वन नै जीवन (सम्पादकीय)
यस वर्ष असार १४ गते सोमबार राष्ट्रिय वृक्षरोपण दिवस मनाइयो । यस अवसरमा मुलुकभर एक लाखभन्दा बढी बिरुवा रोपिएको छ । वर्षा याम भएकाले राष्ट्रिय वृक्षरोपण दिवसका दिनदेखि सुरु गरेर मनसुनको अन्त्य हुने बेलासम्म बिरुवा रोपिन्छ । वृक्षरोपणलाई जनस्तरसम्म पु-याउने र जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले २०७६/७७ देखि राष्ट्रिय वृक्षरोपण अभियान नै घोषणा गरेर देशभर पाँच करोड बिरुवा रोप्ने कार्यक्रम सुरु गरिएको थियो । यस वर्ष सरकारका विभिन्न निकायले वृक्षरोपणका लागि एक करोड बिरुवा तयार पारेका छन् । यी बिरुवा निःशुल्क रूपमा उपलब्ध गराइन्छ ।
वन जीवन हो, वन जीवनयापनको माध्यम हो । वनसँग मानिस मात्रै होइन, समग्र प्राणी र वनस्पतिबीच अन्योन्याश्रित सम्बन्ध छ । एकअर्काविना यी दुईको अस्तित्व रहँदैन । मानव जाति सृष्टिदेखि जीविकोपार्जनसम्म वन र वनस्पतिसँग निर्भर छ । प्राणवायुका साथसाथै दैनिक जीविकोपार्जनका लागि मानिसले वनमै भर पर्नुपर्छ । प्रदूषण नियन्त्रणका लागि वन चाहिन्छ । पानीको स्रोत संरक्षणमा वनको आवश्यकता छ । वनविना कृषि कर्म अगाडि बढ्न सक्दैन । हरियो वन नेपालको धनको नारा अझै पनि सान्दर्भिक छ । वनजङ्गल संरक्षण र व्यवस्थापनबाट रोजगारी सिर्जना र आय आर्जन हुनसक्छ । दैनिक जीवनमा आवश्यकपर्ने काठ, दाउरा, घाँसपातदेखि जडीबुटी उत्पादनमा वनको महìवपूर्ण योगदान हुन्छ । खेतीपाती, पशुपालन, वन पैदावारमा आधारित उद्योग सञ्चालन, जलविद्युत्, पर्यटनको विकासका लागि वनजङ्गल चाहिन्छ । जडीबुटी र अन्य वनजन्य वस्तु निर्यातबाट विदेशी मुद्रासमेत कमाउन सकिन्छ । अहिले विदेशबाट काठ आयात हुने गरेको छ । स्वदेशमै वनको उचित विकास र व्यवस्थापन गरेर काठलगायतका वस्तुको आन्तरिक माग आपूर्ति गर्न सकिन्छ, यसबाट आयात प्रतिस्थापन गर्न सकिन्छ र निर्यात गरेर विदेशी मुद्रासमेत कमाउन सकिन्छ ।
देशको झण्डै ४५ प्रतिशत भूभाग वनले ढाकेको छ तर वितरण समान छैन । वनजङ्गलले रोजगारी, आयआर्जन, जीविकोपार्जन र समग्र अर्थतन्त्रमा योगदान पु¥याउने भए पनि यसको व्यावसायिक व्यवस्थापन र उपयोग हुन सकेको छैन । उपलब्ध वन, वनस्पति तथा जैविक विविधताको उपयोग हुन नसक्दा यसबाट प्राप्त हुने लाभबाट वञ्चित हुनुपरेको छ । मुलुकको झण्डै ६० लाख हेक्टर राष्ट्रिय वन क्षेत्रमध्ये एकतिहाईलाई मात्र दिगो वन व्यवस्थापनमा लैजाँदा हालको वार्षिक पुगनपुग दुई करोड घनफिट काठ उत्पादनलाई बढाएर वार्षिक १० करोड घनफिट पु¥याउन सकिने अध्ययनले देखाएको भए पनि त्यसलाई हासिल गर्न सकिएको छैन । पूर्वाधार विकासका क्रममा वनजङ्गल विनाश हुने गरेको छ । अव्यवस्थित तथा अनियन्त्रित ढङ्गले ढुङ्गा, माटो, बालुवा उत्खनन गर्ने परिपाटीले वन क्षेत्रलाई प्रभाव पारेको त छ नै, समग्र वातावरणलाई बिगारेको छ । वन विनास र प्राकृतिक सम्पदाको अव्यवस्थित उत्खननले बाढीपहिरो, अतिवृष्टि र अनावृष्टिको समस्या झन्झन् जटिल बन्दै गएको छ । वन अतिक्रमण गरी खेतीपाती वा बसोवास गर्ने कार्य नियन्त्रण हुन नसक्दा वन विनाशलाई बढाइरहेको छ ।
वनजङ्गल जीविकोपार्जन र आर्थिक विकासका लागि अति आवश्यक भएकाले यसको विकास, संरक्षण र उचित व्यवस्थापनमा जोड दिनुपर्छ । सौन्दर्य र वातावरणीय स्वच्छताका लागि वृक्षरोपण आवश्यक छ । चुरेलगायतका भौगोलिक र वातावरणीय दृष्टिले अति संवेदनशील र महìवपूर्ण क्षेत्रमा वृक्षरोपणलाई प्राथमिकता दिनुपर्छ । बिरुवा रोप्ने र कागजमा प्रगति देखाउने कामले मात्रै वन संरक्षण हुनसक्दैन । बिरुवा रोपेपछि त्यसको संरक्षण आवश्यक छ । वनबाट प्राप्त हुने लाभको उचित र न्यायिक बाँडफाँटका लागि कानुनी व्यवस्था हुनुपर्छ । वृक्षरोपण सरकारको एक्लो प्रयासले मात्र सम्भव हुँदैन । यसका लागि प्रदेश, स्थानीय सरकारदेखि विभिन्न सङ्घसंस्था र सबभन्दा महìवपूर्ण कुरा आम नागरिकको सहभागिता चाहिन्छ । स्थानीय सरकार र जनता नै वन संरक्षण, व्यवस्थापन र विकासका आधारस्तम्भ हुन् । उनीहरूको सहभागिताले मात्रै वन विकास र संरक्षणमा लक्ष्य हासिल गर्न सकिन्छ ।