विचार/दृष्टिकोण |

महामारीबाट बच्न खोप अनिवार्य

अमरेन्द्र यादव
विश्वमा कोभिड–१९ महामारीबाट आक्रान्त बनेको दुई वर्ष पुग्न लागेको छ । नेपाल यसको चपेटामा परेको पनि साढे एक वर्षभन्दा बढी भएको छ । संसारका विभिन्न देशमा महामारीको तेस्रो लहर चलिरहेको छ भने नेपालमा दोस्रो लहर सकिएको छैन । अत्यन्तै खतरनाक मानिएको ‘डेल्टा भेरियन्ट’का साथ तेस्रो लहर मध्य असोजतिर नेपालमा सुरु हुने स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
कोरोना भाइरसले हालसम्म २० करोडभन्दा बढी मानिस पीडित भइसकेका छन् भने ४३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमै सात लाखभन्दा बढी मानिस सङ्क्रमित बनिसकेका छन् भने १० हजारभन्दा बढीले मृत्युवरण गरिसकेका छन् । २०७७ सालको फागुन–चैततिर यो महामारी नेपाल प्रवेश गर्दा दुई–तीन महिनामै यो पूर्ण रूपमा नियन्त्रणमा आउने वा हराएर जाने अनुमान गरिएको थियो तर निकट भविष्यमै यसको अन्त्य हुने कुनै छाँटकाँट देखिँदैन ।

सहज हुँदै खोप
विश्वका वैज्ञानिक तथा स्वास्थ्य विशेषज्ञले कोरोना भाइरस सधैँका लागि रहिरहने र यसका अनेकौँ लहर आउने चेतावनी दिएका छन् । सुरुतिर यो भाइरसले विश्व महामारीको रूप लिने र ‘हर्ड इम्युनिटी’ अर्थात् सामूहिक प्रतिरक्षा विकास हुने अनुमान गरिएको थियो तर कोरोना सङ्क्रमित भएर निको भएका व्यक्ति फेरि सङ्क्रमित हुने र त्यसमध्ये केहीको ज्यानसमेत जान थालेपछि सामूहिक प्रतिरक्षा निर्माण हुने आशा र अनुमान निराशामा परिणत हुँदै गएको छ । तसर्थ यस महामारीबाट मानव जातिलाई बचाउने एक मात्र दीर्घकालीन उपाय खोप नै देखिएको छ । सामूहिक प्रतिरक्षा प्रणाली निर्माण भएर यस महामारीलाई परास्त गर्ने सम्भावना टर्दै गएपछि खोप लगाएर कोरोना भाइरससँगै बाँच्नुपर्ने नियति मानव जातिले स्वीकार्नुपर्ने देखिन्छ । नेपाल सरकार, सम्बन्धित विज्ञ र आमनागरिकले पनि यो कटु यथार्थलाई बिस्तारै आत्मसात् गर्न थालेका छन् ।
कोरोना भाइरसले विश्व महामारीको रूप लिएलगत्तै गत वर्षदेखि नै वैज्ञानिक यसविरुद्धको खोप अनुसन्धानमा लागे । महिनौँको प्रयासपछि उनीहरू २०७७ सालको पुस÷माघतिर खोप निर्माण गर्न सफल भए । अहिले विश्वमा आठभन्दा धेरैखाले खोप लगाइँदै आएको छ । अन्य दर्जनौँ खोप परीक्षणको विभिन्न चरणमा छन् । यति मात्रै होइन, खोपको विकल्प र सङ्क्रमितको उपचारका लागि औषधिको पनि परीक्षण÷अनुसन्धान भइरहेको छ ।
गत माघमा भारत सरकारले सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाललाई अनुदान दियो । त्यसपछि सरकारले माघ १४ गतेदेखि देशैभरि खोप लगाउन सुरु गरेको थियो । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मीलाई खोप उपलब्ध गराइयो । लगत्तै सरकारले २० लाख मात्रा खोप खरिद गर्न भारतको सिरम इन्स्टिच्युटसँग सम्झौता ग¥यो । त्यसमध्ये १० लाख मात्रा खोप नेपाललाई आपूर्ति गरे पनि बाँकी १० लाख मात्रा अझै दिन सकेको छैन । महामारीको दोस्रो लहरले गत वैशाख र जेठमा भारतमा ताण्डव मच्चाएपछि त्यहाँको सरकारले खोप उत्पादक कम्पनीमाथि खोप निर्यातमा प्रतिबन्ध लगायो । फलस्वरूप सिरम इन्स्टिच्युटले बाँकी १० लाख मात्रा खोप हालसम्म नेपाललाई आपूर्ति गर्न सकेको छैन । त्यसैले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका १४ लाखभन्दा बढी ज्येष्ठ नागरिक खोपको दोस्रो मात्रा लगाउनबाट लामो समयसम्म वञ्चित रहे । जापान सरकारले कोभिसिल्डसँग मिल्दोजुल्दो एस्ट्राजेनेका खोप नेपाललाई अनुदान दिएपछि कोभिसिल्डको दोस्रो मात्राबाट वञ्चित नागरिकलाई केही दिन अघिदेखि एस्ट्राजेनेका खोप दिन थालिएको छ ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले कोरोनाविरुद्धको खोप भिœयाउने प्रयास सुरु गरेको थियो । त्यस प्रयासलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गति दिएको छ । प्रधानमन्त्री नियुक्त भएदेखि नै देउवाले सबै नागरिकलाई खोप लगाउनु आफ्नो सरकारको प्राथमिकता रहेको दोहो¥याइरहनुभएको छ । अमेरिकी सरकारले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख मात्रा खोप अनुदान दिएपछि प्रधानमन्त्री देउवाले त्यही खोपबाट नयाँ खोप अभियान आरम्भ गर्नुभयो । उहाँले विभिन्न खोप केन्द्रको निरीक्षण पनि गर्नुभयो । असार १५ गतेदेखि साउन १५ गतेसम्म मात्रै भेरोसेल खोपको ३० लाख मात्रा र जोन्सन एन्ड जोन्सनको खोप १५ लाख मात्रा नेपाल आइसकेको छ । यी दुई कम्पनीका खोपका साथै जापान सरकारले अनुदान दिएको एस्ट्राजेनेका खोप हाल दशैभरिका आमनागरिकलाई
दिइँदै छ ।

