शिक्षामा आमूल परिवर्तनको अवसर
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक ग-यो । सोही दिन कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय पनि भयो । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्मका परीक्षा सञ्चालन हुने भए पनि त्यसपछिका परीक्षाबारे निर्णय गर्न सकेको छैन । कोरोना महामारी बढेसँगै विद्यार्थीको पठन–पाठन र परीक्षा सञ्चालनमा समस्या हुँदै आएको छ ।
दुई वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विद्यालयकै आन्तरिक मूल्याङ्कनबाट हुँदै आएको छ । यस पटक विद्यालयको आन्तरिक मूल्याङ्कनलाई बोर्डले चार लाख ८४ हजार २७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरेको हो । कक्षा १२ का तीन लाख ७२ हजार ३४८ विद्यार्थी परीक्षा दिने तयारीमा थिए । परीक्षा हुनुभन्दा एक साताअघि यो परीक्षा स्थगन भएको छ । यो परीक्षाबारे अन्योल कायमै छ । गत वर्ष बोर्डले ४० प्रतिशत मूल्याङ्कन, ४० प्रतिशत कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा भएको थियो । कक्षा ११ को परीक्षा दुई वर्षदेखि विद्यालयले नै लिँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयले केही परीक्षा भौतिक उपस्थितिमै गरिरहेको छ भने भदौ ५ गतेपछि हुने परीक्षाबारे अन्योल छ । पठनपाठन जसोजसो सकिए पनि एसईई, कक्षा १२ र त्योभन्दा माथिका परीक्षा सञ्चालनमा समस्या छ । विद्यालयले गर्ने मूल्याङ्कनमा धेरै कमी कमजोरी दिएको छ । एसईईको मूल्याङ्कनमा विद्यालयको ग्रेडिङमा समस्या देखिएको छ र यो कमजोरी लुकाउने प्रयास बोर्डले पनि गरेको छ । वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न नसक्दा त्रिभुवन विश्वविद्यालयले परीक्षा नै गराएन ।
कोरोना महामारीका कारण शिक्षा क्षेत्र सङ्कटमा छ । विद्यार्थी र शिक्षक विद्यालयमा उपस्थित हुन पाएका छैनन् । नयाँ प्रविधिको प्रयोग गरेर जसोतसो शिक्षालाई अगाडि बढाउने काम भइरहेको भए पनि गुणस्तर खस्किएको अनुमान गरिँदैछ । महामारीका कारण अनलाइन शिक्षण सिकाइ विकल्प देखिएको छैन । तर समस्या धेरै छन् । अनलाइन शिक्षणको प्रभावबारे अध्ययन भएको छैन । तर पनि अनलाइन कक्षामा धेरै विद्यार्थी छुटेका छन् । प्रविधिमा पहुँच र तिनको प्रयोग गर्ने सीप पनि समस्याकै विषय बनेको छ । महामारीले सिर्जना गरेको सङ्कटले परम्परागत शिक्षणको विकल्पमा सूचनाप्रविधिको प्रयोगलाई तीव्र बनाएको छ । कोरोना महामारीले बढाएको प्रविधि प्रयोग योजनाबद्ध र पूर्वतयारीका साथ नभई तत्कालको आवश्यकता पूरा गर्ने हिसाबले भएको हो । त्यसैले इन्टरनेटको पहुँच, उपकरण र प्रविधि प्रयोग क्षमता कम छ । यसले यो दिगो हुने कुरामा शङ्का छ । भौतिक उपस्थितिमा शिक्षण हुने पाठ्यक्रमलाई अन्य विकल्प नहुँदा अरू माध्यममै प्रयोग गर्नुपर्ने बाध्यता छ । अनलाइन सिकाइकै लागि न पाठ्यक्रम बनेको हो, न परीक्षा प्रणाली नै । त्यसैले यो अवस्था राज्यका लागि शिक्षामा आमूल परिवर्तन गर्ने अवसर पनि हो ।
कक्षा कोठामा उपस्थित भएर हुने पाठ्यक्रम, शिक्षण विधि, शिक्षण माध्यम र मूल्याङ्कन विधिलाई वैकल्पिक माध्यममा प्रयोग गर्नु परिरहेकाले समस्या आएको हो । यी सबैलाई अनलाइन प्रविधिमैत्री बनाउनुपर्छ । भरपर्दाे र उच्च गतिको इन्टरनेट पहुँच, प्रविधिको प्रयोग हुनुपर्छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मेवारीमा परिसकेकाले स्थानीय सरकारको भूमिका महìवपूर्ण छ । स्थानीय तहले स्थानीय परिवेश र आवश्यकता अनुकूलका रणनीति तयार गर्नुपर्छ । स्थानीय तहले शिक्षकको उत्प्रेरणा, शिक्षक परिचालन र क्षमता विकासलाई पनि प्राथमिकता दिएर वैकल्पिक सिकाइका रणनीति तय गर्नेतर्फ आवश्यक तयारी गर्नु आवश्यक छ । स्थानीय तहलाई आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्नेतर्फ ध्यान दिनुपर्छ । एक मात्र माध्यममा भर नपरी आवश्यकता र उपलब्ध सुविधाका आधारमा इन्टरनेट, रेडियो र टिभी वा अफलाइन शिक्षण हुनुपर्छ । अर्काे महìवपूर्ण कुरा विद्यार्थीलाई पाठ पढाउने, घोकाउनेभन्दा सिकाइमा सहजीकरण गर्ने र स्वअध्ययनमा जोड दिनु आवश्यक हुन्छ ।