सैद्धान्तिक व्यवहारवादी बीपी
डा.पुरुषोत्तम मरहठ्ठा
पञ्चायती सत्ता सकेसम्म बीपीको भौतिक जीवन समाप्त गर्ने मौकाको खोजीमा थियो । यसको ठूलो प्रमाण हराएको इतिहासमा तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश जनकमान श्रेष्ठको अभिव्यक्तिले पुष्टि गरेको छ । हिंसामा विश्वास नभएकै कारण देशको हित चिताएका बीपी र गणेशमानलाई ज्यान सजायको मागदाबी मुद्दामा न्यायाधीश भई जो हक इन्साफ गर्नुपर्ने हो आत्माले देखेको सही इन्साफ गरें भनेर उनको मुद्दामा फैसला गर्ने न्यायाधीश जनकमानले आफ्नो जीवनीमा उल्लेख गरेका छन् । दरबारीया भने न्यायालयमार्फत बीपी गणेशमानजस्तालाई मृत्युदण्ड दिलाउन न्यायाधीशहरूमाथि ठूलो दबाब हाल्दै थिए । बीपीलाई सकेसम्म मृत्युदण्डसम्मको सजाय विशेष अदालतबाट दिलाउन चाहेको आशय तत्कालीन न्यायाधीश जनकमान श्रेष्ठको ‘हराएको इतिहास’ बाट अनुमान गर्न सकिन्छ । राज्य विप्लवको अभियोगमा बीपी र गणेशमानलाई ज्यान सजायको मागदाबी गरिएको थियो । त्यस्तो कठिन परिस्थितिमा पनि बीपीले आफूलाई आध्यात्मिक चिन्तन, अध्ययन र लेखनमा नै व्यस्त राख्नुभयो । बीपीले वकिल कृष्णप्रसाद भण्डारी र कुशुम श्रेष्ठलाई मात्र बोले पुग्छ भनेर अरू उहाँको पक्षमा वकालत गर्न चाहने १३ जनालाई किन रोक्नुभयो भन्ने घटना जनकमानले आफ्नो जीवनीमा उल्लेख गर्नुभएको छैन । बीपीबाट कहिल्यै न्यायालयको अवहेलना गर्ने काम भएन । उहाँले अदालतको सम्मान गर्दै वकिलहरूलाई पनि संयमित हुनुपर्छ भन्ने उदाहरण स्वयं आफ्नो मुद्दामा बहस गर्ने वकिलमा बसालेको घटनालाई न्यायाधीश आफैँले लेखेको जीवनीबाट थाहा पाउन सकिन्छ । जसले समस्याको मात्र सिर्जना गर्छ, त्यस्ताबाट समस्या समाधानको आशा गर्न सकिँदैन । बीपीले कहिल्यै समस्या सिर्जना गर्नुभएन । समस्या समाधानको क्षमता उहाँमा बलियो थियो । बीपीलाई भारत छोड्न दबाब बढदै गएपछि राष्ट्रियतामाथिको खतरा ठानेर उहाँहरू मेलमिलापको नीति लिएर नेपाल आउनुभयो । बीपीमाथि सात वटा सङ्गीन राजकाज मुद्दा लागेको थियो । मुद्दामा मृत्युदण्ड माग गरिएको थियो । पञ्चहरूले उहाँको मुद्दामा आगो झोस्ने काम गर्दै थिए । काँग्रेसलाई सिध्याउन दरबार काँग्रेसको विकल्पमा उग्र राजनीतिक विचार र पार्टीको जन्म गराउन लागिरहेको थियो । दरबारीया पञ्चहरूले काँग्रेसलाई अर्राष्ट्रिय तìवको आरोप लगाएर आफू राष्ट्रवादी र देशभक्त देखाउन खोज्थे ।
बीपी र गणेशमान ०३३ सालमा राष्ट्रियतामाथि खतरा आएको भन्दै मेलमिलापको नीति लिएर आधा दर्जनभन्दा बढी कार्यकर्ता पटनाबाट नेपाल प्रवेश गरेका थिए । बीपीमा प्रजातान्त्रिक गुण थियो । उहाँले सिद्धान्तलाई व्यवहारमा उतार्ने क्षमता राख्नुहुन्थ्यो । ज्यान सजाय हुने मुद्दाको सन्दर्भ वा दैनिक जीवनमा किन नहोस् बीपी सिद्धान्तमा मात्र होइन व्यवहारतः पनि प्रजातन्त्रवादी नेता हो । एक पटक कुनै प्रसङ्गमा जनमत सङ्ग्रहताका त्रिचन्द्र कलेजमा नेविसङ्घको पदाधिकारी रहेका मेरा एक मित्र बोधप्रसाद अधिकारीले भन्थे बीपीलाई भेट्न गएको मेचमा खुट्टा अडेस राखेर बस्दा सँगै रहेको किसुनजीले नेतासँग बोल्ने यही तरिका हो भनेर गाली गरेको देख्दा शालीन बीपी भने मुसुमुसु हाँसी रहनुभएको थियो । बहालवाला प्रधानमन्त्री (बीपी) थुनामा पर्दा मुलुकभर दश हजारभन्दा बढी कार्यकर्ता पक्राउ परेको विवरण किसुनजीले आफ्नो आत्मकथा मेरो म मा उल्लेख गर्नुभएको छ । त्यसो गर्न पार्टीले कुनै निर्देशन दिएको थिएन तर बीपीको लोकप्रियता र प्रजातान्त्रिक शासन व्यवस्थामाथिको प्रहारविरुद्ध उर्लिएको जनसागर थियो । बीपी अदालतका इजलासमा प्रहरी राख्दा पनि विरोध नगर्ने बरु इजलासलाई टुँडिखेलमै राखे पनि आपत्ति छैन भन्नुहुन्थो । बीपी साँच्चै ठूलो मान्छे होइन असल मान्छे हुनुपर्छ भन्ने मान्यतामा अडिग हुनुहुन्थ्यो भन्ने यी घटनाले स्पष्ट गर्छन् ।
