विचार/दृष्टिकोण |

सुर्तीजन्य पदार्थ रोगको मल

गङ्गाराज अर्याल

सुर्तीजन्य पदार्थ सेवन नगर्नेको तुलनामा सुर्ती सेवनकर्ता कोरोना भाइरस सङ्क्रमित विभिन्न स्वास्थ्य समस्याको उच्च जोखिममा रहेका हुन्छन् । सुर्ती सेवनकर्ता कोरोना भाइरसद्वारा सङ्क्रमित भएमा सामान्य रोगले पनि आक्रान्त पार्ने र त्यस्ता रोगले अत्यन्त जटिल अवस्थामा पु¥याउँछन् । यस्ता रोगको उपचारका लागि परिवारको २० प्रतिशतभन्दा बढी खर्च हुने र यसबाट विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ । स्वास्थ्य सेवा विभागको २०७५/०७६ को प्रतिवेदनअनुसार नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगहरूको बाहुल्य (६६ प्रतिशत) छ । यसको प्रमुख कारण अस्वस्थकर जीवनशैली तथा सहरीकरण हो । नसर्ने रोग निम्त्याउनमा अस्वस्थकर जीवनशैलीका लागि सुर्तीजन्य पदार्थको ठूलो योगदान रहेको छ । अर्थात् सुर्ती रोग फैलाउने मल हो ।
आज (मे महिनाको ३१ तारिख) नेपालमा पनि “सुर्तीजन्य पदार्थ त्याग्न प्रतिबद्धता गरौंं” भन्ने नारासाथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै छ ।
धूँवा आउने, नआउने जुनसुकै सुर्तीबाट तयार गरिने चुरोट, बिँडी, तम्बाकु, खैनी, गुट्खा, जर्दा वा पानपराग नै सुर्तीजन्य पदार्थ हो भने यसको सेवनलाई सुर्तीजन्य पदार्थको सेवन भनिन्छ । सुर्तीजन्य पदार्थमा कार्वन मोनोक्साइड, निकोटिन, टार, बेन्जोपाइरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक तŒव हुन्छन् भने ४० जति क्यान्सर बेन्जोपाइरिनलगायतका क्यान्सरजन्य रसायनले क्यान्सर गराउनुका साथै मृत्युसमेत गराउँछ । यस्ता पदार्थमा मिसाइने निकोटिन नामक तŒव एक वा दुईपटक सेवन गरेपछि पुनः सेवन गर्ने लत बसाल्ने हुँदा तलतल लागिरहन्छ ।
सुर्तीजन्य पदार्थ सेवनका कारण देखिने विभिन्न स्वास्थ्य समस्याबारे सन् १९५० तिर तथ्य पत्ता लागेको हो । सन् १९८८ तिर गरिएको अनुसन्धानको प्रतिवेदनले अमेरिकाजस्ता विकसित मुलुकमा सुर्ती सेवनबाट जटिल स्वास्थ्य समस्या उत्पन्न गरेको दर्शाएको छ । कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने ती मुलुकका करिब तीन चौथाइ नागरिकमध्ये एक चौथाइजतिमा लत बस्ने र एक चौथाइजति दुव्र्यसनमै फस्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरिका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यमस्तरको आय भएका मुलुकका छन् । बर्सेनि सुर्तीजन्य पदार्थ सेवनकै कारण करिब आठ लाखजनाको मृत्यु हुन्छ । तीमध्ये सात लाखभन्दा बढीको प्रत्यक्ष सुर्ती सेवनबाट र एक लाखजति अप्रत्यक्ष सेवनका कारणले मृत्यु हुन्छ । सन् २०३० सम्ममा एक करोडभन्दा बढी सुर्ती सेवनकर्ताको त्यही कारणले उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने अनुमान गरिएको छ । त्यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशतजति अल्पविकसित मुलुकका छन् । नेपालका २५ हजार जनाभन्दा बढी व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले मृत्यु हुने गरेको छ । १५ वर्ष उमेर र सोमाथिका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् भने नेपालका महिलाले विश्वमै बढी सुर्तीजन्य
पदार्थ सेवन गर्छन् ।

