महामारी नियन्त्रणका नायक
डा. अतीन्द्र दाहाल
कोरोना कहालीका कारण विश्व मानव समुदाय इतिहासको सबैभन्दा कहरपूर्ण अवस्था तथा शताब्दीकै उच्च असहजतामा रहन अभिशप्त बन्नुपरेको छ । आम नागरिकको अपार संयम तथा स्वअनुशासनले मात्र यसलाई परास्त गर्न सकिने कुरा चिकित्सा विज्ञान तथा अन्य अनुसन्धानहरूले स्पष्ट पार्दै आएका छन् । यद्यपि हामीकहाँ भने हरेक खराबीको दोष केवल सरकारलाई मात्र लगाउने गरी प्रचारप्रसार गर्ने प्रचलन निकै पुरानो तर स्थापित अभ्यास बन्दैछ । सरकारबाहेकका अरू कुनै समूह वा पक्षले चाहिँ निरपेक्ष रूपमा जिम्मेवारी बोध गर्नु नपर्ने छुट अथवा विशेषाधिकार पाएको जस्तो गरी गलत व्याख्या गरिन्छ ।
केही विश्लेषक त यसरी पनि सार्वजनिक विचार विमर्शमा जम्दैछन् कि सरकारले चाहेर कोरोना विस्तार गरिरहेछ अथवा जानाजान यसलाई निरूपण तथा नियन्त्रण गर्न निष्क्रियता प्रदर्शन गर्दैछ । सरकारी प्रयास तथा तदारूकता आवश्यकताको समानुपातिकतामा पुग्न नसकेको हुन सक्छ तर केही नगरिरहेको भने अवश्य होइन । सरकारी संस्थाका कार्यसम्पादनमाथि शङ्का गर्ने सुविधा त सबैलाई छ तर यस महामारीजन्य अवस्थामा केही निजी स्वास्थ्य संस्थाहरूको मनोविज्ञान तथा गलत मनशाय हेर्दा अन्तिम भरोशा भने सरकारी अस्पतालकै गर्नुपर्ने हँुदैछ । शहीद शुक्रराज हृदय केन्द्र, प्रहरी एवं सेनाका अस्पताललगायत थुपै्र सरकारी अस्पतलाबाट प्रशंसायोग्य सेवाप्रवाह भएको देखिन्छ । वास्तवमा यो कहर र त्रासबीच समाजले सम्मान अनि सलाम गर्नुपर्ने स्तुत्य कोही पेसाकर्मी छन् भने त्यसको अग्रस्थानमा आदरणीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरू छन् । चिकित्सकसँगै महामारी नियन्त्रणको नेतृत्वमा सुरक्षाकर्मीको योगदान कम महŒवपूर्ण छैन । अविच्छिन्न रूपमा आम नागरिकलाई सचेतना प्रदान तथा आवश्यक सूचना प्रवाह र खबरदारीको काममा संलग्न सञ्चारकर्मीहरूलाई समेत यो समय सबैले मनन गर्नुपर्छ । सङ्क्रमितको उपचार सहजताका लागि विभिन्न व्यक्तिबाट सामाजिक अभियान समेत सञ्चालनमा छन् । ती सबैको संयोजन, व्यवस्थापन, सहजता अनि उत्प्रेरणा अभिवृद्धि चाहिँ सरकारको मुख्य लक्ष्य बन्नुपर्छ । यस्तो असहज परिस्थितिमा यस प्रकारका जनशक्तिको सामाजिक समर्पणलाई सबैले सम्मान गर्नुपर्छ ।
विश्वभर यो प्रकोपको सुरुवाती चरणदेखि नै आम मानिसको जीवन पद्धति, सामाजिक, सार्वजनिक अनि पेसागत स्वरूपहरू बदलिएका छन् । धेरैजसो मानिसहरू स्वेच्छा अथवा बाध्यताले घरभित्र नै बसेको अवस्था छ । मिल्नेसम्मका कामहरू विद्युतीय पद्धतिमा र ‘वर्क फर्म होम’को अवधारणमा चल्दैछन् । संसारभर ‘भरचुएल वर्क सिस्टम’ प्रचलित बन्दैछ । बैङ्किङ तथा शिक्षण गतिविधिहरूमा यसको ठूलो प्रयोग भएको छ । अनुसन्धानहरूमा घरैबाट काम गर्दा प्रभावकारिता र कार्यसम्पादन झनै राम्रो भएका तथ्यसमेत सार्वजनिक छन् । कोरोना कहरको प्रथम लहरलगत्तै प्रकाशित फरिद जकारियाको पुस्तक ‘टेन लेसन्स् फर पोस्ट प्यान्डेमिक वल्र्ड’ का अनुसार महामारी नियन्त्रणपछि जनजीवन सामान्य भएपश्चात् पनि थुप्रै काम घरबाटै हुने