विचार/दृष्टिकोण |

वाल्मीकिमय भानुभक्त :अयोध्यामय नेपाल

श्याम रिमाल
भानुभक्तलाई सम्झँदा वाल्मीकि र वाल्मीकिलाई सम्झँदा रामायण हुँदै रामलाई सम्झन पुगिहालिन्छ । रामको जन्म नै नेपालको अयोध्यामा भएको कथन सरकार प्रमुखबाट आएकाले यस वर्ष नेपाल नै राममय भयो, अयोध्यामय भयो । आदिकवि भानुभक्त आचार्यको जन्मदिन राम जन्मभूमिबारे यो कथन आएकाले रामभक्त भानुभक्तको आत्माले पनि शान्ति पायो । नयाँ नौलो कुरा बोलेकाले नेपाल र भारतका सबैलाई खुल्दुली पनि भयो । राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बालुवाटारबाटै बिदाइ भएर हाल अयोध्यापुरी पुगिसकेका छन् र बोलेको कुरा ख्यालख्याल होइन भन्नेचाहिँ स्पष्टै भयो ।
रामको जन्म दशरथको पुत्रेष्टि यज्ञबाट भएको ग्रन्थहरूमा उल्लिखित छ । यज्ञका अध्यक्ष थिए– श्रृङ्ग्यऋषि जो नेपालको हालको गुल्मी जिल्लाको रेसुङ्गामा तपस्या गरी बस्थे । भनेपछि रामलाई कसको तपले जन्मायो, नेपाल भूमिमा बस्ने ऋषिको । तथ्यको कुरा गर्ने हो भने दशरथले वाण हानेर मारेका श्रवणकुमारका मातापिताको आँसुको दह हाम्रै स्याङ्जा जिल्लामा छ, अन्धाअन्धी (अहिलेको भाषाले यस्तो शब्द लेख्न, बोल्न मिल्दैन, माफी चाहन्छु) दह नामले । आँधीखोला त्यहीँ छ, अहिले त यही खोलाबाट बिजुली पनि निस्कन्छ ।
रामको कुरो गर्ने हो भने, रामनगर चितवनको भरतपुर वरै छ । रामपुर फूलबारीतिर छ । पाल्पाको रामपुरमा रामले बनाएको चुलो नै छ । कपिलवस्तुमा लक्ष्मणघाट र वाणगङ्गा छ । सीतापाइलामा सीताको पाइला छ । लव र कुश त परासीको वाल्मीकि आश्रममा खेल्थे नै । अश्वमेध यज्ञका घोडा ती दाजुभाइले वाल्मीकि आश्रममै समाते । जहाँ सीताले आश्रय लिएकी थिइन्– गर्भिणी अवस्थामा । भक्तपुरमा हनुमानघाट छ, जहाँ वाल्मीकिले रामायण नै लेखे । तमसा, नदीछेउको रूखमा राम, लक्ष्मण र हनुमानले एउटै पातमा राखेर दहीचिउरा खाए । हनुमानचाहिँ दहीचिउरा हातमा लिएर खाँदै पुच्छरबाट नदीको पानी तानेर हात धोइरहँदारहेछन् । किन रे भन्दा भगवान्सँगै दहीचिउरा खाँदा जुठो हातले समाइरहनुपर्छ, त्यसैले प्रत्येक पालि हात धोएको रे ।
राम–लक्ष्मण जुम्ल्याहा नभए पनि नेपालका प्रत्येक जिल्लामा जुम्ल्याहा राम–लक्ष्मण छन् । राम–भरत पनि छन् । राम, लक्ष्मण, भरत र शत्रुघ्न छन् । रामप्रसाद, रामबहादुर, रामकुमार, रामराज, रामदास, रामेश्वर, रामकृष्ण, रामशरण, रामचन्द्र, रामनारायण, रामनरेश, रामदयाल, रामनाथ, रामशङ्कर, रामाशिष, रामेश, सीताराम, हरेराम, शिवराम, कृष्णराम, आत्माराम, दयाराम, जीवनराम, जीवराम, रामजीवन, रामदयाल टोलैपिच्छे । राममाया, रामकुमारी, रामदेवी, रामप्यारी पनि । तुलसीकृत रामायणका रचयिता तुलसीदास (भारतीय) स्वयम् रामबोला नामधरी थिए । रामको गाथा गाउने भानुभक्तका जीवनीकार पनि राम नै जोडिएका, मोतीराम । स्वामीहरूका उपाधि रामतीर्थ छन् भने कथित तल्लो भनिएका जातका थर नै राम छन् । स्थान नाममा रामपुर, रामनगर कति होलान्, रामजाने । दशरथकी छोरी शान्ति जताततै छिन् ।
राम शब्द नै आनन्दमय, रमाइलो दिने तर अचम्म भो रामराम, कोही बित्यो रामराम, अप्ठेरो बाटो आयो रामराम, असजिलो समय भो रामराम । मोतीरामले त्यसै लेखेनन् होला ः

