ग्रामीण सुधार विकासको आधार
रमेश भट्टराई ‘सहृदयी’
मानिस सहरमा बसेर जैविक (अर्गानिक) चीजको माग गर्छ । ताजा फलफूल, सागसब्जी खान खोज्छ तर सुविधा र अवसरका लागि फेरि सहरको मोहलाई पनि छोड्दैन । यसर्थ, मानिस विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दै छ । ‘सुविधा सहरको तर ग्रामीण जीवनशैलीको अपेक्षा’ नै अहिलेको सामाजिक परिवृत्त हो । कोरोना महामारीको यो अप्ठ्यारो अवस्थामा ‘गाउँ फर्क र बाँझो जमिनमा अन्न उमार’ भन्ने अभियानको खाँचो छ । यस विषयलाई ‘चिनौँ आफ्नोे माटो ः बनाऔँ आफ्नो देश’ भन्ने सरकारी नीति तथा कार्यक्रमको नाराले कृषियुग विकाससँग नातो गाँस्नुपर्छ । ‘बाँझो जमिनलाई खेर जान नदिने अभियान’ को चर्चा पनि नीति तथा कार्यक्रममा आएकै हो । नेपालीपनको परिवर्तन अर्थात् कृषि विकासतर्पm लम्कनुपर्ने आवश्यकतालाई महामारीको प्रहारले अझ बढाएको छ ।
आज सहरीकरणतिर किन लम्कियो त मानिस ? समृद्धिका लागि चाहिने कच्चा पदार्थ गाउँमा उत्पादन हुन्छ । प्रशोधित सामग्रीलाई सहरले गाउँलाई महँगोमा बेचिरहेको हुन्छ । अर्थात्, नेपालले विदेशलाई सस्तोमा कच्चा पदार्थलाई बेच्छ अनि प्रशोधित सामग्रीलाई भन्सार तिर्दै महँगोमा किन्नुपर्छ । यसर्थ, अब गाउँमै प्रशोधनको ज्ञान र प्रविधि भए समृद्धिको एक रङ पैmलिन्छ । सहरमा बसे पनि प्राकृतिक जीवनको अभीष्ट राख्नु उसको प्रकृति हो किनकि मानिस प्रकृतिभन्दा टाढा रहन सक्दैन । प्राकृतिक जीवन र भौतिक सम्पन्नताको रहरलाई प्रविधिसँग जोड्ने मानव सोचमा अन्ततोगत्वा ‘बाँच्नु ठूलो कुरा रहेछ’ । कोरोना महामारीले ‘स्वास्थ्य र शिक्षा’को आवश्यकतासँग गाँसिएको आत्मनिर्भर जीवनशैलीलाई सिकाउँदै छ । कोरोना महामारीले निम्त्याउन सक्ने खाद्य सङ्कटबाट जोगिने सबैभन्दा ठूलो अनि नेपाली माटो सुहाउँदो विकासको आधार र सम्भाव्यता नै कृषि विकास हो । कृषिद्वारा आत्मनिर्भरताको विकास हुने हो भने यसै आधारमा बजार र बिजुलीको उपलब्धताले समृद्धितर्फ मोड्न सक्छ । कारण विश्व महामारीले विश्वयुद्धताका जसरी पश्चिमी मुलुकमा उथलपुथल भयो, आर्थिक उन्नति र अवनतिको लहर चल्यो त्यसरी नै हामी सुरक्षित रहने र कर्ममा लाग्ने हो भने भोकै मर्नबाट बँच्छौँ । कृषिमा उन्नति गर्न सक्छौँ ।
गाउँमा गुणस्तरीय स्वास्थ्य तथा शिक्षाको सुविधा तथा यिनको निःशुल्क उपलब्धताका बारेमा सरकार प्रतिबद्ध हुनुपर्छ । महामारीको समाधानमा प्राकृतिक औषधिको उपयोग गर्नेबारेमा हाम्रो मुलुक लगभग मौन देखिन्छ । यो सबैभन्दा ठूलो भूल नै हो । अग्रजका आयुर्वेदिक ज्ञानलाई सङ्कलन गरेर युवाको क्षमता उपयोग गर्ने नीतिको खाँचो छ । महामारीका रूपमा वितण्डा मच्चाइरहेको कोरोनाले ‘मानिसभन्दा प्रकृति नै बलियो हुन्छ’ भनेर सिकाइरहेको छ । यो विषाणु प्रकृतिकै रचना हो, त्यसैले यसको समाधान पनि प्रकृतिबाटै खोज्नुपर्छ । यो विनाहतियारको एउटा महासङ्ग्राममा जित्नैपर्ने कुरामा कतै हामी सुनको कचौरा बोकेर भिख मागिरहेका त छैनौँ !
