लोकतान्त्रिक संस्कृति र भविष्य
राजकुमार सिवाकोटी
लोकतन्त्रमाथि गौरवमय विजय र नागरिक स्वतन्त्रतामाथि उल्लेखनीय उपलब्धि लिएर अघि बढिरहेको छ समकालीन विश्व । आजको दुनियाँ लोकतान्त्रिक आचरण, संस्कृति र यससँगै मानवीय प्रगति र मानव विकासका झङ्कारहरूमा घन्किरहेको छ । सभ्य र सफल युगमा प्रत्येक दिन नवोदित आशा लिएर हामी बाँचेका छौँ । समाजको प्रगतिको प्रस्थान मार्ग लोकतान्त्रिक परिपाटी र यसले सिकाएको संस्कार भएको छ । यही बाटोलाई अवलम्बन गरेर आज विश्वले तीनवटा वृत्तमा लोकतान्त्रिक सिकाइ र अभ्यासलाई पछ्याएको छ । पहिलो, केन्द्रीय तथा लोकतान्त्रिक संस्कारयुक्त समाज हो । यस समाजलाई चियाउन नर्वे र न्युजिल्यान्डतिर आँखा घुमाउनु पर्छ । दोस्रो, मध्यम लोकतान्त्रिक संस्कार भएका समाज दक्षिण कोरिया, ताइवानजस्ता मुलुकको अध्ययन गर्नुपर्छ । तेस्रो, पृष्ठ क्षेत्रका भर्खरै लोकतान्त्रिक संस्कारमा वामे सर्दै गरेका दक्षिण अफ्रिकी मुलुक र नेपालजस्ता एसियाली
मुलुक हुन् ।
लोकतान्त्रिक संस्कृतिको इतिहास लामो छ । अमेरिकामा काला–गोराबीचको विवादको समाप्ति होस् या दक्षिण अफ्रिकाको दास प्रथा या त नेपालको दास प्रथा उन्मूलन र सती प्रथाको अन्त्य । यी सबै घटनाको अन्त्य र नयाँ लोकतन्त्रमा आधारित मूल्य मान्यताको आगमन मानवीय चेतनाले अवलम्बन गरेको लोकतान्त्रिक सुझबुझ र नागरिक स्वतन्त्रताको विजय हो । व्यक्तिको आचरणदेखि लिएर शासन प्रक्रियाको शैलीमा समेत हुने उद्विकास मानवीय अभिलाषाको एक अविच्छिन्न क्रान्तिकारी परिवर्तन हो । यही परिवर्तनले सभ्यता र सफलतालाई हाम्रोसामु ल्याइदिएको छ । यसैका बलमा हिजो त्यस्तो थियो, आज यस्तो हुँदैछ र भोलिको लोकतान्त्रिक भविष्य यस्तो हुनुपर्छ भन्ने सपना हामी बुन्दै आएका छौँ ।
लोकतन्त्रमाथिको तेस्रो विजयपछि पनि नेपाली समाजले आजभन्दा ७० वर्षअघि देखेको सपना र आकाङ्क्षाको विम्ब आज पनि सोम शर्माको कथाभन्दा भिन्न रहेन । दुर्भाग्यका रासहरू नेपाली लोकतन्त्रमा ‘दिन दुगुना, रात चौगुना’ थपिँदै आएका छन् । अपसोच, हामीले बाह्य इतिहास र अभ्यासहरूबाट न आपूmलाई प्रशिक्षित गर्न सक्यौँ, न त रामराज्यका सिद्धान्तलाई हाम्रो लोकतान्त्रिक अभ्यासमा कुनै स्थान नै दिनसक्यौँ । विदुर र कौटिल्यका नीतिहरू हाम्रा राजनीतिज्ञ र अर्थशास्त्रीहरूले कहिले पनि मनन् गरेनन् । एडम स्मिथ र प्राचीन एथेन्स गणराज्यका सिकाइ र माक्र्सको उद्घोषले समाजलाई प्रशिक्षित गर्न सकेनौँ ।
उदार लोकतन्त्र र सामाजिक लोकतन्त्रको परिवर्तनले विश्व गोलाद्र्धमा आफ्नो साम्राज्य फैलाउँदै छ । पलभरमा ७५ वर्ष लामो साम्यवादी शासनलाई सोभियत सङ्घले त्यागी दियो । कयौँ तानाशाह किताबमा सीमित भए । यता अधिकांश लोकतान्त्रिक संस्कृति आयातितभन्दा पनि आफ्नै व्यवहार र आचरणले हुर्काइएका छन् तर नेपाललगायत तेस्रो विश्वका अधिकांश मुलुकमा यो प्राज्ञिक डिस्कर्सको विषय मात्र भएको छ । हामी लामो लोकतान्त्रिक अभ्यासमा पनि आज वामे सर्दैछौँ । सत्यको गर्भमा नेपालको लोकतन्त्र निमोनियाले ग्रस्त छ । यी सबै परिस्थिति जटिल भए पनि विचारक र चिन्तकहरू गतिशील संस्कारयुक्त लोकतन्त्रको जगलाई मजबुत बनाउन तल्लीन छन् ।
