विचार/दृष्टिकोण |

लोकतन्त्रमा आएको विश्वव्यापी सङ्कुचन

श्याम मैनाली

विश्व राजनीतिमा लोकतन्त्रको प्रख्याती धेरै कारणले हुँदै आएकोमा हालका दिनमा यसमा सङ्कुचन देखिन थालेको छ । सबैतिर स्वीकार गरिएका र प्रयोगमा आएका राजनीतिक प्रणाली सर्वसत्तावाद, साम्यवाद, तानाशाहीतन्त्र, लोकतन्त्र आदि हुन् । लोकतान्त्रिक देशमा आएको आधुनिक शैलीगत परिवर्तनसहितको मूल्य–मान्यतामा समाहित हुन नसक्ने लोकतान्त्रिक मुलुकका शासकका कारण यसप्रतिको आकर्षणलाई निरन्तरता दिन कठिनाइ भइराखेको छ । यद्यपि, लोकतान्त्रिक देशमा तुलनात्मक रूपमा अन्य शासन प्रणालीको भन्दा विकास र समृद्धिको गतिले तीव्रता लिएको पाइएको छ । लोकतान्त्रिक शासन प्रणालीमा भ्रष्टाचारलाई तुलनात्मक रूपमा नियन्त्रण गर्न सफल हुनुका साथै सुशासनका दिशामा अधिकतम प्रगति गरेको पाइन्छ ।
लोकतन्त्रमा सहिष्णुता, समानता, समावेशी, सहभागितामूलक, साझेदारी, बहुसाँस्कृतिक अवस्थाको उपयुक्त सम्बोधन, सामाजिक न्याय, समताजस्ता सिद्धान्तलाई आत्मसात् गर्दै लोकतन्त्रको एजेन्डालाई परिष्कृत गर्न सक्दा मात्र लोकतन्त्रले अपेक्षित प्रतिफल दिन सक्छ । लोकतन्त्रका पात्रले यहीअनुरूप आफ्ना नीति र व्यवहारलाई निखार दिन सक्नुपर्छ । लोकतान्त्रिक देशका पात्रमा देखिएको अनुदारता, एक्लै हिँड्ने प्रवृत्ति, विश्वपरिवेशमा हातेमालो नगरी अतिराष्ट्रवाद (हाइपर नेसनालिजम)का आधारमा अघि बढ्ने शासकका कारण यसको आकर्षणमा कमी आउँदै गएको छ ।
स्वतन्त्रताप्रेमी मानव स्वभावका कारण लोकतान्त्रिक प्रणालीका महत्त्वपूर्ण विषयमा समझदारी कायम गरेर अघि बढ्ने हुँदा यसप्रति मोह ज्यादा देखिन्छ । तर, यसमा आउँदै गरेको ह्रासोन्मुख अवस्थाका कारण राजनीतिक, आर्थिक र मनोवैज्ञानिक पक्षलाई सुधार गर्नुपर्ने दबाब विश्वभरका इमानदार लोकतन्त्रवादीलाई परिराखेको छ । अतिराष्ट्रवाद, एक्लै हिँड्ने प्रवृत्ति, देशभित्रका र बाहिरका सरकार र सरकारबाहिरका क्षेत्रसँग साझेदारी गर्न अनुदार शैलीको प्रदर्शनले आउँदै गरेको सङ्कुचनमा उदारतासाथ लोकतान्त्रिक सिद्धान्त र आधुनिक शैलीको अवलम्बन गर्न सकिएन भने लामो समयसम्म यस्ता शासक वा पात्रले यस्तो लोकतान्त्रिक प्रणालीलाई निरन्तरता दिन सक्दैनन् । यसमा परिमार्जन नआउँदा लोकतान्त्रिक राजनीतिक सिद्धान्त, जातीय र साँस्कृतिक विभाजनका कारण बन्न सक्छ । यस अवस्थामा उदार लोकतन्त्रको अभ्यास गर्न सकिँदैन । कानुनको शासन, सुरक्षा र शान्तिका दिशामा सङ्कटको सामना गर्नुपर्ने परिस्थिति निर्माण हुन्छ ।

केही यथार्थ
