विचार/दृष्टिकोण |

काँग्रेसमा नेतृत्व विवाद

बेनीबहादुर कार्की

नेपाली काँग्रेस चौधौं माहाधिवेशनको पूर्वसन्ध्यामा छ । कोरोनासमेतका कारणले काँगे्रसलाई यो अधिवेशन गर्न चुनौती छ । क्रियाशील सदस्यताको विवादमा धेरै समयमा खेर गएको छ । यसक्रममा नेपाली काँग्रेसमा नीतिभन्दा नेतृत्व चयनमा धेरै दौड र चासो देखिएको छ । यस्तो प्रवृत्ति नेपाली राजनीतिमा अपवादबाहेक सबै दलमा देखिने गरेका छन् । यो नेपाली राजनीतिको विशेषता नै भएको छ । यही भएकाले नेपाल अस्थिरताको भुमरीमा फसेर अपेक्षाअनुरूप प्रगति गर्न सकेको छैन ।
नेपाली काँग्रेसमा अहिले नै नेतृत्वको आकलन गर्न सजिलो छैन । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य कल्याण गुरुङसम्म एक दर्जन आकाङ्क्षी नेता अहिले सभापतिको चर्चामा हुुनुहुन्छ । यीमध्ये कसरी सहमति हुन्छ, को, को उम्मेदवार हुन्छन् र को, को विजयी हुन्छन् भन्ने कुरा अहिले नै अनुमान गर्न कठिन छ । तैपनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर र शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिमध्ये एक जना सभापति बन्ने सम्भावना छ । अधिकांश कार्यकर्ताको विश्लेषणअनुसार सभापति देउवाले काँग्रेसमा सबैभन्दा धेरै चार पटक प्रधानमन्त्री, विभाजित र एकीकृत काँग्रेसको सभापति भइसकेकाले अहिले दोस्रो र तेस्रो पुस्ताका नेताहरू समेत सभापतिका आकाङ्क्षी भएको अवस्थामा पुनःसभापतिको उम्मेदवार हुनुभन्दा राम्रो ससम्मान वरिष्ठ नेताका रूमा काँग्रेसको अभिभावक रहनु नै देउवाका लागि उपयुक्त देखिन्छ । उमेरका कारण र आफूले विगतमा सभापतिको कार्यकालमा गरेको कामको आत्मसमीक्षा गरेर अब कुनै पद नलिएर सर्वमान्य भएर बस्नु नै बुद्धिमानी हुनेछ । उम्मेदवार बनेर सफलता हात नलागेमा उहाँको अहिलेको उचाइ धरासायी हुनेछ । त्यसमा पनि निधि पनि उम्मेदवार हुने हो भने देउवा उम्मेदवार बन्न कदाचित् उचित हुँदैन भन्नेहरू पनि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निष्ठावान र बौद्धिक नेता भएर पनि अहिलेसम्म सभापति र प्रधानमन्त्री हुने अवसर पाउनुभएको छैन र अब पनि तत्कालै ती पद पाउने सम्भावना देखिँदैन । त्यसैले सबै मिलेर काँग्रेसको एकमना सरकार बनाएर पौडेललाई विशेष सम्मानका साथ काँग्रेसको नेतृत्वगणले राष्ट्रपति बनाएर सम्मान दिँदा यथोचित हुनेछ यसो गरिएन भने अहिलेसम्म नेपाली काँग्रेसमा उहाँले दिएको योगदानको अवमूल्यन हुनेछ । उपसभापति विमलेन्द्र निधिले यस पटक सभापतिको उम्मेदवार घोषणा गर्नुभएकाले संस्थापना घटकमा तरङ्ग आएको छ । विभिन्न दबाबमा परेर निधि सभापतिमा उठ्नुु भएन भने बेग्लै हो, अन्यथा उहाँको प्रभाव मधेसमा राम्रो छ ।
जित्ने, हार्ने कुरा अहिले नै निश्चित हुने कुरो हुँदैन तर निधिको सम्भावना राम्रो छ । महामन्त्री डा.शशाङ्क कोइराला भने बीपी पुत्र पनि भएकाले उहाँको पनि जनाधार राम्रो छ । तर जित्नकै लागि भने डा. शेखर र नेत्री सुजातामध्ये एक भएर उम्मेदवार हुन आवश्यक छ । नभए परिणाम हात लाग्न मुस्किल देखिन्छ । पूर्व उपसभापति प्रकाशमान सिंह जनआन्दोलनका कमान्डर गणेशमान सिंह र मङ्गलादेवीका पुत्र, ने.वि.सङ्घ काठमाडौँ सभापति, काँग्रेस काठमाडौँ सचिव, सभापति हुँदै पार्टी केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसमेत भएर काम गरिसकेकाले अब सभापतिको माग तथा दाबी जायज हो भन्नै पर्ने हुन्छ । नेतृत्व पङ्क्तिले उहाँलाई अवसर दिँदा दलको हित हुने देखिन्छ । दलमा निरन्तरता र पदीय हैसियतको आधारमा दलले उम्मेदवार बनाउने कि नबनाउने त्यो दलकै कुरा हो । नभए जित्ने हिसाबले डा. शेखर कोइरालाको लोकप्रियता सबैभन्दा धेरै छ । जिताउने नै हो भने उहाँलाई नै सभापतिको उम्मेदवारमा अघि सारेमा सफलता मिल्ने देखिन्छ । ने.का.को भविष्य उज्ज्वल बनाउने हो भने यीबाहेकका आधा दर्जनभन्दा धेरै युवासमेतका सभापतिका आकाङ्क्षीबीच समीकरण गरेर सर्र्वसम्मत नेतृत्व चयन गरेर नयाँ सोच र शैलीका आधारमा काम गर्न आवश्यक छ ।
