नेपाली राष्ट्रियता र राष्ट्रवाद
डा. रामसागर पण्डित
नेपाली राष्ट्रियता र राष्ट्रवादलाई बुझ्न सबैभन्दा पहिलो राष्ट्रियता, राष्ट्रवाद र राष्ट्र शब्दका बेग्लाबेग्लै अर्थतिर जानुपर्ने हुन्छ । हेर्दा धेरै समानता देखिए पनि यी तिनै शब्दका बीचमा मौलिक भिन्नता देखिन्छ ।
राष्ट्रियता एउटा आन्तरिक भावना हो, जसले मानिसलाई एउटा सूत्रमा एकताबद्ध गर्छ । यसको पछाडि भावनात्मक तत्त्वको प्रमुखता हुन्छ । यस्ता भावनात्मक तत्त्व भनेको भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि हुन् । यिनीहरू आपसमा आफ्ना पारस्परिक सादृश्यलाई स्वीकार गर्छन् । उनीहरू अन्यभन्दा आफूलाई भिन्न ठान्छन् । आफ्ना सामाजिक इच्छा स्पष्ट रूपले कायम गर्छन् । यस्ता समूहको आफ्नो कला÷साहित्य हुन्छ, जो अन्यभन्दा भिन्न हुन्छ । राष्ट्रियता एउटा राजनीतिक प्रश्न होइन, बरू एउटा आध्यात्मिक प्रश्न हो । राष्ट्रियता धर्मजस्तै एक आन्तरिक भावना हो । यो अनुभव गर्ने, सोच्ने, बस्ने एउटा तरिका हो ।
भौगोलिक, जातीय, साँस्कृतिक, भाषागत, धर्मगत एकताका साथसाथै ऐतिहासिक घटना, राजनीतिक प्रेरणा, सामान्य अधीनता, सार्वजनिक इच्छा तथा अन्य तत्त्वबाट राष्ट्रियताको रूप निर्धारित हुन्छ, जसको सम्बन्ध भावनात्मक एकतासँग हुन्छ ।
राष्ट्रवादले राष्ट्रियतालाई राष्ट्रका रूपमा सङ्गठित हुनका लागि उत्प्रेरित गर्छ । राष्ट्रवाद भावनाको सङ्गठित अभिव्यक्ति हो । यसले राष्ट्रियताको भावनालाई सङ्गठित गरेर व्यक्तिलाई भावनात्मक शक्ति प्रदान गर्छ । राष्ट्रवाद एकप्रकारको सामूहिक भावना हो, जसको आधार विभिन्न किसिमका एकता वा समानतासँग रहेका हुन्छन् । यसको सम्बन्ध मूल रूपले राजनीतिक शक्तिको प्राप्ति अथवा विकाससँग हुन्छ । यसरी राष्ट्रवादको प्रारम्भिक रूपमा राष्ट्रियतालाई लिन सकिन्छ ।
राष्ट्रतिर जाँदा यसको अर्थलाई प्रस्ट रूपले बुझ्न प्राचीन तथा आधुनिक विचारकका धारणालाई लिनुपर्ने हुन्छ । प्राचीन विचारकका विचारमा राष्ट्र एउटा यस्ता व्यक्तिहरूको समूह हो, जो परस्पर रक्त सम्बन्धसित जोडिएको हुन्छ वा एउटै वंशको नश्ललाई जनाउँछ । जब यस्ता रक्त सम्बन्धले जोडिएका समूह राजनीतिक सङ्गठनका रूपमा आउँछ, तब यसलाई राष्ट्र भनिन्छ । तर, यसलाई मध्यकालीन तथा आधुनिक विद्वान््हरूले एउटा सङ्कीर्ण विचारका रूपमा मात्र लिन्छन् ।
मध्यकालीन विचारकले यसलाई वंशीय एकताबाहेक भाषा, संस्कृति, परम्परा, धर्म आदि समूह जब एकताबद्ध भई राजनीतिक रूपले सङ्गठित हुन आउँछन्, त्यसलाई राष्ट्र भनेका छन् । आधुनिक विद्वान््हरू यति कुरामा मात्र राष्ट्रको परिभाषालाई सीमित गर्न चाहँदैनन् । तिनका विचारमा राष्ट्रलाई जाति, भाषा, संस्कृति, परम्परा, धर्म आदि कुरामा सीमित राख्न सकिँदैन । यस्ता तत्त्वका अभावमा पनि सबल राष्ट्रियताको विकास सम्भव छ । यस्ता तत्त्व राष्ट्रियता विकासमा सहायकमात्र हुन्, उसका आधार होइनन् । एउटा राष्ट्र बन्नका लागि क्रमशः भौगोलिक एकता, ऐतिहासिक घटना, राजनीतिक प्ररेणा, सामान्य आर्थिक हित, सामान्य अधीनता, सार्वजनिक इच्छाका साथै अन्य तत्त्व चाहिन्छ । आधुनिक राष्ट्र निर्माणमा राष्ट्रवादको भूमिका निकै ठूलो हुन्छ । राष्ट्रवाद राष्ट्रको प्रारम्भिक रूप हो । यहाँ विचारणीय पक्ष के छ भने एउटै राष्ट्रभित्र अनेक राष्ट्रियता हुन सक्छ । राष्ट्रले राष्ट्रियतालाई एउटा सङ्गठित रूप प्रदान गर्छ ।
