कोरोना महामारीको पछिल्लो प्रवृत्ति
डा. प्रवीण श्रेष्ठ
विश्वमा जब जब कोरोना महामारीको नयाँ लहर आएको छ तब तब कुनै एक भौगोलिक क्षेत्रको विशेष र ठूलो योगदान हुने गरेको छ । विश्वको वर्तमान कोरोना लहरको कुरा गर्ने हो भने यसै वर्ष फेब्रुअरीको मध्यतिरबाट सुरु भई करिब साढे दुई महिनापछि अर्थात् अप्रिलको अन्त्यतिर उच्च बिन्दुमा पुग्यो/तत्पश्चात् मे महिनाभरि दक्षिण एसियामा कोरोना महामारीको नयाँ लहरको आतङ्क जारी रह्यो । वर्तमान लहरको सुरुवातीतिर युरोपको योगदान ठूलो रहे तापनि पछि क्रमशः दक्षिण एसियाको योगदान द्रुत गतिले बढ्दै गयो । उच्च बिन्दुमा पुगेको बेला विश्वकै कुल दैनिक नयाँ कोरोना सङ्क्रमण र नयाँ मृत्युमा दक्षिण एसियाको सबैभन्दा ठूलो योगदान रहन पुग्यो÷ मे महिनाको दोस्रो सातातिर विश्वको कुल दैनिक नयाँ सङ्क्रमणको करिब ५८ प्रतिशत र महिनाको अन्तिम सातातिर कुल दैनिक मृत्युको करिब ४८ प्रतिशतसम्मको हिस्सा दक्षिण एसियामै
भेटिएको थियो ।
यस लेखमा विभिन्न स्रोतबाट उपलब्ध तथ्याङ्कको आधारमा सन् २०२१ मे महिनाभरिको विश्व, दक्षिण एसिया र नेपालको वर्तमान महामारी लहरको सङ्क्षिप्त विश्लेषण प्रस्तुत गरिएको छ । यसमा उद्धृत स्रोतहरू नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), वल्ड़ोमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि हुन् ÷
गत मे महिनामा महामारीका तथ्याङ्कहरू विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम बिगतमा जस्तै जारी रह्यो ।
दक्षिण एसियाको वर्तमान महामारी लहर मार्चको मध्यतिरबाट बढ्न सुरु गरी मे महिनाको पहिलो सातासम्म निरन्तर उकालो लागी तत्पश्चात् हालसम्म क्रमशः ओरालो लागिरहेको छ । वर्तमान लहर भारतबाट सुरु भई अन्यत्र हुँदै अप्रिलको पहिलो सातातिर नेपाल प्रवेश गरेको थियो । यो लहर धेरै लामो समय टिक्न सकेन, करिब डेढ महिनामै यो ओरालो लग्न सुरु ग¥यो । तर यस छोटो समयमै कोरोना सङ्क्रमणले नेपाललगायत दक्षिण एसियामा ठूलो जनधनको क्षति ग¥यो ।
दक्षिण एसियामा मे महिनाको पहिलो सातासम्म दैनिक सङ्क्रमण निकै उच्च रही मेको ६ का दिन चार लाख ३२ हजार भन्दा धेरै जना पुगी तत्पश्चात् बिस्तारै घट्दै गएर महिनाको अन्त्यसम्ममा करिब डेढलाखमा झ¥यो जुन उच्च बिन्दुभन्दा करिब २.५ गुणा कम थियो ।
तर दैनिक मृत्युको प्रवृत्ति भने अलि फरक रह्यो । दक्षिण एसियाको कुल दैनिक मृत्युको उच्च प्रवृत्ति मेको चांैथो सातासम्म लम्बिरह्यो र महिनाको अन्त्यमा बल्ल ओरालो झर्न सुरु ग¥यो । मेको १८ का दिन दैनिक कुल मृत्यु झन्डै पाँच हजार पुगी महिनाको अन्त्यमा करिब तीन हजार चार सय पुग्यो । यसरी दैनिक सङ्क्रमणमा निकै कमी आए तापनि दैनिक मृत्यु अझै उच्च रहनु महामारीमा जोखिमपूर्ण मानिन्छ ।
