हे आमा नेपाल तिमीलाई !
इन्द्रकुमार श्रेष्ठ
महेश पाल्पालीको एउटा चर्चित् गीत छ ः
“हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला .... ....!”
हिमाल, पहाड, तराई, भित्री मधेस, खोँच, उपत्यका, टार ! वनजङ्गल, खोलानाला र झरनाको रमणीय संसार ! साँच्चि नै हाम्रो देश आफैँमा सुन्दर त छँदै छ । तर, यसलाई अझै सुन्दर बनाएर सजाउने काम भने बाँकी नै छ ।
हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो । यो पाइने हिमाली क्षेत्र र पहाडी क्षेत्रको माथिल्लो भाग पूर्वदेखि पश्चिमसम्म ठाउँठावैँ यसको संरक्षण गरेर ‘लालीगुराँस क्षेत्र’ बनाउने काम बाँकी नै छ ।
आँप, पीपल, वर, पाखर र डुम्री वा समीलाई समष्टिमा ‘पञ्चपल्लव’ भनिन्छ । यिनको बहुगुणी विशेषता र विशेष महत्त्व छुट्टै खोजको विषय हुन सक्छ । पहाडी सडकको भूगोलअनुसार यी पाँच जातका रूखमध्ये आँपको सङ्ख्या बढाएर दस किलोमिटरसम्म लगातार पाँच–पाँच वा दस–दस बोटको दरले मिलाएर रोप्न सके कति राम्रो हुन्थ्यो होला ! अनि त्यो सडकखण्डको नामै त्यो ठाउँसँग जोडेर पञ्चपल्लव मार्ग राखिदिने । पुर्खाले चौतारी बनाएर यिनै रूख हुर्काएका थिए हैन र ?
धुपी हुने ठाउँमा सडकको एकातर्फ पाँच/दस बोट धुपी लगाइदिएर सजाउने । स्थानीय मानिसलाई चिउरीको महत्त्व बुझाउँदै यो हुने ठाउँमा सयौँ बोट लगाइदिने । चिउरी खान पनि हुन्छ । त्यसको बियाँबाट घिउ निकालिन्छ । चिउरीको फूल माहुरीले मन पराउने भएकाले त्यतातिर मौरीपालन व्यवसायबाट पनि लाभ लिन सकियो । प्रकृतिमा रहेका कीरामध्ये मौरी अति नै मिहिनेती र यसले परागशेचनमा विशेष भूमिका निर्वाह गर्ने भएको हुँदा कृषिबाली उत्पादनमा पनि वृद्धि हुने भयो ।
बाँस एउटा बहुउपयोगी वनस्पति हो । यसका धेरै प्रजाति हुन्छन् । अन्य देशमा यसबाट धेरै किसिमका सामान बनाएर निर्यात गरिन्छ । हामीकहाँ भने बाँसबाट निर्मित चपिङ बोर्ड र दाँत कोट्याउने सिन्कासमेत आयात गरी हाम्रोमा उत्पादित बाँस खालि निर्माणकार्य र फर्निचरका लागि मात्र प्रयोग गर्न सकिएको छ । यस्तो बहुउपयोगी बाँस, भिरालो जमिनमा खनिएको सडकको तलमाथि दुवैतिर टन्नै रोपिदिए यसले हामीलाई दिने तात्कालिक फाइदा त छँदै छ । यसले पहिरो जानबाट जोगाउने र कथम्कदाचित सवारीसाधन दुर्घटना भयो भने थप नोक्सानी हुनबाट पनि
जोगाउने गर्छ ।
सहरका सडकपेटी र सडकसँगै जोडिएका सानातिना टुक्रे जग्गामा दुबो रोप्ने त गरिएकै छ । तर, सजावट र बार सँगसँगै काम गर्ने नासपाती तथा लप्सीका बिरुवा रोप्न सकिएको छैन । नासपातीको फल खान पनि हुन्थ्यो र लप्सी छिटो बढ्ने भएका हुँदा पाँच/छ फिटजति सुरिलो हुन दिएर त्यसभन्दा माथि पुगेपछि हाँगिलो हुन दिने हो भने बार र सजावट दुवैको काम गर्ने थियो । फलबाट अचारका परिकार बनाएर खान पाइने कुरा त छँदै छ ।
औद्योगिक ग्राम स्थापना गर्ने भन्ने कुरा गरिएको धेरै भइसक्यो । यो वर्षको बजेटमा पनि हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने कुरा आएको छ । यो नआएकै भए पनि स्थानीय तहको मन र बुद्धि भए, यस्तो योजना र कार्यक्रम सञ्चालन गर्न नसक्ने होइन । तर, त्यसका लागि दूरगामी सोच राख्नुप-यो । अहिलेदेखि नै निश्चित क्षेत्रमा उत्पादन हुन सक्ने वस्तुको पहिचान र यकिन गरी तिनलाई सजाएर लगाउन प्रोत्साहन गर्नुप-यो ।
