नेपाली आमसञ्चारमा बौद्धिक विमर्श
डा. कुन्दन अर्याल
विश्वव्यापी महामारी कोभिड–१९ का कारण मानिसको चलफिरमा बाधा उत्पन्न भएको पनि दुई वर्ष हुन थालिसक्यो । यही कारण आमसञ्चारका रूप र विषयवस्तुसमेत प्रभावित भइरहेका छन् । यस अवधिमा इन्टरनेटमा आधारित अनलाइन माध्यम सहज र मितव्ययीसमेत साबित हुन थालेका छन् । त्यसैले पाठक, श्रोता र दर्शकको आकर्षण अनलाइन माध्यमतर्फ बढिरहेको छ । परम्परागत रूपमा छापा, श्रव्य वा दृष्यका माध्यम रेडियो वा टेलिभिजनबाट उपलब्ध हुने विषयवस्तुको प्रसार गर्ने जिम्मा अब धेरै हदसम्म अनलाइन प्रविधिले लिइसकेको देखिन्छ तर अनलाइन माध्यमको बढ्दो प्रचलन र विकाससँगै नेपाली आमसञ्चार जगत्मा गहन एवं घटनाको पृष्ठभूमिबारे बताउने विस्तारित सामग्री घट्दै जान थालेका छन् । अहिलेका आमसञ्चार माध्यममा अति संक्षिप्त र छरिएका टुक्राटाक्री सामग्री नै बढी प्रसारित भएका देखिन्छन् । सम्पादनका आवश्यक प्रक्रिया पूरा गरेर मात्र सामग्री तयार गर्ने विश्वसनीय र भरपर्दो माध्यमभन्दा बढी अविश्वसनीय र अघिपछि नचिनिएका आमसञ्चार माध्यमका सामग्रीको सामाजिक सञ्जालहरूबाट समेत प्रसार भइरहेको देखिन्छ ।
झन्डै एक दशकयता नेपालमा पनि निकै व्यापक रूपमा पढिने, सुनिने वा हेरिने सामग्रीको प्रस्तुतिका लागि विभिन्न माध्यमको प्रयोग गरिँदै आएको छ, आमसञ्चार माध्यमहरू विज्ञान र प्रविधिको विकाससँगसँगै विस्तारित हुँदै गएका छन् तर प्रविधिको प्रयोग वैचारिक र गहन विश्लेषणभन्दा धेरै तत्कालका सूचनाहरूको सङ्कलन र प्रस्तुतिमै बढी भइरहेको देखिन्छ । समाजको बौद्धिक परम्परालाई तत्कालका सूचना भनेर पस्किने गरिएका सतही, अपरिष्कृत र अपुष्ट सामग्रीले अगाडि बढाउन सक्दैन ।
नेपाली समाजमा निरङ्कुश शासन सत्ताको कालमैसमेत साहित्य, संस्कृति वा सामाजिक विषयवस्तुलाई समेटेर आवधिक पत्रिका निस्किने गर्दथे । राणाकालमा नै नेपालको पहिलो अखबारका रूपमा गोरखापत्र प्रकाशनको थालनी हुनुभन्दा झन्डै तीन वर्ष पहिले नेपाली भूमिबाटै पहिलो आवधिक पत्रिकाका रूपमा निस्किएको सुधासागर यस्तै म्यागेजिन भन्न मिल्ने किसिमको थियो । १९५५ साल साउनमा साहित्यकार मोतिराम भट्टको पहलकदमी र सम्पादनमा सुरु भएको यो मासिक पत्रिकाको अभिलेख अहिलेसम्म कतै पाइएको छैन तर इतिहासकार बाबुराम आचार्यलेसमेत यसको केही अङ्क आफ्नो सङ्कलनमा थियो भन्ने बताइसक्नुभएको छ । निरङ्कुशकालमा पनि आलोचनात्मक राजनीतिक विषय बेगरका त्यस्ता आवधिक पत्रिकाप्रति