विचार/दृष्टिकोण |

राज्य व्यवस्थामा सांस्कृतिक क्षेत्रको औचित्य

महेश प्रसाई

संस्कृति सनातनीय विषय हो । धर्तीमा मनुष्य समाज रहेसम्म यसको सांस्कृतिकता निरन्तर रहिरहन्छ । संस्कृति मनुष्य समाजको कार्य–व्यवहार हो, जीवन पद्धति हो र एक विशिष्ट जीवन–दर्शन हो । मनुष्य समाज भन्नु स्वयंमा संस्कृतिबोध हो । विभिन्न धर्म, जातजाति, भाषा–साहित्य, कला–संस्कृति, आस्था–विश्वास, गौरव, प्रथा–परम्परा, वेशभूषा, जात्रा–पर्व, रहन–सहनबाट समाज निर्माण भएको हुन्छ । मानव सांस्कृतिकता स्थापित भएको हुन्छ ।
विविध मौलिक विशिष्टतामा आधारित नेपाली संस्कृति सनातनदेखि समृद्ध छ । विश्वमा नेपाल र नेपालीलाई पहिलो पहिचान दिने विषय नेपालको विविधतायुक्त संस्कृति हो ।

 

संस्कृति के हो ?
संस्कृति–समाजको ऐना हो, राष्ट्रको पहिचान हो । मनुष्य जातिको स्वाधीन चेतना हो । समग्रमा राष्ट्रिय अखण्डताको सार्वभौम प्रज्ञापन हो । अङ्ग्रेजी शब्द कल्चर ९ऋगतिगचभ० उत्तरोत्तरित कल्टिभेट ९ऋगतिष्खबतभ० बाट परिष्कृत हुँदै आइपुगेको कृत्य, समुदाय र जीवन पद्धतिसित सम्बद्ध छ । साहित्य र संस्कृतिका मर्मज्ञ मेथ्यु आर्नाेल्डले भनेजस्तै यो विश्वमा सर्वाेच्च विचार र विषयसित सम्बद्ध छ । मानव समाजको विकासमा ‘आर्जन र उपलब्धि’ सित पारस्परिक तादात्म्य कायम हुँदै आइपुगेको ‘कल्चर’ अर्थात् संस्कृतिले बृहत्तर अर्थ र महत्ता कायम गर्दै आइरहेको छ, राष्ट्रमा पनि, अन्तर्राष्ट्रिय चरित्रता पनि । संस्कृति आद्यविम्ब, आत्मरतिक मात्र नभई परात्मरतिक एवं गतिशीलताउन्मुख पनि छ ।

संस्कृतिको औचित्य र प्रभाव
समग्र मनुष्य समाजका जीवन दर्शनमा आधारित सामाजिक, सांस्कृतिक, धार्मिक जीवन मूल्य र पद्धतिहरू संस्कृतिअन्तर्गत पर्छन् । संस्कृतिले समेट्ने क्षेत्र असीमित छन् । तथापि गीत–सङ्गीत, गायन–वाद्यवादन, नृत्य–नाटक, हास्यव्यङ्ग्य, प्रहसन, अभिनय, चलचित्र, लोकभाषा, लोकगीत, लोकदोहोरी, पर्वगीत, विलापिका, कविता, भाषा–साहित्य, चित्रकला, काष्ठकला, मूर्तिकला, वेशभूषा, प्रथा–परम्परा, प्रकृति आराधना, मुन्धुम, रहनसहन, खानपान, चाडपर्व, मेलापात–उत्सव आदि विषय संस्कृतिसित सम्बन्धित छन् ।
संस्कृतिअन्तर्गत अन्तर्धार्मिक क्रियाकलापहरू क्रियाशील हुन्छन्, जहाँ विभिन्न मठ–मन्दिर, गुठी पाटी–पौवा, चैत्य, विहार, सनातन हिन्दु, बौद्ध, किराँत एवं शिख, ईसाई, मुस्लिम सभ्यता, गुम्बा–मस्जिद चर्च परम्परालगायत पुराताìिवक इतिहास, किल्ला, सङ्ग्रहालय आदि पर्छन् ।