कतिपय विद्वान्ले राष्ट्र, राष्ट्रियता र राष्ट्रवादलाई एउटै अर्थमा लिने गरेका छन् । तर, अर्को समूहका विद्वान्हरू यसलाई मान्न तयार छैनन् । उनीहरू यी तीनै शब्दका बीचमा मौलिक भेदलाई मानेका छन् । राष्ट्रियताले भाषा, धर्म, इतिहास, जाति आदि तत्त्वबीचको भावनात्मक एकतामा जोड दिन्छ भने राष्ट्रवादले राष्ट्रियताको भावनात्मक एकतालाई सङ्गठित गरेर शक्ति प्रदान गर्छ । राष्ट्रवादको सम्बन्ध राजनीतिक शक्तिको प्राप्तिसँग हुन्छ । यसरी राष्ट्रियता, राष्ट्रवाद र राष्ट्रको सम्बन्ध आपसमा अटुट रहे पनि मौलिक रूपले भिन्न छन् । अब यहाँ प्रश्न उठ्छ, के नेपाल एउटा राष्ट्र हो त ! नेपाल एउटा राष्ट्र हो भने कुरामा कुनै विवाद छैन । नेपाल भौगोलिक रूपले एउटा भू–भागभित्र अवस्थित छ । यसलाई सबै जाति, धर्म, संस्कृति, भाषाभाषीले सहज रूपले स्वीकार गरेका छन् । जातीय, धार्मिक, साँस्कृतिक, भाषिक समूहमा अनेकता भए पनि भौगोलिक तथा राजनीतिक एकतामा बाँधिएका छन् । यसैलाई हामी राष्ट्रभित्रको अनेकतालाई एकताका रूपमा स्वीकार गरेका छौँ । यसप्रकार नेपाल एउटा राष्ट्र हो । नेपालीमा राजनीतिक रूपले पृथक् सङ्गठित हुने न इच्छा छ, न सङ्गठित नै छन् ।
यसरी राष्ट्रप्रेमको भावनामा हामी सबै एक छौँ । राष्ट्रप्रेमले एक–अर्काबीचको सम्बन्धलाई बलियो बनाउँछ । राष्ट्रप्रेमको भावना त्यसै जागेको हुँदैन, यसको पछाडि नेपालका ऐतिहासिक घटनाको एकतालाई लिनुपर्ने हुन्छ । सबै देशका आ–आफ्ना इतिहास हुन्छन् । नेपाल अविच्छिन्न रूपमा एउटा स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो अस्तित्व जोगाएको प्रमाणित छ । जुन बेला विश्वका अधिकांश देश बेलायतको अधीनमा रहे पनि नेपालले त्यसबेला पनि स्वतन्त्र मुलुकका रूपमा आफ्नो अस्तित्व कायम राखेको थियो । हाम्रो इतिहास गौरवमय छ । यसलाई कसैले तोड्न खोज्दा हामी सबै नेपाली एक भई आवाज उठाएकोमात्र होइन, लडेर देखाएका छौँ ।
अर्कोतिर नेपालको भौगोलिक बनोट पनि एउटा भिन्नै आकारको छ । नेपाल भौगोलिक रूपमा तीन भागमा बाँडिएको छ– हिमाल, पहाड र तराई । यी प्रदेशमा बसोवास गर्ने मानिस नश्ल, जाति, भाषा, संस्कृति, परम्परा, रीतिरिवाज आदि कुराले भिन्नभिन्न भए पनि नेपाली राष्ट्रियतालाई सबैले एकमतले स्वीकार गरेका छन् । यसरी पृथक्–पृथक् समूहले आफ्नै स्वेच्छाले राजनीतिक सङ्गठनलाई स्वीकार गर्नु नै नेपाली राष्ट्रियताको ठूलो विशेषता हो ।