थोरै उदारता देखाइन्थ्यो । त्यस्ता पत्रिकाले राणा शासकका जन्मदिनका अवसरमा वा अन्य कुनै अवसरमा विशेषाङ्क पनि निकाल्थे । त्यसपछिका दिनमा पनि यस्ता आवधिक पत्रिकाले निरन्तरता पाए । राणाकालका शारदादेखि पछिका रुपरेखा र अन्य कैयौँ आवधिक पत्रिकाले भाषाको विकास र बौद्धिक गतिविधिलाई गति प्रदान गरे । १९९१ सालमा सुरु भएको शारदाले नेपालमा सिद्धहस्त लेखकहरू जन्मायो ।
वि.सं. २००५ मा कठोर बन्देजको परिवेशमा पनि लेखक श्यामप्रसाद शर्माले वीरगञ्जबाट सेवा मासिक प्रकाशन गर्न अनुमति मागेका थिए । राजधानीबाट उनलाई राणा शासनको अन्त्यपछि मात्र इजाजत प्राप्त भयो र २००८ साल साउन महिनामा सम्पादक शर्माको सेवा मासिकको पहिलो अङ्क बनारसमा छापियो । पञ्चायतकालीन समयमा भानुलगायतका कैयौँ आवधिक पत्रिकाले साहित्यिक अभियान पनि चलाए । सामयिक सङ्कलन भनेर दर्ता नगरी आवधिक पत्रिका प्रकाशन गर्ने चलन पनि थियो । अप्रत्यक्ष भाषामा त्यस्ता आवधिक पत्रिकामा बहुलवादी राजनीतिक संस्कार वा सामाजिक न्याय र मानवतावादी सोचसँग सम्बन्धित विषयले पनि ठाउँ पाउँथे । खासगरी २०३५–३६ को जनआन्दोलनका हाराहारीमा वा त्यसपछि देशको राजनीतिक तापमानलाई सांस्कृतिक अभियानमार्पmत बढाउने क्रममा कैयौँ यस्ता पत्रिका देखिन थाले ।
सञ्चार, साहित्य र संस्कृतिको अन्योन्याश्रित सम्बन्ध छ । साहित्य र संस्कृति राजनीतिक प्रणालीसँग पनि जोडिएका हुन्छन् । अभिव्यक्तिको संस्कृति, बन्देजको संस्कृति, लोकतन्त्रको संस्कृति, गणतन्त्रको संस्कृतिलगायतका यावत प्रकृतिका संस्कृति हुन्छन् । साहित्य सँगसँगै संस्कृतिलाई अगाडि बढाएर त्यस्ता आवधिक पत्रिकाको प्रकाशनले नेपाली समाजमा आलोचनात्मक चेत वा चिन्तनको परम्परालाई पनि बल पु¥याएको थियो । ती आवधिक पत्रिकाले साहित्यको आवरणमा सामाजिक न्यायका पक्षमा पञ्चायत विरोधी सामग्री पस्किन्थे । प्रगतिशील साहित्यमार्पmत प्रजातन्त्रका पक्षमा आवाज मुखरित गर्न त्यस्ता नियमित प्रकाशन वा म्यागेजिनले उल्लेखनीय योगदान गरे ।
सामाजिक न्याय, न्यायपूर्ण संस्कृति अनि न्याय र समानताको संस्कृतिलाई प्रवद्र्धन गर्ने ध्येयका साथ प्रगतिशील साहित्यमार्फत उद्देश्यमूलक ढङ्गले कैयौँ आवधिक पत्रिकाका प्रकाशनले निरन्तरता पाउँदै गए । पञ्चायतको दबदबा भएको बेलामा पत्रिका दर्ता गर्न कठिन थियो । तर आवधिक र उद्देश्यमूलक पत्रिका सामयिक सङ्कलनका रूपमा प्रकाशन गर्ने प्रचलन थियो । यस्ता पत्रिकाले साहित्य–संस्कृतिको आडमा राजनीतिक