‘बियरिस ट्रेन्ड’ मै गाँजिएको राजनीति
निर्मलकुमार आचार्य
अहिले स्वदेश तथा विदेशमा रहेका आम नेपालीमाझ सर्वाधिक चर्चाको विषय नेपालको राजनीति र पूँजीबजार बनेको छ । ससाना ‘करेक्सन’ हुँदै पूँजी बजार ‘बुलिस टे«न्ड’ (बढ्दो प्रवृत्ति) पछ्याई अन्तिम विन्दुतर्फ हानिएको छ भने नेपालको राजनीतिचाहिँ निरन्तर ‘बियरिस ट्रेन्ड’ (घट्दो प्रवृत्ति) मा भासिंँदै गइरहेको छ ।
अर्थतन्त्रको ऐना मानिने पूँजीबजार यसो त मुलुकको आर्थिक, औद्योगिक, व्यापारिक आदि क्षेत्रको उन्नयनमा चम्किने हो तर राजनीतिक सुछायाँको प्रभाव र कुछायाँको असर पनि यसमाथि तत्काल पर्ने गरेको छ । तब त नियामक निकायको एक निर्णय वा इसाराले समेत ठूलै अङ्क तल, माथि पर्ने गरेका छन् । विगतमा कैयौँ राजनीतिक घटनाक्रमले पूँजीबजारलाई माथि उचालेको वा तल झारेको उदाहरण अनगिन्ती छन् । राजनीतिक धरातल थोरै मात्र फेरिंदा पनि पूँजीबजारमा भुइँचालो नगएका होइनन् । बरु भुइँचालोकै बखत अन्य क्षेत्र जे जस्ता रुपमा रहे पनि पूँजीबजार तङ््िग्रन थाल्यो । यही कोरोना (कोभिड १९) को कहरकाल पनि पूँजीबजारका निम्ति अहितकर रहेन । ‘कोभिड १९’ को पहिलो लहरदेखि रौसिन थालेको पूँजीबजार राजनीतिक अनुकूलता/प्रतिकूलतालाई बेवास्ता गर्दै दोस्रो लहरमा पनि गतिरोधको मुडमा देखिएको छैन ।
अनलाइन प्रविधिमार्फत घरै बसी किनबेच गर्नसकिने भएकाले फड्को मारिएको, कोरोनाकालमा अन्य क्षेत्र ठप्पप्रायः रहेकाले त्यहाँ हुँदै आएको लगानी पुँजी बजारमा सरेको, विदेशबाट समेत खरिदबिक्री हुनेगरेको, आर्थिक तरलता र न्यून व्याजदरले बजार बढाउन मद्दत गरेको जस्ता अनेक कारण छन्, जसले पूँजी बजारको गतिलाई अरु उचाइमा पु-याउने विश्वास लिइएको छ । पटक, पटक राम्रै बुलिस (उत्थान) र बियरिस (पतन) ट्रेन्ड’ (प्रवृत्ति) को अनुभव सँगालेका विज्ञजन नयाँ लगानीकर्ताको उर्लंदो सङ्ख्या र पूँजीबजारमा नयाँ, नयाँ राम्रा कम्पनी समेत प्रवेश गरेको स्थितिका आधारमा अझै माथिल्लो अङ्कमा पुग्ने विश्लेषण सार्वजनिक गरिरहेका छन् ।
निःसन्देह पूँजीबजारले थोरै अवधिमै ठूलो छलाङ मारेको छ । लगानीका निम्ति आईपीओ (प्राथमिक सेयर निष्काशन) भर्न घन्टौं लाम लाग्नुपर्ने दिन किम्बदन्ती बनिसके । सेयर किनबेच गर्नुपूर्व दलालकहाँ गई पूरा गर्नुपर्ने झन्झटिलो कागजी प्रक्रिया बिदाबारी भइसक्यो भने अनलाइन प्रविधिको विकाससँगै मुलुकभरि पूँजीबजारको पहुँच पु-याउन दलाल थप्ने कार्य समेत हुनथालेको जस्ता कारणले यसप्रति थप उत्साह बढाएको वस्तुस्थिति छ ।
पुरानै घिसिपिटी प्रक्रिया हुँदो हो, ‘अनलाइन’ कारोबार गर्नेको सङ्ख्या नबढ्दो हो र नयाँ, नयाँ लगानीकर्ता नउर्लिदा हुन् भने नेपालको पूँजीबजारको अवस्था पनि उँभो लाग्ने थिएन नै तर अनुभव, ज्ञान तथा प्रविधिको विस्तारले जिभै्र टोकाउनेगरी अचम्मित तुल्याउँदै पूँजीबजार यतिखेर सबैको चासो र सक्रियताको पक्ष बनेको छ ।