अवस्थामा जानसक्ने देखिन्छ । अहिलेसमेत मुस्किलले ३० प्रतिशत रोजगार प्रदायकहरू नियमित सञ्चालनमा रहे पनि अधिकतम २५ प्रतिशतभन्दा माथि मानिसहरूको रोजगारी नगुमेको तथ्याङ्कहरू सार्वजनिक भएका छन् । तर केही यस्ता पेसाकर्मी व्यक्ति तथा संस्थाहरू छन्, जसलाई न त स्वेच्छाले न त बाध्यताले घर बस्ने छुट छ । उनीहरू समुदायमा नै जानुपर्छ । अहिले अथवा पछि कुनै कालखण्डमा महामारी पश्चात्समेत घरबाट काम गर्न मिल्ने हँुदैन ।
जो आफ्नो ज्यानको बाजी लगाएर बाँकी समाजका लागि महामारीलाई नियन्त्रणमा लिन हरसम्भव प्रयासमा छन् उनीहरूलाई अप्रासङ्गिक कसुरमा करार गर्न खोज्नु, अपमान गर्नु, असहयोगको तानाबाना बुन्न अथवा उनीहरूको बाध्यतामाथि हाँसीमजाक गर्नु निन्दनीय छ । अरू मानिसहरू परिवारसँग बसेर समय बिताइरहेका बेला, कोही कतै ननिस्किएर आपूm र परिवारलाई सुरक्षित राख्ने अवसर पाएको बेला, जनजीवन सामान्य भएपछि फेरि निस्कौँंला भनेर भोलिलाई समय साँचेको बेला सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई भने बेजोड व्यस्तता छ । उनीहरू न त परिवारसँग बस्न पाएका छन्, न त परिवार नै पूर्ण सुरक्षित रहने अवस्था छ, न त भोलिको समय बसमा रहने भन्ने कुनै निश्चित छ । चिकित्सकको सवालमा त अझ सेवाबाट निवृत्त भएकाहरूलाई समेत पुनः सेवामा आउनुपर्ने बनाइएको छ । सुरक्षाकर्मीहरू लामो समयदेखि आफन्त तथा समाजबाट समेत टाढै रहेर बाँकी समुदायको सुरक्षाका लागि विभिन्न खालका काममा व्यस्त रहनु परेको छ । आम स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाट देशमाथि उच्च तहको योगदान हँुदैछ । समय परिस्थितिअनुसार देश निर्माणका लागि आवश्यक पर्ने योगदानको स्वरूप परिवर्तन हुन्छ । २८० वर्ष पहिले आधुनिक नेपालको भौगोलिक तथा सांस्कृतिक निर्माणमा तत्कालीन राजाहरूबाट अतुलनीय योगदान भयो । राजनीतिक व्यवस्था परिवर्तनका लागि कुनै समय नेताहरूबाट एक हदको योगदान देशले प्राप्त ग¥यो । अहिले आम मानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूले त्यस्तै योगदान गरिरहेको अवस्थालाई बिर्सन हँुदैन । उनीहरूकै कार्यकुशलताका कारण हामी सुरक्षित रहेका छौँ ।
आपसी सहयोग, सामीप्य, सद्भाव, सदाचार, शिष्टता सट्टा विभिन्न ठाउँमा असामाजिक, अमानवीय हर्कत छिटफुट रूपमा देखिनुले कतै नागरिक विवेक मर्दै गएको त होइन भन्ने प्रश्न उठ्छ । अनावश्यक रूपमा आवगमन गर्ने, जनस्वास्थ्य तथा सामाजिक हितमा सरकारबाट जारी अनुरोधलाई अवमूल्यन गर्ने, लापरबाहीपूर्ण काम गर्ने कमजोरीसमेत भएको देखिन्छ । डिउटीमा भएका चिकित्सकलाई हातपात गर्ने, सुरक्षाकर्मीलाई कृत्रिम आवश्यकता देखाएर अनावश्यक आवागमन गर्ने, समाजमा उनीहरू तथा परिवारका सदस्यमाथि शङ्कालु बन्ने, उनीहरू कोरोनाबाट अधिक ग्रसित हुन सक्छन् भनेर हेयपूर्ण भावले हेर्नेजस्ता नाजायज व्यवहार भएको सुनिन्छ । समाज र मानवलाई जोगाउन अहोरात्र खटिएका र बाँकी समाजले भोलि सामान्य जीवन पाउँदा आफूचाहिँ त्यो समयको अनुभवका लागि बाँकी रहन्छु कि रहन्न भन्ने अनिश्चितामा नै हिँडिरहेका यो महामारी पराजित गर्ने युद्धका नायकहरूमाथि अशिष्ट रूपमा प्रस्तुत हुनु घमण्डको अतिरञ्जनाबाहेक केही हुन सक्दैन । तत्काललाई आफू उच्च जोखिममा नपरेको आधारलाई सामथ्र्य मानेर अरूमाथि घमण्ड देखाउनुभन्दा हरेक घमण्डको सामथ्र्य क्षणिक तर अन्ततोगत्वा हानिकरक हुन्छ भन्ने ज्ञानलाई आत्मसात् गर्न कोही चुक्नुहँुदैन ।