रूपान्तरणका विषय उजागर गर्थे । बहुलवादी संस्कृतिको प्रवद्र्धनका लागि यस्ता पत्रिका प्रकाशन गरिन्थे । बोल्न लेख्न पाउने अधिकारका साथै मानव अधिकार, सामाजिक न्यायका विषयलाई साहित्यको माध्यमबाट समाजवादी वा मानवतावादी सोचको आधारमा पनि प्रस्तुत गर्ने गरिन्थ्यो । गरिबी र अभाव, शोषण, असमानता र दमनका कुरा त्यतिबेलाका साहित्यमा प्रशस्तै आएका छन् ।
राजनीतिका खेलाडीहरूका हरेक गतिविधिलाई नियाल्नु पत्रकारिताको कर्तव्य हो । यसो गरेर पत्रकारिताले गलत काम कारबाहीलाई उजागर गर्न सक्दछ वा सर्वसाधारणलाई विकल्पहरूका बारेमा बताउन सक्दछ तर तुलनात्मक रूपमा कम बजेटमा मानिसको हात–हातमा पुग्ने अनलाइन माध्यमहरूलाई आत्मप्रचार वा दुष्प्रचारको साधन बनाउने काम भने पत्रकारिता होइन तर नेपालमा सामाजिक जीवनका विविध क्षेत्रसँग सम्बन्धित अवधारणागत विषयवस्तु वा कारण–परिणामको गहन विश्लेषण झनै विस्थापित हुँदै गएको देखिन्छ । नेपाली पत्रकारितामा आज फुर्सदमा आनन्दले पढ्ने म्यागेजिनहरू हराउँदै गइरहेका छन् । समसामयिक प्रवृत्तिलाई केलाउने, विश्लेषण गर्ने वैचारिक पत्रिका हरेक सचेत नागरिकका लागि सन्दर्भ सामग्री बन्न सक्दछ । अनुसन्धानका वैज्ञानिक विधिहरू प्रयोग गरेर तयार गरिएका सामग्री आम रूपमा बजारका लागि लक्षित हुँदैनन् तर प्रश्नहरूको पनि कुनै तयारी नगरी चलाइएका रेडियो वा टेलिभिजन अन्तर्वार्ता अनि आरोप र प्रत्यारोपका गन्थनमा आमजनतालाई अल्मल्याइरहनु पनि त व्यावसायिक पत्रकारिता होइन । त्यसैले समाचारका नाममा टुक्राटुक्री र सतही सामग्रीको अत्यधिक भार बोकी रहेको नेपाली पत्रकारितालाई अझ उन्नत बनाउन घटना र प्रवृत्तिका कारण र परिणाम खोज्न गहिराइमा डुबुल्की लगाउन प्रेरित गर्ने पहलको आवश्यकता छ । म्यागेजिनका विस्तारित सामग्री पढ्ने बानी परेका पाठकले अन्तर्दृष्टि पाउँछन् । सुन्ने वा हेर्ने मिडिया लोकप्रियताको कसीमा माथि अवश्य हुन्छन् तर मानिसले अन्तर्दृष्टि पठनबाटै पाउँछन् । लेखिएका सामग्रीबाट जानकारी वा ज्ञान पाउन एकाग्रता चाहिन्छ । त्यसैले सभ्य र सुशिक्षित समाजमा विशिष्ट पहिचानका म्यागेजिनहरूको आवश्यकता महसुस गरिन्छ । विकसित संसारको कुरा गर्ने हो भने हिजोका छापा म्यागेजिन, गहन किताब वा जर्नलहरू आज अनलाइनमा उपलब्ध हुन थालेका छन् । नेपालमा पनि न्यू मिडिया र अनलाइन माध्यमलाई जीवनोपयोगी र सार्थक बनाउन नेपाली बौद्धिक जमात र पत्रकारिताले मिहिनेत गर्नुपर्ने प्रस्टै देखिँदैछ । कुनै