जुन देशका जनतामा राष्ट्रवादको भावनामा कमी आउँछ, त्यस्ता देश कहिल्यै पनि शान्त रहन सक्दैनन् । देशमा गृहयुद्धले स्थान लिनसमेत बेर लाग्दैन । जहाँ पनि गृहयुद्ध भएको छ, त्यहाँ यस्तै राष्ट्रियताका कारणले गर्दा नै हो । अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । यहाँ जनताबाट चुनिएका प्रतिनिधि नै शासक बन्ने हो । यस्ता प्रतिनिधि राष्ट्रवादको भावनाले एकबद्ध छन् । जनप्रतिनिधिले राष्ट्रवादको भावनासँग कहिल्यै पनि खेलबाड गर्नुहुँदैन । खेलबाडले राष्ट्रलाई ठूलो आघात पु¥याउन सक्छ । नेताहरूमा हुने दूरदृष्टि भनेको यही हो । कहिलेकाहीँ सरकारबाट विकासको नाममा क्षेत्रगत रूपले भिन्नता गरेको देखिन्छ । यसले गर्दा राष्ट्रियता तथा राष्ट्रवाद कमजोर हुन सक्छ । समान रूपले बजेट बाँडफाँट गर्नु राम्रोे मानिन्छ । विभेदबाट मानिसमा असन्तुष्टि बढ्न जान्छ । यस्तै असन्तुष्टिबाट राष्ट्रलाई घात गरेको अनेकौँ उदाहरण छन् ।
नेपालीमा बलियो राष्ट्रवाद (राष्ट्रप्रेम)का कारणले नै कसैले नेपालमाथि आघात गर्न खोज्दा विरोधको एउटै आवाज निस्किन्छ । देशभित्र भिन्नभिन्न भौगोलिक, साँस्कृतिक, सामाजिक तथा परम्परागत समूहमा बसे पनि राष्ट्रबारे एउटै स्वर देखिन्छ । यस्तै भावनाले हाम्रो राष्ट्रियताको जग निकै बलियो रहेको छ । देशको सीमामा थिचोमिचो गर्दा नेपालीले देखाउने गरेको व्यवहार यसको सर्वाेत्तम उदाहरण हो । यस्तै राष्ट्रवादको एउटा ठूलो उदाहरण प्रतिनिधिसभामा प्रकट भयो । हाम्रो भू–भाग कालापानी, लिपुलेक तथा लिपियाधुरामा भारतीय हस्तक्षेप हुँदा सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने संस्था संसद्का सबै सदस्य एकमतले चुच्चे नक्साको पक्षमा समर्थनमा रहेकोभन्दा ठूलो प्रमाण के हुन सक्छ ? यसले राष्ट्रवादलाई प्रखर रूपले व्यवहारमा उतारेको प्रमाणित गर्छ ।
राष्ट्रवादले नागरिकमा देशप्रेमको भावनालाई जागरुक गरेर सजीवता प्रदान गर्छ । हरेक व्यक्तिमा आत्मसम्मान र गौरवको भावना उत्पन्न गर्छ । विशेषगरेर युद्ध वा देशलाई अप्ठ्यारो परेको समयमा पूरा राष्ट्र एक हुन आउँछ । यसलाई हामी स्वतन्त्रताको परिचायक मान्न सक्छौँ । हामीलाई हाम्रो स्वतन्त्रता सबैभन्दा बढी प्यारो छ, कहिल्यै परतन्त्र स्वीकार गरेनौँ । देशहरू भूगोलमा सानो ठूलो भए पनि त्यसले राष्ट्रियता तथा राष्ट्रवादलाई प्रभावित गर्दैन । बरु ठूला देशमा आफ्नै देशभित्रका राष्ट्रवादले गर्दा विभिन्न प्रश्न उठेका प्रमाण छन् । कहिलेकाहीँ देशभित्रै विभिन्नप्रकारका कलह उत्पन्न हुन आउँछन् । त्यसको पछाडि पनि राष्ट्रवादमा आएको भिन्नता नै हो । प्रत्येक सभ्य राष्ट्रमा पूर्ण चैतन्य–जीवन जागृत गर्न उसलाई आफ्नो भाग्यको निर्णय गर्ने पूर्ण अधिकार प्राप्त हुन्छ । स्वतन्त्रताको सही अर्थ पनि यही हो ।
साम्राज्यवाद राष्ट्रियताको विकासमा सबैभन्दा ठूलो शत्रु मानिन्छ । यसले एउटा देशले निर्माण गरेको बलियो राष्ट्रवादलाई समेत आघात पु¥याएर अन्त्य गरेका सयौँ प्रमाण छन् । बेलायतले विश्वमा गरेको शासन यसको सबैभन्दा ठूलो उदाहरण हो । यसले विभिन्न राष्ट्रको राष्ट्रियता तथा राष्ट्रप्रेमलाई कमजोर बनाई राष्ट्रियताको मिश्रित रूपलाई यहाँसम्म ल्याइछोड्यो । पछि विभिन्न राष्ट्रवादको उपस्थितिले गर्दा बिस्तारै उसलाई विश्वबाट हट्नुप¥यो । आज ती देशहरू स्वतन्त्र छन् । तिनका राष्ट्रवाद अहिले पुनः बलियो अवस्थामा आइसकेका छन् ।
(लेखक जनसङ्ख्या तथा समाजशास्त्रविद् हुनुहुन्छ ।)