विचार/दृष्टिकोण |

सौन्दर्यको खानी दूधकुण्ड

बबि बस्नेत


नयाँ–नयाँ ठाउँमा घुम्न जानु, रमाउन पाउनु कसको इच्छा हुँदैन र ! त्यो ठाउँ जहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण होस् र अझ धार्मिक, सांस्कृतिक महìवको स्थल होस् त्यति भए त सुनमा सुगन्ध भइहाल्यो । सोलुखुम्बु आफैँमा एक सुन्दर जिल्लाका रूपमा विश्वमा परिचित छ । उल्लेख्य हिमशृङ्खला र तालतलैया रहेको यो जिल्ला बहुल जाति, भाषा, धर्म र संस्कृतिले पनि त्यतिकै धनी छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र त्यसको आरोहण गर्ने तेन्जिङ नोर्गे र पासाङ ल्हामु शेर्पाले त झन् यो जिल्लालाई मात्र होइन, नेपाललाई नै विश्वसामु चिनाउनुभएको छ । प्राकृतिक एवं धार्मिक हिसाबले महìव बोकेको यस जिल्लाको छुटाउनै नहुने ठाउँमध्यकै एक हो– दूधकुण्ड ।

साउन महिनाको पहिलो सोमबार दूधकुण्ड पुग्ने योजनाअनुसार सोलुखुम्बुको सल्लेरीबाट यात्रा प्रारम्भ भयो । काठमाडौँबाट बीपी राजमार्गको खुर्कोट हुँदै सिद्धिचरण राजमार्गबाट सल्लेरी आइपुगेर हवाईमार्गबाट आउँदा फाप्लु एयरपोर्टमा अवतरण गरिसकेपछि दूधकुण्डको यात्रा थालनी गर्न सकिन्छ । सल्लेरीबाट उत्तरतर्फ रिङमुसम्म कच्ची बाटोको ट्र्याक खोलेकाले बोलेरो गाडीमा नै रिङमुसम्म पुगौँ । यसो त हिँड्न मन पराउनेहरूका लागि भने फाप्लु, चिवाङ, फेरा हँुदै करिब चार–पाँच घण्टामा रिङमु पुग्न सकिन्छ । रिङमुबाट करिब दुई–तीन घण्टाको पैदल यात्रा गरेपछि सरकारी पाटी पुगिन्छ । जनैपूर्णिमाका अवसरमा दूधकुण्ड जाने तीर्थयात्रीको सङ्ख्या धेरै हुने भएकाले गोरेटो÷घोरेटो बाटोमा हिँडेका तीर्थयात्री देख्दा लाग्छ, कतै कमिलाको ताँती हिँडिराखेको त छैन ।
कतिपयलाई लेक लाग्ने समस्या हुन्छ त कोही बिरामी नै पर्ने गर्छन् । तसर्थ आफूलाई चाहिने औषधि, न्यानो कपडा, पानीको बोतल, लट्ठी र ड्राई फुड्स बोक्नु राम्रो । सरकारी पाटीबाट करिब तीन घण्टाको उकालै उकालो यात्रापश्चात् तीन हजार ८६० मिटरको उचाइमा कामीडाँडा पुगिन्छ । कामीडाँडाबाट उकालो र तेस्रो बाटो हिँडेपछि जोङले खोला, गामटाङ हुँदै सहस्रबेनी आई बास बस्यौँ । बाटोमा हिँड्दा प्रकृतिले दिएका अनुपम दृश्य जस्तै अग्ला–अग्ला पहाड, सुन्दर झरना, विभिन्न जातका फूल, पशुपन्छी, चौँरीगाईको दूध र छुर्पी यात्राका सम्झनलायक मिठा अनुभूति हुन् । बिहानै ५ बजे सहस्रबेनीबाट करिब तीन घण्टाको ठाडो उकालोपछि दूधकुण्ड आइपुग्यौँ ।

दूधकुण्ड सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१ मा अवस्थित विशाल नुम्बुर हिमालको काखमा रहेको छ । ताल समुद्र सतहबाट करिब ४६३२ मिटर उचाइमा अवस्थित छ । यो तालको अतिरिक्त यसको आसपास गङ्गाजमुना ताल, भूतपोखरी ताल, आँखेपोखरी ताल, महाकुण्ड ताल दसवटा स–साना ताल रहेका छन् । हिन्दु, किराँती तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरका रूपमा लिइने यो ताल धार्मिक दृष्टिले निकै महìवपूर्ण छ । प्रकृतिको अनुपम उपहार र आस्थाको धरोहर दूधकुण्डलाई धार्मिक सहिष्णुताको प्रतीक मानिन्छ । दूधकुण्ड ताल पत्ता लागेको समय ठ्याकै भन्ने अवस्था नभए पनि करिब–करिब एक शताब्दीअघि वर्षायाममा चौँरी गोठ लिएर जाने चौँरी गोठालाले पत्ता लगाएको विश्वास गरिन्छ । चौँरीगाईले आफ्नो थुनबाट दूध लामो समयसम्म निकालिरहेको हुँदा दूधैदूधको कुण्ड दूधकुण्ड बन्न पुगेको हो भन्ने भनाइ प्रख्यात भए पनि यस स्थानको उत्पत्तिका सम्बन्धमो भिन्दाभिन्दै किंवदन्ती, पढ्न र सुन्न पाइन्छ ।

