विचार/दृष्टिकोण |

मेलम्चीको पाठ(सम्पादकीय)

दुई दशकभन्दा लामो समय र ३५ अर्ब रुपियाँ खर्च गरेर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचनामा असार १ र साउन १७ गतेको बाढीपहिरोले ठूलो क्षति पु-याएको छ । २०७७ चैत २० गते राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन भएको थियो । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी भिœयाइएको करिब चार महिनामै बाढीपहिरोका कारण बन्द भएको छ ।
बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, प्रवेश मार्ग र पुललगायतका संरचना क्षति पु-याएको छ । आयोजनाको मुहान क्षेत्रका संरचना बालुवा, ढुङ्गा, गिट्टीले पुरिएका छन् । पहुँचमार्गको आठ किलोमिटर सडक र पुल बगेको छ । परीक्षणका लागि पानी बन्द गरिएको अवस्थामा बाढी आएकाले सुरुङलाई धेरै क्षति नगरेको अनुमान गरिएको भए पनि अम्बाथानको दुई सय मिटर लामो सहायक सुरुङ टालिएको छ । विस्तृत अध्ययन नभए पनि आयोजनामा करिब तीन अर्ब रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिग्रस्त संरचनाको मर्मत सुधार, अस्थायी वा स्थायी संरचना बनाउन वर्षौं लाग्ने देखिएको छ । हेडवक्र्ससम्म पुग्ने बाटो नबनाई मुहान क्षेत्रमा पुग्नसक्ने अवस्था छैन । माथिल्लो क्षेत्रमा पहिरो जाने क्रम नरोकिएकाले अझै नदी थुनिने र बाढी आउने जोखिम घटेको छैन । पहिरो नरोकिएसम्म कुनै काम गर्न सक्ने स्थिति छैन ।
आयोजनाको निर्माणस्थलसम्म पुग्ने स्थिति नभएकाले यो विपत् आउनुको कारण र क्षतिको आकलन हुन सकेको छैन । हवाई निरीक्षण र स्याटलाइट तस्बिरले माथिल्लो तटीय क्षेत्रको स्थिति भयावह देखाएको छ । सरकार र एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका संस्थाका विज्ञको प्रारम्भिक अध्ययनमा हिमताल फुटेको, धेरै वर्षा, भू–स्खलनजस्ता विभिन्न कारणले बाढीपहिरो आएको निष्कर्ष निकालिएको छ । कमजोर मानिएको सिन्धुपाल्चोक क्षेत्रको भौगर्भिक बनावटलाई २०७२ सालको भूकम्पले अझै कमजोर बनाएको छ । मेलम्ची र इन्द्रावती नदीको माथिल्लो तटीय क्षेत्र पहिरो प्रकोपको उच्च जोखिम भएको क्षेत्र हो । बस्ती र पूर्वाधार विकासलगायतका मानवीय क्रियाकलापले जोखिम बढाएको थियो । मेलम्ची भएर बग्ने मुख्य नदीको उद्गमस्थल हिमाली क्षेत्रमा रहेको र जलवायु परिवर्तनको असरले हिउँ पग्लिने क्रम बढ्दा हिमताल जोखिममा रहेको पहिले नै गरिएका केही अध्ययनले देखाएको थियो । तर यी जोखिमलाई समयमै आकलन नगरिनु र भौगर्भिक तथा वातावरणीय अध्ययनलाई गम्भीरतापूर्वक नलिनु कमजोरी हो । अर्बाैं रुपियाँको लागतका भौतिक संरचना बनाउँदा र बस्ती विकास गर्दा माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अध्ययन गर्ने र ती पूर्वाधारको नियमन गर्ने काम शून्य बराबरकै स्थितिमा छ । ३५ वर्षअघि अध्ययन गरिएको मेलम्ची आयोजनाको यो पक्षलाई गम्भीरतापूर्वक नलिएको हुन सक्छ । २०७२ सालको भूकम्पपछि पनि जोखिमको अध्ययन भएको देखिँदैन ।
मेलम्ची खानेपानी आयोजनाले भोग्नुपरेको यो प्राकृतिक विपत्तिले विज्ञ, योजनाकारको आँखा खोल्नुपर्छ । माथिल्लो क्षेत्रका सम्भावित प्रकोपलाई सही तरिकाले विश्लेषण नगरी बनाइएका ठूलठूला पूर्वाधार संरचनाले प्राकृतिक प्रकोपको जोखिम बेहोर्नुपर्ने सङ्केत यो घटनाले देखाएको छ । ठूलो धनराशि र समय खर्च गरेर निर्माण गरिने आयोजनालाई त्यस क्षेत्रको भौगोलिक, भौगर्भिक र वातावरणीय अवस्थाले पार्नसक्ने प्रभावबारे विस्तृत अध्ययन हुनुपर्ने आवश्यकता देखाएको छ । माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरी व्यवस्थित भू–उपयोग नीति लागू नगर्दा जोखिम बढ्ने देखिएको छ । त्यसैले मेलम्चीजस्तै अरू आयोजनामा सचेत हुनुपर्ने देखिएको छ । यस्तै विपत्ति दोहोरिन सक्ने स्थानको पहिचान, प्रकोप व्यवस्थापन र समग्रमा विपत्को जोखिम न्यूनीकरणमा विशेष ध्यान जानुपर्ने देखिन्छ । मेलम्ची आयोजनाको विस्तृत अध्ययन गरी क्षतिको विवरण र कारण खोजिनुपर्छ । यस क्षेत्रको ‘जियोलोजिकल’ र ‘हाइड्रोलोजिकल’ अवस्थामा विस्तृत अध्ययन गरेर मात्रै आयोजनाको बाँकी काम अगाडि बढाउनुपर्छ । मेलम्ची आयोजना पुनः सञ्चालन हुन निकै समय लाग्ने भएकाले काठमाडौँको खानेपानी आपूर्तिका लागि वैकल्पिक स्रोत पहिचान हुन आवश्यक छ ।