कुनै पनि राजनीतिक दलले सफलता पाउन नीति र नेतृत्वको समीकरण मिल्नुपर्छ । नभए त्यो दलको इतिहास जति नै सुनौलो भए पनि उसले सफलता हात पार्न सक्दैन । नेपाली काँग्रेसमा ठीक त्यही अवस्था छ । यो यथार्थलाई बिर्सेर काँग्रेसका नेताहरू नेतृत्वको दौडमा दौडेका छन् । यस सन्दर्भमा बी.पी.कोइरालाको नेतृत्वमा भएको पहिलो आमनिर्वाचनमा दुईतिहाइ बहुमत पाएको काँग्रेस्रले बहुमत गुमाएर कमजोर प्रतिपक्षमा सीमित हुनुपरेको सत्यको समीक्षा हुनुपर्छ । यो किन भयो र यसमा कसलाई दोष दिने भन्ने प्रश्न काँग्रेस वृत्तका लागि गम्भीर सवाल हो । नीतिको कमीकमजोरीले हो कि, नेतृत्वको कमजोरीले यस्तो भएको हो समीक्षा गर्नुपर्छ । इतिहास रचेको नेपाली काँग्रेसकोे नेतृत्व गरिरहेका वा अब नेतृत्व गर्छु भनेर दौडमा तम्सिएकाहरू यसतर्फ गम्भीर हुन जरुरी छ । यसमा विचारै नगरी अहिले थरीथरीका समूह बनाएर सभापतिको उम्मेदवार घोषणा गरेका छन् । आ, आफ्ना पिताको लिगेसी भजाएर डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले लन्च बैठक गरेर हामीमध्ये नै सभापति हुनुपर्छ भन्ने दाबी गरिरहनु भएको छ । वर्तमान सभापति देउवा सभापतिमा दोहोरिन चाहनु हुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तिम पटक भनिरहनु भएको छ । गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह के.सी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला पुराना र बुद्धिजीवी भएकोले आफूले अवसर पाउनुपर्ने भनिरहनु भएको छ । नेता सिटौला १३औँ महाधिवेशनमा तेस्रो धारको सभापतिमा उम्मेदवार भएकाले १४औँ मा पनि उहाँको भूमिका महत्त्वपूर्ण हुने नै छ । नेत्री सुजाता कोइराला गिरिजाबाबुकी छोरी भएकाले सभापतिमा दाबी गरिरहनु भएको छ । डा. शेखर कोइराला आफ्नो जित्ने सम्भावना रहेको र जितेर पार्टी सङ्गठन सुदृढ बनाएर पहिलेको अवस्थामा पु-याउने दाबी गरिरहनु भएको छ । गगन थापा, डा. चन्द्र भण्डारी, प्रदीप पौडेल, विश्व प्रकाश र कल्याण गुरुडजस्ता युवा आफूलाई लोकप्रिय भनिरहनु भएको छ । यीबाहेक कमला पन्त पुष्पा भुसाल, डा. डिला सङ्ग्रौलासमेतका महिला नेत्रीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यमा आकाङ्क्षी हुनुहुन्छ । नयाँ नेतृत्वले नयाँ सोच र शैलीका साथ काम गर्ने दृढ अठोटका साथ चुनावी तयारी गर्ने हो भने मात्र ने.का.लाई पुरानो अवस्थामा लैजान सम्भव हुनेछ । काँग्रेस नेतृत्वले साझा रूपमै सुझबुझका साथ चुनावी मैदानमा जान आवश्यक छ । अन्यथा उम्मेदवार बन्नेको र समग्रमा ने.का.को समेत सामूहिक हार हुनेछ ।
नेपाली काँग्रेसको नेतृत्वमा जो आए पनि सुरुमै सार्वजनिक रूपमै निस्वार्थ भएर नेपाली जनता र नेपालको हितमा काम गर्छु भनेर जनतासमक्ष शपथ खान जरुरी छ । गणतान्त्रिक लोकतन्त्र रक्षाका लागि गुट र समूहभन्दा माथि उठेर नेपाली काँग्रेस एक ढिक्का हुनपर्छ । काँग्रेसका मतदाताले असल चरित्र, सङ्गठानिक क्षमता र दूरदृष्टि भएका नेतालाई नेतृत्वको अवसर दिनुपर्छ नेपाली काँग्रेसको हितमा भन्नुपर्दा अधिकांश कार्यकर्ता र आम जनसमुदायले आशा गरेका लोकप्रिय नेतामा डा. शेखर नै अग्रपङ्क्तिमा देखिनुभएको छ । समीकरणमा यसो हुननसके प्रकाशमालाई अवसर दिँदा पनि धेरै दृष्टिले उपयुक्त हुने दखिन्छ । आमसहमतिमा नेपाली काँग्रेसको नेतृत्व चयन हुनसके त्यो नेतृत्व काँग्रेस, नेपाल र नेपालीको हितमा हुनेछ ।