विचार/दृष्टिकोण |

कार्यस्थलमा हुने सुरक्षा चुनौती

स्मृति रेग्मी

कुनै पनि नसोचेको घटना हुनबाट पहिल्यै सतर्क भएर बस्ने अवस्थालाई सुरक्षा भनिन्छ । हामीले सावधानीको साथ सुरक्षा अपनाएर कार्य नगर्नाले हाम्रो ज्यानसमेत जोखिममा पर्नसक्छ । त्यसमा पनि प्राविधिक कार्य अझ बढी जोखिमपूर्ण हुन्छ । समयमै कार्यस्थलको डाटा दिने प्रविधि यस्तोखालको प्रविधि हो, जसले यदि कुनै घटना भयो अथवा कार्यस्थलमा केही हुन लाग्यो भने सेन्सरले सूचित गर्छ र सूचना दिन्छ, ता कि हामीले समयमै त्यो स्थानमा कार्य गरिरहेका व्यक्तिलाई सम्भावित दुर्घटनाबाट जोगाउन सक्छौँ । यस्तो खालको प्रविधि अब नेपालको हरेक सरकारी तथा निजी कार्यस्थलमा राख्न जरुरी भइसकेको छ ।
कुनै पनि दुर्घटना हामीलाई थाहा भएर हुँदैन । दुर्घटना हाम्रो काम गराइको लापरबाहीको कारण पनि हुनसक्छ । प्राविधिक कार्य गर्दा अपरेटर, ड्राइभर, इलेक्ट्रिसियन, मेकानिक्सहरूले लापरबाह भएर काम गर्नाले विभिन्न दुर्घटना भएको हामीले सुनेकै छौँ ।
दुर्घटनाबाट बच्नका लागि हामीले काम गर्दा जहिले पनि व्यक्तिगत सुरक्षाको उपकरणहरू जस्तै–हेल्मेट, एप्रोन, जुत्ता, एअरप्लग आदि लगाउनुपर्छ । कार्यस्थलमा कपाल बाँधेर कार्य गर्नुपर्छ र धेरै खुकुलो लुगा लगाउन हुँदैन । सिक्री, चुराजस्ता धातुजन्य वस्तु पनि लगाउन हुँदैन । चालक तथा अपरेटरले हलुका तथा गह्रुँगा सवारीसाधन चलाउँदा अगाडिको प्यानल बोर्डमा दिएका सङ्केत हेरेर चलाउनुपर्छ । यी सङ्केतले हाम्रो गाडी, उपकरणको अवस्था के कस्तो छ भनेर बताउँछन् । ती सङ्केत नबुझे हामी खतरामा पुग्न सक्छौँ । यसमा हाम्रो गाडीमा खतरामा प¥यो भने पनि सङ्केत गरिरहेको हुन्छ । त्यसैले हरेक हलुका तथा भारी सवारी चालकलाई यस विषयमा तालिम दिनु जरुरी हुन्छ । यस्ता तालिम हाम्रै सरकारी यान्त्रिक तालिम केन्द्रमा पनि दिइन्छ ।
इलेक्ट्रिसियनले इलेक्ट्रिकल (विद्युतीय) सम्बन्धी कार्य गर्दा मेनस्वीच अफ गरेर कार्य गर्नुपर्छ, कुचालक वस्तुहरू लगाएर काम गर्नुपर्छ । कुचालक वस्तु लगाएर कार्य गर्दा करेन्टको झट्का अलि कम लाग्ने सम्भावना हुन्छ । कहिल्यै पनि कुनै पनि इलेक्ट्रिकलसम्बन्धी उपकरणको बारेमा ज्ञान नभई त्यस्ता चिजवस्तु चलाउनु हुँदैन । इलेक्ट्रिकल पार्ट्समा सबै खालको धातुजन्य वस्तुलाई अर्थिङ गर्नुपर्छ । फ्युजको रेटिङ पनि आवश्यकअनुसार प्रयोग गर्नुपर्छ । जहिले पनि तारलाई सही तरिकाले कुचालक वस्तुले बेर्नुपर्छ अथवा राम्रो कुचालक टेपको प्रयोग गर्नुपर्छ । ट्रान्सफर्मर तेल, डिजेल र इलेक्ट्रिकल वस्तुहरू नजिकै धूमपान गर्नु हुँदैन । कार्यस्थलमा आगो निभाउने उपकारणहरू राख्नुपर्छ । जहिले पनि इलेक्ट्रिकल तारको प्रयोग गर्दा जुन ठाउँमा जति करेन्ट रेटिङको आवश्यकता पर्छ, त्यति मात्रै प्रयोग गर्नुपर्छ । इलेक्ट्रिकल कार्य गर्दा हात चिसो पनि हुन हुँदैन ।
स्मार्ट घडीमा सेन्सर जडान गरिएको हुन्छ । हामीले कार्य गरिरहँदा नजिकै हाइभोल्टेज भएको थाहा भए भने हामीलाई सूचना दिन्छ । यसमा जिपिस सेन्सर पनि हुन्छ, जसले गर्दा यस्तो खालको कुनै खतरा डिटेक्ट भयो भने हामीले सेट गरेको मोबाइलमा यसले सूचना पठाउँछ । प्राविधिक कार्य गर्दा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्नुपर्छ । 
(लेखक सडक विभाग, यान्त्रिक तालिम केन्द्रमा कार्यरत हुनुहुन्छ ।)