विचार/दृष्टिकोण |

विद्यार्थीलाई पीसीआर होइन, खोप

प्रा.डा. बालमुकुन्द रेग्मी
कोभिड–१९ बाट जोगिन खोप अपरिहार्य साबित भइरहेको बेला भारत, चीन, अमेरिका, बेलायत र जापानले नेपाललाई उल्लेख्य मात्रामा निःशुल्क खोप उपलब्ध गराइसकेका वा गराउने घोषणा गरेका छन् । साथै, विकसित र धनी देशमा खोप अभियानले पूर्णता पाउँदै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा खोप खरिद गर्न पनि सजिलो हुँदैछ ।
खोप देशैभरि आवश्यक छ, सबै तप्कालाई आवश्यक छ । पेसा, उमेर र स्वास्थ्य अवस्थाको आधारमा प्राथमिकता निर्धारण गर्नपर्ने सरकारी बाध्यतालाई बुझ्न सकिन्छ । खोपको बढ्दो उपलब्धतासँगै अब सरकारको ध्यान खोपमा जान आवश्यक छ । अत्यावश्यक औपचारिक भेटघाट र जमघटमा प्रवेश अनुमतिका लागि अब पीसीआर रिपोर्ट होइन, खोप लगाएको प्रमाण माग्ने गर्नुपर्छ । सरकारले वा व्यक्तिले जसले बेहोरे पनि पीसीआर परीक्षणमा ठूलो धनराशि खर्च भइरहेको छ । त्यसमाथि परीक्षण रिपोर्ट कतै ४८ घण्टा त कतै ७२ घण्टामात्र काम लाग्ने भएपछि एउटै व्यक्तिले पटक पटक पीसीआर परीक्षण गराउन परेको, परीक्षणकै क्रममा समेत सङ्क्रमणको जोखिम रहेको अवस्था छ । सरकारले त्यस्ता समूह पहिचान गरी उनीहरूलाई खोपको प्राथमिकतामा राख्नु आवश्यक छ ।
शिक्षक र विद्यार्थीलाई खोपको प्राथमिकतामा राखिनुपर्ने माग पहिल्यैदेखि उठेको हो । कोरोनाको जोखिमलाई कम गर्न शिक्षक र विद्यार्थी अनलाइन शिक्षण प्रशिक्षणमा गएकै हुन् । सरकारले पनि तल्ला कक्षाको हकमा आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाएको हो । खासगरी बाह्रौँ कक्षा र सोमाथिका तहका विद्यार्थीलाई भौतिक उपस्थितिमै परीक्षा लिइने व्यवस्था आवश्यक भएकोले तिनको वार्षिक शैक्षिक समयतालिका प्रभावित भएको छ । कोरोनाको पहिलो लहर मत्थर हुनेबित्तिकै विना खोप शिक्षकलाई परीक्षा तथा पठनपाठनमा संलग्न गराइँदा धेरै शिक्षकको ज्यान गएको अवस्था छ । कोरोनाको दोस्रो लहर मत्थर भएसँगै अहिले रोकिएका परीक्षा सञ्चालन हुन थालेका छन् । पढाइ र परीक्षा सञ्चालन हुनु राम्रो पक्ष हो तर यसले विद्यार्थीमा उत्साह मात्र होइन त्रास पनि ल्याएको छ ।
यतिखेर पूरै देशको ध्यान चिकित्सा शिक्षा आयोगले स्वास्थ्य क्षेत्रका स्नातक कार्यक्रमहरू एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएसएलपी, बीपफ्र्युजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, एमएलटी, बीएस्सी एमआइटी, बीफार्म, बीअप्ट्रोमेटी, बीपीटी र बीपीएचको प्रवेश परीक्षा यही साउन ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्ने गरी समय तालिका प्रकाशन गरेको छ । स्वास्थ्य शिक्षा अध्ययन गर्न चाहने झन्डै ३३ हजार आकाङ्क्षी विद्यार्थी एकातिर परीक्षाको तयारीमा ध्यानमग्न छन् भने अर्कातिर जाँचमा बस्नका लागि ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका लागि अस्पताल धाउन पर्ने बाध्यतामा छन् । पीसीआर परीक्षणका लागि यतिका विद्यार्थी एकै पटक अस्पतालहरूमा लाइन लाग्दा त्यहाँ सिर्जना हुने चाप र त्यसबाट उत्पन्न हुने सङ्क्रमणको खतराको जोखिमबारे पनि सोचिनुपर्छ । ७२ घण्टे सर्तले कतिपय विद्यार्थी एउटा विषयको परीक्षा दिएकै दिन अर्को पीसीआर परीक्षणको लागि अस्पताल धाउनुपर्ने हुन्छ । सो क्रममा सार्वजनिक बस चढ्दा र लाइन लाग्दा गरिब विद्यार्थी सङ्क्रमणको थप जोखिममा पर्छन् । ती विद्यार्थी कस्तो मानसिकता लिएर प्रवेश परीक्षामा सहभागी होलान् ? पहिलो दिनलाई परीक्षणको ७२ घण्टे सीमा लाग्ने र पछिल्ला दिनका परीक्षाका लागि सोही रिपोर्ट काम लाग्छ भन्ने तर्क पनि विज्ञानसम्मत छैन । सरुवा रोग सङ्मणको आफ्नै प्रकृति हुन्छ, त्यसले मानिसले बनाएको नियमलाई मान्दैन !