यहाँ मुद्दा नेपालको लोकतान्त्रिक अभ्यास र संस्कृतिको हो । लोकतान्त्रिक संस्कृति यसलाई अभ्यास गर्नेहरूबाटै निःसृत हुने हो । पश्चिमबाट फैलिएको संस्कृतिलाई करिब ५० वर्षयता विश्वविद्यालयले पढाए पनि नेपाली समाजले अनुसरण गर्न सकेन । त्यसैले यो लोकतान्त्रिक संस्कृतिलाई आफ्नै अभ्यासबाट फलाउनु, फुलाउनु पर्छ । भारत वर्ष, मङ्गोल र पश्चिमाको पन तथा अभ्यास होला । सारमा कुरो एउटै हो, लोकहित अर्थात् लोकतन्त्रको आदर्श र संस्कृति भन्नु नै असल कर्मले देश र नागरिकको सेवा । यस दार्शनिक सत्यको जगमा नेपालका मुख्य लोकतान्त्रिक अभिकर्तालाई परीक्षण गर्दा ‘पृथ्वीनारायण शाहले घुस दिने र घुस खानेलाई मारे पनि पाप हुँदैन’ भनेको कथनलाई चुनौती दिन काँग्रेस र वामपन्थीजनले सक्दैनन् ।
लोकतान्त्रिक संस्कृतिका हिमायती र अभिकर्ता भनेको राजनीतिक दल नै हुन् । राजनीतिक दलबिनाको दुनियाँमा उदार लोकतन्त्र हुँदैन तर अपराध र अपराधीको संरक्षण गर्ने राजनीतिक दल भएका भूमिमा लोकतान्त्रिक संस्कृति र त्यसको भविष्य देख्न सकिँदैन । दुर्भाग्यपूर्ण परिस्थितिबाट नेपाली समाज कहिलेसम्म गुज्रने ? यसको विकल्पमाथि नेपाली नागरिकले विचार–विमर्श गर्ने कि नगर्ने ? यो सङ्गीन घडी र निर्णायक मोडमा आज नेपाली समाज उभिएको छ । यो एउटा पट्यारलाग्दो निराशाको क्षण भए पनि भविष्यको सम्भाव्यता प्रबल रहेको अवसर पनि हो । त्यसैले अब नेपाली समाजको लोकतान्त्रिक भविष्यलाई गति दिन बूढापाका र स्वाद चाखिसकेका राजनीतिज्ञले अवकाश लिने बेला आइसकेको छ ।
लोकतान्त्रिक संस्कृति निर्माणका लागि लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रता र नागरिकको स्वशासन प्रमुख मानक हो । यो मानक विद्यमान भए मात्र नागरिकले लोकतन्त्रमा आफ्ना आकाङ्क्षालाई दाबी र प्राप्ति गर्न सक्दछन् । विडम्बना, नेपाली समाजमा बितेका दशकमा प्राप्त भएका स्वतन्त्रताको लहरले सफल लोकतान्त्रिक संस्कारको सुनिश्चितता गर्न सकेनन् । न तिनले अवसरको ढोकालाई समेत सुरक्षित राख्न सके । वर्तमानमा लोकतन्त्रतर्फको बाटोले विगतको भन्दा बढी सम्भावना बोकेर आएको छ । हाम्रो सुझबुझ र अक्कल बन्धक भएन भने यो सम्भावनाको सदुपयोग हुन्छ ।
शासन व्यवस्था र शासकको उत्थान पतन हुनसक्छ तर एक पटक स्थापित भइसकेको लोकतान्त्रिक संस्कृति पतन हुँदैन, बरु अझ परिमार्जित हुन्छ । अठारौँ शताब्दीको अन्त्यमा भएको फ्रान्सको क्रान्तिदेखि लिएर एक्काईसौँ शताब्दीमा नेपालमा भएको नयाँ व्यवस्थाको उदयसम्म लोकतान्त्रिक इतिहासको विकास भएको पाइन्छ । यो तथ्य न त निराशावाद, न त हतोत्साहको कारण हो, बरु यो चुनौती र अवसरका रूपमा देखा परेको छ । लोकतान्त्रिक चरित्रका साथ लोकतान्त्रिक अभ्यास गर्न अवश्य सिक्नुपर्दछ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सिकाउनु पर्दछ । बूढापाकाहरूमा रहेको ज्ञान र प्रज्ञा तथा युवापुस्तामा रहेको अथाह सूचनासहितको जोशजाँगरलाई लोकतन्त्र सुदृढीकरणमा उपयोग गर्न सक्नुपर्छ ।