पनि समाज जति बढी सुशिक्षित र विकसित हुन्छ, पत्रकारितामा त्यति नै बढी परिमाणमा विशिष्ट सामग्रीहरू देखिन थाल्छन् । २०४६ सालपछि नेपालमा पनि सामाजिक परिवर्तनसँगै चेतनास्तरमा आएको परिवर्तनले विशिष्ट पत्रिकाहरूको माग बढ्न थालेको थियो । प्रजातन्त्रको पुनःस्थापनापछि यस्ता पत्रिकाहरूको प्रकाशन सुरु भएको पनि देखिन्थ्यो तर अहिले आमरूपमा नेपाली पत्रकारिताको प्रवृत्ति त्यस्तो देखिँदैन ।
अहिलेको जमानामा म्यागेजिनहरू पनि अनलाइनमा उपलब्ध हुनुपर्छ, डिजिटल वा अनलाइन पुस्तकालयको प्रचलन अझ बढ्नु पर्दछ । आज पाठ्य सामग्रीहरूको डिजिटल उपस्थिति अनिवार्य छ । किनकी, समयअनुसार विज्ञान र प्रविधिले विभिन्न माध्यम उपलब्ध गराएको छ तर विज्ञान प्रविधिले सुविधा उपलब्ध गराउनु, मानव जातिको क्षमतामा विस्तार गर्नु र त्यस्तो सुविधा बहुसङ्ख्यक मानिसका लागि उपलब्ध हुनु फरक कुरा हो । नेपाली परिवेशमा अझै पनि छापा संस्करणलाई कायम राख्दै प्रकाशित सामग्रीलाई इन्टरनेटमार्फत डिजिटल फरम्याटमा पनि सकेसम्म प्रसार गर्नु पर्दछ । परिष्कार र परिमार्जन त गतिशीलताको परिचायक हो तर पत्रकारिता र सार्वजनिक वृत्तले प्रोत्साहित गर्ने बौद्धिक विमर्श र आलोचनात्मक चेतको मूल प्रवृत्ति र प्रकृतिलाईचाहिँ जोगाउनुपर्छ । वैचारिक र विश्लेषणात्मक पत्रिकाहरूले यो दिशामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । त्यसैले हरेक क्षण भन्ने अर्थमा अनलाइनमा मात्र हल्काफुल्का सामग्री पस्किएर पुग्दैन, केही अन्तर्दृष्टि प्रदान गर्ने सामग्रीसमेत समेटिएका पत्रिका अनलाइन माध्यमबाट पनि पढ्न सकिने व्यवस्था गर्नुपर्छ ।
पत्रिकाले कतिपय विषयमा विमर्श चलाउने हिसाबले सम्पादकीय मतभन्दा पृथक् विचारलाई पनि स्थान दिए हुन्छ । त्यस्तो अवस्थामा सम्पादकीय यहाँ उठाइएका सबै विषयमा सम्पादक मण्डल सहमत हुनुपर्ने कुनै जरुरत छैन भन्ने अस्वीकरण वा ‘डिस्क्लेमर’ राखेर भए पनि गहन वैचारिक छलफल गर्ने सार्वजनिक वृत्तका रूपमा अगाडि बढाउन सकिन्छ । अनलाइन वा छापा त माध्यम न हुन्, माध्यम वा साधन प्राथमिक विषय होइन । विषयवस्तु प्राथमिक कुरा हो, अनि विषयवस्तुको वितरण पनि उत्तिकै महìवपूर्ण पक्ष हो । समाजलाई अगाडि बढाउने संस्कार र संस्कृति अनि लोकतान्त्रिक चरित्र एवं आलोचनात्मक चेतलाई प्रोत्साहित गर्ने वैचारिक खुराक उपलब्ध गराउने दायित्व पनि आमसञ्चार माध्यमकै हो । यस सन्दर्भमा मूलतः आवधिक पत्रिकाहरू प्रभावकारी साबित भइसकेका छन् ।