समाजमा व्याप्त द्वन्द्व–हिंसा, शोषण–दमन, अन्याय–अत्याचार, महिला हिंसा, दूराचार–व्यभिचार, थिचोमिचो, विभेद, जातीय भेदभाव, छुवाछूत, मानव अधिकारको हनन, अन्धविश्वास, कुरीतिलगायतका विसङ्गतिमूलक घटनालाई निराकरण र सम्बोधन गर्न शासकीय संयन्त्र चुकिरहेको हुन्छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन, नागरिक समाज र सम्बन्धित निकायलाई सुसूचित गराउन, जनचेतना जगाउन संस्कृतिका लोकप्रिय माध्यमलाई सशक्त रूपमा सक्रिय बनाउनुपर्ने हुन्छ ।
राज्यमा भइरहेका यी विकृति र विसङ्गतिका विरुद्ध हास्यव्यङ्ग्य, प्रहसन, नाटक, कला, अभिनय, चलचित्र, गीत–गजल, कविताजस्ता सांस्कृतिक पक्षका माध्यमको प्रयोग अत्यन्त उपयोगी मानिन्छ ।

लोकतन्त्र रक्षार्थ संस्कृति
सद्भाव, सहिष्णुता, पारस्परिक सहयोग, सहकार्य, भ्रातृत्व, समावेशिता, न्याय–समानता, प्रेम–सदाचार र मेलमिलापजस्ता ‘बसुधैवकुटुम्बकम्’ का बहुआयामिक परिपाटी नेपाली संस्कृति हो । यो विचलन भयो भने लोकतन्त्रको रक्षा हुन सक्तैन ।
मानिसको जीवन यायावरीय मानिन्छ । आदिकालदेखि मानिस राष्ट्र–अन्तर्राष्ट्रको पर्यटकीय अनुभवबाट सूचना र ज्ञानबाट विकसित हुँदै आएको जाति हो । यो आदान–प्रदानमूलक र ज्ञानबाट विकसित हुँदै आएको जाति हो । यो आदान–प्रदानमूलक सांस्कृतिक पर्यटनबाट ‘क्रस–कल्चर’का उपलब्धिहरू प्रशस्त भएका छन् । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । यहाँ प्राचीन धार्मिक एवं सांस्कृतिक सम्पदाहरू असङ्ख्य रहेका छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा, बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल बुद्धजन्मभूमि लुम्बिनी, मिथिला संस्कृतिको गौरव जनकपुर, हिन्दुको पशुपतिनाथ, मुक्तिनाथ, पलाञ्चोक भगवती, दक्षिणकाली, मनोकामनालगायत यलम्बर संस्कृति, काठमाडौँ उपत्यका संस्कृति, ‘लिभिङ गडेस’जस्ता धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन भ्रमण गर्न स्वदेशी–विदेशी पर्यटकलाई आकर्षित गरेर राष्ट्रिय आम्दानी वृद्धि गर्न सकिन्छ ।

विश्वमा एक अरब २९ करोड हिन्दु, किराँत, बौद्ध धर्मावलम्बीहरू छन् । तिनको न्यूनतम सङ्ख्या (एक प्रतिशत मात्र) लाई मात्र पनि भित्र्याउन सकियो भने नेपालको राजस्व वृद्धि र रोजगार प्रवद्र्धन गर्न सकिन्छ । मुसलमानहरूको मक्का मदिना र क्रिस्तानहरूको भ्याटिकन सिटीजस्तै नेपाललाई पनि हिन्दु, किराँत, बौद्धहरूको धार्मिक एवं सांस्कृतिक ‘हब’ बनाउन सकिन्छ ।

