विचार/दृष्टिकोण |

महामारीबीच विश्व सहकारी दिवस

शङ्करप्रसाद भेटवाल

आज विश्व सहकारी दिवस हो । डिसेम्बर १६, १९९२ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार विश्व सहकारी दिवस मनाउने घोषणा गरेको थियो । सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलन अहिले विश्वव्यापी भइसकेको छ । सोअनुसार यसपटक २०७८ असार १९ गते विश्व सहकारी दिवस परेको छ ।
नेपाली वृहत् शब्दकोशले सहकारी भन्नाले एकसाथ मिलेर काम गर्ने भनेर परिभाषित गरेको छ । सहकार्य एउटा यस्तो समूहगत मान्यता हो, जुन शक्तिद्वारा समुदायको हित, समाजको विकास, चेतनाको जागरण एवम् शान्त र सुखी जनजीवन निर्माणसँग सम्बन्ध राख्छ । कुनै पनि देशमा सर्वसाधारण जनताबीच छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वाबलम्बन र पारस्पारिकताका आधारमा एकीकृत गर्दै सदस्यको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्नु नै सहकारीको लक्ष्य हुन्छ । कोरोनाका कारणले यसलाई धुमधामसँग मनाउन नसके पनि ‘भर्चुअल’ माध्यमबाट कोभिडसँग कसरी सामना गर्न सहकार्य गर्ने भन्ने विषयमा यसले विश्वव्यापी छलफलसमेत हुने अपेक्षा गरिएको छ ।
एकसाथ कसरी पुनःनिर्माणलाई अझ राम्रो बनाउजे ‘रिबुइल्ड बेटर टुगेदर’ यस वर्षको विश्व सहकारी दिवसको नारा रहेको छ । यो नारा छान्नुको अर्थ कसरी सहकारीले कोभिड–१९ को सामना गरिरहेका छन् भन्ने देखाउनु पनि हो । जसरी सूर्य चन्द्रमा र तारा आपसमा सहकार्य गर्छन् । यसैगरी मानव, पृथ्वी, जनावर र रूखहरू आदिले पनि आपसमा सहकार्य गर्दै आएका छन् । यस नाराले समन्वय सहकार्यका माध्यमबाट समाजलाई दिगो विकासतर्फ केन्द्रित गर्न सकिन्छ भन्ने सन्देश दिने आशा गरिएको छ । साथै यस दिनले सहकारीताको चेतना अभिवृद्धि गर्न, अन्तर्राष्ट्रिय सहकारी अभियान, अन्य समर्थित सङ्गठन र सरकारी सङ्गठनबीच बलियोसँग हिस्सेदारी बढाउन पनि सहयोग पुग्नेछ ।
कोभिडका कारण यस दिवसलाई भव्य रूपमा मनाउन नसके पनि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय सहकारी संस्थाको सन्देश धेरै स्थानीय भाषामा अनुवाद गरेर, पत्रपत्रिकामा लेख, समाचार प्रकाशन गरेर यसको सान्दर्भिकता पुष्टि गर्ने प्रयास गरेको छ भने रेडियोमा विभिन्न कार्यक्रम गर्ने, वृक्षरोपण गर्ने, राष्ट्रसङ्घका एजेन्सी तथा हिस्सेदारी सङ्गठनसँग भर्चुअल बैठक गर्ने कार्यक्रम गर्ने अपेक्षा छ । त्यस्तै आर्थिक, वातावरण समाजिक र स्वास्थ्य चुनौतीको सामना गरेर सम्भव भएसम्मका क्रियाकलाप गरेर यो दिवस मनाउने आशा गरिएको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने सहकारी समाजको लक्ष्यपूर्ति गर्दै यो नारा सार्थक सिद्ध हुनेछ ।

