चक्रव्यूहभित्र लड्दै मध्यम वर्ग
कृतिक रावल
धेरै हैन, मात्र केही समयअघिको कुरा हो । जब कोरोना महामारीको अध्याय नेपालबाट सकिएकोजस्तो लाग्थ्यो । चियागफमा सुनिन्थ्यो कि नेपालीले भाइरसलाई नै हराइसके, हाम्रो प्रतिरक्षा शक्ति अरू मुलुकका भन्दा बढी नै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गर्ने दैनिक तथ्याङ्कलाई वास्ता गर्नै छोडिसकेका थियौँ । अब त केही भइहाले पनि भ्याक्सिनले बचाउँछ भन्ने सोचेका थियौँ । जतिखेर बाँकी विश्व महामारीमा थप दबिँदै थियो, हामीले जीवन यति चाँडो सामान्य लयमा फर्काउन थाल्यौँ कि विज्ञहरू नै अचम्मित भए । तर, कोरोनाको अर्को नयाँ लहर आयो, कल्पनातीत शक्तिशाली लहर ।
कोरोना कहरले ल्याएको आपतमा हरेकले आफ्नो पीडा पोख्दै छन् । हरेकले आफूलाई नै सबैभन्दा ठूलो असर परेको भन्दै छन् । व्यवसायीका व्यापारमा क्षति पुगेको सुन्यौँ । निम्नआय वर्गकाले पोखेका दुःख सुन्यौँ । तर, यहाँ मध्यम आय वर्गका व्यक्ति एक कुनामा फालिएका छन्, जसलाई न कसैले सोधे न त कसैले बुझ्न नै खोजे । मध्यम वर्ग निमुखा बनी बस्न बाध्य छन् र आफ्नो पीडा कसैलाई थाहा नदिनेगरी दबाउँदै बसेका छन् । माथिल्लो वर्ग पहिलेदेखि नै सक्षम छन् । निम्नवर्गलाई कहीँ, कतैबाट सहयोग आउला भन्ने आस छ तर मध्यम वर्ग के गर्ने ? आखिर घुमिफिरी समस्या मध्यम वर्गलाई नै आउने । निम्न आय वर्गको समस्या कोहीले बुझ्न खोज्छन् र सहयोग पनि पेस गर्न खोज्छन् तर आर्थिक हिसाबले सबैभन्दा बढी च्यापिने भनेको नै यही मध्यम वर्ग हो । यसैको नतिजा आज कैयौँ मध्यम वर्गमा पुगेका निम्नवर्गमा झर्नुपरेको छ तर यो दुर्भाग्य बुझिदिने कोही छैन ।
महामारी, प्रकोप आदिको बहानामा तलब काटिएर आउँछ तर खर्च भने काटिने कुनै हालत छैन । बालबच्चाको स्कुल÷कलेजको शुल्क (अझ थप) पनि तिर्नु छ, नभए निकाल्देला भन्ने डर । त्यसैमाथि भाडा, ऋण र अन्य शुल्क तिर्नुपर्ने चिन्ता त छँदै छ । पहिलेका लकडाउन तथा निषेधाज्ञाको असरले अझै पनि पोलिरहेको बेला फेरि अर्को बन्दाबन्दीले भविष्यमाथि अझ ठूलो प्रश्नचिह्न थपेको छ । अधिकतम नेपाली मध्यम वर्गीय परिवार एकजनाको कमाइमाथि निर्भर छ । त्यही एकजनालाई केही परेमा सारा परिवारले निकै नै कष्ट सहनुपर्छ । मध्यम वर्गको बानी गज्जबको छ । जति थिचिए पनि, जति पीडामा भए पनि यो वर्ग सधैँ चुप बस्छ । इमानदारीसाथ, लाइन लागेर भए पनि पूरै कर तिर्छ । फेरि यही इमानदार वर्ग हो, जसलाई आईसीयूमा ठाउँ र अक्सिजनको सिलिन्डर पाउन सबैभन्दा अप्ठ्यारो पर्छ ।
यसो त यहाँका मात्र मध्यम वर्गलाई आर्थिक समस्या परेको हैन । पछिल्लो तीन दशकयता पहिलोपटक संसारमा यो वर्गको सङ्ख्यामा सबैभन्दा कमी आएको छ । दिनदिनै मध्यम वर्ग अहिले गरिबीमा धकेलिँदै छन् । संसारका अधिकतम मुलुक यो समस्या समाधान गर्दै जाँदै छन् । तर, हाम्रो समाजवादउन्मुख सरकार ? केही विकसित मुलुकले आफ्ना जनतालाई यो महामारीमा निश्चित रकम प्रदान गरेका छन् ताकि जनता सडकमा पुग्नुपर्ने अवस्था नहोस् । हामी नेपालीलाई भने त्यस्तो कुरा ‘मुङगेरीलालकी हसिन सपने’ मात्र रह्यो । अन्तर्राष्ट्रिय मिडियामा हाम्रो प्रधानमन्त्रीले अवस्था नियन्त्रणमा छ भन्नु नै हाम्रा लागि सबैभन्दा सौभाग्यको कुरा रहेछ !
