विचार/दृष्टिकोण |

उच्च अन्तर्राष्ट्रिय व्यापारको चित्र (सम्पादकीय)

आर्थिक वर्ष २०७७/७८ मा नेपालको वैदेशिक व्यापारका सबै क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक भएको छ । कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक सूचकहरू नकारात्मक रहेको अवस्थामा भन्सार विभागले सार्वजनिक गरेको एक वर्षका व्यापारिक गतिविधिले सकारात्मक चित्र देखाउन खोज्छ । भन्सार विभागले नेपालका अन्तरदेशीय सीमाका भन्सार कार्यालयहरूमा उठेको भन्सार राजस्वका आधारमा यो तथ्य सार्वजनिक भएको तथ्याङ्कलाई अर्थतन्त्रका अरू सूचक र तथ्याङ्कका आधारमा अनुकूल वा प्रतिकूल भनेर विश्लेषण गर्नु उपयुक्त हुन्छ । वस्तुतः भन्सारकै कार्यसम्पादनका आधारमा हेर्ने हो भने यस वर्ष राजस्वका अरू स्रोतले लक्ष्य प्राप्त नगर्दा पनि भन्सारको भने शतप्रतिशतभन्दा बढी लक्ष्य हासिल हुनु आफँैमा सकारात्मक पक्ष भने हो ।
तथ्यगत आधारमा अघिल्लो आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा २८.६६ प्रतिशतले वृद्धिसहित १५ खर्ब ४० अर्बको वस्तु आयात भएको छ जुन कुल बजेटभन्दा अहिलेसम्मकै बढी हो । आयात र निर्यातको सापेक्षताका आधारमा देशको व्यापार सन्तुलन रहने गर्छ । अर्थात् आयात बढ्नु समग्रमा नराम्रो नहुने भए पनि त्यसको तुलनामा निर्यातको अवस्थाले देशको समग्र वैदेशिक व्यापारको चित्र स्पष्ट गर्दै भुक्तानी सन्तुलन देशको पक्ष वा विपक्षमा के हुन्छ भन्ने देखाउने हो । भन्सार विभागकै तथ्याङ्कले निर्यात पनि अघिल्लो आवमा ९८ अर्ब रुपियाँ बराबरको रहेकोमा समीक्षा अवधिमा ४४.४३ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब रुपियाँ नाघेको छ । यो हालसम्मकै उच्च निर्यात हो । तर आयात र निर्यात दुवै उच्च रहँदारहँदै व्यापार घाटा पनि अघिल्लो आवभन्दा २७.२६ प्रतिशतले बढ्दै करिब १४ खर्ब पुग्नु चिन्ताको विषय हो । आयात, निर्यात र समग्र अन्तर्राष्ट्रिय व्यापार बढ्नु समग्रमा नकारात्मक नभए पनि कस्ता वस्तु आयात वा निर्यात भए भन्ने आधारमा देशको अर्थतन्त्रको चित्र निर्धारण हुन्छ । उपभोग्य र विलासी वस्तुको आयात न्यून गर्दै विकास निर्माण वा पुँजी निर्माणका लागि आवश्यक पर्ने वस्तु तथा सेवाको आयात मुलुकको दीर्घकालीन हितमा हुन्छ । जलस्रोत वा अन्य हरित नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना हुँदाहुँदै पनि पेट्रोलियम पदार्थको आयात उच्च हुनु हितकर हुन्न । यस्ता आधारमा व्यापार घाटा बढेर भुक्तानी सन्तुलन असमान भई नेपाल शोधनान्तर घाटामा रहेको देखिन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०७६/७७ को एघार महिनामा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोड रुपियाँले बचतमा रहेकोमा आव २०७७/७८ को एघार महिनामा १५ अर्ब १५ करोडले घाटामा रहेको छ ।
वैदेशिक व्यापारकै प्रसङ्गमा वस्तु व्यापार तथा देशगत विविधीकरण पनि महìवपूर्ण हुन्छ । २०७२ को भूकम्प, त्यसै सालको भारतीय नाकाबन्दी र कोभिडका कारण नेपालको वस्तु तथा देशगत वैदेशिक व्यापार विविधीकरणमा समस्या देखिएको छ । चीनतर्फका नाकाहरू तातोपानी र रसुवागढीमा वैदेशिक व्यापार सुस्त छ । यस आधारमा भारतसँग र भारतमार्फत अन्य देशसँगको व्यापारिक निर्भरता बढ्दो छ । चीनसँग र चीनमार्फत अन्य देशमा व्यापार विस्तारका लागि आवश्यक पूर्वाधारहरू तयार नहुँदा पनि नेपालको व्यापारिक तराजु दक्षिणतर्फ बढी ढल्कने गरेको छ । रसुवागढीमा सुख्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी निर्माणाधीन छन् । ती तयार भएपछि परिदृश्यमा केही सुधार आउने अपेक्षा गर्न सकिन्छ । विकास पूर्वाधारका लागि आवश्यक यन्त्र र उपकरण रसुवागढी नाका हुँदै चीनबाट आउन थालेका छन् । यसले देशगत व्यापारलाई सपार्ने अपेक्षा गर्न सकिन्छ । त्यसका साथै देशको भौतिक पूर्वाधार विकास र पुँजी निर्माणमा सहयोग गर्न पनि यसले सकारात्मक भूमिका खेल्नेछ । चीनतर्फका अरू नाका त पूर्ण रूपमा बन्द नै छन् । ती नाका सञ्चालनमा नआउँदा वैदेशिक व्यापार प्रभावित त भएको छ नै, व्यावहारिक रूपमा अन्तरदेशीय वस्तु र सेवामा निर्भर स्थानीयको जनजीवन पनि असहज बन्ने गरेको छ । समग्रमा वैदेशिक व्यापारलाई नेपालको पक्षमा पार्न वस्तु तथा देशगत व्यापार विविधीकरण, चीनतर्फका नाकाहरूको परिचालन र निर्यात वृद्धि गरी आर्थिक र सामाजिक विकासका लागि शोधनान्तर बचतमा रहन कदम चाल्नु आवश्यक छ ।