लोकतन्त्रले साझा उद्देश्य प्राप्ति र समुन्नतिका लागि मार्ग प्रशस्त गर्छ । आफ्नो भविष्यको निर्धारण व्यक्ति स्वयम्ले गर्न सक्ने वातावरण निर्माण गर्छ । यस प्रणालीमा नागरिकले आफ्ना असन्तुष्टिलाई अभिव्यक्ति र विरोध कार्यक्रममार्फत सरकारलाई सुसूचित गराउने दबाब सिर्जना गर्ने कार्य सशक्त रूपमा गर्छन् । युरोपियन युनियन, अमेरिकी देश र एसियन देशमा समेत यसप्रकारका क्रियाकलापबाट सरकारलाई सच्चिने अवसर प्रदान गरिराखेका छन् । विगतका दुई दशकबीचको लोकतान्त्रिक देशको अध्ययन गर्दा यसमा सङ्ख्यात्मक र गुणात्मक हिसाबले सङ्कुचन आइराखेको छ । यससम्बन्धमा फ्रिडम हाउसले १५ वर्षको अवधिको लोकतान्त्रिक देशले अवलम्बन गरेका सिद्धान्त र व्यवहारको प्रतिवेदन सार्वजनिक गरेको छ । यसका नतिजालाई प्रस्तुत गर्नु उपयुक्त देखिन्छ ।
सन् २००५ मा ८९ देशले पूर्ण लोकतन्त्रको अभ्यास गरिराखेकोमा सन् २०२० मा अथवा १५ वर्षको अवधिमा यो सङ्ख्या केही घटी ८२ कायम भएको छ । यही अवधिमा सर्वसत्तावादी र तानाशाहीतन्त्र अवलम्बन गर्ने देश ४५ बाट वृद्धि भएर ५४ पुगेको छ । युरोपियन युनियनमा आबद्ध भएका हङ्गेरी, सोल्भानिया, पोल्यान्ड र सर्बियालाई यसको उदाहरणका रूपमा प्रस्तुत गर्नुपर्छ । मध्य–एसियन देशहरू पनि सर्वासत्तावादतर्फ उन्मुख हुँदै गएका छन् । आसियान समूहका १० देशमध्ये चारवटा स्वतन्त्र छैनन् । मध्यपूर्वी देशहरू प्रायः सबै लोकतान्त्रिक मूल्य र मान्यतामा आबद्ध हुन चाहिराखेका छैनन् । नेपाललगायत दक्षिण एसियाका सात देशमा आंशिक स्वतन्त्रतामात्र छ ।
यसै क्षेत्रको अफगानिस्तानमा स्वतन्त्रताको उपभोग गर्न सक्ने अवस्था रहेको छैन । लामो समयदेखि लोकतन्त्रको अवलम्बन र अभ्यास गरिआएको देश भारतमा समेत स्वतन्त्रताको उपभोग समान रूपमा, सबै नागरिकले गर्न पाइराखेका छैनन् । पश्चिमा देशमा देखिएको व्यक्तिकेन्द्रित र संरक्षणवादको नीतिका कारण लोकतन्त्रको गिर्दो अवस्था सिर्जना भएको हो । सस्तो लोकप्रियता र अनुदार क्रियाकलापका कारण यो परिणाम देखिएको हो । जीवनकै अभिन्न अङ्गका रूपमा स्वीकार गरिएको लोकतन्त्रको यस स्थितिको सामना गर्नुपर्ने सन्दर्भ विश्वभरका स्वतन्त्रताप्रेमीका लागि असहज बनेको छ ।
नेपाली सन्दर्भबाट हेर्दा
नेपालमा लामो समयदेखि लोकतन्त्र प्राप्ति र पुनप्र्राप्तिका लागि जनताले ठूलो योगदान गर्दै आएका छन् । स्वतन्त्रता प्राप्तिका लागि लामो समय दुःख र कष्टपूर्ण सङ्घर्ष गरेकाहरू नै सत्तामा पुगेपश्चात् लोकतन्त्रलाई जोखिमपूर्ण अवस्थामा पु¥याउन लागिपरेका छन् । राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको खडेरी परेको छ । दलका शीर्षस्थ नेतृत्वमा रहनेमा देखिएको