सहकारी र नेपाल
नेपालमा सहकारी सोचको संस्थागत विकासको सुरुवात सरकारी तवरबाट विक्रम संवत् २०१० सालमा भएको हो । यद्यपि, त्यसबेला सहकारी विभागको स्थापना भए पनि यसले गति लिन सकेन । विज्ञहरू २०१३ सालमा बखान सहकारी संस्थाको स्थापनासँगै नेपालका सहकारी अभियानको सुरुवात भएको मान्छन् ।
अहिले त नेपालमा राज्यले अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा सहकारीलाई मानिसकेको छ । यसले जनताको सामाजिक आर्थिक साँस्कृतिक उन्नतिमा राम्रो योगदान पु¥याएको छ । सहकारी विभागले प्रकाशित गरेको सहकारी झलक २०७७ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहले नियमन गर्ने देशभर २९ हजार ८ सय ८६ सहकारी क्रियाशील रहेका छन् ।
त्यसमध्ये सङ्घीय सरकारअन्तर्गत १२५ वटा अर्थात् ०.४१ प्रतिशत सहकारी सङ्घअन्तर्गत रहेका छन् भने प्रदेश सरकारअन्तर्गत ६ हजार २ वटा अर्थात् २०.०८ प्रतिशत तथा स्थानीय सरकारअन्तर्गत २३ हजार ७५९ अर्थात् ७९.४९ प्रतिशत सहकारी रहेका छन् । दस वर्षअघि भएको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । कुल जनसङ्ख्याको २८ प्रतिशत जनसङ्ख्या सहकारीमा आवद्ध रहेको छ । कुल सदस्य सङ्ख्या मध्ये महिला सदस्य सङ्ख्या ४० लाख ९२ हजार ३९५ र पुरुष सदस्य सङ्ख्या ३२ लाख १५ हजार ०६८ रहेको छ । जसअनुसार कुल सहकारी सदस्यमा महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत देखिएको छ । देशभर क्रियाशील २९ हजार ८८६ सहकारीले ८८ हजार ३०९ जनतालाई प्रत्यक्ष रोजगारी दिएको देखिन्छ । सहकारी विभागको अध्ययनअनुसार हरेक क्रियाकलापमा बागमती प्रदेश अग्रपङ्तिमा रहेको छ भने कर्णाली प्रदेश निकै पछाडि रहेको देखिन्छ ।
माथिको तथ्याङ्कले नेतृत्व विकास, महिला सशक्तीकरण, वित्तीय पहुँच अभिवृद्धि, सामाजिक एकीकरण क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्यूनीकरणमा सहकारीको अहम् भूमिका रहेको देखिन्छ । तर, केही सरकारी संस्थामा यसको मूल्य–मान्यता र सिद्धान्तमा ह्रास आएको पाइन्छ । बचत तथा ऋण क्षेत्रमा कारोबार वृद्धि हुनु, उत्पादन तथा स्वरोजगार क्षेत्रमा कारोबार घट्नु, वाञ्छित मात्रामा सहकारीसम्बन्धी शिक्षा र चेतनामा वृद्धि हुन नसक्नु यसको समस्या हो । सुशासनको कमी हुनु, दोहोरो सदस्यता हुनु, सहकारी संस्थाको सहरी क्षेत्रमा बढी केन्द्रित हुनु यस क्षेत्रका प्रमुख समस्या रहेको विज्ञहरू बताउँछन् । साथै विश्वव्यापी रूपमा फैलिएको कोरोनाले पनि सहकारी क्षेत्रलाई समस्याग्रस्त बनाएको अवस्था छ ।
निश्चय नै यस दिवसले विश्वभरका सहकारी अभियन्ताबीच अझ बढी भाइचारा बुद्धि भई कोभिड नियन्त्रणमा अझ बढी सहकार्य गरी एकताबद्ध हुन जरुरी छ । जसबाट हालको महामारी नियन्त्रण गर्न अझ बढी सहज हुने देखिन्छ । 
(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुनुहुन्छ ।)