विचार/दृष्टिकोण |

कालीगण्डकी जलाधार र डाइभर्सन

नवराज पोखरेल

कालीगण्डकी तिनाउ डाइभर्सनको कार्यालय स्थापनासँगै त्यस आयोजनाको सकारात्मक तथा नकारात्मक पक्षका विवेचना हुन थालेको छन् । अन्तरप्रादेशिक यस्तो आयोजनाको अनुभव नेपालमा नभएकाले यसमा चासो र चिन्ता देखिएको हुनुपर्छ । कालीगण्डकी नदी र यसको ऐतिहासिकता, सांस्कृतिक, धार्मिक, वातावरणीय पक्षको चर्चा पनि यसैसँग जोडिएको छ ।
कालीगण्डकी नेपालका तीन वटा (कोसी, गण्डकी र कर्णाली) नदी प्रणालीमध्ये एक हो । मुस्ताङ जिल्लाको न्युबिन हिमाल क्षेत्रबाट सिर्जित कालीगण्डकी मूललाई छुमा खोला भन्ने गरिन्छ । यो धारा प्रसिद्ध दामोदर कुण्डसँगै छ । लोमन्थाङमा झरेपछि कालीगण्डकी दक्षिणपश्चिममा बग्छ । मुक्तिनाथ क्षेत्रमा आएपछि कालीगण्डकीमा झोंग खोला, काक खोला (कृष्णा नदी) प्रमुख सहायक नदी काली गण्डकीमा मिसिन्छन् । त्यसपछि कालीगण्डकी घाँटी वा अन्धागल्छी भनिने संसारकै गहिरो भएर बग्छ । गलेश्वरको राहुघाट खोला, म्याग्दी खोला, मोदी खोला र रिडी बजारमाथि रुद्रवेणीमा बडिगाडसँग मिसिदै बग्छ । महाभारत क्षेत्रको उत्तरी किनारबाट दक्षिणतर्फ फर्किदै गर्दा महाभारतलाई छेडेर कालीगण्डकी देवघाटमा नारायणीमा मिसिएर त्रिवेणी पुगी भारततिर लाग्छ । भारतमा यसलाई गण्डक भनिन्छ ।
देवीभागवत् पुराणमा कालीगण्डकीमा मात्रै पाउने शालिग्राम बारेमा एउटा कथा उल्लेख छ । पुराणमा धर्मदेवजा नामक राजाको वर्णन छ जो सुरुमा देवी लक्ष्मीका भक्त थिए र पछि उनको प्रतिद्वन्द्वी भए । लक्ष्मीलाई धर्मदेवजाले धेरै दुःख दिने कोसिस गरे, उनका छोरा पद्मद्वाजले आफ्नो बुबाको गल्ती महसुस गरे र लक्ष्मीको भक्त भए । उनको भक्तिबाट देवी प्रसन्न हुनुभयो, लक्ष्मीले तुलसीको रूपमा अवतार लिनुभयो ।
तुलसी भगवान् कृष्णको प्रेममा डुब्नुभयो । तिनीहरूले आफ्नो बन्धन अमर गर्न विवाह गरे । भगवान् कृष्णले आफूलाई शालवर्ग (शालिग्राम) र तुलसीलाई गण्डकी (कालीगण्डकी) नदीको रूपमा बदल्नुभयो । आज पनि शालवर्ग (शालिग्राम) केवल कालीगण्डकी नदीमा फेला पार्न सकिन्छ । यसैगरी श्री स्वास्थानी व्रत कथामा वर्णन गरेअनुसार जालन्धरको श्रापबाट विष्णु भगवान्ले ढुङ्गाको रूपमा शालिग्राम भएर रहनु भएको हो । यसबाहेक कालीगण्डकी नदीको उद्गमदेखि भारतसम्म दामोदर कुण्डदेखि मुक्तिनाथ, गलेश्वरधाम, बागलुङ कालीका, मोदीवेणी धाम, जैमिनीघाट, बेलबगर, रुद्रवेणी, देवघाटजस्ता विभिन्न ऋषिमुनिका पवित्र तपोभूमि रहेका छन् । विभिन्न हिन्दु धार्मिक धर्मग्रन्थअनुसार कालीगण्डकीमा स्नान मात्र गरे पनि कैयौँ पापबाट मुक्त भइनेछ । यो बौद्धधर्मावलम्बीका लागि कालीगण्डकी पवित्र स्थान हो, जसले यसलाई चुमीग ज्ञानात् भनेर चिनिन्छ, जसको तिब्बती अर्थ ‘सयौँ पानी’ हो । इसापूर्व दोस्रो शताब्दीमा लुम्बिनीदेखि लोमाङ हुँदै चीनसम्म बुद्ध दर्शनले प्रवेश पाएको तथ्य फेला परेका छन् । बुद्ध मत प्रचारका लागि पहिलो पटक चीन जाने दुई बौद्ध भिक्षु मुस्तङ्गी हुनुपर्छ । तिब्बतदेखि मुस्ताङ हुँदै लुम्बिनीसम्मको सजिलो बाटो कालीको किनारबाहेक अरू सम्भव थिएन ।
कालीगण्डकी जलाधार क्षेत्रले लगभग ११,७७० वर्ग किमी समेट्छ । यसको उचाइगत फरकपन १८८ मिटरदेखि ८१४७ मिटर छ । २३.४ प्रतिशत भूभाग खाली जमिन छ । करिब २३.६ प्रतिशत भूभाग कृषिजन्य छ । ५१.३ प्रतिशत भूभाग वन बुट्यान, ०.४ प्रतिशत भूभाग पानीले ढाकेको र १.३ प्रतिशत भूभाग हिउँले ढाकेको छ ।