गैरलोकतान्त्रिक चरित्र र एक्लै हिँड्ने प्रवृत्तिले गर्दा लोकतन्त्रको सर्वमान्य मूल्य र मान्यता लोप हँुदै गएको छ । शासकीय शैली र राजनीतिक प्रणालीप्रति नै जनता निराश बन्दै गएका छन् । देशमा भ्रष्टाचार व्याप्त हुँदै गर्दा गरिबी बढ्दै गएको छ । देशभित्रका उद्योगधन्दाको प्रवद्र्धन हुन नसक्दा बेरोजगारी समस्या बढ्दै गएको छ । यसै कारणले गर्दा ऊर्जावान युवा रोजगारीका लागि विदेश पलायन हुने प्रवृत्तिमा वृद्धि हँुदै गर्दा देशभित्र वृद्धवृद्धा र बालबच्चामात्र रहने अवस्था छ । राजनीतिक दलका कार्यकर्तामा इमानदारीपन रहेन । नेतालाई प्रसन्न बनाई व्यक्तिगत स्वार्थसिद्ध गर्ने प्रवृत्ति बढ्दै गएकाले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढेका नेतृत्वपङ्तिलाई दबाब दिने शक्तिको कमी भएको छ । स्वार्थलोलुप झुन्डको प्रशंसामा रमाउँदै सम्पूर्ण देश नै आफ्ना अघिपछि रहेका कार्यकर्तालाई सम्झने र यसैमा मुग्ध भई आत्मरतिमा रमाउने नेताबाट अब यस देशमा लोकतन्त्रको संरक्षण र प्रवद्र्धन हुन नसक्ने अवस्था आइसकेको छ ।
देशमा गरिबी व्याप्त छ । करिब २० प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको अनुमान छ । यो वर्ग स्वभावतः लोकतन्त्रप्रति सचेत रहन सक्दैन, अशिक्षा र दैनिकीको समस्याले ग्रस्त छ । लोकतान्त्रिक व्यवस्थाका शासक यही वर्गलाई शासन र पीडामा पार्दै लोकतन्त्रलाई सिद्धान्तमा सीमित गर्न व्यस्त छन् । गरिब र धनीबीचको खाडलको अवस्था अत्यन्त नाजुक मोडमा पुगिराखेको छ । यही अवस्थाको फाइदा लोकतन्त्रका शासकले उठाइराखेका छन् ।
यीबाहेक अन्य धेरै पक्ष नेपालमा लोकतन्त्रको विकास हुन नदिन जिम्मेवार रहेका छन् । यसलाई सामना गर्दै लोकतन्त्रको प्रतिफल नागरिकमा पु¥याउने सङ्कल्प लिएका प्रतिबद्ध नेतृत्व वर्तमान राजनीतिमा देख्न सकिएन । यदि यस देशमा प्राप्त लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध हुने हो भने जनस्तरबाटै नयाँ र इमानदार नेतृत्व दिन सक्नुपर्छ । दलीय अभ्यासबाट सक्षम नेतृत्वको सङ्कट लामो समयदेखि देख्न थालिएको र यसमा सुधार आउने सङ्केतसम्म पनि अनुभूति गर्न सकिएको छैन । विश्व परिवेशमा आएको सङ्कुचनको तुलनामा नेपालमा यसका पात्रका कारण लोकतन्त्रप्रति नै जनतामा वितृष्णा पैदा भएको अवस्था छ ।