यता हे-यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हे-यो उतै मेरा नजर्मा राम प्यारा छन् ।

कृष्णधारामा बगिरहेको समयलाई भानुभक्तादिले रामधारातिर बगाइदिए । त्रेताबाट द्वापर हुनुपर्नेमा द्वापरबाट पो त्रेता युग जन्मेछ, नेपाली साहित्यमा । रामभक्ति धाराले हाम्रो भाषा, साहित्य, संस्कृति, धर्म कता पु¥याइदियो कता । पहिलेको भाषा थियो मिस्कट ः नेपाली, हिन्दी, बज्जिका, संस्कृत, उर्दूृ । रामायण लेखेर भानुबाजेले भारत, श्रीलङ्का सबै नेपालजस्तै बनाइदिए र सीता पनि नेपालकै जस्ती उतारिदिए :

भोकी मैलि निन्याउरी
न त कपाल् कोर्याकि सब् केश् उसै ।
लट्टा मात्र गर्याकि खालि
भुमिमा रूँदै बस्याकी यसै ।।
राम् राम् राम् यति मात्र बोलि
रहँदी देख्या र साना भई ।
पात्का अन्तरमा लुक्या ति
हनुमान् रुख्का उपर्मा गई ।।

यस्ता भानुभक्तलाई त्यही एक दिन भानुजयन्तीका दिन सम्झने हामी नेपालीको दुर्भाग्य कस्तो ? भाषामा भाँडभैलो, मूर्ति वा तस्बिरमा छाडापन । कतै बेहाते (रानीपोखरी), कतै अर्धकद । एक दिन प्रभातफेरी गरेर झारा तिर्नुभन्दा नेपाली भाषाबारे बहस चलाऔँ न । भानुभक्तको भजन गाउनुभन्दा भाषाको मन्थन गरौँ । सञ्चारमाध्यममा एउटा– सरकारी कार्यालय वा न्यायालयतिर अर्काे, पाठ्यक्रममा एउटा– विद्यालयमा अर्काे, कलेजमा एउटा– विश्वविद्यालयमा अर्काे भाषा लेखेर, बोलेर कतिन्जेल बस्ने ? अनि हाम्रा पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन, नेपाल प्रज्ञाप्रतिष्ठान, त्रिवि केन्द्रीय नेपाली विभाग, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले भाषामा एकरूपता ल्याउन केही कदम चाल्नुपर्ने कि नपर्ने ? नेपाली लेख्नाको असजिलाले रोमन लेखेर चलाउन थालिसके नेपालाँ । कठै, नेपाली भाषाको यो दुर्गति ।
पोहोरको भानुजयन्तीदेखि जनकनन्दिनी त हामैै्र थिइन्, थिइन्, राम पनि हाम्र्रै पुर्खा भए । रमाइलो त रावण पनि नेपालमै जन्मेका जहाँ रावणोद्यान नै बन्दै छ । महाभारत रचयिता व्यास त दमौलीका नै भए । विराट राजाको दरबार पनि नेपालमै । भीमफेदी यहीँ छ, किचकवध यहीँ छ । राम शाहको चौतारो यहीँ छ । अब हाम्रो बिग्रिएको भाषा, साहित्य, संस्कृति, कला, धर्म, आचार, विचार, आदर, सम्मान, इज्जत, इमान, स्वाभिमान, पहिचान, स्वतन्त्रता, सार्वभौमिकता बचाउन, हरामहरूलाई तह लगाउन नयनाभिराम रामहरू जन्मिसके कि जन्मनै बाँकी छ, खोज्नु छ । नयाँ नेपाल बनाउने नयाँ रामायण लेख्न अर्काे भानुभक्त तयार छन् कि छैनन्, हेर्नु छ । हाम्रो ठोरीको अयोध्यालाई नै अहिले स्थापित गराउन सके नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन कुनै भानुजयन्ती पर्खिरहनु नै पर्दैन । अनि यो भाषा नि ? किष्किन्धा काण्डतिर नै हो क्यारे, कति राम्रो व्याकरण मिलाएर बोलेको भनी हनुमानलाई सङ्केत उनै रामले गरेका होइनन् र ? राम र हनुमान मिले भने भाषा, वेशभूषा, शान, शक्ति सबैतिर हामी नै अग्गा हुन्छौँ । हाम्रो सफ्टपावरले नै हामी विश्व जित्न सक्छौँ । 
(लेखक राससका प्रधानसम्पादक हुनुहुन्छ ।)