तेस्रो लहरअघिको नेपाली पर्यटन
चेतनाथ कणेल ‘हरित’
नेपाल कोरोनाको दोस्रो लहरको समाप्तितिर लागेको छ । नयाँ वर्ष २०७८ वैशाख सुरुदेखि नेपालमा बढ्दै गएको कोरोना (कोभिड–१९)को दोस्रो लहरले वैशाखको पहिलो हप्तादेखि मुलुकका विभिन्न भागमा लगाइएको निषेधाज्ञा (लकडाउन) राजधानी उपत्यकामा १६ गतेदेखि लागू गर्नुपर्ने बाध्यात्मक अवस्था आयो । हेर्दाहेर्दै यो अवधि करिब तीन महिना पुगेको छ । पहिलो लहर सङ्क्रमितको निधनको सङ्ख्यात्मक दृष्टिले त्यति भयावह भएन । त्यसको तुलनामा दोस्रो लहरले धेरै मानवीय क्षति ग-यो । साउन १२ गतेसम्म नेपालमा करिब १० हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ । देशभर करिब सात लाख मानिस सङ्क्रमित छन् । तिनमा करिब साढे ५ प्रतिशत अझ पनि सङ्क्रमणबाट उम्कन नसकेको अवस्था छ । हालसम्म नेपालमा निको हुनेको दर सरदरमा साढे ९४ प्रतिशत छ भने मृत्युदर कुल सङ्क्रमणको १.५ प्रतिशत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल पनि करिब २८ हजार व्यक्ति सक्रिय सङ्क्रमित उपचाररत छन् ।
विश्व नै कोरोनाका कारण नराम्ररी आतङ्कित बन्न पुगेको छ । नेपालमा करिब १० हजारको मृत्यु हुँदा अमेरिका, ब्राजिल र भारतको मृत्यु तथ्याङ्क नियालेर हेर्ने हो भने हामी झनै आतङ्कित बन्न पुग्छौँ । कोरोनाको विश्व रेकर्ड अवधिक रूपमा राख्ने संस्थाहरूमध्ये एक ‘वल्र्डोमिटर’का अनुसार साउन १२ गते अर्थात् २७ जुलाईको बिहानसम्म विश्वमा सबैभन्दा बढी मानिस मर्ने पाँच देशमा अमेरिका पहिलो स्थानमा छ, जहाँ कुल मृत्यु सङ्ख्या छ लाख २७ हजार पुगेको छ । दोस्रोमा ब्राजिल (पाँच लाख ५० हजार) छ भने तेस्रोमा भारत (चार लाख २१ हजार) छ । यसैगरी चौथोमा मेक्सिको (दुई लाख ३८ हजार) छ भने पाँचौँमा पेरु (एक लाख ९६ हजार) रहेको छ ।
यो सङ्ख्या कुन बेला कुन देशमा ह्वात्तै यताउति हुने हो, त्यो कसैले यकिन गर्न सक्ने अवस्था छैन । किनकि केही विकसित देशले आफ्ना जनतालाई उल्लेख्य मात्रामा खोप लगाएको भए पनि गरिब, अल्पविकसित तथा अविकसित मुलुकका करोडौँ जनता अहिलेसम्म पनि खोपबाट वञ्चित छन् । नेपालमा पनि अनेक प्रयास गर्दागर्दै पनि हालसम्म करिब १०/१५ प्रतिशतले मात्र खोप लगाउने अवसर भेटेका छन् ।
विश्वव्यापी सङ्क्रामक रोग कोरोनाले विकसित, कम विकसित तथा अविकसित कुनै पनि मुलुकलाई छाडेको छैन । हरेक राष्ट्र कोरोनाको कहरले पीडित बनेका छन् । अर्थतन्त्र, रोगजारी, आयका अवसर सबै चौपट छन् । पर्यटनलाई झनै थला पारेको छ । विश्वकै पर्यटकीय केन्द्र मानिने फ्रान्सको पेरिस, अमेरिकाको हवाई, बेलायतको लन्डन, भियतनामको दानाङ तथा ह्यालोङवे, थाइल्यान्डको बैङ्कक तथा भारतका गोवाजस्ता ठाउँमा सन् २०२० को मार्चपछिको पर्यटनमा ६० देखि ८० प्रतिशतको गिरावट आएको बताइन्छ । नेपालकै प्रख्यात पर्यटकीय गन्तव्यहरू काठमाडौँ, पोखरा, लुम्बिनी, सौराहा, खुम्बुक्षेत्र, लाङटाङ क्षेत्र तथा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटन व्यवसायले अत्यधिक मार खान परेको छ । व्यवसायीहरूका अनुसार करिब ८० देखि ९० प्रतिशत नै गिरावट आएको छ । केवल १०–२० प्रतिशत पर्यटकीय चहलपहलले व्यवसाय धान्न निकै कठिन छ । फलतः घरजग्गाको भाडा बुझाउने, कर्मचारीलाई न्यूनतम तलब दिएर थमाउने, बैङ्क तथा वित्तीय संस्थाको ब्याज एवं ऋणको किस्ता तिर्ने काममा निकै कठिनाइ उत्पन्न भएको छ ।
