कृषि क्षेत्रमा यान्त्रिकीकरणको बाटो
बबि बस्नेत
नेपालको कृषि अझै पनि हलोमै अड्किएको छ भन्दा फरक पर्दैन । अधिकांश क्षेत्र अझ पहाड र हिमाली क्षेत्रमा त हलोमा नै निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था छ । खेतमा केही सीमित ठाउँमा मेसिनले धान रोप्दा जताततै चर्चाको विषय बन्छ । यद्यपि थुप्रै समाचारका हेडलाइनमा कृषि यन्त्र र उपकरणका बारेमा पढ्न र देख्न पाइन्छ । यो सकारात्मक कुरा हो । त्यसो त समयको माग, सरकारी निकायको प्रयास र निजी क्षेत्रको लगानीको कारण तराई एवं केही पहाडी भूभागमा कृषि यान्त्रिकीकरणले गति लिन थालेको छ । यस्ता यन्त्रहरूले नेपालमा भर्खरभर्खर गति लिए पनि विकसित देशमा भने निकै पहिलेदेखि नै यस्ता यन्त्रहरूको प्रयोग भइरहेका छन् । अमेरिकामा सन् १९१० को दशकतिरै कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रक्रिया सुरु भएको थियो । उनीहरूले त्यति बेलै ठूलाठूला ट्रयाक्टरको प्रयोग गरिसकेका थिए । सन् साठीको दशकतिर जापान, फ्रान्स र युरोपमा हाते ट्रयाक्टरहरूको प्रयोग भइसकेका थिए । भने असीको दशकतिर त्यहाँ धान रोप्ने मेसिनको समेत आविष्कार भइसकेको थियो । नेपालमा भने २१औँ शताब्दीमा आइपुग्दा पनि सयौँ वर्षअघि पुर्खाहरूले प्रयोग गर्दै आएको प्रविधि नै प्रयोग गर्नुपर्ने स्थिति छ । पुरानो प्रविधिकै कारण कृषिमा चाहिने मजदुरहरूको अभाव हुन थालेको छ । सम्भवतः यसैको कारण कृषिमा कसैको पनि चासो देखिँदैन । बरु गाउँ गाउँ ठूलो सङ्ख्याका युवाहरू विदेशिँदा कृषि मजदुरहरूको अभाव छ । पहिलेजस्तो गाउँमा खेताला पाउनु मुस्किल छ । सम्भवतः कृषिमा काम गर्ने प्रक्रिया सहज र छरितो भएको भए यस्तो हुँदैन थियो । काम गर्ने जनशक्तिको अभाव भएर बाध्यतावश नै भनौँ या थोरै विकासको प्रक्रिया पनि अहिले भने कतिपय किसानले पावर ट्रिलर, हाते ट्रयाक्टर, धान रोप्ने र काट्ने मेसिनहरूको प्रयोग गर्न थालेका छन् । पछिल्लो समय खेत जोत्ने, बीउ छर्ने, दाइँ हाल्ने, बाली निफन्नेजस्ता आधुनिक मेसिनहरूको प्रयोग पनि हुन थालेको छ ।
यान्त्रिकीकरणको प्रयास
नेपालमा कृषि विकास मन्त्रालयअन्तर्गत २०१० सालमा कृषि इञ्जिनियरिङ एकाइको स्थापना भएपश्चात् सरकारी कृषि तथा पशु विकास फार्महरूका लागि आधुनिक कृषि औजारहरू भिœयाउने काम सुरु भएको पाइन्छ । विं.सं. २०१६ मा तराईका लागि कृषि औजारहरूको अनुसन्धान तथा प्रवद्र्धन गर्नका लागि पर्सा जिल्लाको रानीघाट वीरगञ्जमा कृषि औजार अनुसन्धान एकाइ स्थापना भयो । त्यस्तै वि.