सन् २०१२ नोभेम्वर ६ मा ‘साइन्टिफिक अमेरिकन माईन्ड’ पत्रिकामा प्रकाशित स्टान्डफर्ड विश्वविद्यालयकी सह–प्राध्यापक इमा सेपालको अनुसन्धानत्मक लेखअनुसार प्राकृतिक विपत् अथवा अन्य खालका महामारीजन्य समस्याहरूले आम मानवलाई जोड्छ । सङ्कटमा मानिसहरू आपसी आत्मीयता देखाउँछन् । भुइँचालो, नाकाबन्दी, नक्साक्रमणमा जस्तै कोरोना भयका बखतसमेत आम मानवबीच गहिरो प्रेम, विश्वास र आपसी सद्भाव देखिनुपर्छ । आरोग्य तथा अहिंसा पूर्वीय दर्शनका प्रमुख लक्ष्य हुन् । हिंसा भनेको शारीरिक पीडा अथवा दुव्र्यवहार मात्र होइन मानसिक तथा असामाजिक व्यवहार हिंसाको सबैभन्दा जघन्य स्वरूप हो । एक्काइसौँ शताब्दीमा विश्वको प्रधान चेतनशील प्राणी मानिएको मानवबाट नै यसरी गलत व्यवहार देखिनुले हाम्रो सोचाइको नीच अनि पाशवत स्तरलाई उजागर गर्छ । ‘बसुदैब कुटुम्बकम’को संस्कृतिलाई चरम बर्खिलाप गर्छ ।
इतिहास पढ्दा देशका लागि ज्यान दिएका अथवा दिन तत्पर भएका मानिसहरूप्रति हामी नतमस्तक बन्छौँ । हिजो देशका लागि ज्यान दिने परिवेश र आवश्यकता भिन्न थियो । हैसियत प्रमाणित गर्ने आधारको मापन अनि विश्वका चुनौती फरक थिए । लेखक डेनियल एरगिनको पुस्तक ‘द न्यू म्याप’ले अब पर्यावरण, जलवायु लगायत यस्ता विश्वव्यापी महामारी जस्ता कुरा भावी चुनौती हुने बताउँछ । आज देश र समाज परिवर्तनका लागि बलिदान दिने प्रक्रिया फेरिएको छ, बाटो फेरिएको छ । तर उनीहरूको योगदानका कारण आगामी देश र बाँकी समाज अझ प्रगति उन्मुख र सुरक्षित बनोस् भन्ने कामना तथा पवित्र उद्देश्य फेरिएको छैन । योगदानमा शिरोपर भएको लक्ष्य
फेरिएको छैन ।
यात्रु फेरिए, मार्ग फेरियो, यात्रा शैली फेरियो तर गन्तव्य उही छ, पवित्रता फेरिएको छैन । राज्यको चरित्र ‘पोलिस स्टेट’ (विशेषतः सिमाना विस्तारमा चासो भएको राज्य)बाट ‘वेलफेयर स्टेट’ (लोककल्याणकारी राज्य)मा बदलिएपछि देशका लागि गर्ने योगदानको पद्धतिसमेत बदलिन्छ । अहिले त्यो योगदान मूलत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूबाट सम्पादन हँुदैछ । देश र समाजका लागि ज्यानको बाजी लगाइराखेका उनीहरूप्रति नतमस्तक रहनुपर्छ, विराट माया, असिम आभार व्यक्त गर्नुपर्छ । सतर्कता अपनाऔँ, सजग रहौँ । सुरक्षा तथा स्वास्थ्यकर्मीरूलाई सहृदयी तथा सकारात्मक सहयोग गरौँ । सक्छौँ, उक्त काम गरिरहेकालाई सम्मान तथा सम्भव भएको योगदान गराँै, सक्दैनौँ अपमानित नगरौँ, असहयोग नगरौँ । उनीहरूको मनोबल उच्च राख्न प्रयास गरौँ । उनीहरूको अनुकम्पाले मात्र हाम्रो बाँकी जीवन सुरक्षित रहन्छ भन्ने सत्य नबिर्सौं । महामारी नियन्त्रणमा उनीहरूको योगदानलाई असिम नमन गरौँ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)