अनुभव, ज्ञान, प्रविधि र संयन्त्रकै कुरो गर्ने हो भने पहिलेको तुलनामा फराकिलो आयाम नसमेटिएको होइन तैपनि नेपालको राजनीति चाहिं ‘बियरिस टे«न्ड’मै जाकिरहनु उदेकको पाटो बनेको छ । राणाशासन यताको मात्रै कुरो गर्ने हो भने पनि राजनीतिमा कहिलेलाई ‘बुलिस ट्रेन्ड’ र कहिलेलाई ‘बियरिस टे«न्ड’ मान्ने ? निस्कर्षमा पुग्न मथिङ्गल सक्षम देखिंदैन । हरेक शासन पद्धति ‘फेल’ भएका दृष्टान्त छन् । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था मात्र होइन, जनान्दोलनबाट प्राप्त ३० वर्षे प्रजातान्त्रिक व्यवस्थामा अझ गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा समेत नेपाली राजनीति ‘बुलिस ट्रेन्ड’’ मा कुदेको पाइँदैन ।
नेपालको राजनीतिलाई पल्लवित, पुष्पित हुन अनुकूलतम वातावरण नजुटेको होइन । राजनीतिक दलले चाहेजस्तो संविधान जारी भई नयाँ शासन पद्धति कायम भएको छ । स्थानीय, प्रादेशिक तथा सङ्घीय गरी तीन तहका सरकार बनेका छन् । राजनीतिक स्थिरताका लागि पनि पहिलेभन्दा जोडदार दफा जोडिएकै हो । मतदाताले पनि उदार मनका साथ झन्डै दुई तिहाइको सरकार बनाउने मेसो जुराएका हुन् । मुलुकभरि नै विकासको तीव्र लहरको आकाङ्क्षाले प्रदेशहरूमा पनि मनग्ये सहजता प्रदान नगरिएको होइन । बेला, कुबेला किचकिच गर्लान् कि भन्ठानी प्रतिपक्षी दलको हैसियत ठिक्कको मात्रै राखेर नागरिकले गजबकै चेत पनि देखाएकै हुन् । राजनीतिक स्थिरता र समृृद्धिका नाममा बढेको राजनीतिलाई छरछिमेकी लगायत दुनियाभरिबाटै सरसहयोग जुट्दै आएको अकाट्य यथार्थ पनि छ । यस्ता विभिन्न, अपूर्व सकारात्मक वातावरण हुँदाहुँदै किन नेपालको राजनीतिले ‘बुलिस ट्रेन्ड’’ समात्न सकेन ? हरेकका आ–आफ्नै तर्क, वितर्क, कुतर्क हुनसक्छन्, अनि आक्षेप, विक्षेप र पटाक्षेपका अनुक्रम चल्नसक्छन् ।
‘हर्षित, उत्साहित साथीभाइहरू खानपिनपछि डुङ्गा सयरमा मस्त भई निस्किएछन्, सफलताको खुशी, भविष्यको सपना र गफगाफमा व्यस्त उनीहरू कहाँ पुगे भन्ने पनि भेउ रहेन । रात बित्न लागिसक्यो, डुङ्गा खियाएको खियायै छन् । उज्यालो भएपछि पो तिनले थाहा पाए । डुङ्गा त जहाँको तहीं पो रहेछ, किनारमा बाँधिएको डोरी नै फुत्काउन बिर्सिएका रहेछन् ।’
फुत्काउन बिर्सिएका धेरैथोकले नेपालको राजनीतिलाई सदा गन्तव्यहीन बनाएको छ । बेथिती, बेरीति, कुनीति, अनीति जस्ता साङ्ला जे जे फुत्काउन पथ्र्यो, छाड्नुपथ्र्यो, ती सबै नारिएर रहेकाले नै अग्रसारिताको नमुना नदेखिएको हो । फुटपरस्तीले कहिले राम्रो गरेको थियो र अब गथ्र्यो ? जालझेल, षडयन्त्र, प्रपञ्च र केवल कुर्सीको खेलले कहिले राजनीतिक स्थिरता भएको थियो र हुन्थ्यो ? भ्रष्टाचारको लहरै उखेलेर नफालुन्जेल कहाँ सुशासन कायम भएको छ र यहाँ हुन्थ्यो ?