बाबुआमाको कमाइमा बाँच्न पर्ने विद्यार्थी पीसीआर परीक्षणमा खर्च गर्न नपरोस् भन्दै छन् । सरकारले नै बेहोरे पनि प्रति परीक्षण देशको एक हजार रुपियाँ खर्च हुन्छ भने यी विद्यार्थीलाई सीधै खोप किन नदिने ? अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोपमध्ये ३३ हजार मात्रा प्रवेश पत्रको आधारमा यो समूहलाई दिँदा पीसीआर परीक्षणमा अनावश्यक खर्च पनि हुँदैन । धेरै विद्यार्थीले एकभन्दा बढी कार्यक्रममा परीक्षा दिने भएकोले शायद यस्तो खोप दिन पर्ने विद्यार्थी २० हजारभन्दा बढी छैनन् । यसै वर्षभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाउने घोषणा गरेको सरकारले यी विद्यार्थीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिनु स्वास्थ्यको दृष्टिले, आर्थिक दृष्टिले, मानवताको दृष्टिले र उच्च आकाङ्क्षा बोकेको प्रतिस्पर्धात्मक युवा जनशक्तिको सुरक्षाको दृष्टिले उपयुक्त कदम हुन्छ ।
त्यस्तै, १२ वर्षदेखि १८ वर्ष समूहका विद्यार्थीलाई पनि फाइजरको खोप प्राप्त गर्नेतिर ध्यान जान आवश्यक छ । १८ वर्ष उमेर पुगेका विद्यार्थीलाई त विना खोप परीक्षा हलमा प्रवेश गराउने सोच अब तुरुन्तै छोड्न आवश्यक छ ।
अध्ययन वा रोजगारीका लागि वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्ति (नेपालीलाई पनि निःशुल्क खोप उपलब्ध हुने गन्तव्य देशबाहेक) लाई पनि खोपको प्राथमिकतामा राखिनु आवश्यक छ । पीसीआर नेगेटिभ भएको भरमा विदेश पुगेर दुःख पाएका नेपालीको सङ्ख्या पनि ठूलो छ, कतिपय अवस्थामा त एयरलाइन्सले समेत दोष पाएका छन् । विदेशी भूमिमा नेपालीले दुःख पाउँदैनन् भन्ने निश्चितका लागि पनि उनीहरूलाई सम्बन्धित देशमा मान्यता प्राप्त खोप लगाएर पठाउने कुरामा ध्यान जान आवश्यक छ । यस्तो नीति लिँदा उमेर, स्वास्थ्य स्थिति र पेसाले प्राथमिकतामा नपरेर पनि खोप आवश्यक पर्ने चलायमान जनताको समस्या हल हुन्छ । सापेक्षिक रूपमा कम हिँडडुल गर्ने व्यक्तिलाई सङ्क्रमणको जोखिम पनि सानो छ, उनीहरूलाई पछिल्लो चरणमा संलग्न गर्न सकिन्छ ।
अब युरोप, भारतलगायत कतिपय देश खोप पासपोर्टको विषयमा छलफल उठाउँदै छन् । निकट भविष्यमा कोभिड खोप नलगाएका व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्रा असहज हुने र पीसीआर रिपोर्टले मात्र नपुग्ने दिन आउनेछ । यस हिसाबले पनि अब आकस्मिक रूपमा उपस्थित हुने आवश्यकताबाहेक अन्य अवस्थामा हाम्रो ध्यान पीसीआर रिपोर्टमा होइन, खोप वितरणमा जान आवश्यक छ । खोप लगाएका व्यक्तिलाई देशभरि कोरोनाको खतरामा सुधार नआएसम्म स्वास्थ्य सुरक्षाका अन्य विधि अनिवार्य गरी सकेसम्म पीसीआर परीक्षण नगरिने नीति अवलम्बन आवश्यक छ ।
(लेखक त्रिविमा फार्मेसी प्राध्यापन गर्नुहुन्छ ।)