बाघ संरक्षणमा राष्ट्रिय दायित्व
पशुपति अधिकारी
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा विश्व बाघ सम्मेलन सुरु भएको दिनको सम्झनामा जुलाई २९ लाई विश्व बाघ दिवसका रूपमा मनाउन थालिएको छ । बाघ पाइने विश्वका १३ देशका सरकार प्रमुखको सम्मेलनले सन् २०१० को तुलनामा सन् २०२२ सम्ममा पाटेबाघको सङ्ख्या दोब्बर बनाउने योजना अनुमोदन गरेका थिए । बाघ पाइने ठाउँमा तिनको सङ्ख्या वृद्धि गर्ने र लोप भएका ठाउँमा पुनस्र्थापना गर्ने विश्व बाघ पुनरुत्थान कार्यक्रमको लक्ष्य रहेको छ । नेपाल, भारत, रसिया, इण्डोनेसिया, मलेसिया, थाइलान्ड, बङ्गलादेश, भुटान, चीन, भियतनाम, म्यान्मार, कम्बोडिया र लाओसमा पाटेबाघ पाइने देशहरूमा पर्छन् ।
बाघको समुच्च वासस्थानलाई बाघ संरक्षण युनिट भन्ने गरिन्छ । बाघ मुख्यतः चुरे, भावर र त्यसभन्दा तलको समथर वन क्षेत्रमा पाइन्छ । नेपालमा तीन वटा छुट्टाछुट्टै बाघ संरक्षण युनिट रहेका छन् । चितवन, पर्सा र भारतको वाल्मीकि बाघ आरक्ष पहिलो युनिट हो भने बाँके, बर्दिया र भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष दोस्रो युनिट हो । त्यसैगरी, शुक्लाफाँटा र भारतको दुधुवा राष्ट्रिय निकुञ्ज तेस्रो युनिट हो । राष्ट्रिय बाघ गणना सन् २०१८ का अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । बाघको सङ्ख्या शिकार प्रजातिको उपलब्धताले निर्धारण गर्छ । बाघका मुख्य शिकार प्रजातिहरू जरायो, चित्तल, बाह्रसिङ्गा, रतुवा, लगुना, बँदेल, बाँदर, गौरीगाई लगायतका वन्यजन्तु हुन् । शिकार प्रजातिको घनत्व पानीको उपलब्धतामा भर गर्छ । पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा पानीका स्रोत कम हुनाले अन्यत्रको तुलनामा शिकार प्रजातिको घनत्व थोरै रहेको छ । कहिलेकहीँ आहाराको खोजीमा बाघ धेरै टाढा–टाढासम्म पुग्ने गरेको पाइएको छ । सन् २००८ मा भुटानको जीम्मे दोर्जी राष्ट्रिय निकुञ्जको ४,२०० मिटरको उचाइमा बाघ भेटिएको थियो भने गत वर्ष डडेलधुरा र इलाम जिल्लाको महाभारत क्षेत्रमा बाघ भेटिएका थिए । यसबाट बाघको वासस्थान भू–परिधि स्तरमा संरक्षण गर्नुपर्ने देखिएको छ । अहिले बाघको वासस्थान निकुञ्ज क्षेत्रबाहिर पनि विस्तार हुँदै गएको अध्ययनले देखाएको छ ।
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने कार्यक्रमलाई ‘टि इन्टु टु’ भन्ने गरिएको छ । सन् २०११ मा बाघ पाइने देशहरूमा पाटेबाघको सङ्ख्या २,५०० भन्दा कम थियो । त्यसपछि बाघ पाइने विभिन्न देशमा गरिएको प्रयासबाट सन् २०१८ सम्म आइपुग्दा बाघको सङ्ख्या बढेर ४,८९२ पुगेको छ । पाटेबाघका पाँच उप–प्रजातिमध्ये बङ्गाल बाघ ३,४११, साइबेरियन बाघ ५४०, इण्डो चाइनिज बाघ ५३४, सुमात्रान बाघ ४०० र साउथ चाइनिज बाघ सात वटा रहेका छन् । नेपाल, भारत, बङ्गलादेश र भुटानमा पाइने बङ्गाल बाघ हो । नेपालमा सन् २००९ को गणनामा बाघको सङ्ख्या १२१ रहेकोमा सन् २०१३ को गणनामा १९८ र सन् २०१८ को गणनामा २३५ पुगेका छन् । सन् २०१३ को तुलनामा सन् २०१८ मा बाघको सङ्ख्या १९ प्रतिशतले वृद्धि भएको छ । नेपालले आफ्नो लक्ष्य पूरा गर्न सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुग्नुपर्छ । त्यसका लागि नेपाल सरकारले राष्ट्रिय निकुञ्जहरूको क्षेत्र विस्तार, चोरी शिकार नियन्त्रण, वन्यजन्तु पीडितलाई राहतको व्यवस्था र मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रममार्फत बाघ–मानव द्वन्द्व न्यूनीकरणका उपाय अवलम्बन गरेको छ । नेपाल सरकारले सन् २०१० मा बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ भने पर्सा राष्ट्रिय निकुञ्ज विस्तार गरी ६२७.३९ वर्ग किलोमिटर कायम गरिएको छ । साथै निकुञ्जसँगै जोडिएको मध्यवर्ती क्षेत्रको वन स्थानीय समुदायको सहभागितामा संरक्षण गरिएको छ । चितवन, बर्दिया र कैलालीका बरण्डाभार, वसन्ता र खाता जैविक मार्गको स्तरोन्नति कार्यक्रम लागू गरिएको छ । बाघ संरक्षणका लागि फिल्डस्तरमा गर्नुपर्ने कार्यलाई समेटेर नेपाल सरकारले सन् १९९९, सन् २००७ र सन् २०१६ मा पञ्चवर्र्षीय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