मे महिनाभरि दैनिक सङ्क्रमण सङ्ख्याको हिसाबले दक्षिण एसियामा नेपाल भारतपछि सबैभन्दा दोस्रो उच्च स्थानमा रह्यो । भारतमा मेको दोस्रो सातादेखि दैनिक सङ्क्रमणमा क्रमिक कमी आउन सुरु ग¥यो भने नेपालमा मेको चौंथो सातादेखि बल्ल सङ्क्रमणमा केही कमी आएको देखिन्छ । माल्दिभ्स, श्रीलङ्का र अफगानिस्तानको सङ्क्रमण भने मेको अन्त्यतिर केही बढ्न खोजेको देखियो ।
महिनाभरि दक्षिण एसियाको कुल नयाँ सङ्क्रमणमध्ये भारतमा ९४.७ प्रतिशत, नेपालमा २.५ प्रतिशत, पाकिस्तानमा १.०५ प्रतिशत, श्रीलङ्कामा ०.८१ प्रतिशत, बङ्गलादेशमा ०.४४ प्रतिशत, माल्दिभ्समा ०.३६ प्रतिशत र अफगानिस्तानमा ०.१३ प्रतिशत रह्यो भने भुटानको सङ्क्रमण अन्यको तुलनामा अति न्यून रह्यो ।
कोरोना मृत्युको प्रवृत्ति हेर्दा पनि नेपाल भारतपछि दोस्रो स्थानमा रही मे महिनाभरि यही स्थानमा कायम रहेको देखिन्छ । भारतमा दैनिक सङ्क्रमणमा कमी आए तापनि दैनिक मृत्यु भने मे महिनाभरि उच्च रह्यो यद्यपि महिनाको अन्त्यतिर दैनिक मृत्यु पनि केही ओरालो लाग्न खोजेको देखियो । नेपालको दैनिक मृत्युमा पनि मेको चौंथो सातादेखि केही कमी आउन सुरु ग¥यो । मे महिनाभरिको दक्षिण एसियाको कुल नयाँ मृत्युमध्ये भारतमा ९२.६८ प्रतिशत, नेपालमा ३.१७ प्रतिशत, पाकिस्तानमा २.२९ प्रतिशत, बङ्गलादेशमा ०.९ प्रतिशत, श्रीलङ्कामा ०.६३ प्रतिशत, अफगानिस्तानमा ०.२६ प्रतिशत र माल्दिभ्समा ०.०७ प्रतिशत भेटियो भने भुटानको मृत्यु सङ्ख्या मे महिनाभरि शून्य रह्यो । भुटानमा हालसम्म कोरोना सङ्क्रमणका कारण एक जनाको मात्रै मृत्यु भएको छ ।
माथिको तथ्याङ्कबाट के कुरा स्पष्ट हुन्छ भने गत महिना अफगानिस्तान, बङ्गलादेश, नेपाल र पाकिस्तानमा नयाँ सङ्क्रमणको तुलनामा मृत्युको अनुपात धेरै रह्यो ।
विश्व र दक्षिण एसियाको औसत दैनिक मृत्यु दर हेर्ने हो भने मे महिनाभरि विस्तारै बढ्दै गएको देखिन्छ । कोरोनाकालको सुरुवातीदेखि विश्वका अन्य क्षेत्रभन्दा दक्षिण एसियामा मृत्यु दर केही कम भएकोमा मे महिनामा दक्षिण एसियाको औसत मृत्यु दर विश्वको भन्दा तीव्र बढ्दै गई महिनाको अन्त्यमा यो दर विश्वको बराबरीमा पुग्यो जुन करिब २.२ प्रतिशत रह्यो । माथि उल्लेख गरिएजस्तै दक्षिण एसियामा दैनिक सङ्क्रमणको तुलनामा दैनिक मृत्युमा कमी नआएको देखिन्छ÷ यसरी पछिल्लो समय दक्षिण एसियाको मृत्यु दर बढ्नुमा वर्तमान लहरको ठूलो भार र कोरोना भाइरसको नयाँ रियन्ट नै प्रमुख कारण देखिन्छ । कोरोना नियन्त्रणका उपाय र खोपमा विश्वभरि ठूलो प्रगति भए पनि कोरोनाका कारण मृत्यु दरमा खासै कमी नदेखिनु दःुखको कुरा हो ।