श्रम जनशक्ति बिदेसिनु बाध्यता हो, गरिबी बाध्यता हो । अनि गरिबीले जन्माउने घरझगडा बाध्यताले जन्माएको अज्ञानता हो । हुन त कोरोनाको सबैभन्दा बढी त्रास सहरिया समाजमा छ । रोगभन्दा भोकको भय विपन्नमा हुन्छ । यदि हामीले हाम्रा नागरिकलाई आत्मनिर्भर बनाउन पाएको भए न कोही बिदेसिन्थ्यो न त महामारीसँग यत्तिका धेरै चिन्तित हुनुपथ्र्यो । न त अर्काले भ्याक्सिन देला भन्दै आसे बन्नुपर्ने नै हुन्थ्यो । हामी त कृषिप्रधान मुलुकमा कृषिजन्य सामग्रीको ठूलो हिस्सा भारतबाटै आयात गरिरहेका छौँ । आत्मनिर्भरताका बारेमा व्यवस्थित योजना नहुनु, स्वदेशमा रोजगार नपाउनु अनि सङ्कटको समयमा परिवारबाट टाढिँदाको आर्तनाद कति हृदयविदारक हुन्छ । गरिब, सर्वहारा, मजदुर र सबाल्टर्न वर्गका मानिसको हारगुहारलाई समाज र राज्यले कसरी बोध गर्छ । अलिकति अज्ञानता र असचेतनामा मानवीय मनोविज्ञानको बाध्यता पनि हो ।
गाउँको सुख नै किन ?
ग्रामीण समाजमा सीमित मानिससँगको सम्पर्क हुन्छ । गाउँमा गरिब भए पनि भोकै मर्नुपर्दैन किनकि त्यहाँ मानवता र हार्दिकता हुन्छ । सहयोग हुन्छ । मानिसले अर्काको सम्पत्ति खानुहुँदैन भन्छ । स–साना कुरामा वैरभाव भए पनि प्रेम निमिट्यान्न हुँदैन । जिउँदाको जन्ती र मर्दाको मलामी बन्ने सोच हुन्छ । थोरै कमाए पनि, दुःखै भए पनि खुसीको मूल्य बुझ्छ । त्यहाँ नियतिको पीडाले त्रसित हुनुपर्दैन । ऐँचोपैँचो चल्छ । केही व्यवस्थाका लागि बाहेक महिनौँ बन्दाबन्दी भए पनि गाउँका मानिसलाई ‘नुन र खानेतेल’ भएपछि जीवन बाँच्छ । चाणक्यले भनेका छन्– असल मानिसको परिचय अप्ठ्यारो परेको अवस्थामा हुन्छ । रोगले मर्ने डरमा शोक र भोकको पीडा भयानक हुन्छ । कमसेकम त्यहाँ भोकै त मरिहाल्नुपर्दैन ।
हेर्ने नै हो भने कतिपय यस्ता महामारीलाई गरिब मान्छेले जति सामना गर्न सक्छ, त्यति विलासी मान्छेले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक बल दुवैमा सक्षम हुने मानिस भनेको गरिब नै हो । ऊ त कैयौँ अप्ठ्यारा समस्यालाई भोगेर पारङ्गत भएको हुन्छ । सहरमा महामारीको महासङ्कट आइप¥यो भने सबैभन्दा पहिला अत्यन्तै निम्नवर्गबाट पीडा सुरु हुन्छ । निम्नवर्गले पेट भर्ने बाध्यतालाई रोगभन्दा ठूलो मान्नुपरेको हुन्छ । तर, यदि जनता सचेत भएको मुलुकमा महाविपत्ति आयो भने सबैभन्दा बढी पीडा धनाढ्यहरूमा हुन सक्छ किनकि किसानले आफ्ना लागि अन्नपात सङ्कलन गरेर राखेका हुन्छन् । आखिर एउटा समय त यस्तो पनि आउने रहेछ, जहाँ पैसा भएर पनि पेट भोकै हुन्छ । सधैँ पैसाका लागि चिन्तित हुने स्वार्थी संसार आज किन जीवनका लागि सोच्दै छ ?