नेपालमा वन्यजन्तु संरक्षणका लागि निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका स्थानीयको संलग्नतामा तीन खम्बे संयन्त्र खडा गरिएको छ । यसबाहेक नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत वन्यजन्तु अपराध हेर्ने छुट्टै शाखाको व्यवस्था गरिएको छ । वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन र नियन्त्रण गर्न सङ्कटापन्न वन्यजन्तु, वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लागू गरिएको छ । बाघ संरक्षणमा नेपाल सरकारलाई नीतिगत मार्गदर्शन गर्न र राय सल्लाह दिन तथा विभिन्न सरोकारवाला निकायबीच समन्वयका लागि मन्त्रिपरिषद्को मिति २०६७ साल जेठ २ गतेको निर्णयानुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति, नेपाल गठन गरिएको छ । यसका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न २०६९ सालमा बाघ लगायत १४ वटा वन्यजन्तुले पु¥याएको क्षतिवापत राहत सहयोग गर्ने निर्देशिका लागू गरेको छ । वन्यजन्तुले पु-याएको क्षतिबापत आर्थिक वर्ष ०७६/७७ मा देशभरमा १० करोड ६६ लाख रुपियाँ राहत वितरण गरिएको छ ।
अहिले बाघ संरक्षित क्षेत्रहरूमा मात्रै सीमित हुन पुगेका छन् र तिनको विचरणका लागि आवश्यकपर्ने पर्याप्त वासस्थान र जैविक मार्गको अभाव छ । बाघको दीर्घकालीन संरक्षणका लागि नेपालमा स्थापना गरिएका निकुञ्जहरूले बाघको जीवन सम्भाव्य सङ्ख्या (भायएवल पपुलेसन) धान्न सक्ने अवस्थामा छैनन् । उपलब्ध वासस्थान र जैविक मार्गहरू समेत खण्डीकरण र अतिक्रमणको चपेटामा परेका छन् । निकुञ्ज बाहिरका वन र जैविक मार्गमा मोटर बाटो, फुटबल मैदान, पिकनिक स्पट, डम्पिङ साइट र मचान निर्माण गरिएको छ । बाघ संरक्षण गर्न त्यसका शिकार प्रजातिहरूको पनि उत्तिकै संरक्षण हुन आवश्यक छ तर भुस्याहा कुकुरले आक्रमण गरी मृग मार्ने तथा सडक दुर्घटनामा परेर वन्यजन्तुको मृत्यु हुने घटनामा वृद्धि भएका छन् भने बँदेलका पाठा पक्रेर ल्याई घरमा पाल्ने चलन बढेको छ । भुस्याहा कुकुरको आक्रमणमा बर्सेनि करिब चार सय वटा चित्तल, रतुवा, जरायो लगायतका मृग प्रजाति तथा सडक दुर्घटनाबाट झण्डै १२० वटा बाघलगायतका वन्यजन्तु मर्ने गरेको तथ्याङ्कबाट देखिन्छ ।
विश्वमा विगत एक शताब्दीमा बाघको सङ्ख्यामा ९७ प्रतिशतले गिरावट आएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वन तथा जैविक मार्गको चुस्त व्यवस्थापन भए बाघले मानव र पशुधनलाई पु-याउने क्षति उल्लेख्य मात्रामा कमी गर्न सकिन्छ तर अहिलेको मुख्य समस्या भनेको पर्या–पर्यटनबाट आम्दानी गर्ने एकाध सामुदायिक वन उपभोक्ता समूहबाहेक मध्यवर्ती क्षेत्रका सबै वन उपभोक्ता समूह निष्क्रिय छन् । तिनलाई सक्रिय गराउने राष्ट्रिय कार्यक्रम रहेको छैन । फलस्वरूप वन क्षेत्रभित्र प्रवेश गर्ने, सामुदायिक वनमा पशु छोड्ने, चोरी शिकार गर्ने, बँदेलका पाठा चोर्ने, वन्यजन्तु नियन्त्रण गर्न लगाइएको तारबार भत्काउने र तिनको समयमै मर्मतसम्भार नहुने गरेको छ । यस्तै बेथितिले गत असार ७ गते चितवनको सौराहामा बाघको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । निकुञ्ज कार्यालयले समयमै उद्धार गर्न पहल नगरेको भनी सौराहाको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा तोडफोड र आगजनी गरियो । गत वर्ष वैशाख २८ गते चितवनको माडीमा चोरी शिकारीले लखेटेको बँदेल गाउँ पसेर खेतमा काम गरिरहेको मानिसलाई आक्रमण गर्दा उनको मृत्यु भयो । आ.व. २०७७/७८ मा चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा गरी बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । मान्छेलाई आक्रमण गरेका बाघलाई नियन्त्रणमा लिएर सानो फलामको खोर वा चिडियाखानामा राख्ने गरिएको छ । यसको विकल्पमा टाइगर रेन्चिङको व्यवस्था गरी ठूलो वनक्षेत्रमा बाघ थुन्ने गरेमा बाघको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा पनि महìवपूर्ण सहयोग पुग्नेछ ।