित बिरामीको विशिष्ट उपचारमा मुख्य भूमिका निर्वाह हुनेछ ।
आइसोलेसन सेन्टर सञ्चालन
महानगरपालिकाको सम्पूर्ण खर्च र वीरेन्द्र अस्पताल छाउनीको व्यवस्थापनमा टोखा नगरपालिका वडा नं. ९ सामाखुसीमा रहेको राधास्वामी सत्सङ व्यासको भवनमा कोभिड सङ्क्रमित विरामीहरूका लागि अक्सिजन थेरापी आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । प्रारम्भमा ८८ शøयाबाट सुरु हुने यो सेन्टरमा दुई सयजनासम्मको क्षमता रहेको छ । अस्पतालको आईसीयू र भेन्टिलेटर सेवा नचाहिने गरी निको हुँदै गरेका तर अक्सिजन थेरापी सेवा भने अनिवार्य हुने अस्पतालका बिरामीलाई यस सेन्टरमा स्थानान्तरण गर्ने योजना छ ।
त्यसैगरी, आवश्यकताका आधारमा वडास्तरीय आइसोलेसन सेन्टर पनि सञ्चालनमा आएका छन् । हालसम्म छवटा वडामा कुल २३६ शøयाको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा आएका छन् । क्रमशः आइसोलेसन सेन्टर सञ्चालनमा आउनेक्रममा छ । थप सातवटा अक्सिजन सुविधासहितको आइसोलेसन सेवा पनि सुरु हुँदै छ । यस व्यवस्थाका लागि महानगरपालिकाबाट आवश्यक समन्वय र सहकार्य भइरहेको छ । यसमा सबैको हातेमालो अनिवार्य छ ।
सामान्य क्वारेन्टाइन वा आइसोलेसन सञ्चालन मात्रले कोभिडको यो दोस्रो लहरको सङ्क्रमणलाई पराजित गर्न नसक्ने स्पष्ट छ । यस परिस्थितिमा चालु अस्पतालकै सेवालाई अझ विस्तार तथा क्षमता वृद्धि गर्नुमै स्वास्थ्य सेवा झनै विशिष्ट र दिगो हुने महानगरपालिकाको ठहर हो । त्यसैले महानगरपालिका उपत्यकाका स्वास्थ्य संस्थासँग सहकार्य, साझेदारी र तालमेल गरी अघि विशिष्टीकृत सेवाका लागि अगाडि बढ्दै छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य र समन्वयलाई अझै प्रभावकारी बनाउन आवश्यक देखिन्छ । वर्तमान महामारीको जटिल समयमा यस प्रकृतिको सहकार्यको अभ्यास अन्य स्थानीय सरकारका लागि समेत उपयोगी हुन सक्ने देखिन्छ ।
(लेखक काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी हुनुहुन्छ ।)