विश्व बैङ्कको प्रतिवेदनलाई आधार मान्दा आउँदा दिनहरू निकै भयावह हुने सङ्केत छ । खासगरी दक्षिण एसियाली राष्ट्रमा कोरोना महामारी सिर्जित समस्याले अझ ठूलो रूप लिन सक्छ । हाम्रो देश जसको अधिकतम आर्थिक निर्भरता भारतमाथि रहँदै आएको छ र भारतमा पर्ने जुनैसुकै प्रभावले पनि नेपाललाई छुने गरेको छ, त्यहीँमात्रै महामारी यता करिब आठ करोड मध्यम आय वर्गका व्यक्ति निम्न आय वर्गमा झरेका छन् । यस्तो आँकडा नेपाललाई पनि राम्रो छैन । चलिरहेको दोस्रो लहरमा के हुने हो, त्यो खुल्न अझै बाँकी नै छ । ‘अक्स्फ्याम’को कुरा मान्ने हो भने नेपालजस्ता मुलुकका सर्वसाधारणले अहिलेको महामारीको असर अहिलेमात्र नभई, आउँदो १० वर्षसम्म भोग्नुपर्ने हुन सक्छ ।
बेरोजगारीको समस्याले पहिलेदेखि नै देशलाई सताइरहेको बेला अहिले रोजगारी पाउन झनै गाह्रो भएको र कैयौँले आफ्नो रोजगारी गुमाउनुपरेको छ । बन्दाबन्दीमा घरमै बसेर आफ्नो काम गरौँ भन्दै गर्दा सबैजनाले ल्यापटपको अगाडि बसेर काम गर्न सक्छन् भन्न मिल्दैन । जसले बाहिरै गएर नै आफ्नो पेसा गर्नुपर्ने हुन्छ, उसले के गर्ने ? यसको सटिक उत्तर कसले देओस् ? यस्तोमा धेरैजनाको आफूसँग भएको योग्यता र क्षमताले पनि धोका गरेको छ ।
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको मध्यमवर्ग अहिले एउटा विशाल चक्रव्यूहभित्र फसेको छ, जहाँ उसलाई अनेक समस्याले एकैसाथ आक्रमण गरिरहेको छ । एउटा समस्याबाट ऊ बल्लतल्ल उम्किनमात्र खोज्दा अर्को नयाँ समस्याले छोप्छ । समस्यासँगै लडीबुडी गर्दा ऊ चाहिरहेको छ कि कोही उसको समस्याको आवाज बनिदियोस् । राजनीति, शासन, तन्त्रबाट ऊ सक्दो टाढा रहनै खोज्छ । मात्र उसलाई आफ्नो गाँस, बास र कपास व्यवस्थित होस् भन्ने चिन्तामा छ । त्यही कारण कहिले यता कहिले उता चक्कर मारिरहेको छ । यही चक्रव्यूहमा अल्झिरहँदा के मध्यम वर्ग बाँच्ला त ?
(लेखक सूचना प्रविधिका विद्यार्थी हुनुहुन्छ ।)