मेलम्ची बाढीको विमर्श
डा. रामहरि ढकाल
आदिमकालदेखि नै मानिस नदी किनारमा बस्दै आइरहेका छन् । सिन्धु घाँटीको सभ्यता, इजिप्टको सभ्यता, ग्रीक सभ्यता, रोमन सभ्यताजस्ता सबै सभ्यताको सुरुवात नदी किनारको उर्वरभूमिबाटै भएका हुन् । यस अर्थमा नदी विकासको मुहान हो । स्रोतको खानी हो । अनि जीनयापनको आधार पनि हो । सहरीकरणको सुरुवात पनि नदी किनारबाटै भएको पाइन्छ । विकास र सिर्जनाको स्रोत नदी कहिलेकाहीँ विनाशकारी र अभिशाप बन्ने गरेको विश्वमा देखिँदै आएको छ । नेपालमा विशेषगरी मनसुनको समयमा हुने कटान र डुबानले गर्दा मानव बस्तीलाई तहसनहस पार्ने गरेको छ ।
नेपालमा मनसुन छिटोमा जेठको आधा आधीतिर र ढिलोमा असारको तेस्रो साताभित्र सुरु भई करिब चार महिनासम्म रहन्छ । वर्षभरिमा हुने जम्मा वर्षाको ८० प्रतिशत यही अवधिमा भइसक्छ । जसले बर्सेनि अर्बौंको क्षति र सयौँको अकालमै मृत्यु हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार बाढीपहिरोका कारण नेपालमा २०७४ सालमा ८४ मिलियन, २०७५ सालमा ८८ मिलियन, २०७६ सालमा १६८ मिलियन रुपियाँ बराबरको क्षति भएको थियो । २०७७ सालमा यसको मात्रा अझ बढेको र यस वर्ष अधिक वर्षा हुने जलवायु विज्ञान महाशाखाको अनुमानसँगै झन् बढी क्षति हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ ।
भौगोलिक कारणले नेपाल विश्वकै २० अति प्रकोपयुक्त मुलुकमध्येमा पर्छ । देशका ८० प्रतिशत जनता कुनै न कुनै प्राकृतिक प्रकोपबाट पीडित छन् । पानीजन्य प्रकोपअन्तर्गत बाढी, पहिरो, असिना, डुबान, हिमताल फुट्ने, आँधीहुरी, आदि नेपालमा भइरहने प्राकृतिक दुःखका नियति हुन् । मनसुनको समयमा पहाडमा पहिरो र कटान तथा तराईमा डुबान हुने गरेको छ ।
नेपालमा साना–ठूला गरी करिब छ हजार नदीनाला छन् । चुरे शृङ्खलाबाट सुरु हुने नदीहरू हिउँदमा सुक्ने र वर्षायाममा क्षति पु¥याउने गरी आकार लिने खालका हुन्छन् । महाभारत शृङ्खलाबाट सुरु भएका नदीहरू हिउँदमा नसुके पनि अति सानो हुने भएकाले प्रायः यी नदीहरू सिँचाइका लागि मात्र प्रयोगमा ल्याइएका छन् भने हिमालय शृङ्खलाबाट सुरु हुने नदी आकारमा पनि ठूला, हिउँद–वर्षा दुवै याममा उत्तिकै बहावमा रहने भएकाले जलविद्युत्, खानेपानीलगायत सबै कामका लागि उत्तिकै उपयोगी हुन्छन् । यिनीहरू नै वास्तवमा परिवर्तनको स्रोत र आशाका केन्द्रका रूपमा दशौँ हजार वर्षदेखि निरन्तर बगिरहेका छन् । मेलम्ची नदी पनि हिमालयन शृङ्खलाबाट सुरु भएका नदीहरूमध्ये एक हो, जुन मेलम्चीबजार पुगेर इन्द्रावतीमा मिसिन्छ । इन्द्रावती सप्तकोसी नदीको एउटा सहायक नदी हो । मेलम्ची नदीको मुहान ५८७५ मिटर उचाइको काठमाडौँबाट सबैभन्दा नजिकको हिमाल, जुगल हिमालको फेद, ढुपुमा अवस्थित छ ।
