नेपालमै रेम्डेसिभिर उत्पादन (सम्पादकीय)
कोभिड–१९ (कोरोना) सङ्क्रमितको उपचारमा उपयोगी र प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन सुरु भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थ केयरलाई औषधि उत्पादन गर्ने अनुमति दिएसँगै नेपालमै रेम्डेसिभिर उत्पादन हुने खबरलाई सर्वत्र महìवका साथ हेरिएको थियो । कम्पनीले वैशाख ३१ गते उत्पादन र यही असार ६ गते बजार इजाजतसमेत पाइसकेको छ । विभागले रेम्डेसिभिर उत्पादनका लागि सो कम्पनीका सबै संरचना उपयुक्त र उत्पादन गर्न सक्ने देखिएकाले अनुमति दिइएको र पहिलो चरणमा पन्ध्र हजार मात्रा औषधि उत्पादन गरी बजारमा आएको छ । कोरोना सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर स्वदेशमै उत्पादन भएबाट आमनागरिक र उपचारमा संलग्न चिकित्सक/स्वास्थ्यकर्मीमा खुसीको सञ्चार भएको देखिन्छ । सो कम्पनीबाट उत्पादित रेम्डेसिभिरको ‘ब्रान्ड नेम’ रेम्सिभी रहने र प्रति भायल अधिकतम खुद्रा मूल्य (एमआरपी) तीन हजार पाँच सय हुने जनाइएको जुन हालको बजार मूल्यभन्दा सस्तो हुनेछ । हाल नेपालमा भारत र बङ्गलादेशबाट ल्याइने सो औषधिको मूल्य प्रति भायल करिब पाँच हजार रुपियाँ पर्ने भए पनि महामारीका बेला कतिपय बिरामीका लागि ५० देखि ७० हजार रुपियाँमा किन्नु परेका घटना सार्वजनिक भएका थिए । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय (एफडीए) बाट कोरोना सङ्क्रमितको उपचारमा आपत्कालीन प्रयोग अनुमति पाएको सो औषधि उत्पादनपछि नेपालभरिका आफ्ना वितरकहरूमार्फत उपलब्ध हुने उत्पादक कम्पनीले जनाएकाले सस्तो र सुलभका दृष्टिले पनि उक्त औषधि नेपालका लागि उपयुक्त हुनेछ ।
नेपालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेका प्रयासको प्रारम्भिक तथा दीर्घकालीन सफलता देखिएका छन् । स्वास्थ्य क्षेत्रमा गरिएको अभूतपूर्ण बजेट विनियोजन, स्वास्थ्य संरचना, आधुनिक प्रविधि तथा उपकरणको प्रयोगले नेपालको स्वास्थ्य क्षेत्र निकै उचाइमा पुगेको देखिन्छ । पहिलो कोरोना सम्भावितको परीक्षण नेपालभित्र हुन नसक्ने अवस्थाबाट आज मुलुकभर सङ्क्रमणको परीक्षण गर्न सकिने अवस्थामा पुग्नुलाई अन्देखा गर्न सकिँदैन । हाल बनेका स्वास्थ्य संरचना तथा रेम्डेसिभिरजस्ता औषधिको उत्पादनले कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम तथा उपचारमा नेपाललाई सहजता हुनेछ । स्वदेशमा खोप उत्पादन नभए पनि नेपालले खोपको व्यवस्थापन गर्दै आएको छ । निकट भविष्यमा नै ४० लाख मात्रा खोप ल्याउने सरकारी तयारीले थप उत्साह आएको छ । भारतको सिरम कम्पनीलाई नेपालले पठाएको अग्रिम भुक्तानीअनुसारको दस लाख मात्रा विश्व स्थास्थ्य सङ्गठनअन्तर्गत नेपालले पाउनुपर्ने कोभ्याक्स र सरकारले विभिन्न देशसँग खरिदका लागि गरेको प्रयासअनुसार खोप आएमा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिनेछ ।
कोरोनाको जटिल अवस्थामा क्रमशः विजय पाइने सुनिश्चितता बढेको छ । अस्पतालमा बेड र अक्सिजनको अभाव हुन छाडेको छ । कोभिड अस्पतालहरूले क्रमशः सबै प्रकारका उपचार दिन थालेका छन् । अर्थतन्त्रका विभिन्न क्षेत्र चलायमान हुँदैछन् । बजारमा जनसामान्यको भीड बढेको छ । मुलुकका ठूला सहरमा सङ्क्रमण दर घट्दो, निको हुने दर बढ्दै गएपछि स्थानीय प्रशासनले जनजीवनलाई पूर्ववतः सामान्यकृत गर्न थालेका छन् । काठमाडौँ उपत्यकामा मङ्गलबार (असार १५ गते) देखि जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकामा गत वैशाख १६ गते र मुलुकका विभिन्न स्थानमा वैशाखको पहिलो हप्तादेखि सुरु भएको निषेधाज्ञा बिस्तारै खुकुलो बनाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो । केही दिनपछि नै मुलुकभर लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आउने अवस्था बन्दै गएको छ । अझै पनि महामारीको अवस्था पूर्ण नियन्त्रणमा आइनसकेकाले नागरिकलगायत अर्थतन्त्रका सबै पक्ष स्वास्थ्य सुरक्षाको प्राथमिकीकरणसँगै जनजीवनलार्ई पूर्ववत स्थापित गर्न जिम्मेवार हुनुपर्छ । भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने दस लाख मात्रा कोभिसिल्ड खोप तत्काल आउने निश्चित छैन । विश्वभर कोरोनाको तेस्रो लहरको सम्भावना देखाइएको छ । यस्ता चुनौतीबीच स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेका पहल तथा तयारीका साथै आमनागरिक, उद्योगपति, व्यवसायीको भूमिका त्यतिकै महìवपूर्ण हुने भएकाले थप सतर्कता अपनाउँदै नागरिकलाई स्वास्थ्य सुरक्षा र अर्थतन्त्रलाई जीवन दिन सबैको भूमिका अपेक्षित छ ।