विचार/दृष्टिकोण |

रेविज रोग र उपचार

डा. केदार कार्की
रेविज भाइरसबाट सङ्क्रमित पशुको टोकाइले मानिसमा सर्ने रोग मानिन्छ । यो रोग आजभन्दा चार हजार वर्ष पहिलेदेखि नै पहिचान गरिएको हो । विश्वमा प्रतिवर्ष करिब ५५ हजार मानिसको यस रोगबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्घको तथ्याङ्क छ, जसमध्ये धरैजसो अफ्रिका, एसियाका मानिस पर्छन् । प्रायःजसो मानिसमा देखिने रेविज रोगले ग्रसित कुकुरको टोकाइबाट हुने गर्छ । यदाकदा जङ्गली मांशहारी जनावर तथा चमेरोको टोकाइबाट पनि लाग्न सक्छ ।
प्रायःजसो सबैखाले जङ्गली तथा घरपालुवा जनावर यो रोगबाट ग्रसित हुने गर्छन् । तर मुसा, लोखर्के, खरायोेमा भने यो रोग विरलै पाइन्छ । जलचर (माछा), घिस्रने जीव सर्प तथा चराचुरुङ्गी (कुखुरा आदि)मा भने यो रोग देखिँदैन ।
कुनै पनि मानिस रेविज रोगबाट ग्रसित हुन रेविजग्रसित पशुको लसपस भएको हुनुपर्छ । त्यस्तो लसपस हँुदा पशुले मानिसलाई टोकेर वा चिथोरेर उक्त पशुमा भएको सङ्क्रमित ¥याल सारेको हुनुपर्छ । रेविजग्रस्त पशुको शरीरमा ¥याल, मस्तिष्क तथा स्नायुजन्य तन्तु यस रोगका भाइरसबाट बढी प्रदूषित भएका हुन्छन् । यसबाहेक भाइरस आँखा, मुख, नाकमा टाँसिन पुगेमा पनि रोगको प्रभाव देखिन सक्छ ।

जनावरमा लक्षण
रेविज रोग ग्रसित जनावर बिरामी परेकोजस्तो देखिनुका साथै रिसाहा, झोक्रिने, झम्टिने, जे पायो त्यो टोक्ने स्वाभावका हुन सक्छन् । कुनै–कुनै ग्रसित जनावर एकदमै लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्छ ।
प्रायः रात्रिकालीन समयमा विचरण गर्ने जङ्गली जनावर दिउँसै बस्तीमा भौँतारिन थाल्यो भने जस्तै स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाए वा अति नै मैत्री स्वभाव देखाएको पाइएमा त्यस्ता जनावरलाई रेविज रोग ग्रसित हुन सक्ने शङ्का गर्नुपर्छ ।

