प्राकृतिक प्रकोप व्यवस्थापनका सवाल
मथुरा खनाल
पृथ्वीमा प्रकोप नहुने कुनै स्थान नै छैन । कुनै स्थानमा ज्वालामुखीको विस्फोटले गर्दा त कतै भूकम्पले गर्दा ठूलो मात्रामा जनधनको क्षति भइरहेको कुरा हामी सबैले सुनेका छौँ र भोगेका पनि छौँ । चट्याङ र यसबाट हुने मानवीय क्षति तथा आगजनीले पनि आज मानवजगत्लाई चुनौती दिएकै छ । यसैगरी, बेलाबेलामा देखापर्ने कोरोना सङ्क्रमणजस्ता महामारीका चुनौती पनि विभिन्न कालखण्डमा मानव जातिले सामना गर्दै आएको छ । पृथ्वीको उत्पत्तिसँगै यस्ता ठुल्ठूला प्रलय नियमित रूपमा भइरहेका छन् र भइरहन्छन् । कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले लामो सुक्खा खडेरी हुनु प्राकृतिक नियम हुन सक्छ ।
केही समय पहिलासम्म प्राकृतिक प्रकोपलाई दैवीप्रकोप पनि भन्ने गरिन्थ्यो । दैवी शक्तिका कारण उत्पन्न भएको भनी विश्वास गरिन्थ्यो । हुन त विगत केही दशकदेखि यस्ता घटनालाई जलवायु परिवर्तनका कारण उत्पन्न समस्या भन्ने गरिएको छ । यो जलवायु परिवर्तन मानवनिर्मित सङ्कट हो पनि भनिन्छ । जसरी भएको भए पनि यस्ता घटनाले विपत्लाई निम्त्याउँछन् । हिमाली क्षेत्रमा हिमपहिरोे, हिमताल फुट्ने तथा चट्टान खस्ने प्रक्रिया भइरहन्छ । समुद्र तटमा सामुद्रिक छालले धेरै टाढा–टाढासम्मका बस्तीमा धनजनको क्षति पु¥याएको हामीले देखेका छौँ । वनडढेलोले अमेरिकाको क्यालिफोर्नियामा र अस्टे«लियामा लाखौँको सङ्ख्यामा वन्यजन्तु र मानव बस्तीसमेत क्षति गरेको सञ्चारमाध्यममा हामी सुनिरहन्छौँ । नेपालमा पनि वनडढेलोले धेरै विपत्लाई निम्त्याउने गरेको छ । घटना प्राकृतिक हुन् वा मानवनिर्मित, ती त्यतिबेला प्रकोप बन्छन्, जतिबेला यिनीहरूले प्राणीजगत्लाई र उनीहरूको दैनिक जीवन र जीविकोपार्जनमा प्रत्यक्ष असर छाडेर जान्छन् । प्राकृतिक उथलपुथल आफैँमा विनाशकारी त हुँदैनन् तर यस्ता स्थानमा प्राणीजगत् तथा मानव जातिको बसोवासको क्षेत्र पर्छ भने यसले प्रकोपको रूप लिन पुग्छ र मानव जातिलगायत प्राणीजगत्लाई नै विपत्को अवस्था सिर्जना गर्छ ।
नेपाल प्राकृतिक प्रकोपको हिसाबले धेरै जोखिमपूर्ण क्षेत्रमा पर्छ । दुई अति सक्रिय टेक्टोनिक प्लेटको बीचमा अवस्थित हुँदा भूकम्पीय हिसाबले पनि अति जोखिम क्षेत्रमा पर्छ । भौगोलिक बनोटका हिसाबले पनि नेपाल प्राकृतिक प्रकोपका लागि जोखिमयुक्त रहेको छ । उच्च हिमालको बनोट ज्यादै कमजोर भएकाले हिउँपहिरो जाने गर्छ त कहिले हिमताल विस्फोटको सम्भावना रहन्छ । नेपालको पहाडी भू–भागमा रहेका कमजोर पहाड अति नै अग्ला, चुच्चो परेका र धेरै भिराला छन् । जसले गर्दा मनसुनको समयमा भीषण वर्षा हुँदा पहिरो जाने हुन्छ । पहिरोले कतै नदी थुनिन पुग्छन् त कतै बस्ती नै पुरिन पुग्छन् । नेपालमा भइरहने प्रकोपमध्ये जल उत्पन्न प्रकोप धेरै हुने र विनाशकारी मानिन्छ । पहिरो, बाढी, नदी कटान, खेतियोग्य जमिन डुबानका साथै भौतिक संरचनाको क्षति गर्छ । बर्सेनि लाखौँको जनधनको साथै चौपायाको पनि विनाश गर्ने गर्छ । त्यसरी नै नेपालमा लामो खडेरी पर्ने गरेकाले वनडढेलोका साथै बस्तीमा समेत आगलागीले बर्सेनि लाखौँको धनजनको क्षति भइरहेको छ ।
