विचार/दृष्टिकोण |

समृद्धिका लागि सञ्चारको अन्तर्य

राजेन्द्र मानन्धर

समयान्तरमा आमसञ्चार माध्यमले देशलाई योगदान गर्न सक्ने विषयवस्तु विस्तृत र उदार बन्दै गइरहेका छन् । पत्रकारिताको बदलिँदो आयाममा आमसञ्चार माध्यमका विषयवस्तु पनि असिमित दायराको गहिराइको खोजजस्तै भइरहेका छन् ।
नेपाल सरकारद्वारा ‘समृद्धिका लागि सञ्चार’ नारा अघि सारिएको छ । सञ्चार मन्त्रालय सम्हालिरहँदा नेपाल टेलिभिजनको वार्षिक समारोहमा पूर्वमन्त्री पार्वत गुरुङले ‘समृद्धिका लागि सञ्चार’ अवधारणालाई पहिलोपटक उच्चारण गर्नुभएको थियो । कमसेकम सरकारी स्वामित्वका सञ्चारमाध्यमले ‘समृद्ध नेपाल :सुखी नेपाली’कोे राष्ट्रिय सङ्कल्प पूरा गर्न योगदान गर्नुपर्ने अपेक्षासाथ अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसलाई नाराकै रूपमा अघिसारेको हो ।
नेपाल टेलिभिजनले स्थापनाकालदेखि (विक्रम संवत् २०४१ देखि) ‘लोगो’मा लेख्दै आएको थियो, ‘विकासका लागि सञ्चार’ । सरकारी सञ्चारमाध्यमले स्थापनाकालदेखि अवलम्बन गरेको नारा ‘विकासका लागि सञ्चार’ अहिले किन बदल्नुप¥यो त ? प्रश्न उठ्न सक्छ । बुझ्नु जरुरी छ– पञ्चायतकालको विकास आकाङ्क्षा र लोकतान्त्रिक गणतन्त्र नेपालको विकास आकाङ्क्षा एउटै हुन सक्दैन । फेरि विकासका आयाम र आकाङ्क्षा निरपेक्ष र सर्वकालिक नभई, सापेक्ष र सामयिक हुन्छन् । समाजको आर्थिक, सामाजिक विकासको चरित्र तत्कालीन राष्ट्रिय आकाङ्क्षा र राजनीतिक व्यवस्थाले निर्धारण गर्छ । अब हामीलाई एक आयामिक कोरा र भौतिक विकास हैन, समृद्धिसहितको बहुआयामिक विकासको राष्ट्रिय आवश्यकता छ । यही आवश्यकताको आलोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघिसार्नुभएको हो । यही सङ्कल्पलाई आमसञ्चारको राजमार्गबाट कार्यान्वयन गर्ने हेतुले आफू सञ्चारमन्त्रीको जिम्मेवारीमा रहँदा मन्त्री गुरुङले ‘समृद्धिका लागि सञ्चार’को अवधारणा अघि सार्नुभएको हो ।
समृद्धि र सञ्चारको अन्तरसम्बन्धको गहिराइमा डुबुल्की मार्दै जाँदा मन्त्रीबाट घोषित ‘समृद्धिका लागि सञ्चार’ नारा रूपान्तरित परिस्थितिमा सरकारी सञ्चार संयन्त्रभित्र सान्दर्भिक भएको निष्कर्ष निस्किन्छ । मन्त्रालयको निर्णयपछि नारालाई नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति, हुलाक, तथ्याङ्क केन्द्रहरू, एपहरू र डिजिटल प्रविधिहरूले आ–आफ्नै भूमिका र कार्यक्षेत्रअनुसार पक्कै पनि ग्रहण गर्दैै जानेछन् । ती निकायले सामग्री उत्पादन, प्रशोधन, प्रकाशन र प्रसारण गर्दा देश र जनताका समृद्धिप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्नुपर्छ । मन्त्रालयबाट बहिर्गमन हुनुभन्दा दुई दिनअघि मात्रै मन्त्री गुरुङले मन्त्रीस्तरीय निर्णयबाट यो नारालाई आधिकारिकता प्रदानसमेत गरिसक्नुभएको छ ।
