विचार/दृष्टिकोण |

कोभिड–१९ सङ्कट व्यवस्थापनका चरण

नूरहरि खतिवडा

सन् २०१९ को अन्तिम दिन चीनको बुहान सहरमा देखापरेको कोरोना भाइरसको महामारी संसारभर फैलिएको र यसबाट हालसम्म ४२ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कोभिड–१९ नामकरण गरिएको यो महामारीबाट नेपालमा ७ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका र १० हजारभन्दा बढीको मृत्यु भएको छ । आक्रामक, सङ्क्रामक र घातक प्रवृत्ति देखाउँदै विश्वका सबै महादेश र अधिकांश मुलुकको यात्रा तय गरिसकेको महामारीबाट अछूतो रहने प्रयास कतै पनि पूर्ण सफल हुन सकेको देखिँदैन । कोरोना भाइरसको उद्विकास र विस्तारको प्रवृत्तिलाई हेर्दा अझै केही समयसम्म संसारलाई यस समस्याले गाँजिरहने अवस्था देखिन्छ । भाइरसविरुद्ध ठोस औषधिको विकास भइनसकेको र मानव शरीरमा प्रतिरोधात्मक क्षमता विकास गराएर भाइरसको घातक प्रहारबाट सुरक्षित राख्न उपयोगी हुनसक्ने ठानिएको खोपको उपलब्धतासमेत पर्याप्त हुन नसकिरहेको हालको अवस्थामा महामारीबाट नागरिकलाई सुरक्षित राख्न कोभिड व्यवस्थापन कार्यलाई अझ प्रभावकारी तुल्याउनुपर्ने भएको छ । कोभिड–१९ व्यवस्थापन कार्यलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी तुल्याउन नेपाल सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश जारी गरेको छ । यस अध्यादेशमा कोभिड व्यवस्थापनका कार्यलाई मूलतः चार चरणमा व्यवस्थित तुल्याउने प्रयास गरिएको छः रोकथाम, नियन्त्रण, निदान, र उपचार । सङ्कट व्यवस्थापन चक्रमा यी चार चरणका अतिरिक्त पाचौँ चरणको समेत उत्तिकै आवश्यकता देखिएको छ, शव व्यवस्थापन ।

पहिलो चरण : रोकथाम
कोभिड–१९ सङ्कट व्यवस्थापनको पहिलो चरण हो रोकथाम । सङ्क्रमित मानिसबाट अरू मानिसमा तीव्र रूपमा फैलने भाइरसको प्रकोपलाई न्यून गर्न अवलम्बन गरिने पहिलो उपाय यसको रोकथाम मानिएको छ । भाइरस सङ्क्रमित मानिस अरू मानिसको सम्पर्कमा आउने अवस्थाको अन्त्य गरी भाइरस विस्तारको सम्भावनालाई न्यून गर्नु रोकथामको चरण हो । भाइरसको सङ्क्रमण फैलिएको स्थानबाट सङ्क्रमण नभएको स्थानमा मानिसको आवागमनमा रोक लगाउनु रोकथामको पहिलो र महìवपूर्ण कार्य मानिन्छ । सङ्क्रमण फैलिएको स्थानबाट मानिस आउनैपर्ने अवस्थामा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राखी सङ्क्रमणरहित भएको पुष्टि भएपछि मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै सबै मानिसलाई स्वास्थ्य सुरक्षाका उपायहरूको अवलम्बन गराउनु कोरोना भाइरस सङ्क्रमण रोकथामको पहिलो चरणको कार्य हो । कोभिड व्यवस्थापनको चक्रमा पहिलो चरणको कार्यले निकै महìवपूर्ण स्थान ओगटेको छ । सङ्क्रमण भएको स्थान र मानिसलाई अरू स्थान र मानिससँगको सम्पर्कबाट भौतिक रूपमा दूरी कायम गराउनु नै कोरोना विस्तार रोकथामको प्रथम उपाय मानिएको छ ।

