सार भएको असार
देवेन्द्र अर्याल ‘आँसु’
प्रायः असारसँगै मनसुन सुरु हुन्छ अनि नेपाली ग्रामीण क्षेत्रमा कृषकलाई रोपाइँको चटारो बढ्छ । त्यसैले हाम्रोजस्तो कृषिप्रधान देशमा असारको निकै महŒव छ । असार सुनौलो भविष्य बोकेको महिना भएका कारण यसलाई मानो रोपेर मुरी फलाउने समयका रूपमा पनि लिइन्छ । ऋतुचक्रानुसार साउन, भदौलाई वर्षा मानिए असारलाई नै खेतिपाती र वर्षायाम मानिन्छ । असार महिना समग्र एउटा महिना भए पनि यसको अनेक विविधता रहेको छ । यस महिनामा रोपाइँ, बेठी, असारेगीत, असारेफूल, असार १५, दहीचिउरा आदिको जीवन्त मिश्रण पाइन्छ । असारमा मात्र गाइने असारे लोकभाका कर्मगीतको उत्कृष्ट नमुना हो । हिजोआज बेठीपरम्परा क्रमशः हट्दै गएको छ भने विभिन्न यन्त्रका प्रयोग हुँदा रोपाइँ कार्यमा केही सहजताको अनुभूति गर्न सकिन्छ ।
नेपाली लोकजीवनले असारलाई सारयुक्त महिना मानेको छ । असारमा रोपेर मङ्सिरमा अन्न भिœयाउन पाइने भएका कारण यस महिनालाई विशेष मानिएको हो । त्यसैले यस महिनाको पन्ध्रलाई विशेष महŒवका रूपमा असार १५ भनेर धुमधामसाथ रोपाइँ गरी दहीचिउरा खाएर नाचगान गरी मनाउने चलन छ । असार १५ का दिन रोपाइँ गर्दै हिलो खेल्ने र असारे गीत पनि गाउने गरिन्छ । असार १५ मा बेठी लगाउने र नाचगान गर्ने चलन पनि छ तर हिजोआज यो परम्परामा निकै कमी आइसकेको छ ।
असार १५ दहीचिउरा भन्ने लोकोक्ति लोकमा परापूर्वकालदेखि चलिआएको नै हो । आयुर्वेदमा दही सेवनलाई स्वास्थ्यको दृष्टिले उपयुक्त मानिन्छ । असार १५ लाई केही वर्षयता धान दिवसका रूपमा पनि मनाउन थालिएको छ । स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा नै धान दिवसका रूपमा मनाइन थालिएको छ । तर, वर्षात् समयमा नहुँदा र सबैतिर सिँचाइको व्यवस्था नभएका कारण कृषक आकाशे वर्षामा भर पर्नु नियति बनेको छ ।
असारमा मात्र फुल्ने फूल असारे हो । जुन फूल ग्रामीण क्षेत्रतिर बारीका डिलमा र सहरी क्षेत्रमा पनि पार्क र नर्सरीतिर फुलेका देख्न सक्छौँ । असारेफूल यही बेला ढकमक्क फुल्ने गर्छ । असारमा मात्र फुल्ने भएका कारण यसलाई असारे भनिएको हो । जब यो फूल फुल्न थाल्छ, तब असार मास शुभारम्भ भएको प्रतीत हुन्छ ।
लोकजीवनले असारमा मात्र गुन्गुनाउने भाका असारेगीत हो । यसलाई पूर्वी नेपालमा रसिया भनिन्छ । काठमाडौँ उपत्यकामा गाइने असारेगीतलाई पश्चिमाञ्चलमा काँठेभाका भनिए पनि पूर्वी नेपालमा प्रचलित असारे गीतको लयमा भने विविधता पाइन्छ । यो गीत गाउँदा अन्त्यमा अनुप्रास मिलाउनुपर्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्का मिलाई अनि मात्र अन्तिम टुप्पो वा फाँकी गीत भन्ने चलन छ । यसले असारेगीतका लय वा भाका निश्चित भएको देखिन्छ । असारमा मात्र गाइने लोकलय अर्थात् असारेगीत कर्मगीतको एउटा सुन्दर रूप हो । रोपाइँका बेला यो गीत गाउँघरतिर रनवन नै घनक्क घन्किनेगरी गुञ्जन थाल्छ ।
खेत रोप्दा चपलवयसीले मुक्तकण्ठले गाउने गीत नै असारेगीत हो । नेपाली लोकजीवनमा गाइने कर्मगीतमध्ये अत्यन्तै जीवन्त गीतका रूपमा यसलाई लिन सकिन्छ । असारेगीत व्याकरणीय र सङ्गीत विज्ञानका आधारमा ज्यादै खारिएको पाइन्छ । यसमा लोकजीवन र रीतिरिवाजसँगको सामिप्यता पाइन्छ । विभिन्न लयका यी गीतमा हास्य, करुण, विरह वेदना विभिन्न रसको सहज अनुभूति गर्न सकिन्छ । असारेगीतमा वास्तवमै जीवन र जगत्सँगै साइनो गाँसिएका कारण मिलन, विछोड, प्रकृति वर्णन, व्यङ्ग्य आदिलाई लयबद्ध रूपमा जीवन्तता दिइएको पाइन्छ । जब खोलानाला, खहरे एवम् खेतका गह्राबाट पानीको छङछङ आवाज आउँछ, तब त्यही छङछङ आवाजसँगै नरनारीको गला पनि वासन्ती कोइलीको कण्ठझैँ खुल्न थाल्छ । उनीहरूका कण्ठबाट गीतका फाँकीहरू स्वतः स्फूर्त रूपमा बाहिरिन्छन् ः
हरियो भन्नु त्यो रनवन पहेँलो बेसार
पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार ।
असारमा ज्यादै मिहिनेत गरिन्छ । त्यही मिहिनेतका कारण परिश्रम र थकान कम गर्न असारे भाका गाइन्छ । त्यतिबेला असारे भाकाले बढीभन्दा बढी आनन्द प्रदान गर्छ । आपसमा हिलो छ्यापेर रमाइलो गरी गीत गाउँदै असारको मज्जा लिनुको आनन्द सहजै शब्दमा उतार्न सकिन्न ।
असारेगीत नेपाली ग्रामीण जनजीवनमा परम्परादेखि नै व्यवहृत हँुदै आएको भए पनि अहिले आधुनिक गीत र संस्कृतिका कारण अतिक्रमण हुँदै गएको छ । कृषिकर्मसँग जोडिएका विभिन्न संस्कृति र परम्परा क्रमशः लोप हँुदै गएका छन् । यो आफैँमा नराम्रो हो । कुनै पनि संस्कृति सङ्कटमा पर्नुहुँदैन । त्यसको सम्बद्र्धनमा सबैले आ–आफ्नै क्षेत्रबाट प्रयास गर्नुपर्छ । त्यसैले लोकजीवनमा असारभित्र विभिन्न विशेषता झल्किएको देखिन्छ । समग्रमा असारको नेपाली ग्रामीण जनजीवनमा महŒवपूर्ण र गौरवमय स्थान रहेको कुरालाई नकार्न सकिन्न ।
(लेखक पत्रकार हुनुहुन्छ ।)