परीक्षण गर्नु नै कुनै पनि महामारी नियन्त्रणको एक प्रमुख हतियार हो जसको माध्यमबाट सङ्क्रमणको निदान र सही उपचार गर्न सकिन्छ । अपर्याप्त परीक्षण गर्नाले सङ्क्रमण समुदायमा लुकेर बस्ने मात्रै होइन, सङ्क्रमण फैलिन मद्दत पुग्छ । त्यति मात्रै नभई सङ्क्रमण जति एकबाट अर्कोमा सर्दै जान्छ र भाइरस फैलिंँदै जान्छ उति भाइरसको ‘म्यूटेसन’ भई नयाँ नयाँ प्रजाति अर्थात् भेरिएन्ट उत्पन्न हुँदै जान्छ । यही नयाँ भेरियन्टको कारणले सङ्क्रमणका नयाँ नयाँ लहर मात्रै होइन भाइरसको पनि नयाँ नयाँ प्रजाति उत्पन्न भई उपचारमा कठिन अवस्था सिर्जना भएको छ ।
वर्तमान लहरमा कालो ढुशी (ब्ल्याक फंगस, म्युकर) जस्ता समस्या उत्पन्न भई मृत्यु दर पनि निकै बढेको छ । म्यूटेसन भन्नाले भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दा यसमा आउने परिवर्तन हो, जसको कारणले भाइरस झन् झन् बलियो हुँदै गई नयाँ वातावरणमा पनि बाँच्न सक्ने, एन्टीभाइरस औषधिप्रति यसको प्रतिरोधात्मक क्षमता बढ्ने, यस बिरुद्धको खोप प्रभावकारी नहुने आदि गुणहरू भाइरसमा विकास हुँदै जान्छ । जति भाइरस फैलिन्छ उति म्यूटेसन पनि धेरै हुन्छ । त्यस अर्थमा पनि प्यान्डेमिकको अवस्थामा लुकेर बसेका सङ्क्रमण पत्ता लगाई सङ्क्रमण एक अर्कामा सर्नबाट रोक्ने कोसिस गर्नुपर्छ जसलाई सङ्क्रमणको ‘चेन ब्रेक’ गर्ने भनिन्छ ।
कोरोना महामारीको दौरान बिकसित देशहरूले प्रसस्त परीक्षण गर्दा गर्दै पनि प्यान्डेमिक नियन्त्रण गर्न नसकेको बेला नेपालजस्तो कम विकसित देशमा महामारी नियन्त्रण निकै गाह्रो तथा जटिल विषय हो ।
परीक्षण गरेकामध्ये कतिजनामा सङ्क्रमण देखियो त्यसलाई सङ्क्रमण दर अर्थात पोजिटिभिटी भनिन्छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार मे महिनाभरि नेपालको दैनिक सङ्क्रमण दर यस क्षेत्रमै सबैभन्दा उच्च रही विश्वमै उच्च सङ्क्रमणको दोस्रो स्थानमा पुग्यो । नेपालको अधिकतम सङ्क्रमण दर करिब ४६.९ प्रतिशतसम्म पुग्यो भने भारतको सङ्क्रमण दर अधिक्तम २२.४ प्रतिशतसम्म पुगी महिनाको उत्तरार्धमा क्रमशः घट्दै गयो । त्यस्तै माल्दिभ्सको सङ्क्रमण दर महिनाको सुरुवातीमा न्यून रहे पनि अन्त्यमा निकै उच्च रही यस क्षेत्रकै नेपालपछि दोस्रो स्थानमा पुग्यो । मे महिनाभरिको औसत सङ्क्रमण दर नेपालमा ४०.९७ प्रतिशत, माल्दिभ्समा २२.३२ प्रतिशत, भारतमा १७.७८ प्रतिशत, श्रीलङ्कामा १०.१ प्रतिशत, बङ्गलादेशमा ९.०५ प्रतिशत, पाकिस्तानमा ७.८६ प्रतिशत, र भुटानमा ०.४५ प्रतिशत रह्यो । मे महिनामा अमेरिका र जापानको औसत सङ्क्रमण दर, क्रमशः ५.७१ प्रतिशत र ६.८५ प्रतिशत, दक्षिण एसियाली देशह रूको तुलनामा निकै न्यून देखियो । नेपाल सरकारले दिएको तथ्याङ्कअनुसार दैनिक पीसीआर परीक्षणको आधारमा मे १० का दिन सङ्क्रमण दर ५०.३६ प्रतिशत पुगी नेपालको हालसम्मकै सबैभन्दा उच्च दरको कीर्तिमान बन्यो ।