नियन्त्रणमा समस्या :
सुर्तीजन्य पदार्थ सेवन विश्वव्यापी जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । पाँचजना महिलामध्ये दुईजना र पाँचजना पुरुषमध्ये एकजना पुरुष निराक्षर भएका र जम्मा ६५.९ प्रतिशत (७५ प्रतिशत पुरुष र ५७ प्रतिशत महिला) साक्षरता दर भएको नेपालका सहरीभन्दा ग्रामीणस्तरका मानिस सुर्तीजन्य पदार्थको हानिका बारेमा बढी अनभिज्ञ छन् । यो मुलुकका २७ प्रतिशत पुरुष एवम् ६ प्रतिशत महिला कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्छन् । इज्जत, प्रतिष्ठा ठान्ने र देखासिकीका कारण बर्सेनि नेपालका २७ हजारभन्दा बढी व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने गरेको छ । १५ वर्ष र सोमाथिका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् । विश्वभरिमा शिक्षित र चेतनशील व्यक्तिका साथै नेपालका महिलाले बढी सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएको छ । न्यून साक्षरता दर, बढ्दो सहरीकरण, अस्वस्थकर जीवनशैली, देखासिकी, गलत धारणाले जरा गाडेर नै सुर्तीजन्य पदार्थ नियन्त्रणमा समस्या उत्पन्न भएका छन् ।

सुर्तीजन्य सिर्जित स्वास्थ्य समस्या
जुनसुकै सुर्तीजन्य पदार्थका सेवन गरेमा मुटुसम्बन्धी रोग, उच्च रक्तचाप र मस्तिष्कघात, दीर्घ श्वासप्रश्वाससम्बन्धी दीर्घ ब्रोङ्काइटिस, इन्सुलिन हर्मोनमा असरका कारण टाइप–२ मधुमेह तथा यसको विकृति, केन्द्रीय स्नायुप्रणालीमा असर, दृष्टि कमजोर, मस्तिष्कघात, महिलामा यौन चाहनामा कमी, समय अगाडि नै महिनावारी बन्द हुने, रोग प्रतिरक्षात्मक क्षमतामा ह्रास, गर्भमा रहेको भु्रणको शारीरिक तथा मानसिक वृद्धि÷विकासमा अवरोध आई तौल कम भएको शिशु जन्मने, जन्मेपछि पनि वृद्धि÷विकासमा अवरोध, प्याङ्क्रियाका जटिल समस्या उत्पन्न हुन्छन् ।
सुर्तीजन्य पदार्थमा क्यान्सरजन्य विषाक्त पदार्थ हुने हुँदा पाचन प्रणाली (मुख, दाँत, जिब्रो, ओँठ, गिजा) घाँटी, श्वरनली, खानाको नली, फोक्सो, पाठेघर, कपाल, नङ, छालाका साथै रक्तक्यान्सरजस्ता टाउकोदेखि पैतालासम्मका सबै अङ्गमा जटिल स्वास्थ्य समस्या उत्पन्न हुने बलियो सम्भावना हुन्छ ।

