विचार/दृष्टिकोण |

बुढेसकालको सहारा छोरी

गीता श्रेष्ठ
संसारभर नै छोरीको तुलनामा छोरालाई प्राथमिकता दिइन्छ । छोरा संरक्षक अनि भविष्यको आधार भनिन्छ भने छोरीलाई “पराईघर जाने”, “हारेको कर्मको भागिदार”जस्ता उपमा दिएर छोरीप्रतिको दायित्व निर्वाहमै अभिभावक कमजोर प्रस्तुत हुन्छन् । तर, बुढेसकालमा अधिकांशको सहारा छोरी नै हुन्छन् ।
हुन त हाम्रो इतिहास, पुराण र शास्त्रहरू साक्षी छन् कि छोराको तुलनामा छोरी नै शक्तिशाली र सहारा हो । तर, गलत सामाजिक अभ्यासले छोरी जन्मे दुःखको भारी थपियो भन्ने चलन अद्यापि छ । छोरीलाई पढाउनुहुँदैन, लगानी खेर जान्छ भन्नेहरू पनि छन् र कलिलै उमेरमा विवाह गरेर पठाइदिनेका सङ्ख्या पनि कम छैन । अनि छोरालाई महँगा बोर्डिङ स्कुुलमा पढाउने, विदेश पठाउने, उसका हरेक फर्माइस पूरा गरिदिने अभिभावक अन्त्यमा छोरीकै माया, हेरचाह र स्याहारसुसारमा बुढेसकाल बिताइरहेका अनगिन्ती दृश्य हाम्रा वरिपरि नै छन् ।
यहाँ छोरा र छोरीमध्ये कसको महŒव भन्ने प्रश्न गरेर अर्को विभेद खडा गर्न खोजिएको हैन । यदि तपाईं आफ्ना सन्तानलाई असल संस्कार र शिक्षा दिनुहुन्छ भने छोरा होस् वा छोरी ऊ समाजकै लागि सहारा बन्न सक्छ । हैन, छोरी अर्काको घर जाने जात भनेर हेला गर्ने र छोरा त वंश धान्ने, पिण्ड दिने भनेर अति महŒवाकाङ्क्षा राख्दै अनगिन्ती सपनाको भारी बोकाउने हो भने त्यो छोराको महŒवाकाङ्क्षा यति बढ्छ कि उसले बाबुआमाको महŒव नै थाहा पाउँदैन । हिजोआज यस्ता दृश्य पनि देखिएका छन् । छोराको हरेक माग पूरा गर्ने, छोरीलाई कडिकडाउ गर्ने । अनि त्यही कडिकडाउले छोरी आत्मविश्वासी बन्छे, छोरा लफङ्गा पनि बन्न बेर हुन्न ।
हिजोआज हाम्रा वरिपरि देखिएका अनेक दृश्यले बुढेसकालको सहारा छोरा कि छोरी भन्ने प्रश्नको उत्तर दिएको छ । हेला गरिएकी छोरी नै बाबुआमाको सहारा बनेका अनेक घटना छन् । छोरालाई ठूलो मान्छे, धनी मान्छे बनाउन विदेश पठाउने, छोरालाई विदेश पठाए आफ्नो इज्जत बढ्छ भन्ने ठानेर उसलाई पलायन हुन दबाब दिने अनि छोरीलाई उसको भविष्यको वास्तै नगरी, चाहना नै नबुझी विवाह गरेर पठाइदिने गरिन्छ । तर पनि दुःखमा त्यही छोरी काम लाग्छे र लागेका छन् ।
सामाजिक प्रतिष्ठा बढाउने नाममा छोरालाई विदेश पठाउने अनि छोरीलाई कलिलै उमेरमा विवाह गरे पठाइदिने अभिभावकले बुढेसकालमा कतिसम्म हन्डर खानुपरेको छ, त्यसको दृश्य प्रायःजसो घरमा गए भेटिन्छ । देखिन्छ । काम नलाग्ने, इज्जतको भाँडो भन्दै विवाह गरेर पठाइदिएकी छोरी नै अन्ततः सहारा बन्न बाध्य हुनुपर्छ । कहाँ गयो इज्जत–प्रतिष्ठा बढाउन अमेरिका बेलायत पठाएको छोरो ? अस्पतालको बेडमा छटपटाएर बस्दा छोराको फोन आउँछ, “दुई÷चार दिन भेन्टिलेटरमा राख्नू, म यता काम मिलाएर आउँला ।” तर, छोरी आफ्नो घर (पति) परिवार सबै छाडेर रातोदिन बाबुआमाको सेवा गरेर बस्छे । अब भन्नुस् बुढेसकालमा को काम लाग्यो ?
