सेयर बजारमा दस कित्ते नीति
नरेन्द्रमान श्रेष्ठ
नेपालको सेयर बजारमा पछिल्लो समयमा ‘प्राथमिक सेयर’ (आईपीओ) लगानीकर्ताहरूको प्रवेश बढिरहेको अवस्थामा दस कित्ते नीतिको पनि चर्चाहरू हुने गरेका छन । कतिपयले यसबाट विकृति आएको भन्दै यो खारेज गर्नुपर्ने तर्क गरिरहेका छन् । खासगरी यसको चर्चा नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुङ्गानाको अभिव्यक्ति सार्वजनिक भएपछि सबैतिर चासो व्यक्त भएको छ ।
ढुङ्गानाले एक टेलिभिजन अन्तर्वार्तामा दस कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएको जस्तो धारणा राख्नुभएको थियो । यद्यपि अधिकांश लगानीकर्ताले दस कित्ते नीतिले सेयर बजारलाई फराकिलो बनाएको बताउने गरेका छन् । यसबाट सेयर बजारमा आम लगानीकर्ताको पहुँच पुगेको उनीहरूको धारणा छ । यो नीतिले सेयर बजारलाई विस्तृति बनाएको छ । यसले साना लगानीकर्ताहरू लाभान्वित भएका छन् ।
एक तथ्याङ्कका अनुसार हाल प्राथमिक बजारका लगानीकर्ताहरू १८ लाखभन्दा बढी भइसकेका छन् । यसको कारण भनेको दस कित्ते नीति हो भन्दा पनि फरक नपर्ला । प्राथमिक बजारमा सबै आवेदकहरूले दस कित्ता सेयर पाउने आशामा लगानीकर्ताहरू प्राथमिक बजारमा झुमिएका हुन् । यो नीतिले साना साना लगानीकर्ताहरूलाई पनि सेयर बजारमा आबद्ध हुन मद्दत गरेको छ ।
लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा भए पनि यसको गन्तव्य भनेको दोस्रो बजार नै हो । त्यसैले यही दस कित्ते नीतिबाट लावान्वित भएकाहरू विस्तारै दोस्रो बजारमा प्रवेश गर्नेछन् । यसले सेयर बजारको दायरालाई बढाउँछ । आईपीओ सेयर खरिद गर्न एक हजार रुपियाँ मात्रै भए पनि पुग्छ । त्यतिमा दस कित्ता सेयर भए पनि पाउने आशाले साना लगानीकर्ताहरूको आकर्षण बढेको हो तर पनि केही ठूला लगानीकर्ताले प्राथमिक बजारलाई आफ्नो पोल्टामा मात्रै पार्नका लागि सेबोनलाई आरोप लाग्दै आएको छ ।
त्यसो त विगतमा बोरा प्रवृत्ति रहेजस्तो पछिल्लो समयमा पनि यस्ता प्रवृत्तिले निरन्तरता पाइरहेकै छन् । कुनै पनि विषयमा नकारात्मक र सकारात्मक पाटो रहेका नै हुन्छन् । प्राथमिक सेयरमा आवेदन दिनेमध्ये ५० प्रतिशत नक्कली हुने पनि बजारमा चर्चा सुनिन्छ । एक जना व्यक्तिले सयौँ जनाको नागरिकता सङ्कलन गरेर बैङ्क र डिम्याट खाता खोल्ने गरेका विषयहरू पनि विभिन्न मिडियाबाट सार्वजनिक भइरहेकै छ । एक सेयर बजार विश्लेषकले त आफू एक जनाले नै ११ जनाको आईपीओ भरेको अभिव्यक्ति दिनुभएको थियो । सम्भवत यो सही पनि हुनसक्छ । तर यस्तो हो भने सम्बन्धित नियामक निकायहरूले छानबिन र अनुगमन गर्नुपर्छ । यद्यपि कतिपयले आफ्ना चिनेजानेका वा आफन्तको नाममा डिम्याट खोल्ने काम पनि गरिरहेका छन् । तर यसैको आधारमा जसरी सेयर बजारप्रति आम मानिसको ध्यानार्कषण भएको छ, त्यसलाई नजर अन्दाज गर्न मिल्दैन । अहिले सडकदेखि सदनसम्म सेयर बजारको चर्चा हुने गरेको छ । भने चिया गफमा पनि सेयर बजारको नै चर्चा हुन थालेका छन् ।
बजारमा नव प्रवेशीहरूका लागि प्राथमिक बजार उपयुक्त माध्यम हो । प्राथमिक बजारमा जोखिम कम हुन्छ दोस्रो बजारमा जस्तो जोखिम हुँदैन भन्ने आम लगानीकर्ताको बुझाइँको कारण यस्तो भएको हो । दोस्रो बजारमा प्रवेश गर्नका लागि प्राथमिक बजार एक सिंढी हो । यसकारणले पनि प्राथमिक बजारप्रति आम लगानीकर्ताको आकर्षण र चासो रहेको हो ।
सूचना प्रविधिको विकाससँगै सेयर बजारमा पनि त्यसले सकारात्मक योगदान दिएको छ । सेयर आवेदनका लागि चेक र नगद बोकी घण्टाँै लाइनमा बस्नुपर्ने स्थिति अहिले छैन । सेयर बजारका सबैजसो काम अनलाइनबाट हुने गरेका छन् । घरै बसेर सेयर किन्ने, बेच्ने, आवेदन दिनेलगायत सबै काम मोबाइल वा ल्यापटपबाट हुन्छ ।
यसकारणले पनि सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको हो । यसलाई विकृतिको संज्ञा दिनु गलत छ । प्राथमिक बजारमा नै किन नहोस् लगानीकर्ताहरू बढ्नु भनेको सेयर बजारका लागि राम्रो हो, यसले सेयर बजारलाई फराकिलो बनाउँछ । आईपीओ खरिदकर्ताको सङ्ख्या बढ्यो भन्दैमा विकृति बढ्यो भन्न मिल्दैन ।
नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारमा बुक बिल्डिङ प्रणाली लागू गर्ने भएको छ बुक बिल्डिङ प्रणली लागू भएपछि दस कित्ते नीति विस्तारै विस्थापन हुने नै देखिन्छ । कतिपय बुक बिल्डिङ प्रणाली सेयर बजारका लागि राम्रो मान्ने गरेका छन् । तर यस प्रणलीले सेयर बजारको प्राथमिक बजार पनि ठूलाबडा लगानीकर्ताहरूको हातमा जाने पनि देखिन्छ बुक बिल्डिङ प्रणालीमा सेयर खरिद गर्न ५० कित्ताभन्दा कम आवेदन दिन पाउँदैन । भने आईपीओ पनि एक सय रुपियाँमा नआउन सक्छ । यसले साना लगानीकर्ताहरूको पहुँच कम हुन्छ ।
त्यो त बुक बिल्डिङ प्रणाली लागू भए पनि सबै कम्पनी बुक बिल्डिङ प्रणालीबाट नै सेयर निष्कासन गर्छन् भन्ने पनि छैन । यद्यपि यसले साना लगानीकर्तालाई भने घाटा हुन्छ नै । यसले कतै साना लगानीकर्ता सेयर खरिदबाट वञ्चित हुने त होइन ? भन्ने प्रश्नसमेत स्वतः उब्जन्छ ।
(लेखक सेयर लगानीकर्ता हुनुहुन्छ ।)