अन्य मानवीय कमीकमजोरीका कारण हुने दुर्घटनाका लागि पनि नेपाल अग्रपङ्तिमा पर्छ । कमजोर भौतिक संरचना, तीव्र गतिमा बढिरहेको जनसङ्ख्या, अव्यवस्थित बस्ती, कमजोर आर्थिक अवस्था र कमजोर मानव विकास सूूचकका कारणले पनि जोखिम बढाइराखेको देखिन्छ । यसका अतिरिक्त विपत् व्यवस्थापनमा जिम्मा लिएका निकाय जस्तै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, गैरसरकारी सङ्घ संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, नागरिक समाज तथा स्थानीय उपभोक्ता समूहबीचमा पनि समन्वयको कमी रहेको देखिन्छ । सहरी क्षेत्रमा पनि सडक निर्माण तथा पुनःनिर्माण गरिरहेका स्थानमा सडक विभागले बाटो ठेक्कामा दिन्छ । सडकमाथि कुनै मापडण्डविना कालोपत्रे गरिन्छ । त्यो पनि असार महिनाको अन्त्यमा । एक÷दुई महिना बित्न नपाउँदै ढल निर्माण गर्ने भनेर फेरि भत्काइन्छ । बाटो धुलाम्य भएर वर्ष दिन रहन्छ । पुनः अर्को वर्ष यसैमाथि ठेक्काबाटै कालोपत्रे छरिन्छ । केही समयपछि खानेपानीको पाइप बिछ्याउने भनेर फेरि भत्काइन्छ । यसरी सरकारी निकायबीचमा पनि समन्वयको अभाव भएको देखिन्छ । यसबाट पनि मानवीय क्षति भएका घटना हामीसामु प्रशस्त छन् । विपत् न्यूनीकरणमा प्राविधिक ज्ञानको कमी, आवश्यक विकासका संरचनाको कमी, जसले गर्दा कतिपय स्थानमा विपत्को अवस्थामा पहुँचका समस्या पनि भएको छ । शिक्षाको कमी तथा गरिबीका कारण जनतामा चेतना अभाव तथा विपत् न्यूनीकरणमा समुदायको उदासीनताजस्ता कारक तŒवले पनि जोखिम बढाइराखेको देखिन्छ ।
नेपाल भौगोलिक रूपमा विविधता भएकोमात्र होइन, जैविक विविधतामा पनि धनी देश हो । यहाँको विविधता जातीय, सामाजिक, धार्मिक, भाषिक, कला तथा साँस्कृतिक रूपमा पनि झल्केको देख्न पाइन्छ । यहाँको भौगोलिक बनावटको त बयान गरेर सकिँदैन । प्राकृतिक रूपमा अति सुन्दर देश नेपालभित्र उत्तरमा वर्षभरि हिउँले ढाकेका हिमशृङ्खला छन् भने उच्च पहाडी भागका चरण क्षेत्र, ताल तथा मनोरम दृश्यका अमूल्य औषधिजन्य जडीबुटी भएका पहाड छन् । मध्यपहाडी क्षेत्रका कृषिजन्य जमिन छ । फलफूल, काष्ठ तथा गैरकाष्ठ वन पैदावार, डालेघाँसले भरिपूर्ण छन् । यहाँका आरक्ष, राष्ट्रिय निकुञ्ज फाँट, ताल तथा गहिरा र ठूला नदीका साथै हरियालीले भरिपूर्ण सामुदायिक वनक्षेत्र र तिनमा भएका वन्यजन्तुले धनधान्य बनाएका छन् ।
तराईका समथर भू–भागमा देशको जनसङ्ख्यालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने उर्वरा शक्ति रहेको छ । त्यहाँको जमिनमा सिँचाइको व्यवस्था गर्न सकेमा धान, गहँु, मकै, उखु र कपासमात्र होइन, उष्णप्रदेशीय फलफूल उत्पादनको राम्रो सम्भावना छ । बहुमूल्य औषधिजन्य जडीबुटीले भरिपूर्ण यो क्षेत्र सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिका साथै रस उत्पादनका लागि बेलजस्तै धेरै मूल्यवान वनस्पतिबाट भरिपूर्ण छ । यहाँका प्राकृतिक स्रोत र साधनको दिगो व्यवस्थापन गरी संरक्षण, सदुपयोग गर्न सकेमा देशवासीका लागि मात्र नभई, विश्वका जनसमुदायका निम्ति हितकारी वस्तु उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना छन् । हामीले श्रम बेच्ने होइन, उत्पादन बेच्न सक्नुपर्छ । सम्भावनाको राम्रोसँग पहिचान गरी दिगो विकासको माध्यमबाट राष्ट्र र जनताको जीवनस्तर उच्च बनाई समृद्व बनाउन राज्यस्तरबाट पहल हुन जरुरी छ । प्रकृतिले हामीलाई जे गर्नका लागि अनुकूल वातावरण दिएको हुन्छ, त्यसैबमोजिम हामीले जल, जमिन र वन–जङ्गल उपयोगका नीति बनाउनुपर्छ । कुन स्थानमा के गर्दा उपयुक्त छ भनेर विज्ञबाट क्षेत्रको सर्वेक्षण गराएर वातावरण अनुकूूलित, समाजले चाहेको, खर्चले धान्ने र प्राविधिक सुलभता भएमा मात्र विकास निर्माणका काम गर्नुपर्छ ।