दोस्रो चरण :नियन्त्रण

कोभिड–१९ सङ्कट व्यवस्थापनको दोस्रो चरण हो नियन्त्रण । रोकथाम र नियन्त्रणका कार्य एक आपसमा अन्तर सम्बन्धित हुने गर्छन् । कुनै व्यक्ति वा स्थानमा कोरोना भाइरसको सङ्क्रमण देखिएमा सो भाइरसलाई सङ्क्रमित स्थान वा व्यक्तिमा नै सीमित राख्न नियन्त्रणका कार्यहरू गर्नुपर्छ । अरू व्यक्ति वा स्थानमा फैलन नदिन रोकथामका उपायलाई समेत समानान्तर रूपमा अघि बढाउनुपर्छ । समुदायस्तरमा भाइरस फैलन नदिन सङ्क्रमण नियन्त्रणका लागि गरिने कार्यहरू यस चरणमा पर्छन् । सङ्क्रमित व्यक्तिलाई आइसोलेसनमा राखी स्वास्थ्योपचारको प्रबन्ध गर्नु र अरू मानिसलाई स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउनुजस्ता कार्य यस चरणमा पर्छन् । कोभिड–१९ को नियन्त्रणका लागि आवश्यकताअनुसार सरकारी तथा निजी क्रियाकलापहरू स्थगित गर्ने, जनतालाई अति आवश्यक अवस्थामा बाहेक घरभित्रै बस्न अनुरोध गर्नेजस्ता कार्यहरू यस चरणमा गरिन्छन् । रोकथाम र नियन्त्रणका चरणमा गरिने कतिपय प्रयास दोहोरिन पनि सक्छन् । कोरोना भाइरसविरुद्धको भरपर्दो औषधि विकास भइनसकेको अवस्थामा कोभिड सङ्कटबाट जोगिने सबैभन्दा भरपर्दो उपाय नै यसको नियन्त्रण हो भन्ने मानिएको छ । हाल उपयोग भइरहेको कोरोनाविरुद्धको खोपलाई भाइरस सङ्क्रमण फैलावट नियन्त्रणको उपायको रूपमा लिइएको छ । खोप लगाएका व्यक्तिमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता वृद्धि हुने र महामारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरोना सङ्कटलाई भयावह हुन नदिन र नियन्त्रणको दायराभित्र राख्न सम्पादन गरिने कार्य यस चरणमा पर्छन् ।

तेस्रो चरण : निदान

कोभिड १९ कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन वा भाइरसको सङ्क्रमण समुदायस्तरमा पुगिसकेको अवस्थामा यसको वास्तविक अवस्था थाहा पाउन गरिने कार्य यस चरणमा पर्छन् । खासगरी शङ्कास्पद व्यक्तिको कोभिड परीक्षणको कार्यलाई निदानको रूपमा बुझिन्छ । यस चरणमा समुदायस्तरमा विभिन्न तरिकाबाट कोरोना परीक्षण गरिन्छ र भाइरसको स्वभाव, गति, सघनतालगायत आवश्यक प्राविधिक पक्षको निक्र्योल गरिन्छ । परीक्षणबाट देखिएको निष्कर्षको आधारमा कोभिड व्यवस्थापनका लागि चाल्नुपर्ने थप कदम वा उपायहरूको बारेमा योजना बनाउन सकिन्छ । कोरोना सङ्क्रमणको वास्तविक अवस्था थाहा भएपछि यसको रोकथाम, नियन्त्रण वा उपचारका उपायहरू अपनाउने सम्बन्धमा निर्णय गर्न सजिलो र व्यावहारिक हुन्छ ।