नेपाल सांस्कृतिक सङ्घ
नेपाल सांस्कृतिक सङ्घ, नेपाली काँग्रेसको शुभेच्छु संस्था हो । यसले नेपाली काँग्रेसमा आस्था राख्ने देशभित्र र देश बाहिरका सम्पूर्ण गायक–सङ्गीतकार, गीतकार, कवि, कलाकार, स्रष्टा–सर्जक, संस्कृतिकर्मीहरूलाई सङ्घको एउटै छातामुनि गोलबद्ध गरेर ‘लोकतन्त्र र सांस्कृतिक एकता’ कायम गर्न अहं भूमिका निर्वाह गर्दै आइरहेको छ । नेपाली काँग्रेसले यी संस्कृतिकर्मीहरूलाई यथोचित सम्मान, सुरक्षा र पहिचान प्रदान गर्न कहिल्यै कञ्जुस्याइँ गर्न मिल्दैन । त्यसैले नेपाल सांस्कृतिक सङ्घको अभियान लोकतान्त्रिक, समाजवादका लागि लोकतान्त्रिक संस्कृतिअन्तर्गत स्थापित नारा ‘सम्मान, सुरक्षा र पहिचान’ बमोजिम यी गायक, सङ्गीतकार, कलाकार, कवि, स्रष्टा, सर्जक–संस्कृतिकर्मीहरूलाई संस्थागत रूपमा सुरक्षित गर्न नेपाली काँग्रेसले यथाशीघ्र पाइला चाल्न आवश्यक छ ।

सांस्कृतिक सल्लाहकारको औचित्य
पार्टीको उपल्लो तह, शासन र सत्ता सञ्चालनका सन्दर्भमा धार्मिक, सांस्कृतिक, कूटनीतिक वा राजनीतिक संरचनामाथि मध्यनजर गर्दै देशका सम्पूर्ण वर्गको संवेदनालाई समेट्ने क्रममा सांस्कृतिक सल्लाहकारको भूमिका महìवपूर्ण रहन्छ । राज्यलाई सांस्कृतिक नीति, योजना, कार्यक्रम, विचार र सिद्धान्त निर्माण गर्ने परिप्रेक्ष्यमा सांस्कृतिक सल्लाहकारको विज्ञताले अग्रणी भूमिका निर्वाह गर्छ । नेपाली काँग्रेस देशको प्रमुख राजनीतिक पार्टी हो । यसले प्रजातान्त्रिक समाजवाद र लोकतन्त्रको रक्षा गर्ने उद्यममा आफ्नो महान् इतिहास निर्माण गरेको छ । तथापि यसले लेखक, कवि, कलाकार, गायक, सङ्गीतकार लगायतका समग्र संस्कृतिकर्मी र सांस्कृतिक पक्षको महत्तालाई गम्भीरतापूर्वक स्थान दिएको देखिँदैन ।

जबसम्म राज्यले सांस्कृतिक क्षेत्रमा लगानी गर्दैन, तबसम्म राज्य समृद्ध भएको ठहरिँदैन । राज्यको बलियो आधार स्तम्भ भनेकै सांस्कृतिक क्षेत्र हो । दलीय व्यवस्थामा राजनीतिक सङ्गठनसित आबद्ध भातृसंस्था र शुभेच्छु संस्थाका रूपमा रहेका सांस्कृतिक सङ्घसंस्थाले क्रियाशील भूमिका निर्वाह गरिरहेका हुन्छन् । सांस्कृतिक संस्था र संस्कृतिकर्मी–स्रष्टा सर्जकहरूलाई उपेक्षा गरेर राजनीतिक पार्टीहरू सफल हुँदैनन्, राज्य पनि सफल हुँदैन । संसारमा जति पनि ठूला क्रान्ति र परिवर्तन भएका छन्, क्रान्तिपछि राज्य सञ्चालनमा संस्कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । संस्कृति नै मावनको जीवन दर्शन हो, जीवन पद्धति हो ।