इतिहासमा हुने ज्ञान हस्तान्तरणले नयाँ अवसरका ढोका र उपलब्धिका चाङ ठड्याइरहन्छ । नेपाली समाजमा यो सत्य आज उल्टोतर्फ घुमेको छ । स्वयं नियुक्त एवं घोषित नेताहरूको काल्पनिक अनुग्रह तथा लहडमा राज्यको लगाम अड्किएको छ । बुद्धिमता, आचरण र सामूहिक लोकतान्त्रिक संस्कृतिको अभावमा मुलुक छट्पटाइरहेको छ । अर्थात् अवसर र जोखिमका बीचमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रणाली च्यापिएको छ । सत्य के हो भने सिद्धान्त र विचारधारा स्थायी हुन्छ ।
लोकतन्त्र फस्टाउन लोकतन्त्रको संस्कृति र नागरिक सुझबुझ आवश्यक पर्छ । अपवादबाहेक स्वस्थ लोकतान्त्रिक समाज अघि बढ्न नागरिक तथा राजनेता दुवैको ध्येयको मेल हुनुपर्छ । राजनीति भनेको व्यक्तिगत लक्ष्य साँध्ने कारखाना होइन । योे सामूहिक उपलब्धि र प्रगतिलाई प्राप्त गर्ने माध्यम हो । लोकतन्त्र तब मात्र फस्टाउँछ, जब राजनेताहरू जवाफदेही हुन्छन् । नागरिक कर्तव्यनिष्ठ र कडा परिश्रमका साथ आफूलाई प्रस्तुत गर्दछन् । नागरिक स्वतन्त्रताका साथ सामाजिक जीवनमा सहभागी हुने अभिरुचि व्यक्त गर्ने अवसरले नै लोकतन्त्र र लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँछ । विडम्बना नेपाली समाज आज यस सत्यको कसीमा छैन ।
लोकतान्त्रिक संस्कृतिले घनीभूत भएको समाजमा प्रक्रिया हुन्छ, प्रणाली र पद्धतिले काम गर्छ । सहिष्णुता, संवाद र सम्झौताले असजिलोलाई चिर्दै लक्ष्यलाई काबुमा ल्याउँछ । यसैमा नागरिकले आफ्ना कर्तव्य पूरा गर्दै भविष्यको रेखाङ्कन गर्ने साझा जिम्मेवारीलाई वहन गर्दछन् । नेपाली समाजले लोकतान्त्रिक संस्कृतिलाई अवलम्बन गर्नै सकेको छैन । ०४६ पछिको फराकिलो प्रजातान्त्रिक वातावरण विफल हुनुको कारण पनि राजनीतिक जवाफदेहिताको अभाव नै हो । त्यसैले ०६२÷६३ को जनआन्दोलनपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई दिगोपन दिने हो भने हामीले विगतबाट सिक्नुपर्छ । भविष्यप्रतिको सुखद यात्राका लागि राजनीतिक दलहरूले आफ्नो जवाफदेहितालाई अझ सशक्त बनाउनुपर्छ ।
नोबेल पुरस्कार विजेता रुसी कवि जोसेफ ब्रोद्स्कीले लेखेका थिए, “एक स्वतन्त्र व्यक्ति जब विफल हुन्छ, उसले कसैलाई दोष दिँदैन ।” यही कुरा लोकतान्त्रिक राज्यका नागरिकका लागि सत्य ठहर्छ, जसले अन्ततः आफूले रुचाएको समाजको भाग्य निर्धारणको अभिभारा वहन गर्नैपर्छ । सक्षम मानिसद्वारा स्वशासित हुनु नै लोकतन्त्रको सुन्दरता हो । विगतका अनुभवले हामीलाई यही सिकाएको छ । नेपालको राजनीतिमा ७२ वर्षको उमेरमा एक पटक मात्र नेपाली काँग्रेसको सभापति बन्छु र थिति, नियम र प्रक्रिया बसाल्छु भन्ने नेता डा. शेखर कोइराला हुन् । यस्तो भीष्मप्रतीज्ञा आजसम्म नेपालमा कुनै नेताले गरेनन् । बीपीले पनि यो आँट र हिम्मत गरेका थिएनन् । हेरौँ, काँग्रेसजनले कसरी साथ दिन्छन् डा. कोइरालालाई । काँग्रेसभित्र खाइपाई आएकाहरूको जालोलाई सचेत नेपाली काँग्रेसका शुभचिन्तकले कसरी भत्काउँछन् । आगामी नेपालको लोकतान्त्रिक यात्रा र आर्थिक प्रगति यसैमा निर्भर रहन्छ ।