मनसुनप्रति सजगता (सम्पादकीय)
कृषि प्रधान नेपालमा मनसुन महत्त्वपूर्ण अवधि हो । आकाशे पानीको भरमा गर्नुपर्ने खेती र कतिपय स्थानमा खोलानालामा पानीको सतह बढेपछि मात्र सिँचाइ सम्भव हुने भएकाले पनि मनसुन र नेपालको खेती प्रणाली अन्तरसम्बन्धित छन् । मनसुन कृषि कर्मका लागि जल प्रदायक अवधि मानिन्छ, जुन मानो खाएर मुरी उब्जाउने समयमा पर्छ । यो अवधिलाई कृषि मौसम भने पनि हुन्छ तर यो अवधि कृषिका लागि उत्तिकै चुनौतीपूर्ण पनि हुन्छ । कृषियोग्य जमिन पहिरो जाने, बाढीले डुब्ने र लगाइएको बालीमा यसै अवधिमा व्यापक क्षति हुने गर्छ । नेपालमा सामान्यतः १० जुनदेखि २३ सेप्टेम्बर करिब चार महिनाको मनसुनी अवधिमा आठ सय पाँच मिलिमिटर वर्षा हुन्छ जुन नेपालमा बर्सने पानीको करिब ८० प्रतिशत हो ।
मौसमले सम्पूर्ण प्राणी, वनस्पति तथा वातावरणमाथि सरोकार राख्छ तर विगतमा आमसरोकार नहुने मौसम अनुमान अब भने आमचासोको विषय बन्दैछ । कुनै जमाना मौसम अनुमान मौसमविद्हरूको प्राज्ञिक ज्ञानमा सीमित थियो । क्रमशः यो हवाई उड्डयनको क्षेत्रमा अन्तरसम्बन्धित हुँदै हरेक मानवको जीवन र क्रियाकलापसँग सम्बन्धित घटना हुनपुगेको छ । सामान्य घरबाट काममा बाहिर निस्कनु पर्दा मात्र होइन, खेतीकिसानी, खेलकुद, यात्रा, विकास–निर्माणका हरेक कार्यमा मौसम पूर्वानुमानको महत्त्व र आवश्यकता बढेको छ । नेपालले हवाई उड्डयनका लागि सुरु गरेको मौसम पूर्वानुमान समाजका हरेक क्षेत्रका लागि महत्त्वपूर्ण हुँदै आउनुमा यिनै कारण अन्तरनिहित छन् । वि.सं. २०२५ पुस १ गतेबाट सुरु गरिएको मौसम पूर्वानुमानसम्बन्धी जानकारी पछिल्ला वर्ष भरपर्दो हुँदै आएकाले आमनागरिकमा यसप्रति विश्वास पनि वृद्धि भएको छ । कृषकहरूका लागि बाली लगाउने, गोडमेल र थन्क्याउने प्रयोजनका लागि मौसम अनुमान महत्त्वपूर्ण हुने गरेको छ । मनसुनको समयमा हुने जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमानको महत्त्व हुनेगर्छ । हरेक वर्ष विश्व मौसम सङ्गठनको नेतृत्वमा दक्षिण एसिया क्षेत्रका मौसमविद्को साझा मञ्चले मनसुनसम्बन्धी पूर्वानुमान तयार गर्छ । नेपालमा पनि विगतको तुलनामा आधुनिक प्रविधि तथा विधिबाट मौसम पूर्वानुमान गर्ने गरिएको छ, जसले नागरिकलाई यस अवधिमा सतर्कता अपनाउन सहज भएको छ ।
सार्वजनिक जीवनमा पनि मनसुनको ठूलो प्रभाव रहने भएकाले यसबारेमा सबै नागरिकलाई सचेत र जानकार बनाउनुपर्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । यस वर्षको मनसुन गत केही वर्षका भन्दा सक्रिय हुनसक्ने अनुमान गर्दै विभागले उच्च सतर्कता अपनाउन गरेको आग्रहलाई आम नागरिकले होसियारीपूर्वक पालना गरे सम्भावित क्षति न्यूनीकरण गर्न सकिने छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीमा जलप्रवाह बढ्ने, साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बाढी आई सर्वसाधारणको जीवन कष्टकर बनाउने मात्र होइन कतिपय अवस्थामा जनधनको क्षति हुने भएकाले मौसम पूर्वानुमानलाई सर्वसाधारणको पहुँच र सरोकारको विषय बनाउनु आवश्यक देखिन्छ ।
मौसम पूर्वानुमानका जानकारीलाई अझ वैज्ञानिक र यथार्थपरक बनाउन सकिए बाढीपहिरो, डुबान, आँधीहुरी, असिना, तापक्रम, हिमपातका घटनालाई पहिला नै प्रक्षेपण गरी बालीमा हुने नोक्सानी घटाउन सकिनेछ । मौसम पूर्वानुमानसम्बद्ध निकायलाई आधुनिक उपकरण, विधि, प्रविधियुक्त बनाएर मनसुन, मौसम तथा बाढीसम्बन्धी सूचनालाई भरपर्दो बनाउन सकिनेछ । विभागबाट सम्प्रेषण हुँदै आएका यस्ता जानकारीलाई पूर्ण वैज्ञानिक तथा भरपर्दो बनाउन सकिए मनसुन वा यसले निम्त्याउने प्रकृति प्रकोपबारे किसानमात्र होइन आमनागरिक पूर्वजानकार भई सुरक्षाका विधि अवलम्बन गर्न सक्नेछन् । नेपालसहित दक्षिण एसियाली क्षेत्रमा मनसुन अनुमानका लागि बङ्गालको खाडीमा राखिएको रोबोटले दिने सूचना, त्यसको विश्लेषण तथा अनुमानलाई तथ्यपरक बनाउन नेपाली मौसमविद्लाई दक्ष बनाउनुपर्ने चुनौती पनि छ । हेलिकप्टर मार्फत वायुमण्डलको तापक्रम नाप्ने गरियो भने मौसम अनुमानलाई थप विश्वासिलो बनाउन सकिनेतिर पनि नेपालले ध्यान दिनुपर्नेछ । मौसम तथा जलवायु परिवर्तनबाट पर्ने असर र जल तथा मौसमजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान तथा बाढी भविष्यवाणी प्रणालीलाई सुदृढ बनाउनु पर्नेछ । यस वर्ष वर्षात् अधिक हुने पूर्वानुमानलाई ध्यानमा राखी सम्भावित बाढी पहिरोको जोखिमबाट बच्न थप सतर्कता अपनाउन आवश्यक देखिन्छ ।