मानिसमा रेविजका लक्षण
मानिसको शरीरमा रेविजको भाइरस प्रवेश गरेदेखि रोग देखापर्न ३० देखि ६० दिन लाग्छ तर कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखापर्न सक्छ । प्रायः मानिसमा टोकेको ठाउँमा दुख्ने, झम्झमाउने, एक्कासि चिलाउनेजस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो आउने, जाडो लाग्ने, थकित हुने, शरीरका मांसपेशी दुख्ने र झर्कनेजस्ता लक्षण बिरामीमा देखिन सक्छ । क्रमशः बिरामीमा दिग्भ्रमित हुने, बाझिने, विनाकारण काम्ने, बेसुर हुने लक्षण देखिन सक्छ ।
रेविजको पूर्ण तथा अन्तिम अवस्थामा भने सास फेर्न तथा खानेकुरा निल्न नसक्ने, मांसपेशी अनियमित रूपमा खुम्चने र कम्पन हुने र बिरामीले पानीसम्म निल्न गाह्रो हुन्छ । त्यस्ता बिरामीनजिक पानी राख्दा तर्सने गर्छ । त्यसै पनि यसलाई हाइड्रोफोबिया (पानीबाट तर्सने रोग) पनि भन्ने गरिन्छ भने बिरामीको अगाडि पानी देखाउँदा रेविज एकिन गर्न सजिलो हुन्छ । त्यस्तैगरी हावा सुँघाउदा पनि डराउने गर्छ । त्यो अवस्थालाई एरोफोबिया भनिन्छ । यो अवस्थामा पुगेको बिरामी प्रायः बाँच्दैनन् ।
उपचार
शङकालु पशुले टोके तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ । चिकित्सकसँग तत्काल सम्बन्धित औषधि नहुन सक्छ । स्थानीय जनस्वास्थ्य, भेटेनरी जनस्वास्थ्य आदिमा आकस्मिक रूपमा पुग्नुपर्ने हुन्छ । सम्भावित जीवाणुजन्य सङ्क्रमणको उपचार तथा टिटानसको औषधि प्रयोग गर्न बिर्सनुहुँदैन । टोकेको ठाउँको घाउ धुने, निसङ्क्रमण गर्नुपर्छ । जे जस्ता पशुले टोकी घाउ बनाएको अवस्थामा रेविज विरुद्ध खोप लगाउनुपर्छ । त्यो पशुले लक्षण देखाउला र उपचार गरुँला भनेर बस्नुहँुदैन ।
मानिसमा सुरुमा ज्वरो, मुटुको धड्कन दर, श्वासप्रश्वास दर र रक्तचाप जाँच्नुपर्छ । घाउको अवस्था हेरी रेविजविरुद्ध खोप लगाउनुपर्छ र पशुका बारेमा विवरण सङ्कलन गर्नुपर्छ । यस अवधिमा पीडितले बाथ, औलो रोगका औषधि प्रयोग गर्ने गरेको वा नगरेको, उसको पेसा कार्यको प्रकृति, अत्यधिक रेविज प्रभावित पर्यटन क्षेत्रमा भ्रमण गरे, नगरेका आधारमा यसको प्रारम्भिक निदान गर्न सकिन्छ ।

उपचार
प्राथमिक उपचार तत्काल आफैँले गर्नुपर्छ । जस्तै ः साबुनपानीले घाउ धुने अनि आयोडिनयुक्त एन्टिसेप्टिक टोकेको ठाउँमा लगाई सफा गर्ने, जसले गर्दा रेविजको भाइरस शरीरमा प्रवेश गर्न नपाओस् । फिरन्ते वा भुस्याहा र जङ्गली जनावर भए त्यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, वन्यजन्तु कोष, चिडियाखाना नभए जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुहोस् । ती संस्थाले ती जनावर नियन्त्रण गर्ने चाँजोपाँजो मिलाउन सक्छन् ।
रेविजग्रस्त जनावरले टोकेको अवस्थामा तीन चरणमा उपचार गर्न सकिन्छ । टोकेको जनावरलाई निगरानीमा राख्ने अवस्था भएमा चिकित्सकले तत्काल उपचारभन्दा मनोवैज्ञानिक सल्लाहमात्र दिन सक्छन् र घाउको सफाइ, भाइरस मार्न सक्नेखालका एन्टिसेप्टिकको प्रयोगमात्र गर्ने हुन्छ । एकपटक मात्र लगाउनुपर्ने ह्युमेन रेविज इम्युन ग्रोविन खोप लगाउँदा राम्रो हुन्छ ।
पशुमा यस रोगको न्यूनीकरण नियन्त्रणको कार्यक्रम नियमित रूपमा गरिने हो भने यो रोग जनसमुदायमा आफैँ नियन्त्रण हुन्छ । जङ्गली, फिरन्ते अनि भुस्याहा जनावरको सम्पर्क न्यून गर्न तिनीहरूलाई नियन्त्रणमा राख्ने वा मार्ने गर्नुपर्छ । घरपालुवा कुकुर बिरालोजस्ता पशुमा यस रोगविरुद्ध नियमित खोप लगाउनुको साथै यी पशुलाई जङ्गली जनावर, फिरन्ते तथा भुस्याहा कुकुरको सम्पर्कमा जान दिनुहँुदैन ।
(लेखक सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ ।)