सं. २०२१ मा तत्कालीन सोभियत युनियन सरकारको सहयोगमा वीरगञ्जमा नै कृषि औजार कारखाना स्थापना भयो । यस कारखानाबाट गुणस्तरीय फलामे हलो, पेडल थ्रेसर, मकै छोडाउने मेसिन, ह्वील व्यारो, गँहु चुट्ने थ्रेसर, पम्पसेट, ट्रयाक्टर उत्पादन भएको थियो । २०२७ सालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रशोधन गर्ने पाइलट प्लाण्ट स्थापना भयो । भने २०२८ सालमा जापान सरकारको सहयोग नियोग जाईकाको सहयोगमा जनकपुर कृषि विकास आयोजना स्थापना गरी डिपट्युबवेल, पावर ट्रिलर र आधुनिक कृषि औजार प्रवद्र्धन गर्ने कार्य सुरु भयो । २०३० को दशकमा कृषि विकास बैङ्कले ट्रयाक्टर र पम्पसेटमा प्राथमिकताका साथ कर्जा प्रवाह गरी कृषि यान्त्रिकीकरणमा योगदान पु¥यायो ।
वि.सं. २०४८ देखि कृषि अनुसन्धान परिषद्अन्तर्गत रहेको इन्जिनियरिङ महाशाखाले विभिन्न किसिमका कृषि यन्त्र तथा उपकरणहरूको परीक्षण र विकास गर्दै आएको छ । वि.सं. २०६१ मा कृषि विभागअन्तर्गत स्थापित कृषि इञ्जिनियरिङले कृषि यन्त्रहरूको प्रवद्र्धनात्मक प्रचार प्रसार तथा तालिम कार्यक्रम र अन्य सेवा पु¥याउँदै आएको छ । कृषि व्यवसायको आधुनिकीकरण गर्दै कृषि व्यवसायीकरणलाई दिशा निर्देश गर्न तथा यस क्षेत्रको औद्योगिकी करण गर्नेतर्फ दिगो रूपमा गति दिनका लागि ठोस नीतिको आवश्यकता महसुस गरिएको हुँदा नेपाल सरकारले कृषि यान्त्रिकीकरण प्रवद्र्धन नीति २०७१ जारी गरेको छ । हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय कृषि शाखाहरूले कृषि औजार र उपकरणजस्तै मिनी ट्रिलर, थ्रेसर, ब्रस कटर, मकै छोडाउने मेसिन आदि अनुदानमा कृषकहरूलाई वितरण गर्दै आइरहेको छ ।
यान्त्रिकीकरणका फाइदा
कृषि यान्त्रिकीकरणले दीर्घकालीन कृषि विकासका लागि एक महìवपूर्ण चालकको भुमिका निर्वाह गर्छ । कृषि यान्त्रिकीकरणद्वारा कृषिजन्य उत्पादन र उत्पादकत्व बढ्ने लागत न्यूनीकरण हुने, उत्पादित वस्तुको गुणस्तर कायम राख्न सघाउ पुग्ने र औद्योगिकीरणको गतिमा तीव्रता थपिनेछ । यसका साथै कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रमा युवा वर्गको आकर्षण बढाउनसमेत सघाउ पु¥याउँछ । यसले श्रमको दक्षता अभिवृद्धिको साथै कृषि श्रमिकको अभावलाई कम गर्दै कष्टकर कामको बोझ घटाउने तथा हावापानी परिवर्तनका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न पनि मद्दत गर्छ ।
यान्त्रिकीकरण क्षेत्रका समस्या
निकै फाइदाजनक भए पनि कृषक र उद्यमी वर्गमा कृषि यन्त्र र उपकरणसम्बन्धी प्रर्याप्त ज्ञान र पहुँच नभएकोले यसको प्रयोगमा समस्या छ । दिनदिनै खेतीयोग्य जमिन खण्डीकरण भइरहेको जसले गर्दा साना किसानका लागि उपयुक्त कृषि यन्त्रको पहिचान र विकास हुन सकिरहेको छ छैन । भने भौगोलिक विविधताका कारण पनि नेपालमा यसको प्रयोग सजिलो भइरहेको छैन । भने किसानहरूलाई यन्त्र खरिदमा सुलभ कर्जा प्रवाहमा कठिनाइ तथा लगानी मैत्री वातावरण नभएको कारण यसले अझै व्यापकता पाउन सकेको छैन ।