गत असार १ र साउन १७ गते बेलुकी मेलम्ची नदी हेलम्बु र मेलम्चीवासीका लागि प्रलय बनेर उर्लियो । अघिल्लो बाढीले भन्दा पछिल्लो बाढीले भौतिक क्षति बढी गरेको आकलन गरिएको छ । पानी त्यति धेरै परेको थिएन, वर्षायाम हो हलुका पानी त दैनिकजसो परिहाल्छ । मौसम महाशाखाका अनुसार मेलम्चीमाथि सेर्माथाङ क्षेत्रमा मङ्गलबार बेलुकीदेखि बुधबार बेलुकी २४ घण्टाको बीचमा २९.४ मिलिमिटर पानी परेको थियो भने यसभन्दा वरपर पानी कम नै परेको कुरा रेकर्डले बताउँछ । रातको समय, मेलम्ची नदी यसरी उर्लियो कि, ज्ञात भएसम्म कहिल्यै यसरी आएको कसैलाई पत्तो छैन । तिम्बु, किउल, चनौटे, मेलम्ची बजार अधिकांश क्षेत्र सखाप पा¥यो । विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, प्रहरी चौकी, आधा दर्जन मोटरेबल पुल, एक दर्जनजति झोलुङ्गे पुलहरू, क्रसर उद्योग, खेतबारी, घर, कृषि व्यवसाय, माछापालन, पशुचौपायाजस्ता सबै कुरा रातभरमा सखाप भए ।
मेलम्ची बजारको पुरानो नाम पुलबजार राणाकालीन झोलुङ्गे पुलको नामबाट स्थापित भएको थियो । उक्त पुल पनि क्षणभरमै नाम निसाना नभेटिने गरी ध्वस्त भयो । तथ्याङ्कअनुसार सो बाढीले पचासौँ जनाको मृत्यु र सयौँ परिवारलाई विस्तारित गर्दै अर्बौँको क्षति गरेको छ । यो तथ्याङ्क अझ बढ्न सक्ने स्थिति छ । पानी पर्दै र रोकिँदैछ । तर खोलो निरन्तर बढिरहेको छ । खोलाको बहाव उत्तिकै र उस्तै छ । मेलम्ची बजारभन्दा माथि यातायात सञ्चार बिजुली सबै हिसाबले सम्पर्क विच्छेद भएको अवस्था छ । मेलम्ची खानेपानीका भवन र बाँधको विनाश गरेको छ । मेलम्चीवासी आवास मात्र होइन, घरका सबै चिजवस्तु गुमाउनु परेको पीडामा छन् यतिखेर ।
यस विपत्तिको कारण धेरैले भूकम्पले हल्लाएर छियाछिया भएको जमिनमा पानी छिरेपछि पहिरो गई यस्तो भएको अनुमान गरेका छन् । यसको कारण प्राकृतिक र मानवजन्य क्रियाकलापको दुवै हुन सक्छ । भौगोलिक अवस्थिति, हावापानी, मनसुनको प्रवृत्ति, खुकुलो माटो, जङ्गल फडानी, प्रकृतिको व्यापक दोहन, नदीजन्य पदार्थको अत्यधिक उत्खनन, योजनाविहीन डोजरे विकास एवं पूर्वाधार निर्माण, नदी किनारा अतिक्रमणजस्ता कारणले यस्तो विपत्ति भोग्नुपरेको हो ।
सुरुमा मेलम्ची खानेपानी आयोजनाको बाँध फुटेर बाढी आएको हल्ला पनि नचलेको होइन तर बाढी बाँधभन्दा निकै माथिबाट सुरु भएर बाध क्षेत्रलाई नराम्ररी असर गरेका कारण यो हल्लामा कुनै सत्यता रहेन ।
खोलो बजारमा पस्यो कि बजार खोलामा ? खोलो मिचेर घर बनाएपछि के हुन्छ ? भन्दै सतही ढङ्गले निराधार तर्क गर्न मेलम्ची बाढीका सन्दर्भमा उपयुक्त हुँदैन । विद्वान् भनिएका वर्गबाट यथार्थ नबुझी लेख्ने, सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्ने र अफवाह फैलाउने कार्य गर्नु विद्वताको लघुताभास हो । यथार्थ त्यसभन्दा फरक छ । मेलम्ची दसौँ हजार वर्षअघिदेखि उस्तै रूपमा बगिरहेको छ । मेलम्ची किनाराका बस्ती हजारौँ वर्षदेखि यसरी नै बस्दै आएका छन् । ज्ञात इतिहासअनुसार कहिल्यै खोलो नपसेको ठाउँमा