यसो भन्दा छोराहरूले दुःख मान्नुपर्दैन । किनभने बाबुआमाप्रति दुवैको समान दायित्व छ । केवल बाबुआमाको सोचमात्र समान हुनुपर्छ । जो बाबुआमाका लागि आफ्नो सबै त्यागेर विदेशबाट स्वदेश फर्केका छन्, उनीहरू सदा सराहनीय पात्र हुन् । भन्न खोजिएको के मात्रै हो भने छोरा वा छोरी दुवै बाबुआमाका सहारा हुन् । फरक बाबुआमाको व्यवहारको हो, उनीहरूले राख्ने अपेक्षा र पाल्ने महŒवाकाङ्क्षाको हो । त्यही महŒवाकाङ्क्षाले बाबुआमा र छोराबीचको दूरी बढ्छ । विचरी अर्काको घरमा दिइएकी छोरी रातोदिन सेवामा खटिन्छे । विदेशमै भए पनि छोराभन्दा छोरी नै चाँडो आइपुग्छे । कुनै विपत्ति पर्दा छोरीले नै छोराले भन्दा बढी चासो गर्छे ।
साक्षी अनगिन्ती छन्– देवताले नसेको युद्ध देवीले जितेर देखाइदिएका छन् । सृष्टिकै पहिलो विश्वयुद्ध देवासुर सङ्ग्राम होस् वा महिषासुर वध ! देवताहरूको केही नलागेपछि उनीहरू देवीको शरणमा पुगेका हुन् र देवीले नै युद्ध जिताइदिएकी हुन् । प्रकृतिले कसैलाई पनि कम र बढी क्षमता दिएको हुँदैन । सबैको आ–आफ्नो महŒव र सृष्टि संरचनाको महŒव र निरन्तरताका लागि आवश्यक सामथ्र्य दिएको हुन्छ । छोरीको महŒव यसैमा बढी छ । सृष्टि धान्ने छोरा हैन, छोरी हो र बल, सामथ्र्य, बुद्धि र सक्रियतामा छोराको तुलनामा छोरी नै बढी देखिन्छन् ।
हाम्रा गाउँघरतिर देखिएकै छ– लोग्नेमान्छे (छोरा) दिनभरि भौँतारिएर हिँड्छ भने महिला (छोरी) बिहानदेखि रातिसम्म खेतबारी, भातभान्सा गर्दै अथक मिहिनेत गरिरहेकी हुन्छे, तैपनि उसमा आक्रोश छैन, हीनताबोध छैन, केवल मुस्कान छ । यही मुस्कानले सृष्टि चल्छ, परिवार सन्तुलित हुन्छ, सुख र शान्ति कायम रहन्छ ।
यतिमात्र हैन, धेरैले भन्ने गरेका छन्– मेरो त छोरी जन्मेपछि व्यापार बढ्यो, आर्थिक हैसियत माथि उठ्यो, दुःखका दिन हराउँदै गए । पक्कै पनि धर्मले, शास्त्रले छोरीलाई लक्ष्मी, सरस्वती र दुर्गाको प्रतिमूर्ति मानेको छ । अर्थात् धन, विद्या र शक्तिको स्रोत नै छोरीलाई मानेको छ भने अब किन छोराछोरामात्रै भनेर जीवनलाई नर्कतुल्य बनाउने ? छोरीलाई पनि छोरालाई जत्तिकै प्राथमिकता दिएर त हेरौँ, अहिले जति भइरहेको छ, त्यसको कैयौँ गुणा बढी सहारा पाउनुहुनेछ ।
(लेखक शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।)