आयोजनाको विवरण
आयोजनाअन्तर्गत सिद्धार्थ राजमार्गको रामदीको पुलभन्दा २.३ किमी तल्लो क्षेत्रमा बाँध बाढी २७ र ७ किमी लामो सुरुङ निर्माण गरिनेछ । यी सुरुङमार्फत कुल ८१ घनमिटर पानी बेल्बास र दोभान गाउँमा निकालीनेछ । आयोजनाको लक्ष्य अनुसार १२६ मेगावाट विद्युत् उत्पादन र करिब एक लाख सात हजार हेक्टर क्षेत्रमा सिँचाइ गरिनेछ । प्रारम्भिक अनुमानअनुसार आयोजनाको कुल बजेट १३८ अर्ब हुनेछ ।
ऐतिहासिक तथा सांस्कृतिक, धार्मिक महìवको कालीगण्डकीको पथान्तरण गर्दा यी सम्पदामा पर्ने असरको क्षतिपूर्ति सम्भव छैन । नदीको प्राकृतिक स्रोत मूलतः नदीसँगै बगेर आउने ढुङ्गा, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी क्षत विक्षत बन्दैछ । यसले नदीको दिगोपन घटाई नदीजन्य विपद् बढाउँछ । कालीगण्डकीजस्तो जन्मेदेखि मरेपछिसम्मका सबै परम्पराको स्रोत र स्थलमा हुने अत्यधिक दोहन अस्वीकार्य हुनेछ । आयोजनाकोले दोहनको प्रवृत्ति अझै बढ्ने देखिन्छ । कालीगण्डकी किनारामा नदी र पानीको स्रोतमा प्रतक्ष्य आश्रित धेरै समुदाय प्रकारका छन् । नदीको जलाधार नै परिवर्तन गर्दा प्रतक्ष तथा अप्रतक्ष्य आश्रित जनसङ्ख्या प्रभावित हुनेछन् ।
जलाधार परिवर्तन गर्दा पारिस्थितिक प्रणाली, वनबुट्यान, हावापानी, भूगोल, भूबनोट, जनावर तथा समाजमा प्रभाव गर्छ । यो वैज्ञानिक पक्षलाई हृदङ्गम गर्दा वातावरणीय पक्षमा पर्नसक्ने प्रभावको मिहिन अध्ययन नगरी परियोजना अघि बढाउनु हुन्नथ्यो ।
प्रस्तावित क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रमा कालीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको अध्ययन हुँदैछ । कालीगण्डकी आफैँमा पनि जलविद्युत्का लागि उपयुक्त नदी हो । यस्तो अवस्थामा उक्त नदीको जलाधार परिवर्तन गर्ने आयोजनाको कुल लागत १३८ अर्बभन्दा बढी देखिएको छ । यो लगानी स्वतः बढ्ने देखिन्छ । यत्रो लगानी र प्रतिफलका अन्य विकल्प खोज्ने हो भने पनि त्यसको उपयुक्त लागतमा विकल्प हुन सक्छन् । यो सवाल पनि उतिकै महìवपूर्ण छ । जलाधार परिवर्तन भनेको स्थानीय कार्य मात्रै होइन यसका क्षेत्रीय तथा अन्य प्रभाव पनि हुन्छन् । योसँग जोडिएका जलवायु, हावापानी भूगभ, माटो, चट्टान इत्यादि तथा त्योसँगसँगै समाज पक्षमा जोडिएको विविध विषयलाई पनि यो र यस्ता ठूलो वातावरणीय प्रभाव पर्नसक्ने आयोजनाले मिहिन रूपमा हेर्न सक्नुपर्छ ।
विकासका लागि प्रकृति प्रदत्त स्रोतको समुचित उपयोग हुनुपर्छ । तथापि ती स्रोतहरूको उपयोग गर्दा त्यसका विविध पक्षलाई हेर्नु अनिवार्य हुन्छ । सबै पक्षलाई समुचित हेर्ने पद्धतिलाई वातावरणीय प्रभाव मूल्याङ्कन भन्ने गरिन्छ । यो आयोजना अधिक लागतको त छदैछ सगँसँगै उच्चतम वातावरणीय तथा सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक प्रभाव पार्नेसक्ने आयोजना हो । यसले छोटो तत्काल तथा दूरगामी रूपमा स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरमा जटिल प्रभाव पार्नसक्ने भएकाले प्रभावको उचित मूल्याङ्कन गर्नुपर्छ । त्यस्ता प्रभावलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसको सम्बोधन हुनु जरुरी छ । तबमात्र आयोजना आगाडि बढाउने वा नबढाउने गरी निर्णय हुनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय )रूपमा हँुदै गरेका र भइहेको प्रचलन पनि यही नै हो ।
(वातावरणविद्व पोखरेल कालीगण्डकी जलाधारबारे विद्यावारिधि गर्दैछन् )
(कालीगण्डकी जलाधार क्षेत्र : स्रोत, इसिमोड)