बीपीले राजाले गर्ने भनिएको जनमत सङ्ग्रहलाई स्वीकारी सकेपछि बहुदलवादीहरूले भोग्नुपरेको अप्रत्यासित परिणामलाई कहिल्यै अत्तो थाप्नुभएन । उहाँ भन्नुहुन्थ्यो जनमत सङ्ग्रहमा धाँधली भएको छ, राज्यशक्ति लगाएर बहुदललाई हराइएको छ तर एउटा प्रजातान्त्रिक पार्टी वा कार्यकर्ताले निर्वाचनको परिणाम स्वीकार गर्नैपर्छ । बीपीले जनमत सङ्ग्रहको परिणामलाई खेलको नियमअनुसार सहजै स्वीकार गर्नुभयो भलै परिणाम बीपी र प्रजातन्त्रवादी सबैका लागि आश्चर्य बनिरहेको रहेको थियो । राजनेता बीपीले जनमत सङ्ग्रहको परिणाम स्वीकार गरेर प्रजातान्त्रिक मूल्य, मान्यता मात्र प्रदर्शन गर्नुभएन देशको शासनमा (पञ्चायत) स्वीकर गर्ने वा नगर्नेमा बहुमत र अल्पमत रहेको छ भन्ने सन्देश विश्वभर फैलाउनु भयो । साथै अल्पमतको कदर हुनुपर्छ भन्ने माग स्थापित गराउनु भयो । मैले जनमत सङ्ग्रहमा पञ्चायतको जित स्वीकार गरेपछि राजाले पनि पञ्चायतका विरुद्ध (२४ विरुद्ध २० लाख मत) २० लाख जनमत छ भन्ने स्वीकार गर्नुपर्छ भन्ने नैतिक प्रश्न उठाई दिनुभयो ।
बीपी कुशल राजनेता, मुलुक रूपान्तरणका एक संवाहक हुनुका साथै तत्कालीन परिवेशमा राजा महेन्द्रका राजनीतिक प्रतिस्पर्धी मात्र हैन तत्कालीन समयमा सारा विश्वको ध्यान खिच्न सक्ने एक करिस्मामय व्यक्ति थिए । ०१५ को आमनिर्वाचनमा दुईतिहाई मत पाएर विजयी बनेका बीपीमा इच्छाशक्ति भएकै कारण १८ महिनामा नै बीपीको सरकारले बिर्ता उन्मूलन, राज्यरजौटा उन्मूलनजस्ता कानुन बनेका थिए । बीपी बाँचुञ्जेल कहिल्यै विलासी जीवनको चाहना उहाँमा देखिएन तर, रमेशनाथ पाण्डेले क्रान्ति र प्रतिक्रान्तिमा लेखेका छन्– पारिवारिक आवश्यकता पूरा गर्न अप्ठ्यारो भएपछि बीपीले शीर्षाशनमा बसेर मन शान्त गर्नुहुन्थ्यो । बनारसमा रहदाँ बीपीले आर्थिक अभाव झेल्नुपरेको बीपीका विभिन्न कृतिबाट जान्न सकिन्छ । बीपीले सदैव कठिन सङ्घर्षमय जीवन जीउन खोजेको यथार्थ देखिन्छ । किसुनजीलाई कानुन पढ्न विदेश पठाउन खोजिएको रहेछ । यदि पढेर आएका भए उहाँ पनि गान्धीजस्तै वकालतमा होमिनु हुन्थ्यो । यी दुवै राजनेताले असहज परिस्थितिमा समय बिताएको क्षण सम्झँदा यिनले लामो समय शासन भार हाँक्न सकेको भए मुलुकको कायापलट हुने थियो । बीपीले सत्ता दुरुपयोग गर्नुभएन । सायद उहाँलाई यस्तो बन्नमा उनका आफ्ना भाइहरू केशव, तारिणी र गिरिजाको सहयोग हुनुपर्छ । भाइहरूले कहिल्यै लाभको पद मागेनन् ।
बीपीले छिमेकी देश, परराष्ट्र नीति, नेपालको भूराजनीतिक अवस्था, बाध्यता र अवसरका सम्बन्धमा पनि गहन विचार दिनुभएको छ । छिमेकीलाई चिढाउने काम गर्नु हुँदैन तर आफ्नो राष्ट्रिय हितमा कमजोर हुनुहुँदैन भन्दै उहाँले हिन्दुस्थान वा चीनमा निर्भर रहेर कसैले पनि नेपालमा राजनीति गर्न चाहन्छ भने त्यो सफल हुँदैन भन्नुभएको थियो । अहिलेको सन्दर्भमा पनि यही भनाइ सत्य साबित छ ।