विचार/दृष्टिकोण |

घण्टाकर्णको सन्देश

मुनीन्द्ररत्न वज्राचार्य

देशको राष्ट्रियता जोगाउन आआफ्नो संस्कृतिलाई बचाइराख्नु जरुरी हुन्छ तर हाम्रा पर्वहरू र परम्परा दिन प्रतिदिन लोप हुँदैछन् । यस्तो अवस्थामा नेपालमा पाइने सबै चाडपर्वलाई जोगाइराख्नु जरुरी छ । नेपालमा पाइने विविध चाडपर्वमध्ये काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष श्रावण कृष्णपक्ष चतुर्दशीका दिन घण्टाकर्ण पर्व मनाउने गरिन्छ । यसलाई गठांमुगः र गठेमंगल पर्व पनि भन्ने गरिन्छ । सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनको दृष्टिकोणले निकै महìवपूर्ण यस पर्व विशेषतः देउताको पूजा र घरको सरसफाइ शुद्धीकरण गरी मनाइन्छ । रोपाइँको काम सिद्धिएपछि हिलो पखाल्न र घरमा सरसफाइका लागि ‘सिनाज्याब्यंकेगु’ भनी यो पर्व मनाउने गरिन्छ । घण्टाकर्ण पर्वको सुरुबाट अन्य पर्वहरू सुरु हुने हुँदा यसलाई ‘काय्मचानखः’ पनि भन्ने गरिन्छ । घण्टाकर्ण पर्व हिन्दु तथा बौद्ध दुवै समुदायले उत्तिकै श्रद्धाले मनाउने गर्छन् । यसैले यस पर्वको अवसरमा सबैको घर–घरमा हुने भूत प्रेतहरूलाई पन्छ्याउनका लागि मनाउने गरिन्छ । बिहान सबेरै आआफ्नो घरमा लिपपोत गरी सरसफाइ गरिन्छ । हरेक मूल–मूल टोलमा चौबाटोमा बिहानै नर्कट ठड्याई घण्टाकर्णको प्रतीकका रूपमा राखिन्छ । पञ्चधातुु फलाम, पित्तल, तामा, चाँदी र सुनका विशेषतः फलामको औँठी किनेर ल्याई उक्त चौबाटोमा ठड्याइएको गठांमुगःलाई छोएर ल्याएर परिवारका सदस्यहरूले लगाउने चलन छ । स–साना केटाकेटीलाई यसै दिनदेखि फलामका वा चाँदीका कल्लीहरू लगाइदिन्छन् । केटीहरू आफूले बनाएका राम्रा–राम्रा साना पुतलीहरू चौबाटोमा ठड्याएका नर्कटमा झुण्ड्याउँछन् । यसरी पुतली झुण्ड्याएमा भूतप्रेतले नछुने हुन्छ । यस्तै केटीहरूले हातमा मेहन्दी लगाउँछन् । यसरी विविध सांस्कृतिक महìव रहेको घण्टाकर्ण पर्वमा दिनभरि नै रमाइलो भइरहेको हुन्छ ।
बिहानैदेखि टोल–टोलमा केटाकेटीहरू चौबाटोमा घण्टाकर्णका लागि जगात (चन्दा) माग्न बस्छन् । दिउँसोे एउटा केटाको जीउमा विभिन्न रङले लेखी ‘आजा जय्’को रूपमा मानेर अनि उनलाई ‘आजा जय्हाः ओम शान्ति जय नेपाल’ भन्न लगाई चोक–चोकमा जगात भनी पैसा माग्न लगाइन्छ । आजा जय् सँगसँगै केटाकेटीहरू पछिपछि लागेर आजु जय हाः भनी रमाइलो गर्छन् । यो आजा जय् भन्नुको अर्थ पहिले पहिले बाउबाज्येको जयकार गरी तिनीहरूको काजकिरियाका लागि पैसा माग्न लगाएकोे भन्ने जनश्रुति छ । यस्तै स्थानीय भेला भई आजा जय्लाई तान्नका लागि नर्कटको रुख जस्तै बनाई तीन खुट्टा पारी ठड्याइन्छ । नर्कटका त्रिखुटको बीचमा जोडिएको नर्कटमा जनेन्द्रीय पुरुष वा स्त्रीको चित्र पनि टाँस्न लगाएको हुन्छ । त्यस्तै बीचमा राक्षसको प्रतीक स्वरूपका गजमा लेखिएको रङ्गीन चित्र पनि बीचमा लगाइन्छ । सबै तयारी भएपछि आजा जय्लाई त्यही नर्कटमुनि राखी दहीच्युरा ख्वाइन्छ । छ््वालीको मसाल बाली आजा जय्लाई समाउन लगाई अन्तिम पटक जगात माग्न लगाइन्छ र तीन पटक नर्कटको रुखलाई घुमाउन लगाएपछि सबैले नर्कटको रुखलाई तानी नजिकको नदीमा सेलाउन लगिन्छ तर आजा जय् बीच बाटोमै भागे बाँकी नर्कटको रुखलाई नदीमा सेलाइन्छ ।