सुर्ती त्याग्दाका फाइदा
प्रत्यक्ष (आफैँले) तथा परोक्ष (अरूले उडाएको धूँवा निल्नुपर्ने) सबैखालको सुर्ती सेवन त्याग गर्दा धेरै फाइदा हुन्छ । जस्तै ः २० मिनेटसम्म सुर्ती सेवन नगर्दा मुटुको गति र उच्च रक्तचाप घट्ने, १२ घण्टासम्म छोड्दा रगतमा कार्बनमोनोक्साइड घट्ने, दुईदेखि १२ हप्ता छोड्दा फोक्सोको कार्य तथा रक्तसञ्चारमा सुधार, एकदेखि नौ महिनासम्ममा खोकी र श्वासप्रश्वासमा कठिनाइ घट्ने, एक वर्षसम्ममा मुटुको समस्या ५० प्रतिशत घट्ने देखिएको छ । पाँच वर्षमा सेवन गर्नेभन्दा सेवन नगर्र्नेमा मस्तिष्कघातको जोखिम पाँचदेखि १५ वर्षसम्म घट्ने, १० वर्षसम्म छोड्दा सेवनकर्ताभन्दा फोक्सो÷क्यान्सरको सम्भावना ५० प्रतिशत र मुख, घाँटी, खाना नली, पिसाबको थैली, पाठेघर र प्याङ्क्रियाका रोगको जोखिम घट्ने हुन्छ । सुर्ती छाडेको १५ वर्षमा घर, परिवार, समाजमा इज्जत, प्रतिष्ठा बढ्ने मुटुसम्बन्धी (कोरोनरी हर्ट डिजिज) रोग तथा कोरोना भाइरस सङ्क्रमणबाट विभिन्न रोगले च्याप्ने सम्भावना उल्लेखनीय स्तरमा घट्छ भने सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न हुने १६ किसिमका क्यान्सरबाट समेत बँच्न सकिन्छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रयास ः सुर्तीजन्य पदार्थ सेवनका कारणबाट उत्पन्न स्वास्थ्य समस्या एवम् मृत्यु हुनबाट बचाई नागरिकको स्वास्थ्य स्तरमा सुधार गर्न विश्व स्वास्थ्य सङ्गठनको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने रणनीति २०३० को नेपाल सदस्य राष्ट्र भएको छ । यसै रणनीतिको कार्यान्वयनस्वरूप सरकारले २०६८ वैशाखमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागू गरेको हो । यसमा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी वा पार्सलको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अङ्कित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका गर्भवतीले खरिद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट वनाउन नपाउने ऐनमै व्यवस्था गरेको छ । सुर्तीविरुद्ध जनचेतना अभिवृद्धि गर्न, सुर्ती सेवनका कारणले फोक्सो, मुख र मस्तिष्कको क्यान्सरबाट मृत्यु भएका थाइल्यान्ड, सिङ्गापुर र फिलिपिन्सबाट मृत व्यक्तिको तस्बिर ल्याई सुर्तीका प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने निर्देशन दिइएको छ । सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ सेवन र बिक्रीसमेत गर्न, उपहार दिन नपाउने कानुन जारी गरेको छ । हरेक जिल्लाका प्रमुख प्रशासकीय अधिकृत र जनस्वास्थ्य प्रमुखको संयोजकत्वमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी कार्यान्वयन व्यवस्था गरिएको छ ।

नियन्त्रणका उपाय
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन/नियमको सशक्त पालना गराउनुपर्छ । सडक वा कार्यालयका कुना वा गल्लीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई कडाइसाथ निषेध, नियन्त्रण गरिनुपर्छ । सुर्तीजन्य पदार्थ नियन्त्रण सन्दर्भ पुस्तिकाका आधारमा स्वास्थ्य संस्थादेखि समुदायस्तरसम्म अभिमुखीकरण/तालिम प्रदान गरी सुर्ती नियन्त्रणमा अग्रसर गराउनुपर्छ ।
खुद्रा व्यापारीले पनि बिक्री अनुमति नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिनुपर्छ । सुर्तीजन्य पदार्थविरुद्धको दिवस स्तरीय होटलमा मनाएर राज्यकोष खर्चमात्र गर्नुहुँदैन, समुदायस्तरमै मनाउने व्यवस्था गरिनुपर्छ । सुर्तीजन्य पदार्थमा हरेक २० खिल्लीको बट्टामा कम्तीमा रु. २००/– का दरले कर वृद्धि गरिनुपर्छ । स्वास्थ्य कर कोषको रकमबाट समुदायस्तरसम्म अभिमुखीकरण वा तालिम प्रदान गरिनुपर्छ । विद्यालयस्तरदेखि सुर्तीजन्य पदार्थविरुद्ध पाठ्यसामग्री निर्माण गरिनुपर्छ । सुर्ती सेवनविरुद्ध विभिन्न क्षेत्रगत प्रभावकारी कार्यक्रम गरिनुपर्छ ।
(लेखक स्वास्थ्य सेवामा निर्देशकबाट सेवानिवृत्त हुनुहुन्छ ।)