‘करेक्सन’ हुँदै बढ्नुलाई पूँजीबजारमा राम्रो मानिन्छ । ‘करेक्सन’ (भुलसुधार) हुँदै बढेको भए नेपाली राजनीतिको साख पनि नितान्त बेग्लै हुने थियो । आफूले बनाएको संविधान, पुरानो ज्ञान, अनुभव, त्याग, बलिदान, नयाँ शासन व्यवस्था र अहिलेको विज्ञान, प्रविधिले गर्दा नेपालको राजनीति धेरै माथि उचालिएको गौरव किन कसैलाई प्राप्त नभएको होला ? महाकष्टकारी यस प्रश्नको उत्तर झनै पीडादायी रहेको छ ।
वि.सं. २००७ साल अघि जन्मिएका दल होऊन् वा सन् २००७ साल यताका, कसैको मुहारमा कान्ति नदेखिनु ‘बुलिस ट्रेन्ड’’को प्रतीक होइन ।
घट्नु त घट्नु, कहाँसम्म घट्नु ! त्यसको पनि पूँजीबजारका खेलाडीहरू लेखाजोखा गर्ने गर्छन् । विगतमा ‘नेप्से’ कति अङ्क पुगेर झर्दा न्यूनतम कति अङ्कमा रह्यो ? त्यसका के कस्ता कारण थिए ? अहिले के कस्ता कारणले बजार बढ्दै उच्चतम कति अङ्कसम्म पुग्नसक्छ र झर्दा न्यूनतम कति अङ्कसम्म आएर बस्ला ? जस्ता प्रश्नमा मगज खियाउनेहरू पूँजीबजारमा दिनानुदिन बढ्दै छन् ।
राजनीतिक ‘बियरिस टे«न्ड’ को न्यूनतम विन्दु चाहिं कुन हो ? बिरलै कसैले अनुमान लगाएको हुनसक्छ । नेपाली राजनीतिको साख खस्काइले लोकतन्त्रका आधारभूत पक्षलाई समेत निर्विवाद रहन नदिएको अवस्था विडम्बनापूर्ण छ । राष्ट्रको सर्वोच्च तथा मर्यादापूर्ण संस्थाहरू समेत राजनीतिक गिजोल्याइका कारण औंलाउठाइका केन्द्रविन्दु बन्न थालेका छन्, अधिकार क्षेत्र, शक्ति र सीमा जस्ता प्रश्न उब्जन लागेका छन् ।
घट्नु–बढ्नु पूँजीबजारको सौरभ हो । उच्चतम अङ्कमा पुगेपछि पूँजीबजार घट्ने नै हो र न्यूनतम अङ्कमा झरेपछि पुनः बढ्ने हो । जानकार भन्दछन्– ‘यही घटाइ र बढाइको सौन्दर्यमा आर्जनको रहस्य लुकेको छ ।’ ‘बियरिस ट्रेन्ड’’ मा गाँजिएको राजनीति चाहिं कहिले ‘बुलिस ट्रेन्ड’’ मा लाग्ने हो ? प्रतीक्षाकै विन्दु बनेको छ । मन्त्री वा सरकार फेरिंदैमा ‘बुलिस टे«न्ड’ नहुने विगतले पढाएकै छ, व्यवस्था फेरिंदा त नभएको कुरो, कसरी पार लाग्ला ? आत्मबोध गरी नेतृत्व वर्ग गाम्भीर्य तथा इमानदारीसाथ ‘करेक्सन’ सहित अघि बढ्ने हो भने अभूतपूर्व ‘बुलिस ट्रेन्ड’’ को सम्भावना पनि उत्तिकै छ ।
नेतृत्व वर्ग ‘करेक्सन’ सहित अघि बढेमा जनताको मनोविज्ञानले पनि साथ दिनेछ र ‘बुलिस ट्रेन्ड’’ लाई ‘बुलेट स्पिड’ प्राप्त हुनसक्छ, हैन भने अहिलेको ‘बियरिस ट्रेन्ड’’ लाई ‘क्र्यास’ हुनबाट कसले बचाउन सक्ला र !
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)