घण्टाकर्ण पर्वको अवसरमा विशेष गरी नेवारहरू शान्ति स्वस्तिका लागि ठाउँ–ठाउँमा देवस्थल, मन्दिर र पीठ–पीठमा पूजा गर्न जान्छन् । घण्टाकर्णका दिन शक्ति साधना र तन्त्रमन्त्रको उपयुक्त दिन भएकाले शक्तिपीठहरूमा बढी पूजापाठ गर्न महìवपूर्ण स्थानहरू जस्तो काठमाडौँको टङ्केश्वर, मैतीदेवी, म्हैपी, लुतीअजिमा इन्द्रायणी, मनमय्जु र भाजंगालमा जाने गर्छन् । यस अवसरमा घर–घरमा विविध वस्तु राखी बलि पूजा गरिन्छ । बलिमा कोहीले चोका बजी टुटेफुटेका च्युरा, जाँडको कट, भुस, लसुन, छ्यापी, कालो भटमास, रगत, फोक्सोका टुक्रा, विभिन्न प्रकारका फूलहरू बौस्वां, कन्हास्वां, पञ्चपताः भनी पञ्चरङ्गी स–साना कपडालाई सिन्कामा बेरी पालामा सिँगारी बत्ती बाली बलि पूजा गरिन्छ । बलि पूजा समाप्तिपछि प्रसादस्वरूप काँचो लसुन, छ््यापी र अन्य परिकार राखी समयबजि प्रसाद ग्रहण गरिन्छ । प्रसाद ग्रहण गरिएमा भूतप्रेतले छुन सक्दैन भन्ने जनधारणा छ । यस पर्वमा घर–घरमा धूप बाली मूलढोकामा फलामको त्रिखुटे किल्ला ठोकी गोजाबुँ फूल चढाउँछ । कोही कोही ढोकामा टाउको नभएको पातलो फलामको किल्ला भूतप्रेतले वर्षभरि दुःख नदियोस् भनी ठोक्ने चलन छ । पूजा समाप्तिपछि घरमा राखेको बलिलाई चार दिशामा राख्न लगाइन्छ । कोही घरको मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख राखिन्छ । घण्टाकर्ण पर्वले दिनदशा भूतप्रेतबाट शुद्धीकरण गर्ने भएकाले सबैले यो पर्व अनिवार्य रूपले मनाउने गर्छन् ।
घण्टाकर्ण पर्व कहिलेदेखि सुरु भयो भन्ने कुरा यकिन साथ भन्न सकिँदैन । यसको भिन्नाभिन्नै किंवदन्ती पाइन्छ । गोपाल राजवंशावलीमा उल्लेख भएअनुसार यो पर्व लिच्छवि कालमै मनाइसकेको उल्लेख छ तर मध्यकालीन अवस्थामा यो पर्व मनाएको किंवदन्तीको दस्तावेज धेरै पाइन्छ । जस्तो– उदाहरणका लागि ने.सं. ८१८ सालतिर भक्तपुरका तलेजुमा जितामित्र मल्ल र योग नरेन्द्र मल्लले प्रतिष्ठा गरेको अभिलेखमा ‘गथांमोगल चवदश’ भनी उल्लेख गरिएको छ । प्राचीन कथनअनुसार कुनै समयमा भाग्यवाद, ईश्वरवादमा भन्दा बढी कर्मवादमा विश्वास राख्ने मानिसरूपी घण्टाकर्ण राक्षसले देशमा नरसंहार गरी विध्वंस मच्चाउने गथ्र्यो । यो विध्वंसकारी घण्टाकर्ण राक्षसले दुवै कानमा घण्टा झुण्डाएकाले त्यसलाई घण्टाकर्ण भन्ने गरेको हो । यस्तो दुःख दिने घण्टासूर घण्टाकर्णलाई खत्तम गर्न विभिन्न जुक्ति गरे पनि केही सीप लागेको थिएन । यस्तो दुःखको चाल पाएर एक दिन सिकारको खोजीमा आएको घण्टाकर्णलाई एउटा चतुर तान्त्रिक भ्यागुताले हिलोको धरापमा खसालेर मारियो । उक्त घण्टाकर्ण राक्षस मरेको दिन श्रावण कृष्ण चतुर्दशी परेको र यही खुसियालीको स्मरणमा घण्टाकर्ण पर्व मनाउँदै आएको हो भन्ने भनाइ छ । यसैले यो पर्वको सम्झनार्थ नेवारहरू भ्यागुतालाई व्यांजानकेगु भनी पूजाआजा गर्छन् । घण्टाकर्ण राक्षस हुन् वा देवटा हुन् भन्ने कुरामा अहिलेसम्म यो विवाद नै छ । हिन्दुहरू घण्टाकर्णलाई शिवभक्तको रूपमा मान्छन् भने बौद्धहरू भैरवको प्रतीक मान्छन् । नेवारहरू गथांमुगः अर्थात् घण्टाकर्ण पर्व भनी त्रिशक्ति सत्व, रज र तमको प्रतीक स्वरूप त्रिपद संवर भैरवका रूपमा मान्छन् । यसैले नर्कटलाई उभ्याउँदा तीन खुट्टाका रूपमा उभ्याइन्छ । बढ्दो सहरीकरण र विदेशी संस्कृतिको मोहले यस प्रकारको मनोरञ्जन प्रदान गर्ने पर्वहरू बिलाउँदै गयो ।