नेपालको कृषि क्षेत्र अझै पनि व्यावसायिक हुनसकेको छैन । यो पेसाभन्दा पनि जीवन निर्वाहमुखी मात्र छ । भने जमिनमा कृषको स्वामित्व कम छ । सडक विद्युत् र संचारमा सबैको सहज पहुँच नहुनुले पनि यसमा जटिलता ल्याएको छ । छरिएर रहेको कृषक बस्ती व्भििन्न बाली र मौसमअनुसार मेल खाने खालको यान्त्रिकीकरण गर्न कठिनाइ यन्त्रिकीकरणको चुनौती हो ।
अबको बाटो
कृषि व्यवसायले राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा एक तिहाई हिस्सा ओगटे पनि कृषि क्षेत्रको समायानुकूल व्यावसायीकरण हुन सकेको छैन । उत्पादकत्व तथा उत्पादनमा आशातित तवरले वृद्धि नभएकोले कृषि क्षेत्रमा औद्योगिकीकरण हुन सकेको छैन । देशमा रोजगारको अवस्था न्यून भए पनि कृषि व्यवसायप्रतिको मोह र आकर्षण युवा वर्गमा घट्दो छ । वैदेशिक रोजगारको अवसरका कारण कृषि क्षेत्रमा भइरहेको श्रम शक्तिको अभावलगायतका समस्या हटाउन र महिलाको अत्यधिक कष्टकर श्रम रहेको यस क्षेत्रमा महिलाको श्रमभार घटाइ अन्य उत्पादनशील कार्यमा लगाउन कृषि यन्त्रहरूको प्रयोगलाई प्रोत्साहन गर्नु अत्यावश्यक छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरणको माध्यमबाट प्रतिस्पर्धात्मक प्रणालीमा रूपान्तरण गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न र खाद्य सुरक्षा सुनिश्चित गर्नसमेत कृषि क्षेत्रमा यान्त्रिकीकरणको आवश्यकता पर्छ ।
सामान्यतः कुनै पनि कृषि उपज उत्पादन र बजारीकरणको हिसाबले आयात प्रतिस्थापन वा निर्यात प्रवद्र्ध्नमा सघाउ पु¥याउने भनि वर्गीकरण गरिएको हुन्छ । नेपालमा बढी आयात हुने कृषि जन्य वस्तुहरूमा आलु, प्याज, लसुन, स्याउ, केरा, अनारलगायत तरकारी र फलफूललगायत पशु जन्य वस्तुमा व्यावसायीकरण गर्न सके ठूलो रोजगारी सिर्जना हुनेछ । नेपालले विश्व व्यापार सङ्गठनको सदस्य सन् २००४ मा लिइसकेको छ । त्यसैले यहाँका उत्पादनहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढी प्रतिस्पर्धी हुन आवश्यक छ । तसर्थ निर्यात योग्य बाली वस्तुहरूको उत्पादन तथा प्रशोधनमा उन्नत प्रविधिहरूको अवलम्बन गरी उत्पादन लागत घटाउनुका साथै गुणस्तर अभिवृद्धि हुने गरी ठूला खालका अत्याधुनिक कृषि औजार उपकरणहरूको प्रयोगमा प्रोत्साहन दिने व्यवस्था सरकारले गर्नुपर्छ । प्रशोधन गर्ने आवश्यक स्रोत सामग्री र प्रविधि नहुँदा अलैंँची, अदुवा, जडीबुटी, कफीजस्ता बालीहरू कच्चा अवस्थामा तथा कम मूल्यमा निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्था छ । तसर्थ कृषि यान्त्रिकीकरणको माध्यमबाट कृषि क्षेत्रको आधुनिकीकरण गरी बढी प्रतिस्पर्धी बनाई रोजगारीका अवसरहरू सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बन्धित सबै सरोकारवालाले तदारुकता देखाउन जरुरी देखिन्छ ।
(लेखक कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा कार्यरत हुनुहुन्छ ।)