नेपालको वर्तमान राजनीतिक गतिरोध र अस्थिरताले आन्तरिक र बाह्य दुवै प्रकारका हस्तक्षेपका लागि अनुकूल अवस्था सिर्जना गरिदिएको छ । स्थिर राजनीतिको परिणामस्वरूप नागरिकमा राष्ट्रियताको भावनाको विकास हुन्छ, सबैलाई राष्ट्रको महŒवपूर्ण अङ्गका रूपमा स्वीकार गर्ने वातावरण तयार हुन्छ । समुदाय, जातजाति, वर्ग, क्षेत्र, संस्कृति, धर्म आदिका आधारमा देखिएको पृथकतालाई निराकरण गर्दै आपसी सौहार्दता कायम गर्न सक्नेगरी नेतृत्व प्रस्तुत हुँदा देशको समृद्धि र राजनीतिक स्थिरता दुवै सम्भव भएका उदाहरण विभिन्न देशमा पाइएका छन् । सभ्य, सुशिक्षित र सुसंस्कृत समाजले अशिक्षित देशका नागरिकको तुलनामा राष्ट्रिय उत्थानमा योगदान गर्दै राजनीतिक स्थिरता कायम गर्न सफल भएका छन् । राजनीतिक पद्धति र सरकारप्रति नागरिकले विश्वास गर्न नसक्दा व्यक्तिवादी सोच विकास हुन्छ ।
राष्ट्रनिर्माणका लागि राजनीतिक स्थिरता पूर्वसर्त हो । राष्ट्रनिर्माण देशको विकास, सुरक्षा र समृद्धिका लागि अनिवार्य सर्त हुन्छ । राष्ट्रनिर्माणमा राष्ट्रको पहिचानका साथै समाजको एकीकरण र राष्ट्रिय एकता सम्भव हुन्छ । यस्तो समाजले विकास र प्रशासकीय आधारशिला निर्माण गर्दै राज्यको सर्वतोमुखी विकास गर्छ । राजनीतिक स्थिरताबाट मात्र राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको उच्चस्तरको प्रगति सम्भव हुन्छ । अत्यधिक प्रतिस्पर्धा, सबल राज्य संयन्त्र, सक्षम कूटनीति, उत्पादक नीति निर्माण, सुदृढ अर्थतन्त्र आधुनिक विश्वका सबै देशका लागि महत्त्वपूर्ण चुनौती हुन् । यी सबै पक्षमा राजनीतिक अस्थिरताले अस्तव्यस्त वातावरण सिर्जना गर्छ ।
आर्थिक र राजनीतिक अस्तव्यस्तता भएको देशसँग साझेदारी गर्न अन्य देश उत्साहित हुँदैनन् । फ्रान्स र इटालीमा देखिएको राजनीतिक सङ्कट पनि अस्थिरताको उपज हो । पाकिस्तानबाट पूर्वीपाकिस्तान अलग भई बङ्गलादेश बन्नु र पाकिस्तानमा अहिले पनि बलोचिस्तानमा राजनीतिक अस्थिरता विद्यमान हुनु अस्थिरताकै अवस्थाले गर्दा हो । राजनीतिक अस्थिरता सबै प्रकारका अस्तव्यस्तताको जननी हो । त्यसैले नेपालले यसको निराकरण गर्दै समृद्ध नेपालको दिशामा अभिमुख हुन सबै पक्षमा मतैक्य हुनु जरूरी छ । 
देशको समृद्धिका लागि राजनीतिक स्थिरता अनिवार्य सर्त हो । नेपालमा देखिएको अस्थिरताका कारण अन्ततोगत्वा देशको सर्वाङ्गीण पक्ष प्रभावित हुँदै देश समृद्धिको बाटोमा अघि बढ्न सकेको छैन । त्यसैले देशका सचेत नागरिकले राजनीतिक प्रणाली र यसका पात्रमा के–कस्ता कमीकमजोरी देखिएका छन्, त्यसको सही र पूर्वाग्रहरहित विश्लेषण गर्दै राष्ट्रको समग्र विकासका लागि योगदान दिन सक्दामात्र हाम्रा राजनीतिक पात्रमा सुधारको गुञ्जायस देखिनेछ र राष्ट्रको उत्थान तथा लोकतन्त्रको संरक्षणका दिशामा ठूलो योगदान पुग्नेछ । देशका इमानदार र सचेत नागरिकले प्राप्त लोकतन्त्रको संरक्षणमा लागिपर्न ढिला गर्नु नहुने अवस्था देखिएको छ ।