पहिलो लहरको बेला सबैभन्दा उच्च सङ्क्रमण दर सन् २०२० अक्टोबर २६ मा ३४.७७ प्रतिशत पुगेको थियो भने उक्त महिना औसत सङ्क्रमण दर करिब २३ प्रतिशत थियो । मे महिनाको अन्त्यतिरदेखि सङ्क्रमण दरमा केही कमी आएको देखियो जुन सुखद कुरा थियो । डब्लुचओका अनुसार सङ्क्रमण दर ५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई महामारी अनियन्त्रित भएको अवस्था मानिन्छ ।
मे महिनामा नेपालमा सङ्क्रमणको सङ्ख्या परीक्षणको सङ्ख्यामा प्रत्यक्ष निर्भर भएको देखियो जसले गर्दा जति धेरै परीक्षण ग¥यो उति धेरै सङ्क्रमण देखियो । महिनाको अन्त्यतिर परीक्षण कम गरेसँगै सङ्क्रमणमा पनि कमी आएको देखियो । त्यसको अर्थ नेपालमा वास्तविक सङ्क्रमण तथ्याङ्कले देखाएको भन्दा धेरै भएको निश्चित छ र परीक्षणको मात्रा कम छ । यद्यपि पहिलो लहरको बेलाभन्दा वर्तमान लहरको बेला नेपालमा प्रशस्त परीक्षण भएको देखिन्छ । पहिलो लहरको बेला दैनिक करिब १५ हजार परीक्षण गर्ने गरिएको थियो भने मे महिनामा दैनिक करिब २० हजार परीक्षण गरियो ।
दैनिक सङ्क्रमणको कुरा गर्दा काठमाडौँभित्रको सङ्क्रमण मे महिनाभरि देशभरिको करिब एक तिहाई जति रह्यो, पहिलो लहरको बेला यो अनुपात ठीक बिपरीत थियो अर्थात् त्यतिबेला काठमाडौँभित्र दैनिक करिब ६० प्रतिशत नयाँ सङ्क्रमण देखिन्थ्यो । यस तथ्याङ्कले वर्तमान अवस्थामा कोरोना सङ्क्रमण देशभरि फैलिई सामुदायिक सङ्क्रमणको रूप लिएको प्रष्ट हुन्छ । सङ्क्षेपमा माथिका तथ्याङ्कहरूबाट अधिकांश दक्षिण एसियाली देशहरूमा महामारीको अवस्था मे महिनाभरि तीव्र गतिमा वृद्धि हुँदै महिनाको चौथो सातादेखि केही कम हुँदै गएको देखिन्छ । अप्रिलको दोस्रो सातातिर सुरु भएको नेपालको वर्तमान महामारीको लहर मे महिनाभरि उच्च बिन्दुमा कायम रही विश्वमै कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बन्न पुग्यो । मेको दोस्रो सातादेखि भारतमा सङ्क्रमण क्रमैसँग घट्नु र नेपालको सङ्क्रमण मे महिनाको अन्त्यतिरबाट केही कमी हुनु सुखद समाचार हो ।
तथ्याङ्कले जेसुकै देखाए पनि महामारीको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ । महामारीको पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक ब्यावहारिक रूपमा नेपाल सरकार र नेपाली जनताले लागू गर्नुपर्ने बेला आएको छ । नेपाल सरकारले प्रशस्त परीक्षण गरी लुकेर बसेको सङ्क्रमण पत्ता लगाई महामारी नियन्त्रण गर्ने सम्पूर्ण उपायको कार्यान्वयन गर्नुपर्ने देखिन्छ भने जनताले पनि आफ्नो तर्फबाट गर्न सक्ने होसियारी तथा सतर्कता हरपल पालना गर्नु पर्छ । हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरू कडाइका साथ अपनाउनुपर्ने देखिन्छ । महामारीविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ ।
(लेखक कन्सल्टेन्ट न्यूरोसर्जन हुनुहुन्छ ।)