पानी कम चाहिने ठाउँमा बेगमबेली लाउन सकिन्छ । यसको आकर्षण छुट्टै हुन्छ ।
रुखा पाखाहरूमा वारपारै हात्तीबार लगाइदिने । पहिला गाउँघरमा त्यसको पाता हिलामा कुहाएर त्यसलाई नाम्ला, दाम्ला, डोरी बनाइन्थ्यो । आजकल ती सबै प्लास्टिकबाट बन्ने गरेका छन् । अझै पनि यसलाई उपयोग गर्न सके उत्पादित वस्तु विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना छ । कपास खेतीबाट पहिला–पहिला कपडा बनेर लगाउने गरिन्थ्यो । यो पनि रुखो पाखोमै हुने वनस्पति हो । आजकल देशका सबै कपडा उद्योग बन्द भएर विदेशका लुगा लाउन थालेपछि ‘छिटको सारी चौबन्दी चोलीमा’ भन्ने गीतको अर्थै बुझ्न छोडिएको छ । तर अझै पनि हाम्रा खोरियालाई कपास खेतीले सजाउन सक्छौँ । त्यसो भएमा हामी पनि स्वदेशकै उत्पादित स्वस्थ र सादा कपडामा लाएर राम्रा हुन सक्छौँ ।
ओसिला खोँचहरूमा लहरै समी लगाइदिने । त्यसको शीतलमा बसेर बटुवाले स्वर्गीय आनन्द लिन सक्छन् । ठाउँठाउँमा वरपीपल लगाएर चौतारो बनाइदिने । विदेशीले पनि वरपीपल सँगै रोप्नुको अर्थ र महत्त्व खोजून् । डाँडाडाँडामा सिमल लाइदिने । त्यसको फूल फुलेको र भुवा उडेको मौसममा त्यसवरपरको वातावरण कति रमाइलो हुन्थ्यो होला ।
पारिपट्टिको पाखामा आरुबखडा, पारिजात, पैयुँ यसरी मिलाएर रोप्ने, जसमा फूल फुल्दा त्यस क्षेत्रको नामै लेखियोस् । मौसमअनुसार अर्को फुल्दा अर्कोले नाम लेखोस् । हावाजहाजबाट यात्रा गर्दा पनि, नचिनेको मान्छेले समेत आकाशबाटै ठाउँको नाम थाहा पाओस् । वारिपट्टिको पाखालाई पनि त्यसै गरी सजाउने । ठाउँको नामै रूखबाट र फूलबाट राख्न सके प्राकृतिक सुन्दरतामा कहलिएको देश सार्थक भई हाम्रो इज्जत रहने थियो ।
हाम्रा पाटा र पाखामा कतै उत्तीसैउत्तीस होस् । कतै चिलाउने नै चिलाउने । कतै सालैसाल । कतै सिसौ नै सिसौ । कतै आँपैआँप । कतै बेलैबेल । कतै खयरैखयर । कतै चिउरी नै चिउरी । कतै सिन्कौले नै सिन्कौले । कतै क्यामुनु, कतै जामुनु । यसप्रकारका अनेकौँ रूख तथा वनस्पति ठाउँ–ठाउँमा आफैँ नभएका होइनन् । तर, हामीले यसलाई सजाएर मिलाई रोप्ने काम बाँकी नै छ ।
प्रधानमन्त्री रोजगारका लागि यो वर्ष पनि बजेट बढाइएको छ । यसअघिका दिनमा काम भने गल्लीका झार टिप्ने, चौरको वल्लोछेउमा रहेको माटो पल्लोछेउमा पु¥याउने र कान्लाका स्याउला उखेल्नेजस्ता गराइएका छन् । तर, अब भने यो परम्परालाई तोडी बेरोजगार जनतालाई काम दिने कुरासँग देशको दिगो विकासलाई किन नजोड्ने ?
केही वर्षयता आएर हाम्रो देशका धेरै सामुदायिक जङ्गललाई अनावश्यक झारबुट्यानले ढाक्न थालेको छ । त्यसमध्ये एउटा वनमारा पनि हो । यसलाई कतै लहरे वनमारा पनि भन्छन् । वनमारा–नामैअनुरूप यसले वनलाई मार्दै लगेको छ ।
जताततै त्यै फैलिएका कारण भुइँमा घाँस र बिरुवा उम्रन छोडेको छ । यसले गर्दा जङ्गल कुरूप भई शाकाहारी र मांशहारी दुवैखाले जनावरलाई असर परेको छ । त्यसैले प्रधानमन्त्री रोजगार कार्यक्रममा खट्नेलाई वनमारा हटाएर जङ्गललाई सजाउने काम किन नदिने ? सहर सजाऊँ । गाउँ सजाऊँ । सडक सजाऊँ । बाटाघाटा सजाऊँ । बजार सजाऊँ । भवन सजाऊँ । जङ्गल सजाऊँ । सबैथोक सजाऊँ । जसरी हुन्छ यो देशलाई सजाएर राम्रो बनाऊँ । राम्रोमात्र होइन, संसारकै राम्री बनाऊँ ।
(लेखक शिक्षक हुनुहुन्छ ।)