सार्वसाधारणसम्म लोकप्रिय शब्द विकासलाई वस्तु र चेतको उन्नत परिवर्तनसँग सम्बन्धित भएर हेरिन्छ । विकास नकारात्मक, घातक र घिनलाग्दा विषयसँग पनि सम्बन्धित हुन्छ । जस्तै, कोरोना भाइरसको विकास, अस्वस्थ ढुसीको विकास, युद्धको विकास । तर समृद्धिलाई धन, बुद्धि, संस्कार, संस्कृति आदिमा देखिएको सकारात्मक फराकिला आकारमा फैलिँदै जानुसँग सम्बन्धित भएर हेरिन्छ । यसरी हेर्दा नारा चयनमा मन्त्रीको दूरदृष्टि झल्किन्छ । समृद्धिले मानिसलाई खुसी र सुखी बनाउँछ । ‘समृद्ध नेपाल ः सुखी नेपाली’को सार पनि त्यही हो । त्यसैले सरकारी सञ्चारमाध्यमले मात्रै हैन, आफूलाई राष्ट्रिय मिडिया भन्न रुचाउने अन्य निजी सञ्चार संयन्त्रले यही लक्ष्य पहिल्याउन अग्रसर हुनुपर्ने देखिन्छ । सरकारी सञ्चारयन्त्र त राज्यकै आधिकारिक अङ्ग भएका नाताले नेपाल र नेपालीको समृद्धिका लङमार्च (लामो यात्रा)का स्वाभाविक सहयात्री बन्नुपर्ने नै हुन्छ । पत्रकारितामा थ्री आई पढाइन्छ । इम्फर्मेसन, इमेज, इन्कम । इम्फर्मेसनले भरिपूर्ण व्यक्तिको इमेज अर्थात् इज्जत बेग्लै र लोभलाग्दा हुन्छन् । र, सूचनाले भरिपूर्ण व्यक्तिको आम्दानी क्षेत्र पनि बढ्दै जान्छ । अमेरिका विश्वका अन्य राष्ट्रको तुलनामा सैन्य र हतियारमा मात्र हैन, सूचना प्रविधिको क्षेत्रमा पनि अब्बल छ, त्यसैले ऊ सबैभन्दा धनी राष्ट्र छ । पत्रकारिताको अध्ययनमा पनि सूचना र सञ्चारको शक्तिलाई समृद्धिको मानक ठानिन्छ । किनकि हालको अवस्थामा सञ्चार नै संसार हुनेक्रममा छ । एउटा मोबाइलले मानिसलाई संसार घुमाउँछ, घण्टौँ शिर निहुराएर आफूलाई हेरिरहन बाध्य पार्छ । त्यो सानो औजारले इन्टरनेटमार्फत ज्ञान, वुद्धि, सूचना र मनोरञ्जनमा एकोहो¥याउँछ । समृद्धिका लागि सञ्चारले मिडियालाई डिजिटलमात्र हैन, स्मार्ट डिजिटलमा फन्को मारेर कन्टेन्ट (विषयवस्तु) निर्माण र पस्कनेतर्फ पनि रूपान्तरित हुनुपर्ने सुझाव दिन्छ ।
नेपालमा गोरखापत्र प्रकाशन सुरु हुँदा विश्व परिदृष्यमा प्रिन्ट मिडिया (छापामाध्यम)को जगजगी थियो । विश्वमा त्यसबेलासम्म विद्युतीय माध्यम आविष्कारक्रममा रहेकाले प्रिन्ट मिडियाको एकछत्र राज थियो । अहिले विद्युतीय माध्यमको जगजगी छ, प्रिन्ट मिडिया सङ्कटमा परिरहेको छ । गोरखापत्रको साप्ताहिक अङ्कहरू निस्किरहँदा ध्वनि तरङ्ग एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्ने रेडियो उपकरण विकसित हुँदै थिए । प्रथम विश्वयुद्धमा केही रेडियोयन्त्र प्रयोग भए पनि छापामाध्यमको दुरुपयोग गर्दै युद्धको बमबारुद र बन्दुकसरह मार हान्न प्रयोग भएका थिए । बन्दुकको नालभन्दा तेज गतिको क्षेप्यास्त्रका रूपमा छापामाध्यमलाई लिइएको थियो ।
