खोप अभियान (सम्पादकीय)
चीन सरकारद्वारा दोस्रो पटक अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मुलुकभर मङ्लबारदेखि लगाउन सुरु गरिएको छ । महामारीको दोस्रो लहरको विस्तार, खोपको अपर्याप्तता र थप खोप कहिले आउला भन्ने सेवाग्राहीको व्यग्र प्रतीक्षा थियो । छिमेकी मुलुक चीनले अनुदानस्वरूप थप खोप उपलब्ध गराएपछि मुलुकभर खोप अभियान एकसाथ सुरु भएको छ । सरकारले भारतको सिरम कम्पनीसँग खोप ल्याउन बैना (एड्भान्स) रकम पठाइसकेको भए पनि पूर्व सहमतिअनुसार कम्पनीले खोप दिन नसक्ने जनाएपछि नेपालमा खोपको समस्या देखिएको हो । सुरुमा सिरमले अनुदानमा दिएको खोप लगाएका ज्येष्ठ नागरिकलाई सिरमको पछिल्लो निर्णयले खिन्न र चिन्तित बनाएको छ । व्यापारमा प्रतिबद्धता, संहिता वा नैतिकताकै कारण एउटा सानो मौखिक अर्डरका भरमा पनि ठूलाठूला व्यापार गरिन्छ । विश्वासलाई व्यापारको सबैभन्दा ठूलो आधार मानिन्छ तर सिरम कम्पनीले पूर्वप्रतिबद्धता पालना गर्न नसक्ने एकतर्फी जनाउ दिएपछि नेपालले विकल्पमा विभिन्न मुलुकसँग खोप खरिद तथा सहयोगका लागि पहल गरिरहेको छ । पहिलो पटक अनुदानमा खोप उपलब्ध गराएको चीनले दोस्रो पटक थप १० लाख डोज खोप अनुदान दिएकाले नेपालीलाई राहत मिलेको छ । सङ्कटमा परेका नेपालीले चीन सरकारको उदारमना सहयोगकोे प्रशंसा गरेका छन् । यस पटकको १० लाख डोजको खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ र काठमाडौँबाहिर ६२ देखि ६४ वर्ष उमेरका व्यक्तिलाई लगाइएको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा १८ वर्षमाथि सबै उमेर समूहकालाई खोप लगाइनेछ । ती जिल्लामा यसअघि ५२ वर्षमाथिका व्यक्तिलाई खोप लगाइसकिएको छ । हिमाली क्षेत्रमा पटक पटक खोप पु¥याउन गाह्रो हुने, उपचार सुविधाको उपलब्धता कम, पटक पटक खोप अभियान गर्न समस्या हुने भएकाले सरकारले ती जिल्लालाई दिएको प्राथमिकता न्यायोचित देखिन्छ ।
पहिलो पटकभन्दा मानिसमा खोपप्रति निकै जागरुकता बढेको छ । पहिला खोप लगाउने नलगाउनेमा एक प्रकारको अन्योल थियो । अहिले मानिसमा त्यस्तो अन्योलता हटेको छ तर अहिले खोपको अभाव देखिएको छ । सरकारले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता मात्र गरेको छैन, त्यसका लागि बजेट वक्तव्यमार्फत आर्थिक जोहो पनि गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आगामी निर्वाचन (कात्तिक २९ र मङ्सिर ३ गते) अगाडि नै १८ वर्षमाथिका सबै नेपालीलाई खोप दिइसक्ने प्रयास सरकारको हुने बताउनु भएको छ । अवस्था स्पष्टै छ, आफ्नो देशमा खोप तयार छैन, खोप दिन्छु भनेका विश्व स्वास्थ्य सङ्गठनअन्तर्गतको कोभ्याक्सले प्रतिबद्धताअनुसार अनुदानको खोप दिएको छैन, किन्छुभन्दा सिरम कम्पनीले बैना रकम लिएर पनि खोप उपलब्ध गराएको छैन । यस्तो अवस्थामा पनि सरकारले खोप अभियानलाई निरन्तर राखेको छ, खोप खरिद वा अनुदान सहयोगका लागि कूटनीतिक पहल गरिरहेको छ । नेपालले गरेको पहलस्वरूप विभिन्न देशबाट स्वास्थ्य सामग्री तथा खोप सहयोग आएका छन् । रुस, डेनमार्कलगायतका देशबाट खोप खरिद वा अनुदानमा प्राप्त गर्न सकिन्छ कि भनेर गरिएको प्रयास निष्कर्षमा पुग्दै केही दिनमा सुखद परिणाम आउने सम्भावनामा विश्वास गर्ने आधार बनेको छ । प्रधानमन्त्री ओलीले भारत सरकारलाई नेपाललाई विशेष सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरमले दिन्छु भनेको परिमाणमा खोप दिन तयार भएमा नेपालमा यसअघि सोही कम्पनीको खोप लगाएका ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । खोपको सन्दर्भमा व्यापारको मात्र कुरा छैन, कूटनीति र राजनीतिक प्रतिबद्धताको पनि सन्दर्भ जोडिन्छ । नेपाललाई पूर्व सर्तअनुसार खोप उपलब्ध गराउन सिरम कम्पनीलाई भारत सरकारले पे्ररित गर्नुपर्छ । त्यहाँको सर्वोच्च अदालतको आदेशअनुसार विदेशमा खोप निकासी गर्न रोकिएको जनाइए पनि बैना भइसकेको अवस्था र नेपालको विशेष परिस्थितिलाई अदालतको आदेशले असर नगर्ने जानकारले बताएका छन् ।
सरकारले खोप आयातको पूर्ण तयारी गरी देशभर आवश्यक पूर्वाधारसहित आठवटा खोप भण्डारण गृह तयार गरेको छ । सबै नेपालीलाई सहज र सरल किसिमले खोप उपलब्ध गराउने उद्देश्यसहित सात वटै प्रदेश र केन्द्रमा खोप भण्डारण गृह निर्माण गरिएको हो । तत्कालका लागि खोपको केही समस्या देखिए पनि केही समयमै समस्या समाधान हुने धरातल तयार भएका छन् । सरकार जनताको पक्षमा छ, जनता विश्वस्त छन् ।