राजनीतिक शून्यता र सङ्क्रमणबाट उन्मुक्तितर्फ बढिरहेको राज्यलाई दिशा निर्देश गर्न सांस्कृतिक क्षेत्रले स्पष्ट ‘भिजन र मिसन’ प्रदान गरिरहेको हुन्छ । नेपालको संविधानले राज्यका सबै समुदाय मधेसी, आदिवासी, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्ग, दलित, महिला, पिछडावर्ग, खसआर्य लगायतबाट संसद्मा प्रतिनिधित्व गराउन समानुपातिक र समावेशिताका आधारमा आरक्षणको स्पष्ट व्यवस्था गरेको छ । नेपालको संविधानले व्यवस्था गरेअनुरूप सङ्घीय संरचनाअनुसार माथिल्लो सदन, सङ्घीय सदन, सात वटै प्रदेश र स्थानीय निकायहरूमा अनिवार्य रूपमा सांस्कृतिक क्षेत्रलाई प्रतिनिधित्व गराउन आवश्यक छ । स्मरण रहोस्, संविधानप्रदत्त अधिकारबाट संस्कृतिकर्मी वञ्चित रहेको अवस्था छ ।

नेपाल सांस्कृतिक सङ्घको स्थापना भएको १४ वर्ष बितिसकेको छ । नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अगुवाइमा स्थापित नेपाल सांस्कृतिक सङ्घ प्राज्ञ तीर्थबहादुर थापाको नेतृत्वमा गठन भएको थियो । कोइरालाले पार्टी र राज्य सञ्चालनमा सर्जक एवं संस्कृतिकर्मीको महìव बुझ्नु भएको थियो । उहाँले उपयुक्त पात्रका रूपमा संस्कृतिकर्मी थापालाई साथ लिएर यो सङ्घको परिकल्पना गर्नुभएको बुझिन्छ । नेपालको ७७ वटै जिल्लामा सङ्घको केन्द्रीय सभापति थापाको कुशल नेतृत्व र विशेष सक्रियतामा विभिन्न विधागत संरचनाहरूलाई विस्तारित गर्दै दोस्रो अधिवेशन सम्पन्न गरी तेस्रो अधिवेशनको तयारीमा जुटेको देखिन्छ । तर सङ्घको माउ पार्टी नेपाली काँग्रेसले चाहिँ नेपाल सांस्कृतिक सङ्घले बेहोर्नु परेका कठिनता र चुनौतीलाई सम्बोधन गर्न र सहभागिता जनाउन सकेको छैन । नेपाली काँग्रेसबाट यो संस्था र संस्थामा संलग्न सर्जक संस्कृतिकर्मीहरूको उचित व्यवस्थापन तथा नीति–निर्देशन हुन सकिरहेको छैन । नेपाली काँग्रेसलाई बलियो पार्ने हो भने सांस्कृतिक क्षेत्रलाई सबल तुल्याउन आवश्यक छ ।

आन्दोलनका दृष्टान्तहरू
नेपालका राजनीतिक आन्दोलनमा २००७ सालको प्रमुख भूमिका रहेको छ । नेपाली काँग्रेसले २००७ सालमा राणाहरूको निरङ्कुश एकतन्त्रीय शासनका विरुद्ध थालेको ऐतिहासिक आन्दोलन २००४ सालमा विराटनगर जुट मिल्समा स्थापित ‘प्रजातन्त्र रेडियो’बाट प्रारम्भ भएको हो । तारिणीप्रसाद कोइरालाको क्रान्तिकारी गीत र रानुदेवी अधिकारीको गायनबाट एउटा सांस्कृतिक क्रान्तिको उद्घोष भएको थियो ।

२०४६ सालको जनआन्दोलनमा निर्दलीय पञ्चायती शासनको निरङ्कुशताका विरुद्ध सांस्कृतिक सङ्घमा आबद्ध नेपाली कवि–कलाकार–गायक संस्कृतिकर्मीहरूको सडक नाटक प्रदर्शन र गीत गायनबाट जनतालाई आन्दोलित तुल्याइएको थियो । फलस्वरूप आन्दोलन सफल भएको थियो । २०६२/२०६३ को आन्दोलनमा पनि राजाको निरङ्कुशताका विरुद्ध पूर्ण लोकतन्त्र स्थापना गर्न नेपाल सांस्कृतिक सङ्घले निर्वाह गरेको भूमिका स्मरणीय छ । सांस्कृतिक आन्दोलनका अघिल्तिर (उन्नाइस दिने आन्दोलनको एघारौँ दिनमा) निरङ्कुश राजतन्त्र ढलेको इतिहास कसैले बिर्सेको छैन ।