चौथो चरण : उपचार

यस चरणमा कोरोना सङ्क्रमित व्यक्तिको उचित उपचारको प्रबन्ध मिलाउनुपर्छ । सङ्क्रमितको स्वास्थ्य अवस्था अनुरूप सामान्य उपचार वा विशेष उपचार गरिनुपर्छ । लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका सङ्क्रमित व्यक्तिले आफ्नो परिवारका सदस्यलगायत अरू व्यक्तिको सम्पर्कमा नआउने गरी केही दिन एकान्तबासमा बस्ने र प्रशस्त मात्रामा पोषिलो तथा झोलिलो खानेकुरा खाएर शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गराउने प्रयास गर्नुपर्छ । यस अवस्थामा सूचना प्रविधिको माध्यमबाट चिकित्सकसँग सल्लाह र परामर्श लिनु उचित हुन्छ । सामान्य अवस्थाका सङ्क्रमितले आफ्नो शरीरमा अक्सिजनको सहज र आवश्यक आपूर्ति हुने प्राकृतिक उपायहरू अवलम्बन गरी कोरोना भाइरसको असरबाट आफूलाई विस्तारै मुक्त गराउने प्रयास गर्नु उचित हुन्छ । सङ्क्रमितको स्वास्थ्य अवस्थामा कुनै पनि समयमा जटिलता देखिन सक्ने भएकोले श्वास–प्रश्वासमा समस्या हुने वा अन्य जटिलता देखिएमा कोभिड उपचार गर्ने अस्पताल जानुपर्छ । कोभिडका जटिल बिमारीहरूमा विशेषतः अक्सिजनको कमी देखापर्ने गरेको पाइन्छ । अस्पतालले बिमारीको स्वास्थ्यस्थिति अनुरूप अक्सिजन वा अन्य औषधिसहितको उपचार विधि अपनाउने गर्छन् ।

पाँचौँ चरण : शव व्यवस्थापन
कोभिड सङ्क्रमितको उपचारको प्रबन्ध भए पनि सबै सङ्क्रमितको जीवन रक्षा हुने प्रत्याभूति गर्न सकिँदैन । कोभिडविरुद्ध औषधि विकास भइनसकेको हुँदा लाक्षणिक उपचार वा अन्य विधिको अवलम्बन गरिए पनि कतिपय मानिसको मृत्यु हुने गरेको छ । संसारमा हालसम्म कोभिडका कारण ४२ लाखभन्दा ज्यादाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या १० हजारभन्दा बढी भइसकेको छ । कोभिडका कारण मृत्यु भएका मानिसको शवबाट अरू मानिसमा सङ्क्रमणको जोखिम नरहोस् भन्ने उद्देश्यले शवको सुरक्षित व्यवस्थापन गर्ने कार्य यस चरणमा गरिन्छ । शव व्यवस्थापनको कार्य गर्दा मृतकको परम्परागत संस्कार पद्धतिको उचित सम्मान गरिन्छ । नेपालमा कोभिडका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने कार्यमा मुख्यत : नेपाली सेनाले आवश्यक सहयोग गर्दै आएको छ । शव व्यवस्थापन कार्यविधिबमोजिम मृतकका परिवार स्वयंले समेत सुरक्षाका उपायहरू अवलम्बन गरी शव व्यवस्थापनको कार्य गर्नसक्ने व्यवस्था रहेको छ ।
कोरोना भाइरसको महामारी बढेर यसको व्यवस्थापन गर्नुपर्ने आवश्यकता भएपछि नेपाल सरकारले जारी गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ ले व्यवस्था गरेका यी चरणबद्ध क्रियाकलापहरू नेपाल सरकारका विभिन्न निकायबाट सम्पादन हुँदै आएका छन् । यसका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेनालगायतका सुरक्षा निकायहरूका अलावा सम्बद्ध अन्य निकायसमेत आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा अहोरात्र खटिरहेका भए पनि कोभिड–१९ को महामारीले सामाजिक तथा आर्थिक गतिविधिका सबै क्षेत्रमा गम्भीर असर गरिरहेको छ । यसको रोकथाम, नियन्त्रण, निदान तथा उपचारका प्रयासहरू अपेक्षाकृत सफल हन सकिरहेका छैनन् । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसमेतका प्रयत्नका बीच आपसी तालमेल र एक रूपता पाइँंदैन । कोरोनाको दोस्रो लहरको प्रकोप चलिरहेको र तेस्रो लहरको आशङ्का बढिरहेको हालको अवस्थामा तीनै तहका सरकार तथा गैरसरकारी र निजी क्षेत्रलगायत सम्पूर्ण पक्षको एकीकृत प्रयासबाट मात्र यसको सामना गर्न सकिने हुँदा भरपर्दो समन्वयका साथ सबै सरोकारवाला निकायहरू एकीकृत योजनाको आधारमा अघि बढ्नु आवश्यक भएको छ ।