वास्तवमा भूकम्पले घरबाहिर लखेट्यो । कोरोनाले घरभित्रै कुँज्याइदियो । भूकम्प र कारोना दुवै सङ्कटले ग्रामीण जीवनको अर्थबोध गराइदिए । भूकम्पले इन्जिनियर र सुरक्षाकर्मीको महŒवबोध गराइदियो अनि कोरोनाले डाक्टर, नर्स र सुरक्षाकर्मीको आवश्यकतालाई महसुस गरायो । मान्छेभन्दा प्रकृति नै बलियो रहेछ किनकि मानिसद्वारा विकसित आधुनिक प्रविधिले पनि अप्ठ्यारोमा प्राण रक्षा गरेन । पैसा आवश्यक चीज हो तर जीवनभन्दा ठूलो पैसा होइन । मानिसले जतिसुकै घमण्ड गरे पनि आफू बाँचेमात्र अन्य सबै कार्य सम्भव हुन्छ । मानवताभन्दा ठूलो अर्को धर्म हुँदैन अनि सहयोगभन्दा ठूलो अर्को पुण्य हुँदैन । गाउँमा त हरक्षण मानवताको गीत गुञ्जिरहन्छ नै । महामारीको जटिल अवस्थामा सहरतिर पनि मनकारी व्यक्ति र संस्था जति देखिन्छन्, अर्कोतिर कालोबजारी गर्ने, मेडिकल माफियाले केवल पैसा कमाउने सोच हाबी हुने रहेछ । पैसा पनि मान्छेले नै छाप्छ र गरिबी पनि मान्छेको व्यवस्थाले बनाइदिन्छ । त्यसैले मानवताभन्दा ठूलो पैसा होइन । बाँच र बचाऊको मानवीय धर्म यो समयको सबैभन्दा ठूलो मानवता हो ।
ठूला र सम्पन्नशाली मुलुकले पनि महामारीलाई नियन्त्रण गर्न नसक्दा कत्रो त्रासदी पैmलिएको छ ! नेपालले त ग्रामीण विकासलाई प्राथमिकतामा र आत्मनिर्भरताको बाटोमा काम गर्दा मात्र पनि महामारी अनि त्यसबाट निम्तिने रोगले भन्दा भोकले मर्नुपर्ने बाध्यता न्यूनीकरण हुने देखिन्छ । कृषि र पशुपालनको विकास, ग्रामीण उद्योग विकास गर्दै सबैभन्दा बढी जनताले खर्च गर्नुपर्ने शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने बाटोबाट मुलुकले अबको मार्गचित्रलाई कोर्नुपर्छ । खाद्य सङ्कट र स्वास्थ्यको जोखिम दुईवटा विषय चुनौती बन्छ । बिदेसिएका नेपाली विदेशमा कम्पनी डुब्ने र अप्ठ्यारो अवस्थामा असुरक्षित तथा एक्लो हुनुपर्ने बाध्यताका कारणले स्वदेश फर्किने सम्भावना छ । रेमिट्यान्समा धानिएको अर्थतन्त्रको ठूलो हिस्सा कमजोर हुन सक्छ । यस मानेमा सहरतिरै मात्र लम्किने पद्धतिलाई बदलौँ । ग्रामीण जनजीवनमा सहरी सुविधाको उपभोग गर्ने नीतिमा नेपालले नेपालीपनको व्यवस्थापन गर्न सके “समृद्ध नेपाल ः सुखी नेपाली”को नवीन उदाहरण साबित हुन सक्छ ।
(लेखक शिक्षण पेसामा हुनुहुन्छ ।)