बौद्धमार्गीको भनाइअनुसार परापूर्वकालमा चीनबाट आएका मन्जुश्रीले काठमाडौँ उपत्यकामा रहेको पानीको केही भाग चोभारको डाँडा काटेर बाहिर पठाएपछि बाँकी रहेको पानी यहाँ ल्याएर लुकाइराखिएको र पछि त्यही पानीबाट कुण्ड बन्न गएको हो । त्यस्तै तिब्बत र नेपालका विभिन्न धार्मिक गुरुहरू यस स्थानलाई पवित्र धार्मिक आस्थाको थलो मान्ने र तपस्या गर्ने गर्दथे पनि भनिन्छ । बौद्धमार्गीहरूले यहाँ बुद्धको प्रतिमा स्थापना गरी बर्सेनि पूजाआजासमेत गर्दै आएका छन् ।
हिन्दु धर्मावलम्बीको भनाइमा देवता र असुरका बीच अमृत प्राप्तिका लागि समुद्र मन्थन हुँदा कालकुट नामक विष उत्पत्ति भएको हो । विषले सारा जगत् नै समाप्त हुन लागेपछि भगवान् शिवले उक्त विष पिउनुभयो । विषले औडाह भयो । शिवको प्रतापले दूधकुण्ड उत्पत्ति भयो । त्यहीँको जडीबुटी मिश्रित पानी पिएर शिवले पिउनुभएको विष मत्थर भएको विश्वास गरिन्छ । पौराणिककालका कथाहरूमा उल्लेख गरिएका चन्द्राचल र द्रोणाचल पर्वत र त्यसमुनिको कुण्डलाई प्रतिविम्बित गर्ने नुम्बुर र कारेलुङ हिमाल र दूधकुण्ड ताललाई हेर्दा समुद्र मन्थन यही स्थानमा भएको हो भन्न सकिन्छ । त्यस्तै भगवान् रामको कान्छो भाइ लक्ष्मण लङ्का युद्धका बेला मृत्युशøयामा पुगेको हुँदा ऋषिमुनिहरूले हनुमानलाई तीनवटा बुटी ल्याउन आग्रह गरे । सञ्जीवनी बुटी, समबन्धिनी बुटी र विशल्या बुटी । ऋषिमुनिले ती बुटी शिर कुण्डको वरिपरि पाइने र शिर कुण्ड चन्द्रमा जस्तै देखिने चन्द्राचल र कैलाशजस्तै देखिने द्रोणाचलमुनि रहेको बताए, जो अहिले नुम्बुर र कारेलुङ हिमालको नामले परिचित छ । आज पनि शिर कुण्ड यसैको काखमा अवस्थित छ ।
किराँत धर्मवलम्बीको भनाइमा खालिङ्ग राईको उद्गम क्षेत्र आज पनि खुलु क्षेत्रलाई मानिन्छ । बाजे खुलुह्याङका दुई छोरा माप्पे र दिक्पेमध्ये दिक्पे सोलु खोला हुँदै दूधकुण्ड पुगेर बासस्थान रोजेको विश्वास गरिन्छ । मुन्धुमअनुसार मृत्युसंस्कारमा मृत्युपश्चात् मृतक आत्मालाई खुलुबाट बाटो देखाउँदै फुलेलीबाट चौसेट हुँदै दूधकुण्ड पु¥याइन्छ र त्यहाँ गएर पूजा गर्दा आत्माले शान्ति पाउँछ ।

दूधकुण्डको दर्शन गर्दा पापकर्म नष्ट हुने, कुण्डको जल ल्याएर आफ्नो घरमा र घरका सदस्यहरूलाई छर्किएमा सुख शान्ति तथा धन प्राप्त हुने, निःसन्तान दम्पतीले सन्तान मागेमा सन्तान प्राप्त हुने, गाईभैँसी मागेमा सो प्राप्त हुने, घरमा बालबालिका बिरामी भएको बेला निको हुन भाकल गरेको खण्डमा बिरामी बच्चालाई निको हुनेजस्ता जनविश्वास दूधकुण्डप्रति भक्तजनमा रहेको छ । दूधकुण्डको अवलोकनपछि सोही दिन सल्लेरी फर्कियाँै । बाटोका बीच–बीचमा पहिरो गएका, कुनै ठाउँमा साँघुरो बाटोे, बाटोको सरसफाइ नभएर झार जङ्गलले बाटो ढाकेको, बस्न खानलाई समस्या, खानेपानीको अभाव, स–साना खोल्सामा पुलपुलेसाको अभाव, कुण्डको वरिपरि शौचालय नभएको, फोहर व्यवस्थापनको उचित प्रबन्ध नगरिएको दूधकुण्ड जाँदाका खास समस्या हुन् । देश सङ्घीय संरचनामा गइसकेको करिब सात वर्ष हुन लाग्दा पनि धार्मिक सांस्कृतिक महìवको क्षेत्रमा यस्ता समस्या विद्यमान हुनु विडम्बना नै हो ।

धस्थानीय तथा बाह्य पर्यटकको सहजता र सुलभतालाई ध्यानमा राख्दै भैतिक तवरले यस क्षेत्रको विकास गर्न आवश्यक छ । दूधकुण्ड सामुदायिक वन, रेडक्रस सोसाइटी जस्ता सङ्घसंस्था तथा अन्य निकायहरू यस क्षेत्रको संरक्षण, संवद्र्र्धन र प्रचारप्रसारमा जुटिरहेका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारले यस क्षेत्रको विकासका लागि थप भूमिका निर्वाह गर्न सके संस्कृति संरक्षणसँगै स्थानीयको आय आर्जन र देशकै अर्थतन्त्रमा टेवा पुग्नेछ ।