कतिपय अवस्थामा पुराना इतिहासभित्र छिर्न गोरखापत्रको ठेली पल्टाइ–पल्टाइ हेर्नेहरू आज पनि भेटिन्छन् । र, सरकारको अर्को सञ्चारयन्त्र राष्ट्रिय समाचार समितिको नाम पनि साथै आउँछ । विश्वसामु नेपालका खबर पु¥याउन र विश्वका खबर नेपालीमाझ ल्याउन नेपालको एकमात्रै समाचार समिति सोचेजति आधुनिक र परिष्कृत हुन सकेको छैन । मन्त्री पार्वत गुरुङले बिदाइका अन्तिम सम्बोधनमा भन्नुभएको थियो, ‘मैले गोरखापत्र र राससलाई पुनःसंरचना गर्न खोजेको थिएँ, त्यो पूरा गर्न भ्याइनँ ।’ नेपाल टेलिभिजन आधुनिक डिजिटल प्ल्याटफर्म हुँदै विश्व समुदायमा प्रसारण हुन एनटीभी वल्र्ड च्यानल प्रसारणको तहमा पुगिसक्दा उक्त दुई मिडियाले पनि ‘न्यु मिडिया’को डिजिटल युगमा हात हाल्नुपर्छ भन्ने मन्त्री गुरुङको परिकल्पना थियो । प्रजातन्त्रको मिर्मिरेसँगै रेडियो नेपालको उदय भयो । रेडियो नेपालले नेपालको सञ्चारयन्त्रमा अर्को योगदानका गाथा बोकेको छ । विश्वले यान्त्रिकरणको चरम प्रयोग गरिरहँदा नेपालमा स्थापित रेडियो नेपालले नागरिकलाई द्रुत सूचना दिन सघाउँथ्यो । भारतीय च्यानल दूरदर्शन फैलिँदै गर्दा पञ्चायतका अन्तिम पाइलाहरूमा उदय भएको नेपाल टेलिभिजनले दृश्यसहितको सामग्रीले सरकारी सञ्चारयन्त्रमा नवीन आयाम थपेको मानिन्छ ।
हुलाकको स्थापना भएपछि खबर आदान–प्रदान गर्न आफन्तलाई कुदाउनुपर्ने दिन समाप्त भएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै हुलाक सेवालाई डिजिटल क्रियाकलापमा रूपान्तर गर्ने योजनाअनुरूप हुलाक सेवा पनि फड्को मार्न खोज्दै छ । हल्काराले घर ठेगाना खोज्दै चिठीपत्र बुझाउने दिनलाई बिदा गरेर ‘गुगल कोड सर्च’ गर्दै पत्र सम्बन्धित ठेगानामा बुझाउने तहमा हुलाक पुगिसकेको छ । अब डिजिटल स्क्यानिङ र ट्र्याकिङ विधिलाई अवलम्बन गर्न हुलाक कार्यालयलाई रूपान्तरण गरिँदै छ । आवाज आदान–प्रदान गर्ने उपकरण ल्याएर नेपाल टेलिकमले एक ठाउँबाट अर्को ठाउँमा कुरा गर्ने सुविधा दिइरहेको बेला करिब साढे दुई दशकअघि नेपालमा इन्टरनेट भित्रिएपछि सरकारी सञ्चारयन्त्र त्यहीअनुरूप परिवर्तन हुँदै छन् । राज्यका सञ्चारयन्त्र समृद्धिका लागि सशक्त ढङ्गले योगदान गर्न सक्नेगरी बलिया बनाउँदै जानुपर्छ भन्ने सरकारले नीति लिएको छ । सरकारका कुनै पनि सञ्चारयन्त्र ‘समृद्ध नेपाल ः सुखी नेपाली’को नारा सार्थक बनाउन अविचलित अघि बढ्नुपर्छ ।
नकारात्मक, घिनलाग्दा, भ्रमपूर्ण, उत्तेजित, छाडा, प्रतिशोधपूर्ण, तथ्यहीन, खोक्रा, निराशापूर्ण समाचार सामग्री छरेर पाठक सङ्ख्या बढाउने, श्रोता र दर्शक बढाउन पुरानादेखि नयाँ मिडियाको भीडबाट सरकारका सञ्चारयन्त्र टाढा रहनुपर्छ । तथ्यता, विश्वसनीयता, धैर्य, स्पष्टता, स्तरीयता र राष्ट्रिय सङ्कल्प पूरा गर्नका लागि ‘समृद्धिका लागि सञ्चार’ भन्ने मूल नारा बोकेर हिँडेमा सरकारी सञ्चारयन्त्र जनप्रिय र तीप्रति जनविश्वास प्राप्त हुँदै जान्छ । किनकि सरकारका सञ्चारयन्त्र सार्वजनिक सम्पत्ति हुन् । सार्वजनिक सम्पत्ति जनताका सम्पत्ति हुन् । 
(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चारविज्ञ हुनुहुन्छ ।)