सवा पाँच करोड खोप ल्याइने
गएको साउन २८ गते प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म एक करोड आठ लाख ६० हजार १७० मात्रा खोप नेपाल भित्रिएको र तीन करोड ३६ लाख मात्रा खोप आयात गर्ने प्रक्रियामा रहेको बताउनुभयो । स्वास्थ्य राज्यमन्त्रीका अनुसार आउँदो असोजभित्र एक करोड आठ लाख मात्रा खोप आयात गरिने छ । यस्तै माघ मसान्तभित्र तीन करोड २३ लाख मात्रा थप खोप नेपाललाई प्राप्त हुने निश्चित छ । राज्यमन्त्रीकै भनाइअनुसार आउँदो माघसम्म कम्तीमा पाँच करोड २३ लाख मात्रा खोप नेपाल आइपुग्ने छ । देशैभरि हालसम्म ४५ लाख ७० हजारभन्दा बढी जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २८ लाख ८८ हजारभन्दा बढी जनाले दुवै मात्रा लगाएका छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्दै आएको छ । साउन २५ गतेदेखि खोप सप्ताह चलिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २३ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘तपाईंको मास्क खोइ’ अभियान सञ्चालन ग¥यो । गएको वैशाख–जेठमा कोरोनाको दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक दुई सयभन्दा बढी मानिसको ज्यान जाने गथ्र्याे भने प्रत्येक दिन नौ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुने गर्थे । त्यस अवधिमा कोरोनाबाट छ हजार पाँच सयभन्दा बढी नागरिकले ज्यान गुमाए ।

किशोरकिशोरीलाई ६० लाख खोप
मुलुकमा आजको मितिसम्म १८ वर्षमाथिका मानिसलाई मात्रै कोभिड–१९ विरुद्धको खोप दिइँदै छ । अमेरिकी र युरोपेली मुलुकले १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउँदै आएका छन् । नेपालमा भने यस उमेर समूहका व्यक्तिलाई खोप लगाउने कुनै तयारी छैन । डेल्टा भेरियन्टका साथ आउने तेस्रो लहर झनै सङ्क्रामक हुने र किशोरकिशोरी तथा बालबालिकालाई समेत प्रभावित गर्ने हुँदा १८ वर्षमुनिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउन ढिलो भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयकै केही हप्ताअघिको तथ्याङ्कअनुसार कोरोना भाइरसबाट हालसम्म नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ५६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । मृत्युदर न्यून भए पनि सरकारले यस उमेर समूहका व्यक्तिलाई पनि खोप दिने व्यवस्था तत्काल गर्नुपर्दछ । प्रतिनिधि सभाको साउन २८ गतेकै बैठकमा राज्यमन्त्री श्रेष्ठले किशोरकिशोरीलाई खोप दिनका लागि ६० लाख फाइजर खोप आयात गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
देशैभरि खोप लगाउने अभियान क्रमिक रूपमा तीव्र हुँदै गएको छ । अब खोपको अभाव पनि छैन । विभिन्न पेसा र क्षेत्रका नागरिकले खोप लगाउन थालेका छन् । यातायात मजदुर, होटल र पर्यटन क्षेत्रका मानिस, शिक्षक र प्रवेशपत्रका आधारमा विश्वविद्यालयका विद्यार्थीले समेत खोप पाउन थालेका छन् तर १८ वर्षमाथिका सबै नेपाली नागरिकका लागि खोप सहज भएको छैन । एकातिर १२ वर्षदेखि १८ वर्षका किशोरकिशोरीका लागि खोप अत्यावश्यक भइसकेको छ । खोप अभियानका क्रममा र खोप केन्द्रहरूमा केही बेथिति र कमजोरी स्पष्ट रूपमै देखिएका छन् । खोप केन्द्रहरूमा सेवाग्राहीको अस्तव्यस्त भीड अत्यन्तै डरलाग्दो र निन्दनीय छ । सामाजिक दूरी कायम गरेर मात्र खोप दिने प्रबन्ध सम्बन्धित सरकारी निकायले गर्नुपर्दछ । व्यक्तिगत सम्बन्ध, पहुँच र प्रभावका आधारमा खोप लगाउने घटना पनि प्रशस्तै देखिएका छन् । यस्तो विकृति सुधार गर्न सकिए निर्धारित उमेर समूहका मात्र नभई १८ वर्षमाथिका सबै नागरिकले सहज र न्यायोचित रूपमा खोप लगाउने वातावरण बन्न सक्छ ।