उपाय के त ? माथि पनि भनियो, ‘आहतलाई राहत’ । यो पहिलो उपाय हो । कोरोना कहरबाट थलिएका व्यवसायीहरूलाई सरकारले विविध प्रकारका छुट र सहुलियत दिने प्रावधान आ.व. २०७७/७८ को बजेटबाटै ल्याएको हो । यो वर्ष अर्थात् आ.व. २०७८/७९ को बजेटमा पनि त्यस्ता प्रावधान जारी छन् । साथै उपयुक्त मौद्रिक नीतिबाट पनि केही हदसम्म उद्योगी–व्यवसायीलाई राहत दिने प्रयास गरियो । आ.व. २०७८/७९ का लागि तयार गरिँदै गरेको मौद्रिक नीतिले पनि त्यस्ता सवाललाई अघिल्लो वर्षभन्दा पनि अझ अपेक्षित र प्रगतिशील ढङ्गले सम्बोधन हुने प्रतीक्षा सरोकारवालाहरूले गरेका छन् ।
कोरोनाको पहिलो लहर ‘मत्थर’ भएको बेला पर्यटन बजारमा केही ‘हरियो बत्ती’ बलेको आभास धेरैले गरेका थिए । त्यो बेला बाह्य पर्यटक तत्काल आउन नसक्ने अवस्था भए पनि आन्तरिक पर्यटकको आगमनमा बढोत्तरी हुँदा इलाम, धनकुटा, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बन्दीपुर, लमजुङका विभिन्न ग्रामीण पर्यटकीय (होमस्टे) गन्तव्यहरू तथा रारा क्षेत्र एवं खप्तड क्षेत्रजस्ता पर्यटनमा नाम कमाएका गन्तव्यहरूमा पर्यटकीय चहलपहल र आर्थिक कारोबार बढ्न थालेका थिए । पर्यटन साँच्चिकै ‘लय’मा फर्कन लागेको हो कि भन्ने आभास पनि धेरैलाई भएको थियो तर २०७८ साल लाग्नासाथ फेरि कोरोनाको दोस्रो लहरले हामीलाई गाँज्न थाल्यो । पर्यटकीय चहलपहल फेरि शून्यमा झ-यो ।
२०७८ को सुरुदेखि बढेको कोरोनाको दोस्रो लहर असारको मध्यतिर आउँदा केही घट्न थाल्यो । स्वास्थ्य मापदण्ड अपनाएर ‘कर तिरौँ’ भन्ने सरकारको अघोषित अभियान सफल पनि भएको छ । साउन ९ गतेदेखि सार्वजनिक यातायातसमेत खुलेको अवस्थाले अब नेपालभर नै आर्थिक गतिविधि, घुमघामका अवसरहरू बढाएका छन् । रेस्टुरेन्टले ‘टेक–अवे’ चालू राखेका छन् । अब होटल, लज पनि बिस्तारै खुल्ने अवस्था आएको छ । ‘स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर, आफ्नो व्यवसाय चलाउँदै गर’ भनेर साउन तेस्रो हप्तादेखि सरकारले भन्नैपर्ने अवस्था आएको छ । यहीबीचमा कलेजका जाँच, कक्षा १२ का जाँचहरू पनि भौतिक रूपमा नै सम्पन्न हुनेछन् । स्कुल, कलेज, फिल्म हल, पार्टी प्यालेसजस्ता भीडभाड हुने क्षेत्र नखुले पनि सार्वजनिक यातायात, रेस्टुरेन्ट, होटल, लज, रिसोर्ट, होमस्टे आदि पर्यटकीय आवास सुविधाको खुलाइसँगै घरबाट निस्कन आतुर युवापुस्ता फेरि एक पटक ह्वात्तै बाहिर निस्कने छ । यस्ता गतिविधिले नेपालभर ‘आन्तरिक पर्यटन’को चहलपहल बढ्ने अवस्था आएको छ ।
स्वास्थ्यविज्ञहरू भन्दैछन्, भदौको अन्त्यदेखि (मध्य सेप्टेम्बर) नेपालमा कोरोनाको तेस्रो लहर आउने निश्चित छ, तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित पार्नेछ । यदि त्यो परिदृश्य सुनिश्चित छ भने साउन मध्यदेखि भदौ अन्तिम हप्तासम्मको करिब छ हप्ताको समयमा नेपालमा ‘आन्तरिक पर्यटन’ फेरि एक पटक विगतमा जस्तै बढ्ने छ । थला परेको पर्यटन क्षेत्र अलिकति भए पनि तङ्ग्रिने छ । पर्यटन व्यवसाय बढ्नु भनेको अरू धेरै उद्यम–व्यवसाय पनि बढ्नु हो । भनिन्छ, एक जना पर्यटकले अन्य १० देखि १३ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको हुन्छ । पर्यटन जाग्दा समाज नै जागेको अनुभूति हुन्छ ।