विचार/दृष्टिकोण |

महँगीको मारमा उपभोक्ता

माया आचार्य

लुक अहिले कोभिड–१९ कोरोना भाइरसको महामारीबाट नराम्ररी थलिएको छ । पछिल्लो समय कोरानाको दोस्रो लहरले जनताको जनजीवन अस्तव्यस्त बनाएको छ । दैनिक हजारौँका दरले सङ्क्रमित थपिएका छन् भने कैयौँकोे ज्यान गइराखेको छ ।
वैशाखदेखिको निषेधाज्ञाका कारण हजारौँ बेरोजगार हुनुपरेको छ भने आम्दानीका स्रोत सबै बन्द छन् । पछिल्ला समय उपत्यका बजारमा खाद्यान्नको मूल्यवृद्धिले उपभोक्ता झन् सहाराविहीन बनेका छन् । चामल, चिनी, खानेतेल, मासु, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको अस्वाभाविक रूपले भाउ बढेको छ । अहिले खाने तेलको मूल्य अत्यधिक बढेको छ । खाद्यान्नको मूल्य यति धेरै के कारणले बढ्यो भन्ने प्रश्नमा व्यापारीले पनि चित्तबुझ्दो जवाफ दिन सक्दैनन् । उनीहरूले होलसेल मूल्य नै बढेको उत्तर दिन्छन् । त्यसमाथि पटक–पटक इन्धनको मूल्यवृद्धिले उपभोक्ता अझै मारमा परेका छन् । व्यापारीले कृत्रिम अभाव र हल्लाको भरमा आफूखुसी मूल्यवृद्धि गर्दा आमउपभोक्ता यसको सिकार बनेका हुन् । कोरोनालाई जित्न पौष्टिक तŒव प्रशस्त खानुपर्ने सल्लाह सुझाव आइरहेका छन् । हुनेखानेका लागि त फरक नपर्ला तर हँुदाखानेका लागि साँझ बिहान छाक टार्नसमेत मुस्किल परेको छ । श्रमिक, मजदुरका लागि यो चुनौतीको विषय बनेको छ । एकातिर रोगसँग लड्नुपरेको छ भने अर्कोतिर भोकसँग । व्यापारीले पनि अवसर खोजिरहेका हुन्छन्, मौकाको फाइदा उठाउन । यस्तो बन्दाबन्दीको समयमा रोगले भन्दा भोकले मानिसले ज्यान गुमाउने अवस्था सिर्जना हुन सक्छ । अहिलेको अवस्थामा एकले अर्कोलाई जसले जे–जसरी सहयोग गर्न सकिन्छ, त्यसरी नै सहयोग गर्नुपर्छ किनकि देशलाई महामारीको सङ्कट परेको छ । अहिले पैसा कमाउने समय होइन, सबैजना बाँचौँ बचाऊको भावना मनमा राख्दा आत्मसन्तुष्टि मिल्ला कि ! सरकारले पनि अनुगमनलाई निरन्तरता नदिने र कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याई सजाय नदिएको परिणाम आमउपभोक्ताले भोग्न बाध्य छन् । पहँुचको भरमा उम्कने प्रवृत्तिले कालोबजारीको मनोबल बढेको छ । त्यस्तै सबै खाद्य पसलमा मूल्यसूची नराख्ने, बजार भाउमा एकरूपता नहुनुले पनि उपभोक्ता ठगिन बाध्य छन् । हरेक कुरामा सरकारलाई मात्र दोष दिनुभन्दा पनि खुला व्यापारी वर्ग केही हदसम्म इमानदार बन्न सके सबैलाई सहज हुन सक्छ । सरकारले पनि नीति नियममात्र बनाउने कार्यान्वयनमा ध्यान नदिँदा उपभोक्ता मर्कामा परेका छन् । केही व्यापारीको गलत क्रियाकलापले समग्र व्यापारीसमेत मुछिनुपर्ने विडम्बना छ । खाद्यान्नको मूल्य आकासिएकाले ज्याला गरिखाने वर्गको चुलो बल्न मुस्किल परेको छ ।
नेपाल कृषिप्रधान देश भनेर चिनिएको छ । यहाँका अधिकांश जनता कृषिमै आश्रित छन् । नेपालको कृषि पेसालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न नसक्दा किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य छन् । बिचौलियाले त्यसको फाइदा उठाइरहेका छन् । यसले गर्दा किसान र उपभोक्तालाई अझै निराशा थपेको छ ।
त्यस्तै फागुन, चैतमा तरकारी तथा पलफूलको मूल्य अत्यधिक वृद्धि भएको थियो तर बिचौलियाको बिगबिगीका कारण किसानले त्यसको उचित मूल्य पाएनन् । अहिले केही कमी आए पनि हरेक स्तरका उपभोक्ताले उपभोग गर्न सक्ने अवस्थामा आएको छैन । देशमा विपत् परेको बेला हरेक व्यक्ति इमानदारी, जिम्मेवार बन्नु जरुरी छ । कोरोना भाइरस सङ्क्रमण हरेक स्तरका व्यक्तिलाई लाग्न सक्ने हुँदा सबै सचेत हुनु आवश्यक छ । कोरोना भाइरस महामारी कहिलेसम्म सामना गर्नुपर्ने हो, त्यो पनि कसैलाई जानकारी छैन । खाद्यान्नमा अत्यधिक मात्रामा मिसावट छ, यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइराखेको छ । कालो बजारी रोक्न खाद्य उपभोक्ता मञ्चले पनि निरन्तर अनुगमन र निगरानी राखेर आवश्यक कारबाही चलाए उपभोक्तालाई केही राहत मिल्ने थियो ।
महँगीको बारेमा कहीँ कतैबाट आवाज उठेको पाइँदैन । सम्बन्धित निकाय मौन हुँदा उपभोक्ता महँगीको चपेटामा पर्न बाध्य छन् । यसरी नै महँगी हुने हो भने आगामी दिनमा कोरोना रोगबाट भन्दा पनि भोकबाट आयस्रोत कम हुने व्यक्तिले ज्यान गुमाउने अवस्था नआउला भन्न सकिन्न । सरकारले कर्मचारीको भत्ता र वृद्धभत्ता बढाएको छ, यसले व्यापारीलाई महँगी बढाउने बहाना हुनेछ, त्यसैले कालो बजारी रोक्न सरकारले बजार अनुगमनलाई निरन्तरता दिनु अति आवश्यक छ । अहिलेको बन्दाबन्दीमा एकातिर किसानको खेतबारीमा उत्पादन गरेको तरकारी तथा फलफूल कुहेर खेर गएको समाचार आएका छन् भने अर्कातिर सहर–बजारमा महँगीले उपभोक्तालाई ढाड नै सेकिएको छ । महँगी नियन्त्रणमा सम्बन्धित पक्ष चनाखो हुनु अहिलेको आवश्यकता हो । यसमा समयमै ध्यान जान जरुरी छ ।
(लेखक गोरखापत्रमा कार्यरत हुनुहुन्छ ।)