बस्ती बस्ने हो । यहाँ पनि त्यसै गरिएको थियो । असुरक्षित भन्ने जान्दाजान्दै कसैले करोडौँ रुपियाँ लगानी गरेर जग्गा किन्दैन र घरलगायत संरचना पनि बनाउँदैन । मेलम्ची र चनौटेको कुरा गर्दा खोलाभन्दा बजारको उचाइ ४०÷५० मिटरमाथि छ । फराकिलो खोलाले यतिधेरै उचाइ लिएर निर्माण भएका घरको तीन तलासम्म पुर्ने काम गर्नु अपत्यारिलो यथार्थ हो । अब त्यस क्षेत्रको पहिलाको अवस्था हेर्न केवल तस्बिरहरू मात्र बाँकी छन् । नियालेर हेर्ने हो भने असुरक्षित बसोवास भन्न मिल्ने आधार देखिँदैन । असुरक्षित बसोवास भन्न त केबल सतहीविशेष मात्र हुन्छ ।
वर्षायाममा खोलो बढ्नु स्वाभाविक हो तर मेलम्ची यसरी बढ्नुचाहिँ अस्वाभाविक हो । पहाडी क्षेत्रमा खोलाले कटान गर्ने, खियाउने र तराईको सम्म भू–भागमा थुपार्ने गर्छ । तर यस बाढीमा मेलम्ची बजारभन्दा धेरै माथिबाट गेग्य्रान, ढुङ्गा, माटो थुपार्दै काट्ने भन्दा पनि पुर्ने काम भएको छ । खोलाले ३० देखि ४० फिटको उचाइ लिँदै बजार छिरेको छ । पानी माथि–माथि बढ्दै गर्दा पुराना सतहको निसाना भेटिँदैन । जमेको हिलो कडा चट्टानझै भएको छ । पानीमा सिमेन्ट मिश्रित लेदो देखिन्छ । पानी नपर्दा पनि कहाँबाट आयो यत्रो बाढी ? कसरी ५÷६ दिनसम्म एकै रूपले बाढी निरन्तर
आइरह्यो ? यतिका फराकिलो बगर पुर्दै बजारसम्म पुग्न कतै व्यापक ठूलो पहिरो गएको हुनुपर्ने हो तर हेलिकप्टरबाट निरीक्षण गर्नेहरूका अनुसार खासै ठूलो पहिरो गएको पनि छैन । यस्ता अनुत्तरित प्रश्नको जवाफ पाउनका लागि भूगर्भविद्, जलवायु विज्ञ, जल तìवविज्ञजस्ता विज्ञहरूको एउटा समूह बनाई अनुसन्धान गरेर निष्कर्ष निकाल्न ढिला गर्नु हुँदैन ।
यतिबेला मेलम्ची क्षेत्र रोइरहेको छ । प्रकोपको पीडा सहन गर्न गाह्रो परिरहेको छ । काठमाडौँ उपत्यकाका करिब ४० लाख जनसङ्ख्याको तिर्खा मेटाउन तयार मेलम्ची यतिखेर पीडामा छ । सहयोगको याचना गरिरहेको छ । सेवा र सहयोग नेपालीको संस्कृति हो । आपत् परेको बेलामा एक भएर सामना गरौँ । आपत्को बेलामा सहयोगी हातहरू बिस्तारै मेलम्ची पुग्दैछन् । यद्यपि, हामी सहयोगका नाममा न त परनिर्भर बन्न चाहन्छौँ, न त स्वाभिमान गुमाउन नै । हामीसँग आफैँ तङ्ग्रिने हिम्मत र सहास मरेको छैन । प्राप्त राहतको न्यायोचित वितरण होस्, मेलम्ची बजारभन्दा माथि पनि पीडित बस्ती छ भन्ने सोचियोेस् ।
वर्षा भइरहेको छ । थप विपत्ति पर्न सक्छ । यसमा सचेत हुनु जरुरी छ । खोला किनारमा घर बनाएपछि यस्तै हो भन्नेहरूले नसोचे हुन्छ, आफू पनि सुरक्षित छु भनेर । कुनै न कुनै खालको प्राकृतिक प्रकोप कुनै पनि ठाउँमा आउन सक्ने कुरा हो । जसका लागि सरकारबाट प्रकोप व्यवस्था संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरेर विपत् रोक्ने पूर्व कार्यहरू, विपत्सम्बन्धी सूचनाहरू र विपत्मा परिसकेकालाई राहत र उद्धार कार्य गर्न ढिला गर्नुहुँदैन ।